‘पुर्नपरिभाषित गर्दा गाउँ रहन्न भने नरहोस्’ – कथालिका

‘पुर्नपरिभाषित गर्दा गाउँ रहन्न भने नरहोस्’

मनोज पण्डित
चलचित्र निर्देशक

पहिले सडक नपुगेकालाई गाउँ भन्ने प्रचलन थियो । अहिले त अधिकांश गाउँमा सडक पुगेको छ । अरु सुविधा पुग्ने क्रममा छ । अबको समयका लागि गाउँको परिभाषा पहिचान के त ?’ कि त अहिलेको गाउँको परिभाषा पुर्नपरिभाषित हुनुपर्छ, हैन भने सडक र अरु सुविधा पुगेर गाउँ गाउँ रहदैन भने नरहे पनि केही फरक पर्दैन । मुख्यतः आधुनिक विकास र सुविधा सँगै गाउँको सभ्यता, संस्कार, संस्कृति, मौलिकताहरुको संरक्षण सहितको गाउँको नयाँ परिभाषा, सोच र चिन्तन आवश्यक छ ।

अहिले गाउँको आइडल शहर बनेको छ । शहरले भोग्ने सुख सुविधा भोग्न पाउँछौ कि पाउँदैनौ भन्ने गाउँलाई छ । बस्तु उपभोग गर्न पायौ कि पाएन भन्ने चिन्ता छ, शहरको कपी गर्ने अवस्थामा गाउँ छ । यस प्रक्रियामा परिचय, पहिचान, संस्कृति फ्युजनको अवस्थामा पुगेको छ । यसको निरन्तरता रही रहे केही वर्ष भित्रमा गाउँको पहिचान र परिकल्पना भेट्न सम्भव हुने छैन ।

म चलचित्रका लागि थारु बस्ती खोज्दै दाङदेखि सुदुरपश्चिमको गुलेरिया सम्म पुगे । तर, बिडम्बना पहिलेको अर्गानिक अवस्थाको थारु बस्ती कतै पाइएन । अहिले पुरै फ्युजन भइसकेको रहेछ । पहिले धनी गरिब बिचको बर्गिय दुरी बिद्यमान रहेकोमा अहिले बदलिएर शहर र गाउँ बिच दुरी र द्धन्द्ध बढ्दै गएको पाए । स्रोत साधनमा शहरियाको बोलवाला छ, गाउँका अलिअलि जान्ने सुन्ने अगुवाहरु पनि सहरमै आश्रित र आकर्षित छन् । गाउँ रोजगारी, अध्ययन अनेक कारणले बाध्यात्मक रुपमा शहर पस्नुपर्ने बाध्यता सिर्जित छ । गाउँबाट गाउँको बारेमा सोच्न भन्दा आत्ननिर्भरका लागि काम गर्नुपर्ने बिवशता छ । जसले गर्दा गाउँ अस्थिर छ, मनोवैज्ञानिक रुपमा गाउँ त्रसित छ । मुगु र डोटीको दुर्गम गाउँमा जाँदा शहरले केही चिज लुट्न आयो कि शंका र सशंय राख्न थालेको छ ।

गाउँको असली संस्कार, सभ्यता, मूल्य मान्यता के हो ? गाउँका मानिसको आधारभूत आवश्यकता सँगै अहिलेको समयको माग र आवश्यकता अनुसार गाउँमा सुविधा पु¥याउने विषय आजको अपरिहार्य आवश्यकता हो । विकासको पथमा गाउँ रहनुपर्छ, गाउँमा विकास लैजानु हुन्न भन्ने जडसुत्रबादी सोँच हो । यसो गर्दा हिजोको गाउँको पुरातन परिभाषा नरहनु दुर्भाग्य होइन, त्यो सुखद नै मान्नुपर्छ । शहरले पाएको सुख सुविधा गाउँले पाउनुपर्छ । बरु सडक सुविधा गाउँमा पु¥याउने क्रममा व्यवस्थित र योजनावद्ध विकास हुन सकेको छैन, यस तर्फ सोच्नुपर्दछ ।

हो, नेपाल गाउँ नै गाउँले भरिएको देश हो । गाउँको ऐतिहासिकता, मौलिकता लगायत कैयन कुरा जोगाउनु पर्नेछ । तर, पुरातन कुरा जोगाइ राख्ने दायित्व केबल गाउँको मात्रै हो ? उनीहरु आधुनिक विकास र सुविधाबाट त्रसित बनि राख्नु पर्ने हो त ?
अब विकासरहित गाउँको परिभाषा बदलिनु पर्छ । मानिस भन्दा अरु कुरा गौण हो । मानिसले जीवनको आधारभूत आवश्यकता, सुख सुविधा जुन ठाउँमा बस्छ, त्यही पाउने अवस्था तयार गर्नुपर्छ । त्यसका लागि गाउँ सबै भन्दा सुन्दर विकल्प र बासस्थान हो ।

(गाउँको कथा बहसका लागि कथालिकाले गरेको कुराकानीमा आधारित)

२०७८, २ माघ आईतवार ०५:३७
कथालिका नयाँ कथा
कथालिका