अब गाउँ, गाउँ रहेन… – कथालिका

अब गाउँ, गाउँ रहेन…

काठेखोला गाउँपालिकाको सुन्दर लेखानी गाउँ । यो तस्बिर प्रतिकात्मक रुपमा प्रयोग गरिएको हो ।

त्यो बारीको बुढो सिमल
जो अझैँ समय गनिरहेको होला
त्यसमाथि बन्चरोको बुद्धि खियाएर
कुनै संगीतहीन विहान नबिताउनु
कुनै कल्पित सुख भनेको
भौतिक साँचोको करामत हो कि हैन
त्यो विचार्दै दुई मिनेट अडेर एकछिन सोच्ने
वा, दुई कदम पछाडि फर्केर हेर्ने
आशयको रिट हाल्न
एक झोला कविता बोकेर
सहर झरेको छु
मलाई नपछ्याउनु दाजै
कविता गाउँमै छ ।
                         दाजै, कविता गाउँमै छ (कविता संग्रह-२०६७)

२१ वर्ष अघि यही कविता लेख्ने कवि भूपाल राइलाई सोधे–‘दाजै, के कविता अझै गाउँमै छ ?’
गाउँ वार्ताको सुरुवाती प्रश्न सोध्न नपाउँदै राईको जवाफ आयो,–‘अहिले कविता गाउँमा छैन, शहर झरेको छ । गाउँ अहिले हिँड्दैन, ट्याक्टर चढ्छ । डल्ला फोर्दैन, डोजरले फोरेको पाखा हेरेर रमाउँछ । खेत खन्दैन, बोराको चामल ओसार्छ ।’ गाउँ अहिले श्रम र उत्पादन गर्नु नपर्ने तर मीठो खानु पर्ने दलाल पुँजिवादको इमान्दार कारिन्दा भएको कवि राई टिप्पणी गर्छन् । ‘गाउँ भनेको मानिस मात्रै बस्ने थलो हैन । सँगै संवेदना र सामुहिकताको अभ्यास बाँच्ने थलो पनि हो,’ उनले भने, ‘शहरमा एउटै घरभित्र दश परिवार डेरामा बस्छन् तर ती दुइटै कुरा शहरमा भेटिदैन । मान्छेका ती दुई कुरा मरे पछि गाउँ पनि गाउँ रहदैन । हामी क्रमशः रोबोट पथमा अग्रसर हुनेछौ ।’
…………………………
नेपालकै एक मात्र शिकार आरक्ष भएको ढोरपाटनको नौथर गाउँमा सुनदेवी विकको परिवार दिउँसोको खाजा खाने तयारीमा थिए । केही वर्ष अघि सम्म कोदो, फापरका बाक्ला रोटी, उछिनेका आलु, पानीमा उमालेका र भुटेका मकै, नुन हालेको चिया खाजाको रुपमा पाक्ने सुनदेवीको भान्सामा यतिबेला चाउचाउ पाकिरहेको थियो । उनका केटाकेटी गोठमा पालेका भैसीको दुध, दही होइन, प्लाष्टिकको बोतलका कोक फेन्टा पिउँदै थिए । जहाँ केही वर्ष अघि सम्म अन्य ठाउँमा शहरिया खाना ‘जंक फुड’को जगजगी हुँदा पनि आयातित खाद्य पदार्थ पाउन मुश्किल थियो । ‘सदरमुकाम पुग्नै २,३ दिन लाग्थ्यो, त्यतिबेला शहर बजारको खानेकुरा पाउनै मुश्किल, पाए पनि महंगो, खासै खान पनि मन लाग्ने थिइन,’ सुनदेवी भन्छिन्, ‘अहिले त केटाकेटीदेखि बुढापाका सम्म सबैले गाउँको खानै छोडेर पुरै बजारको खाने आदत बस्यो, स्वास्थ्य पनि बिग्रिन थाल्यो, धनको पनि नाश भइरहेको छ, पहिले महिना दिन पैसा नभए पनि जीविका चल्थ्यो, अहिले त दैनिक पैसा चाहिने भएको छ ।’
……………………………..
गोठमा ४,५ वटा भैसी, त्यसमा लैनो भैसी कहिल्यै नटुट्ने बागलुङ काठेखोला ३ का लालबहादुर श्रीसको गोठमा अहिले भैसी होइन, केही गोटा बाख्रा मात्रै छन् । परिवारका सबै सदस्यलाई फालाफाल दुध पिउन र घीउ सम्म बेसाउन नपर्ने उनले पाहुना कोही आइहाले गाउँमै दुध बेसाउन थालेका छन् । घरमा कोही विशिष्ट पाहुना, आफन्त आउँदा घरमै पालेका कुखरा काटेर खुवाउँथे । अहिले बजारबाट बोइलरको मासु गाडीमा मगाउँछन् । ‘गाउँमा दुःखजिलो गर्ने चलन हराउँदै गयो, खेती किसानी घाँस दाउरा गरेर ताजा उब्जनी खाएर तन्दुरुस्त हुनै छोडे,’ लालबहादुर भन्छन्, ‘विदेशबाट पैसा आउँछ, पैसाले शहर बजारबाट जे जे आउँछ, त्यही खाने बस्ने, त्यसले स्वास्थ्यमा फाइदा गर्छ कि बेफाइदा गर्छ ? मान्छेलाई हेक्का नै छैन ।’
………………………………..
गाउँ नै गाउँले भरिएको देश नेपाल, हिमालदेखि पहाड र तराईका सबैजसो गाउँमा पछिल्लो एक दशक अन्तरालमा यी र यस्ता विषयमा ठूलो बदलाव आएको छ । गाउँ धेरै हिसाबले फेरिएको छ । गाउँ फेरिनु या गाउँमा परिवर्तन आउनै हुँदैन भन्ने सोच्नु अतिवाद हो । यस्तो सोच गाउँ प्रतिको चरम उपेक्षा मात्र होइन, विकास र परिवर्तन बिरोधी कुरा हो । तर, गाउँ यसरी फेरिन थालेको छ कि यही रफ्तारमा फेरिरहने हो भने गाउँले आफ्नो सुन्दर पहिचान, सौन्दर्यता, मौलिकता मात्र होइन, आधुनिकताको नाममा अभूतपूर्व सम्भावना र अवसर पनि गुमाउने चिन्ता पनि अभिव्यक्त छ ।

