गाउँ र शहरलाई भौतिक र आत्मिक रुपले जोडौं – कथालिका

गाउँ र शहरलाई भौतिक र आत्मिक रुपले जोडौं

मनबहादुर खत्री
उप-प्राध्यापक
त्रिभुवन विश्वविद्यालय, किर्तिपूर

गाउँ गाउँ जस्तो किन रहेन ?
खास गरेर सन् १९५० तिर विकास भएको आधुनीकिकरणको अवधारणा र त्यही अवधारणालाई सुख, सम्बृद्धि, आनन्द देख्नु र त्यस अवधारणाको पछि रहेको राजनीतिक आर्थिक रणनीति बुझ्नको सट्टा त्यसैको अन्धानुकरण गर्नु नै यसको कारण हो जस्तो लाग्छ । जसको परिणाम स्वरुप आफूमा भएको राम्रो र सबल पक्षलाई पनि नराम्रो र कमजोर ठानिन थालियो ।

वास्तवमा गाउँमा सुख थियो, मानिस धनी थिए । उनीहरुलाई दुःखी र गरिब भनियो । गाउँका मानिसहरुले स्वस्थ र पौष्टिक खाना खानु हुन्थ्यो, जसलाई दुःखीको खाना भनियो । गाउँका मानिसले स्वस्थकर कपडा लगाउथेँ, त्यसलाई पनि राम्रो भनिएन । जुन धर्म गाउँका मानिसले अँगाले, त्यसलाई हेला गरियो र अवैज्ञानिक भनियो । गाउँलाई पिछडिएको दर्जा दिइयो । गाउँलाई मूर्खहरुको वस्ती ठानियो । यस्तै बोल्न जान्ने गाउँलाई हेप्ने फटाहाहरुलाई जान्ने र ठूलो भनियो । इमान्दारितालाई कमजोर ठानियो । गाउँका जान्नेलाई नजान्ने भनिन थालियो । जो होचो थियो, त्यसैलाई भ्रमबस अग्लो देख्नु, सानोलाई ठूलो भन्नु, नराम्रोलाई राम्रो भन्नु र पराईलाई आफ्नो ठान्नु नै गाउँको ठूलो भूल हो जस्तो लाग्छ । जुन चिजले हाम्रो गाउँको आर्थिक, सामाजिक, राजनैतिक, नैतिक, भौतिक, धार्मिक, संरचना बलियो बनाउँदथ्यो र बनाइरहेको थियो । त्यसैलाई सामन्ती र पिछडिएको भनियो । गाउँलाई ध्वस्त पार्ने पुँजीवादलाई आदर्श मान्दै साम्म्राज्यवादलाई अँगाल्न पुगियो । उसैले गाउँका बलिया युवालाई चुसेको छ, लुटेको छ, रुवाएको छ । तैपनि गाउँले न यसलाई छोड्न सक्छ, न स्याहार्न सक्छ, न आफ्नो बनाएर हुर्काउन सक्छ अब त । त्यसैले गाउँलाई परनिर्भरता धकेलिरहेको छ । गाउँको सहयोग, सहकार्य, सम्बन्ध, सफा एवम् स्वच्छता, सह–सम्बन्ध, सहानुभुति, सद्भाव, सदाचार, समन्वय क्रमशः खिया लाग्दै खस्किदै कमजोर हुँदै गैरहेको अवस्था छ । अहिले गाउँमा भौतिक विकास भएको छ । अहिले धेरै शहरिया भौतिक सुविधाहरु गाउँमा पुगेका छन् तर गाउँको अभौतिक पहिचान गुम्दै गैरहेको स्पष्ट देख्न सकिन्छ ।

गाउँ -गाउँ जस्तो बनाउन के गर्नुपथ्र्यो ?
गाउँ प्रतिको दृष्टिकोण परिवर्तन गरी गाउँका भौतिक तथा अभौतिक सबै प्रकारका सम्पदाको संरक्षण र तिनीहरुको प्राथमिकता राख्नु पर्दछ । गाउँमा ठूला ठूला विकासे आयोजना भन्दा गाउँकै बलबुताले सञ्चालन गर्न सक्ने प्रविधिमा आधारित, रोजगारमुखी विकासलाई प्राथमिकता दिनु पर्दथ्यो तर त्यसो भएन । जब गाउँमा अशान्ति, असुरक्षा, अव्यवस्था, अराजकता, अभाव, असहयोग, असम्बन्ध, अशिक्षा भयो गाउँमा बस्नेले आफ्नो सुरक्षा खोज्न थाल्यो । कसैले श्रम बसाई सराई ग¥यो त कसैले शहरिया बसाई सराई ग¥यो । जो बसाई सराई गर्न सकेन अनि शहरको बिकृति बोली भाषा, खानपान, लवाई खवाइ, सामाजिक व्यवहार, कला पनि गाउँमा पु¥यायो । अहिले गाउँको अन्न शहरमा बस्नेको स्वस्थ भान्सा भएको छ, तर गाउँमा खेती गर्ने किसान छैन । गोरु पाल्न गाह्रो भयो । गाउँमा एउटा डरलाग्दो चलाखी बुद्घि पसेको छ, जसले तत्काल फाइदा खोज्छ । यस्तै हँुदै गयो भने त मानवताको अस्तित्व नै संकटको भूमरीमा पर्न सक्छ । हामी तत्कालको क्षणिक सुख फाइदा भन्दा दीर्घकालीन फाइदा र भावी पुस्ताको सुखको सोचले काम गर्दै जाने गर्नु पर्दछ । यसको अर्थ यो होइन कि वर्तमान पुस्ताले दुःख नै पाउनु पर्दछ ।

अब केके गर्न सकिन्छ ?
सर्वप्रथम हाम्रो गाउँ, सहर, विकास, सुख, दुःख, सुविधा, शान्ति, नेतृत्व, समाज प्रतिको दृष्टिकोण बदल्नु पर्दछ । गाउँले आफ्नो र पराई चिन्न सक्ने हुनु पर्दछ । समभाव विकास गर्नु पर्दछ । गाउँ र शहरलाई भौतिक तथा आत्मिक रुपले जोड्नु पर्दछ । जहाँ गाउँको माटोको सुगन्ध शहरमा बस्नेले पनि अनुभव गर्न सक्नु प¥यो । दशैं चाड धेरैको गाउँ र शहरलाई जोड्ने सेतु भएको छ । तर, त्यसको आयु क्रमशः कम हँुदै गएको छ । परिस्थिति परिवर्तित भएका छन् । पुँजिवादी उपभोक्तावादी संस्कृतिले बलजफ्ती गरिरहेको छ । यो अति क्रुर छ । यसले शहर सँगै गाउँमा दया, माया, करुणा हराउँदै गएको छ । हामी यसैको जाँतोमा पिँधिएका छौ । अनि नक्कली समाजवादमा रमाइरहेका छौ । जहाँ पुँजिवादकै बढ्दो राज देखिरहेका र अनुभव गरिरहेका छौ ।अब गाउँलाई कसरी सुविधा सम्पन्न, सुरक्षित र भरपर्दो बनाउने भन्नेमा सबैको ध्यान जान आवश्यक छ ।
……………………

२०७८, २ माघ आईतवार ०५:३३
कथालिका नयाँ कथा
कथालिका