गाउँ–गाउँ जस्तो नरहनु त्यो केबल गाउँका लागि मात्रै होइन, सिंगो देशका लागि पनि दुर्भाग्य हुने त्रिभुवन विश्वविद्याल मानव शास्त्र विभागमा प्राध्यापनरत मनबहादुर खत्री बताउँछन् । ‘वास्तवमा पहिले गाउँमा सुख थियो, मानिस धनी थिए, उनीहरुलाई दुःखी र गरिब भनियो । गाउँमा मानिसहरुले स्वस्थकर पौष्टिक खाना खाँदा दुःखीको खाना भनियो । अहिले शहरकाले त्यही महंगो पैसा तिरेर खान्छन्, गाउँका मानिसले स्वस्थकर कपडा लगाउथेँ, त्यसलाई झुत्रे झाम्रे भनियो,’ प्राध्यापक खत्री थप्छन्, ‘जुन चिजले हाम्रो गाउँको आर्थिक, सामाजिक, राजनैतिक, नैतिक, भौतिक, धार्मिक, संरचना बलियो बनाउँदथ्यो र बनाइरहेको थियो । त्यसैलाई सामन्ती र पिछडिएको भनियो । गाउँलाई ध्वस्त पार्ने पुँजीवादलाई आदर्श मान्दै साम्म्राज्यवादलाई अँगाल्नु गाउँको भूल हो ।’

नजानिँदो हिसाबमा शहर र परदेशले गाउँलाई परनिर्भरता तर्फ धकेलिरहेको उनको ठहर छ । अहिले गाउँमा शहरिया भौतिक विकास र सुविधा पुगे पनि गाउँको अभौतिक पहिचान, सभ्यता र सम्पदा गुम्दै गैरहेको खत्री बताउँछन् ।

                                जब गाउँमा शहर छि¥यो…..
गाउँ भन्न साथ तपाईको दिमागमा कस्तो चित्र आउँछ ?
सुन्दर, हराभरा, स्वच्छ हावापानी, परम्परागत ढुंगा र खरले छाएका घरहरु, कलकल बग्ने खोलाहरु, छाँगा छहरा, लहलह खेतीबाली सहितका खेतबारी, मेहेनती किसान इत्यादी ।

पछिल्लो केही वर्षमा भने गाउँलाई शहर बन्ने मोह जागेको छ भने गाउँलेलाई शहरिया बन्ने आशक्ति छ । गाउँका मानिसहरु ठूलो संख्यामा शहर छिरेका छन्, यसरी गाउँका मानिस शहर छिरे पछि गाउँका मानिसहरुलाई पनि उनीहरुले जस्तै खानपान, जीवनशैलीको जीवन बाँच्ने चाह राख्न थालेका छन् ।

अहिले गाउँका अधिकांश खरका न्याना छाना विस्थापित गरेर कर्कत पाता, कंक्रिटका घर ठडिएका छन् । सडक सुविधाका लागि बाटो खन्दा डोजर इञ्जिनियर बनाउँदा पर्यावरण र अनेक सम्पदा क्षतविक्षत अवस्थामा छन् । गाउँघरमा भान्सामा आजकाल अर्गानिक उपजको ठाउँमा शहरिया सामान पाक्छ, तरकारी गोलभेडा लगायतका चिजबस्तु सम्म शहरबाट दैनिक गाउँ लगिन्छ । खेतबारीहरु बाँझा हुन थालेका छन् ।

गाउँको ढिँडो शहर झरेर महंगो परिकार बनिसक्यो । गाउँका रोधि शहरमा दोहोरी साँझ बनेर व्यावसायिक बन्यो, पैसा कमाउने अस्त्र बन्यो । गाउँ, सरकार र सरोकारवाला भने यसको महत्व अझै गहिरिएर बोध गर्न नसकेको दुर गाउँहरुको कथा बुनेर चलचित्र निर्माणमा सक्रिय चलचित्र निर्देशक मनोज पण्डित बताउँछन् । ‘गाउँको आइडल अहिले शहर बनेको छ । शहरले भोग्ने सुख सुविधा भोग्न पाउँछौ कि पाउँदैनौ भन्ने गाउँलाई छ । बस्तु उपभोग गर्न पायौ कि पाएन भन्ने चिन्ता छ, शहरको कपी गर्ने अवस्थामा गाउँ छ,’ पण्डित भन्छन्, ‘यस प्रक्रियामा परिचय, पहिचान, संस्कृति फ्युजनको अवस्थामा पुगेको छ । यसको निरन्तरता रहीरहे केही वर्ष भित्रमा गाउँको पहिचान र परिकल्पना भेट्न सम्भव हुने छैन ।’

थारु बस्ती हेर्न दाङदेखि सुदुरपश्चिमको गुलेरिया सम्म पुग्दा पहिलेको अर्गानिक अवस्थाको थारु बस्ती कतै नपाइएको उनले अनुभव सुनाए । ‘पहिले सडक नपुगेकालाई गाउँ भन्ने प्रचलन थियो, अबको समयका लागि गाउँको परिभाषा पहिचान के त ?’ उनले भने, ‘कि त अहिलेको गाउँको परिभाषा पुर्नपरिभाषित हुनुपर्छ, हैन भने सडक र अरु सुविधा पुगेर गाउँ गाउँ रहदैन भने नरहे पनि केही फरक पर्दैन, मुख्यतः आधुनिक विकास र सुविधा सँगै गाउँको सभ्यता, संस्कार, संस्कृति, मौलिकताहरुको संरक्षण सहितको गाउँको नयाँ परिभाषा, सोच र चिन्तन आवश्यक छ ।

              ‘स्थानीय तह गाउँको मौलिक मोडेल बनाउने कुरामा चुक्यो’

संघीयता कार्यान्यवनका क्रममा गाउँ गाउँमा सिंहदरबार, घर घरमा रोजगारको नारा घन्कियो । यसले रेमिट्यान्स र बिलासिताको सौख र बाध्यतामा शहर र परदेश पसे पछि सुनसान बन्न थालेका गाउँघरमा उल्लेख्य उभार आयो । आशा, उत्साह, अवसर र सम्भावनाको नयाँ तरंग पैदा ग¥यो । दुरदराजका गाउँ मात्र होइन, टोल टोलमा सडकको पहुँच पुग्ने मात्र होइन, केन्द्रिकृत शासन व्यवस्था तोडिए पछि अरु विकास, जागरण, अवसर पनि विगतको तुलनामा तल्लो तह सम्म स्थानीय तह मार्फत पुग्यो । यद्यपि, यो अझै प्रयाप्त नभएको नागरिक गुनासो गर्छन् ।

खासगरी स्थानीय तहको सरकार बने पछि गाउँमा विकास र परिवर्तनको उल्लेख्य उभार आएको गाउँपालिका महासंघका महासचिव बंशलाल तामाङ बताउँछन् । ‘गाउँ बर्षौदेखि उपेक्षित अवस्थामा थियो, खासगरी स्थानीय तहमा योजनाबद्ध विकास भएको थिएन । आवधिक योजना, दीर्घकालीन योजना बनाउने अभ्यास नै थिएन, अहिले त्यो काम भएको छ’ तामाङले भने, ‘यसलाई संघीयता आए पछि सुविधा, अवसरबाट जोड्ने काम भएको छ, योजनाबद्ध विकासको थालनी भएको छ, संघीय सरकारले १५ वर्षमा नगरेको काम स्थानीय तहले ५ वर्षमा गरेको छ ।’ स्थानीय तहमा तीन वटै अंगको व्यवस्था भए अनुरुप सबै अंगको सक्रियता, गाउँका नागरिकको सबै भन्दा नजिकको सरकार भएकाले जनताको भावना अनुसार नै अघि बढ्न प्रयासरत रहेको उनले बताए ।

गाउँमा पछिल्लो समय विकास र परिवर्तनको उभार आए पनि बैज्ञानिक र योजनाबद्ध हुन नसकेकोमा भने महासचिव तामाङले आंशिक सहमति रहेको बताए । ‘गाउँका जनता समक्ष राज्यको स्रोत साधनको पहुँच पुग्नु पु¥याउनु राम्रो कुरा हो, यसका लागि पूर्वाधार पहिलो कुरा हो । पूर्वाधार निर्माण गर्ने सन्दर्भमा विकाससँगै केही समस्याहरु देखिएका छन्,’ उनले भने, ‘यो विषय सोचनीय छ ।’ गाउँहरु शहर बन्ने या शहरी विकास अवसर सुविधा गाउँ भित्रिने कुरा त स्वभाविक समयको माग भएको बताए । ‘विकास, परिवर्तन, आधुनिकताका नाममा डोजेर विकास, कंक्रिटले घर निर्माण गर्ने लगायतको लहड देखिन्छ यसमा स्थानीय तह आफैले नक्सा पास गर्ने अधिकार भएकाले केही मौलिक मोडेल, कार्यविधि, मापदण्ड बनाएर लागु गर्न सक्थ्यो, यसमा स्थानीय तह चुकेको छ,’ उनले भने ।

संघीय सरकारले ७५३ पालिकाको प्रशासकीय भवनको मोडेल दिएको उदाहरण पेश गर्दै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका अध्यक्ष समेत रहेका तामाङले भने, ‘संघीय सरकारले मोडेल दिएको थियो । त्यसमा सबै डिजाइन आधुनिक तबरको थियो । तर, इन्द्रावती गाउँपालिकाले स्थानीय मौलिकता, कला सीपको प्रयोग गरेर आफ्नै किसिमको निर्माण गरेका छौ,’ उनी थप्छन्, ‘यसमा स्थानीय तहले राम्रै काम र भूमिका निर्वाह गर्न सक्छन्, यो गम्भीर विषय भएकाले यसमा स्थानीय तह सचेत पनि हुन आवश्यक छ ।

                                 गाउँमा अझै छ बाह्य आकर्षण 
सुखमा शहर, संकटमा गाउँ सम्झिनेको जमात ठूलै छ । रोजगार, अध्ययन अवसर, पेशा व्यवसायले शहर बस्ने र रोज्नेहरु पनि दशैं तिहार या केही समय गाउँ पुग्दै निकै रमाउँछन्, खुसी हुन्छन् । उसो त पछिल्लो समय बढेको घुम्ने संस्कृतिले गाउँ घुम्न जानेहरु पनि केही क्षण, दिन हिँड्दा बस्ता रमाइलो नै मान्छन् । तर, सदैव गाउँमा बस्नेहरुमा निराशा बढ्दो छ । हुर्के बढेका छोराछोरीको नजर या त शहरमा छ, या त विदेशमा छ । समाज पुरै पैसामुखी बनिरहेको छ । पुँजीवादले पैसा नहुने या नकमाउनेलाई मान्छे नै नमान्ला भन्ने भय छ ।

गाउँमा आयआर्जनका अनगिन्ती सम्भावना र अवसर छन्, यद्यपि मानिसहरुलाई धेरै दुःख नै नगरी छिटो धन कमाउने लालसाले गाउँबाट शहर र परदेश पलायनको लहड तीब्र छ । श्रम र उत्पादनशील जनशक्ति पलायन भए पछि अर्गानिक उत्पादन छैन । अन्ततः शहर बजारबाटै आयात गरेर आत्मनिर्भर गाउँले जीविका चलाउने अवस्था आउनु दुखद भएको म्याग्दी धौलागिरी गाउँपालिका ४ का सविन पुन बताउँछन् । ‘बाहिरबाट २,४ दिन घुम्न आएकाहरु आन्तरिक बाह्य पर्यटकहरु गाउँमा रमाउँछन्, आनन्द मान्छन्,’ पुनले भने, ‘तर गाउँका युवायुवतीदेखि बुढापाकालाई समेत गाउँ बस्दा उकुसमुकुस भए जस्तो हुन थालेको छ, शहरको बिलासिताका कारण धेरैले गाउँ छोडिसकेका छन्, गाउँमा केही गरौं भन्नेहरु पनि पलायन हुन अवस्था बढ्दो छ ।’

                                गाउँलाई ‘गाउँ’कै रुपमा राखेर परिवर्तन
गाउँलाई ‘गाउँ’कै रुपमा राख्ने एउटा भाष्य छ भने अर्को गाउँलाई स्वतन्त्र रुपमा आफ्नै हिसाबले बदलिन दिनुपर्ने तर्क छ । गाउँमा समय सापेक्ष परिवर्तन आउनु पर्दछ, विकास हुनुपर्दछ । पहिलेको जस्तो गाउँ भन्ने बित्तिकै बाटोघाटो, बिजुली, खानेपानी, सञ्चारको सुविधा नपुगेको, मैलो झुत्रो कपडा लगाउने, अनपढ, दुःखी मानिसहरु बस्ने भन्ने सोच र अवस्था बदलिनु अपरिहार्य छ ।

आधुनिकता, समय सापेक्ष विकास, अवसरबाट टाढा राखेर पुरानै पुरातनशैलीको गाउँको अब कल्पना गर्नुहुँदैन । किनभने जबसम्म गाउँहरू विकसित हुँदैनन्, तबसम्म देश विकसित हुन पाउँदैन । तर, परिवर्तन र विकासका नाममा गाउँको पहिचान, सभ्यता, मौलिकता, अरु विशेषता नै मेटाउनु गम्भीर भूल हुने खत्री बताउँछन् ।

‘गाउँलाई नै सुविधा सम्पन्न बनाउ तर गाउँको जुन प्रकृति, पर्यावरण, सभ्यता, संस्कृति, सम्पदाहरु छन्, यिनीहरुको संरक्षण पनि गरौ । आधुनिकता, विकासको नाममा गाउँलाई सर्वाङ्ग बनाउन नहुने प्राध्यापक खत्रीको जोड छ । उनी भन्छन्, ‘शहरमा बस्ने र गाउँमा बस्ने बिचको आनन्द, सन्तृष्टि, स्वास्थ्य यावत कुरामा गाउँले जित्छ, बिडम्बना यसको गाम्भिर्यता र संवेदनशीलता न सरकारले बुझ्यो, न सरोकारवालाले ।’

गाउँ-गाउँ जस्तो नरहने अवस्थामा पुग्नुमा दुई ठाउँमा चुकेको कवि भूपाल राई बताउँछन् । ‘पहिलो पँुजिवादी बजार संस्कृतिको अन्धाधुन्द नक्कल । दोस्रो विकासको बिनासकारी भाष्यमाथिको प्रश्नहिनता,’ उनले भने, ‘अब गाउँको सौन्दर्यता, मौलिकता, सम्भावना, अवसर जोगाउन या समय सापेक्ष विकास गर्न विकासको मानवद्वेषी अवधारणा नै बदल्नु पर्छ । दोस्रो, मान्छेभित्र गाउँको मानवतावादी चेतना जोगाइराख्नु पर्छ ।’

                                          ‘पुर्नपरिभाषित गर्दा गाउँ रहन्न भने नरहोस्’

मनोज पण्डित
चलचित्र निर्देशक

पहिले सडक नपुगेकालाई गाउँ भन्ने प्रचलन थियो । अहिले त अधिकांश गाउँमा सडक पुगेको छ । अरु सुविधा पुग्ने क्रममा छ । अबको समयका लागि गाउँको परिभाषा पहिचान के त ?’ कि त अहिलेको गाउँको परिभाषा पुर्नपरिभाषित हुनुपर्छ, हैन भने सडक र अरु सुविधा पुगेर गाउँ गाउँ रहदैन भने नरहे पनि केही फरक पर्दैन । मुख्यतः आधुनिक विकास र सुविधा सँगै गाउँको सभ्यता, संस्कार, संस्कृति, मौलिकताहरुको संरक्षण सहितको गाउँको नयाँ परिभाषा, सोच र चिन्तन आवश्यक छ ।

अहिले गाउँको आइडल शहर बनेको छ । शहरले भोग्ने सुख सुविधा भोग्न पाउँछौ कि पाउँदैनौ भन्ने गाउँलाई छ । बस्तु उपभोग गर्न पायौ कि पाएन भन्ने चिन्ता छ, शहरको कपी गर्ने अवस्थामा गाउँ छ । यस प्रक्रियामा परिचय, पहिचान, संस्कृति फ्युजनको अवस्थामा पुगेको छ । यसको निरन्तरता रही रहे केही वर्ष भित्रमा गाउँको पहिचान र परिकल्पना भेट्न सम्भव हुने छैन ।

म चलचित्रका लागि थारु बस्ती खोज्दै दाङदेखि सुदुरपश्चिमको गुलेरिया सम्म पुगे । तर, बिडम्बना पहिलेको अर्गानिक अवस्थाको थारु बस्ती कतै पाइएन । अहिले पुरै फ्युजन भइसकेको रहेछ । पहिले धनी गरिब बिचको बर्गिय दुरी बिद्यमान रहेकोमा अहिले बदलिएर शहर र गाउँ बिच दुरी र द्धन्द्ध बढ्दै गएको पाए । स्रोत साधनमा शहरियाको बोलवाला छ, गाउँका अलिअलि जान्ने सुन्ने अगुवाहरु पनि सहरमै आश्रित र आकर्षित छन् । गाउँ रोजगारी, अध्ययन अनेक कारणले बाध्यात्मक रुपमा शहर पस्नुपर्ने बाध्यता सिर्जित छ । गाउँबाट गाउँको बारेमा सोच्न भन्दा आत्ननिर्भरका लागि काम गर्नुपर्ने बिवशता छ । जसले गर्दा गाउँ अस्थिर छ, मनोवैज्ञानिक रुपमा गाउँ त्रसित छ । मुगु र डोटीको दुर्गम गाउँमा जाँदा शहरले केही चिज लुट्न आयो कि शंका र सशंय राख्न थालेको छ ।

गाउँको असली संस्कार, सभ्यता, मूल्य मान्यता के हो ? गाउँका मानिसको आधारभूत आवश्यकता सँगै अहिलेको समयको माग र आवश्यकता अनुसार गाउँमा सुविधा पु¥याउने विषय आजको अपरिहार्य आवश्यकता हो । विकासको पथमा गाउँ रहनुपर्छ, गाउँमा विकास लैजानु हुन्न भन्ने जडसुत्रबादी सोँच हो । यसो गर्दा हिजोको गाउँको पुरातन परिभाषा नरहनु दुर्भाग्य होइन, त्यो सुखद नै मान्नुपर्छ । शहरले पाएको सुख सुविधा गाउँले पाउनुपर्छ । बरु सडक सुविधा गाउँमा पु¥याउने क्रममा व्यवस्थित र योजनावद्ध विकास हुन सकेको छैन, यस तर्फ सोच्नुपर्दछ ।

हो, नेपाल गाउँ नै गाउँले भरिएको देश हो । गाउँको ऐतिहासिकता, मौलिकता लगायत कैयन कुरा जोगाउनु पर्नेछ । तर, पुरातन कुरा जोगाइ राख्ने दायित्व केबल गाउँको मात्रै हो ? उनीहरु आधुनिक विकास र सुविधाबाट त्रसित बनि राख्नु पर्ने हो त ?
अब विकासरहित गाउँको परिभाषा बदलिनु पर्छ । मानिस भन्दा अरु कुरा गौण हो । मानिसले जीवनको आधारभूत आवश्यकता, सुख सुविधा जुन ठाउँमा बस्छ, त्यही पाउने अवस्था तयार गर्नुपर्छ । त्यसका लागि गाउँ सबै भन्दा सुन्दर विकल्प र बासस्थान हो ।

                           गाउँ र शहरलाई भौतिक र आत्मिक रुपले जोडौं


मनबहादुर खत्री
प्राध्यापक
त्रिभुवन विश्वविद्यालय, किर्तिपूर

गाउँ,गाउँ जस्तो किन रहेन ?
खास गरेर सन् १९५० तिर विकास भएको आधुनीकिकरणको अवधारणा र त्यही अवधारणालाई सुख, सम्बृद्धि, आनन्द देख्नु र त्यस अवधारणाको पछि रहेको राजनीतिक आर्थिक रणनीति बुझ्नको सट्टा त्यसैको अन्धानुकरण गर्नु नै यसको कारण हो जस्तो लाग्छ । जसको परिणाम स्वरुप आफूमा भएको राम्रो र सबल पक्षलाई पनि नराम्रो र कमजोर ठानिन थालियो ।

वास्तवमा गाउँमा सुख थियो, मानिस धनी थिए । उनीहरुलाई दुःखी र गरिब भनियो । गाउँका मानिसहरुले स्वस्थ र पौष्टिक खाना खानु हुन्थ्यो, जसलाई दुःखीको खाना भनियो । गाउँका मानिसले स्वस्थकर कपडा लगाउथेँ, त्यसलाई पनि राम्रो भनिएन । जुन धर्म गाउँका मानिसले अँगाले, त्यसलाई हेला गरियो र अवैज्ञानिक भनियो । गाउँलाई पिछडिएको दर्जा दिइयो । गाउँलाई मूर्खहरुको वस्ती ठानियो । यस्तै बोल्न जान्ने गाउँलाई हेप्ने फटाहाहरुलाई जान्ने र ठूलो भनियो । इमान्दारितालाई कमजोर ठानियो । गाउँका जान्नेलाई नजान्ने भनिन थालियो । जो होचो थियो, त्यसैलाई भ्रमबस अग्लो देख्नु, सानोलाई ठूलो भन्नु, नराम्रोलाई राम्रो भन्नु र पराईलाई आफ्नो ठान्नु नै गाउँको ठूलो भूल हो जस्तो लाग्छ । जुन चिजले हाम्रो गाउँको आर्थिक, सामाजिक, राजनैतिक, नैतिक, भौतिक, धार्मिक, संरचना बलियो बनाउँदथ्यो र बनाइरहेको थियो । त्यसैलाई सामन्ती र पिछडिएको भनियो । गाउँलाई ध्वस्त पार्ने पुँजीवादलाई आदर्श मान्दै साम्म्राज्यवादलाई अँगाल्न पुगियो । उसैले गाउँका बलिया युवालाई चुसेको छ, लुटेको छ, रुवाएको छ । तैपनि गाउँले न यसलाई छोड्न सक्छ, न स्याहार्न सक्छ, न आफ्नो बनाएर हुर्काउन सक्छ अब त । त्यसैले गाउँलाई परनिर्भरता धकेलिरहेको छ । गाउँको सहयोग, सहकार्य, सम्बन्ध, सफा एवम् स्वच्छता, सह–सम्बन्ध, सहानुभुति, सद्भाव, सदाचार, समन्वय क्रमशः खिया लाग्दै खस्किदै कमजोर हुँदै गैरहेको अवस्था छ । अहिले गाउँमा भौतिक विकास भएको छ । अहिले धेरै शहरिया भौतिक सुविधाहरु गाउँमा पुगेका छन् तर गाउँको अभौतिक पहिचान गुम्दै गैरहेको स्पष्ट देख्न सकिन्छ ।

गाउँ -गाउँ जस्तो बनाउन के गर्नुपथ्र्यो ?
गाउँ प्रतिको दृष्टिकोण परिवर्तन गरी गाउँका भौतिक तथा अभौतिक सबै प्रकारका सम्पदाको संरक्षण र तिनीहरुको प्राथमिकता राख्नु पर्दछ । गाउँमा ठूला ठूला विकासे आयोजना भन्दा गाउँकै बलबुताले सञ्चालन गर्न सक्ने प्रविधिमा आधारित, रोजगारमुखी विकासलाई प्राथमिकता दिनु पर्दथ्यो तर त्यसो भएन । जब गाउँमा अशान्ति, असुरक्षा, अव्यवस्था, अराजकता, अभाव, असहयोग, असम्बन्ध, अशिक्षा भयो गाउँमा बस्नेले आफ्नो सुरक्षा खोज्न थाल्यो । कसैले श्रम बसाई सराई ग¥यो त कसैले शहरिया बसाई सराई ग¥यो । जो बसाई सराई गर्न सकेन अनि शहरको बिकृति बोली भाषा, खानपान, लवाई खवाइ, सामाजिक व्यवहार, कला पनि गाउँमा पु¥यायो । अहिले गाउँको अन्न शहरमा बस्नेको स्वस्थ भान्सा भएको छ, तर गाउँमा खेती गर्ने किसान छैन । गोरु पाल्न गाह्रो भयो । गाउँमा एउटा डरलाग्दो चलाखी बुद्घि पसेको छ, जसले तत्काल फाइदा खोज्छ । यस्तै हँुदै गयो भने त मानवताको अस्तित्व नै संकटको भूमरीमा पर्न सक्छ । हामी तत्कालको क्षणिक सुख फाइदा भन्दा दीर्घकालीन फाइदा र भावी पुस्ताको सुखको सोचले काम गर्दै जाने गर्नु पर्दछ । यसको अर्थ यो होइन कि वर्तमान पुस्ताले दुःख नै पाउनु पर्दछ ।

अब के-के गर्न सकिन्छ ?
सर्वप्रथम हाम्रो गाउँ, सहर, विकास, सुख, दुःख, सुविधा, शान्ति, नेतृत्व, समाज प्रतिको दृष्टिकोण बदल्नु पर्दछ । गाउँले आफ्नो र पराई चिन्न सक्ने हुनु पर्दछ । समभाव विकास गर्नु पर्दछ । गाउँ र शहरलाई भौतिक तथा आत्मिक रुपले जोड्नु पर्दछ । जहाँ गाउँको माटोको सुगन्ध शहरमा बस्नेले पनि अनुभव गर्न सक्नु प¥यो । दशैं चाड धेरैको गाउँ र शहरलाई जोड्ने सेतु भएको छ । तर, त्यसको आयु क्रमशः कम हँुदै गएको छ । परिस्थिति परिवर्तित भएका छन् । पुँजिवादी उपभोक्तावादी संस्कृतिले बलजफ्ती गरिरहेको छ । यो अति क्रुर छ । यसले शहर सँगै गाउँमा दया, माया, करुणा हराउँदै गएको छ । हामी यसैको जाँतोमा पिँधिएका छौ । अनि नक्कली समाजवादमा रमाइरहेका छौ । जहाँ पुँजिवादकै बढ्दो राज देखिरहेका र अनुभव गरिरहेका छौ ।अब गाउँलाई कसरी सुविधा सम्पन्न, सुरक्षित र भरपर्दो बनाउने भन्नेमा सबैको ध्यान जान आवश्यक छ ।
……………………

                          ‘गाउँ आजकाल खेत खन्दैन,बोराको चामल ओसार्छ’

गाउँ संवाद
चर्चित कवि भूपाल राईलाई १५ प्रश्न

भोजपुरका भूपाल राईको परिचय अनेक छन् । सीमान्तकृत समुदाय र गाउँको आवाजलाई लामो समयदेखि बुलन्दित गर्दै आएका राइ अब्बल कवि, लेखक र गीतकारका रुपमा स्थापित छन् । उनका ‘सुम्निमाको तश्वीर’ (२०५३), ‘दाजै, कविता गाउँमै छ’ (२०५७), ‘सीमान्त सौन्दर्य’ (२०६७) र ‘आगोले जन्मोत्सव मनाउँदैन’ (सन् २०१५) कविता संग्रह प्रकाशित छन् । ‘विम्ब’, ‘मारुनै’, ‘नौलखा’, ‘मट्टीको कसम’ आदि गिती एल्बम पनि प्रकाशित छन् । उनै कवि राईसँग कथालिकाका लागि प्रधान सम्पादक दिल शिरीषले गरेको गाउँ संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः–

दाजै, के कविता अझै गाउँमै छ ?
अहिले कविता गाउँमा छैन, शहर झरेको छ । उसलाई पुँजिवाद लागेको छ । दुई दशक अघिसम्म जतिखेर मैले त्यो कविता लेखे, छापे, त्यतिञ्जेलसम्म वरको रुखमा वर पाक्थ्यो । हामी वर झारिदिने काग दाइको प्रतिक्षामा हुन्थ्यौँ । कवितामा त्यसै भनेको छु । तर, अहिले कोही काग दाइको प्रतिक्षामा हुँदैनन् । उनीहरु वर खाँदैनन् । ग्रोसरिमा गएर स्याउ खान्छन् । या रेष्टुराँमा छिरेर पिज्जा अर्डर गर्छन् । कविता शहर झरेको छ । ऊ शहरमा आफूलाई बेचेर मल्टिमलमा रेवनको चश्मा किन्छ ।

तपाईले यो कविता लेख्दा थुप्रै चिज गाउँमै छोडेर आएको उल्लेख गर्नुभाथ्यो, ती छोडेका चिजहरु अहिले पनि छन् ?
हो, त्यतिखेर धेरै चिज गाउँमा थिए । ती सबै चिज मैले गाउँमै छाडेर आएको हो । अहिले पनि केही चिज त गाउँमा अवश्य छन् तर हराउँदै गएको मूल्यका साथ । यतिखेर म गाउँमा छाडेर आएका केही केही चिजलाई शहरमा भेट्छु । तिनीहरु गाडी चढेर शहर झर्छन् । अचानक शहरमा भेट्दा म कतिलाई चिन्दछु, कतिलाई चिन्दिन ।

तत्कालीन समयमा खासमा गाउँहरुको सौन्दर्यता, मौलिकता, विशेषता के कस्तो थियो ?
यसको सांकेतिक उत्तर मलाई लाग्छ, पहिलो प्रश्नमै पनि आइसकेको छ । दाजै, कविता गाउँमै छ भन्ने कवितामा मैले कतैतिर दिदी बहिनी डाँडाको उल्लेख गरेको छु । यो ठाउँ भोजपुरबाट उधो धरानतिर झर्दा पिखुवा खोलाको किनारमा पर्छ । कहावत छ,–परदेश गएर धेरै समय नफर्किने माइतीको यादमा रुँदै रुँदै पर्खिरहने दुई चेलीका प्रतिक हुन् ती जोर डाँडा । त्यसैले परदेश जाने अनेक माइतीहरुले हिँड्ने बेला चेलीले लगाई दिएको सयपत्री माला त्यही डाँडामा छोडेर हिँड्ने गर्थे । मलाई लाग्छ, यतिखेर ती दुई दिदी बहिनी डाँडामा सम्भवतः गाडी कुदिरहेको होला । अथवा, गाडी नपुगे पनि अब त्यही बाटो भएर हिँड्ने माइतीहरु कोही भेटिदैनन् । कोही नहिडे पछि अब त्यहाँ माला कसले छाड्ला ? ती दुई दिदी बहिनी डाँडाको त्यो कालातित मूल्य र आस्था अब कसको छातिमा बाँच्ला ।

अहिले हेर्दा गाउँघरमा के कस्तो परिवर्तन, बदलाव देखिन्छ ?
गाउँ अहिले बदलिएको छ । तर, यो आशा र कामना विपरित छ । गाउँ अहिले हिँड्दैन, ट्याक्टर चढ्छ । डल्ला फोर्दैन, डोजरले फोरेको पाखा हेरेर रमाउँछ । ऊ अक्सर छेउको बजारमा भेटिन्छ । बियर र कोका कोला पिइरहेको हुन्छ । खेत खन्दैन । बोराको चामल ओसार्छ । गाउँ अहिले श्रम र उत्पादन गर्नु नपर्ने तर मीठो खानु पर्ने दलाल पूँजिवादको इमान्दार कारिन्दा भएको छ । गाउँ भनेको जीवन, पर्यावरण र श्रमको समुच्चय हो । यी तीनै चिज अहिले गाउँबाट हराएको छ, जुन गाउँको हित विपरित छ ।

अहिले गाउँ, त्यहाँ बस्ने मानिसहरुको मनोविज्ञान कस्तो पाउनुहुन्छ ?
भौतिक रुपले गाउँ, गाउँमै देखिए पनि ऊ अचेल गाउँमा हँुदैन । ऊ गाउँमै रहेर पनि काठमाण्डौको टुँडिखेलमा साकेला नाँच्छ । टुँडिखेलमै ल्होसार मनाउँछ । माघी मेला भर्छ । यो एक किसिमले मानवीय बिस्तार र स्थानान्तरणको विकसित प्रकृया हो । यसलाई गलत करार गर्न खोजेको हैन । तर, अचेल गाउँ बर्खे दहमा माछा मारिरहेको, बेँसिको खेवा, लेकाली गोठको सपना देख्दैन । ऊ थोरै प्वाँख पलाउने वयमा पुग्न साथ अरबमा भेडा चराइरहेको सपना देख्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट चढिरहेको कल्पनामा डुब्छ । पुँजिवादी बजार संस्कृतिको ठाडो हस्तक्षेप र राज्यको उदासिनताले गाउँलाई सपना त देखाउने बनायो तर त्यहाबाट गाउँ लोप हुन थाल्यो । अचेल गाउँ, बजार र शहरको वर्णशंकर मनोविज्ञानबाट संक्रमित छ ।

अहिले त गाउँहरु, गाउँ जस्तो रहेन भन्ने छ, यसमा तपाई धारणा ?
भनिसकेँ गाउँ भनेको मौलिक जीवन पद्दती, पर्यावरण र श्रमको एकमुष्ट बिम्ब हो । यी सबै कुरा ह्रास भए पछिको गाउँ कस्तो हुन्छ ? कल्पना गरौँ । अचेल गाउँ डोजरे विकासको भाष्यले मातिरहेको अवस्था छ ।

गाउँ शहर छि¥र्यो, ढिडो, गुन्द्रुक अर्गानिक खानामा शहरिया आकर्षित हुन थाले, गाउँले चाही शहरका जंक फुड, आयातित खानामा रमाउन थाले । यसलाई स्वभाविक कि कुन रुपमा बुझ्ने ?
गाउँले सधैँ ढिडो गुन्द्रुक नै खानु पर्छ भन्ने त हैन । तर, यो पहिले गाउँको ब्राण्ड थियो । अहिले ढिडो गुन्द्रुक पनि शहर झरेको छ । शहरमा खास खास रेष्टुराँ र भोजनालयको ब्राण्ड बनेको छ । पँुजिवादले यस्तै गर्छ । एउटाको ब्राण्ड अर्कोमा सार्छ । अर्कोको स्वाद अझै अर्कोमा लाद्छ । यसले कसको मौलिकता के हो अलमलमा पार्छ । माथी नै सङ्केत गरिसकियो गाउँ अचेल संक्रमणकालमा छ । यो कालमा हुने यस्तै हो ।

गाउँ, गाउँ जस्तो रहेन या नरहने चिन्ता राख्दै गर्दा शहरको आधारभुत सुख सुविधा, अवसर, सम्भावनासँग त गाउँ जोडिनु स्वभाविक हो । यसमा पनि कति सम्म, कसरी भन्ने विषयमा सरकार, सरोकारवाला, स्वयम् स्थानीयको ध्यान पुगे जस्तो लाग्छ ?
आधारभुत सेवा सुविधा, विकास र अवसरको पँहुच गाउँमा अवश्य पुग्नु पर्छ । यसमा दुई मत हुने कुरै भएन । यसैको लागि हामी सबै लडिरहेकै पनि हौँ । तर, चिन्ता के भने गाउँमा मोटर गुड्दै गर्दा छेउमै उभिरहेको मेरो कविताको त्यो वरको रुख चैँ बँच्यो कि बँचेन भन्ने हो ।
गाउँमा न मान्छे (युवायुवती) रहने, न मौलिकता रहने जस्तो अवस्था छ । शहर र परदेशिने होड छ, खेतबारी बाझा बनिरहेछन् । यही अवस्थाले हामीलाई भोलि कहाँ पु¥याउँला ?
गाउँ भनेको मानिस मात्रै बस्ने थलो हैन । सँग सँगै संवेदना र सामुहिकताको अभ्यास बाँच्ने थलो पनि हो । शहरमा एउटै घरभित्र दस परिवार डेरामा बस्छन् तर ती दुइटै कुरा शहरमा भेटिदैन । मान्छेका ती दुई कुरा मरे पछि गाउँ पनि गाउँ रहदैन । हामी क्रमशः रोबोट पथमा अग्रसर हुनेछौँ ।

गाउँ त कि दशैं तिहार आउँदा कि त भुकम्प, कोरोना आउँदा संकटमा मात्र जाने प्रवृत्ति देखिन्छ । यस्तो प्रवृत्तिले गाउँँले आफ्नो पहिचान, परिचय, मौलिकता कसरी जोगाइ राख्ला त ?
यही कुराले आशा जगाउँछ कि अझै कतै गाउँ बाँकी छ । कोरोनाकालमा मानिसहरु प्रायः सबै गाउँ फर्के । किन फर्के ? किनभने गाउँमा जीवनको सुरक्षा छ । किनभने गाउँको पर्यावरण जीवनमैत्री छ । गाउँको मूख्यः बिशेषता या मौलिकता यही हो जसलाई जोगाएर हामीले मानव जीवनको आयु लम्ब्याउनु छ । गाउँ भनेको असुबिधा र अविकासको परिचायक हैन, जीवनको परिचायक हो भनेर सम्झिनु पर्छ ।

तपाईहरुको किराती संस्कार अनुसार मानिस मरे पछि उसको चिहानमा बिरुवा रोप्ने चलन रहेछ । तपाईको भाईको दिवंगत पछि चिहान माथि कदमको रुख रोप्नुभएको थियो । अहिले कत्रो भएको होला ?
किराँती संस्कारमा मृत मान्छेको एक चिहान बराबर एक रुख रोप्ने चलन छ । यो भनेको परोक्ष रुपमा किराँतीहरुमा रहेको पर्यावरणिय चेतनाको सांस्कृतिक अवशेष हो । चिहान खन्दा धस्किएको माटोसँगै भूक्षय नहोस् भन्ने चेतनाले रुख रोप्ने गरिएको हो । सोही अनुसार मेरो भाइको चिहानमा पनि कदमको रुख रोपिएको थियो । तर, त्यो रुख अहिले कस्तो छ या ढलिसक्यो भन्न सक्ने स्थिति रहेन । किनभने म त्यहाँ नपुगेको धेरै वर्ष भो ।

यो रुख रोपेको बाटो तपाईको आमा त हिँड्नै नसक्नु भएको विषय यहाँले नै एक लेखमा उजागर गर्नुभएको छ नि ?
भाइको चिहान र कदमको रुख भन्ने संस्मरणात्मक आलेखमा त्यो सन्दर्भ लेखेको थिएँ । भाइको मृत्युपछि आमाले त्यो बाटो कहिल्यै हिँड्नुभएन । त्यहाँ नहिडी नै उहाँले सदाको लागि गाउँ छाड्नुभयो । दुःखको कुरा, अहिले आमा आफै कदमको रुख भइसक्नुभयो ।

गाउँघरमा यस्ता मिथकहरु कैयन छन्, कति त नयाँ पुस्ताले बिर्सिसके । अब गाउँघरको ऐतिहासिक सम्पदा, संस्कृति, महत्वपूर्ण मिथकहरु कहिले सम्म रहलान् ? यसको आयु छोटिएको ठान्नुहुन्छ तपाई ?
दुःखको कुरा, मैले मेरो कविता सँगै छाडेर आएका कतिपय मिथकहरु अब दुरुस्तै छैनन् । कति त मरिसकेका छन् । मिथक मर्नु भनेको मानिसमा मानविय तत्व कम हुँदै जानू हो । तर मैले परिकल्पना गरेको मान्छे कम मान्छे हैन । पूर्ण मान्छे हो । इतिहास बेगरको मान्छे के कल्पना गर्न सकिन्छ ? मलाई त यस्तो कल्पनाले नै डर लाग्छ ।

अब गाउँ, गाउँ जस्तो बनाउन तीन तहको सरकार, सरोकारवाला र स्थानीय नागरिकले के गर्नुपथ्र्यो ? हामी कहाँ चुकिरहेका छौ त ?
गाउँ दुई ठाउँमा चुकेको छ । एक, पँुजिवादी बजार संस्कृतिको अन्धाधुन्द नक्कल । दुई, विकासको बिनासकारी भाष्यमाथिको प्रश्नहिनता ।

अब गाउँको सौन्दर्यता, मौलिकता, सम्भावना, अवसर जोगाउन या समय सापेक्ष विकास गर्न केके गर्न सक्नुपर्छ ?
पहिलो कुरा त विकासको मानवद्वेषी अवधारणा नै बदल्नु पर्छ । दोस्रो, मान्छेभित्र गाउँको मानवतावादी चेतना जोगाइराख्नु पर्छ ।

२०७८, १ माघ शनिबार ०४:५०
कथालिका नयाँ कथा
कथालिका