गुरुकुलको ‘कमब्याक’ – कथालिका

गुरुकुलको ‘कमब्याक’

१० वर्ष अघि एकाएक गुरुकुल बन्द भए पछि बिक्षिप्त बनेका चर्चित रंगकर्मी सुनिल पोखरेलको अनुहारमा छुट्टै चमक थियो । उनीसँग थिएन विगत प्रतिको कुनै बिरत्ति, र थिएन भविष्य प्रतिको भयानकता पनि । यसै सातादेखि सञ्चालित काठमाण्डौको थापागाउँ स्थित कुञ्ज थिएटर पुग्दा पोखरेल नाटक सिक्न लालायित नयाँ पुस्तालाई बडो स्नेहका साथ अनुशासन, मर्यादा लगायतका विषय बताइरहेका थिए ।

कथालिकाको समय संवाद सम्झेर प्रशिक्षार्थीसँगको कुरा छोट्याएर गफिदै गर्दा सुरुवातमै सोधे–बितेको १० वर्ष गुरुकुल, नाटक कति मिस गर्नु भयो ? ‘जीवनमै सबै भन्दा बढी’ उनको जवाफ थियो । एकछिन रोकिएर फेरि दोहो¥याएर पोखरेलले भने, ‘धेरै मिस गरे ।’ मैले जिस्किए, तन्नेरी उमेरको प्रेमिकालाई जस्तै मिस गर्नुभयो त ? उनी थप गम्भीर देखिदै थिए–‘गुरुकुल बन्द हुँदा साथ यति धेरै मिस गरे कि म आफैलाई बिर्सिए । सुरुवातमा सम्हालिनै सकेन । नाटकको लत अचानक छुटे पछि दुव्र्यसनको लतमा फस्न पुगे । बिस्तारै सम्हालिदै पछि कलेजमा १३/१४ ब्याचलाई नाटक पढाए ।’

यसरी बन्द भएको थियो गुरुकुल
गुरुकुल नेपाली रंगकर्म नाटकमा एक अभूतपूर्व कदम थियो । पोखरेलको नेतृत्वमा भएको रंगकर्मको देश भित्र मात्रै होइन, विदेशमा पनि वाहवाही थियो । गुरुकुलले अनगिन्ती नाटक मात्रै देखाएन, यही अनुक्रममै दर्जनौ कलाकार जन्मायो । जसमध्ये अहिले अधिक संख्यामा नेपाली चलचित्र र कलाकारितामा जमिरहेका छन् । तर, त्यही गुरुकुल गतिशील हुँदा हुँदै एकाएक ब्रेक लाग्ने र यात्रा अघि बढ्न नसक्ने अवस्था त्यतिबेला भयो, जतिबेला भाँडामा लिएर सञ्चालन गरिएको गुरुकुलको जग्गा घरधनीले बिक्री गरे । त्यसपछि अरु विकल्प सहितको सरकारी सार्वजनिक जग्गा धेरै खोज्यौ, कतै फेला पार्न सकेनौ । ‘पुरानो ठाउँ छोडे पछि कार्यालय आलोकनगर राख्यौ, सरकारी जग्गा खोज्दै जाँदा भिकृटिमण्डपमा जग्गा भाँडामा लियौ, एक महिनाको भाँडा पनि तिरेका थियौ,’ पोखरेल भन्छन्, ‘तर पछि सचिवले जग्गा भाँडामा दिन नसकिने पत्र पठाए, यसको निरन्तरताका लागि तत्कालीन समयका धेरैजसो प्रधानमन्त्रीलाई भेटे । कुनै उपलब्धी हासिल हुन सकेन । अनि हाम्रा सपना र नाटक अस्तव्यस्त बन्ने अवस्था आयो ।

एक दशकमा कसरी सम्भव सञ्चालन ?
छोटो तर गम्भीर विगतबारेको फल्यासब्याकमा पुगेपछि उनले वर्तमानको गुरुकुल कथा बुन्न थाले । गुरुकल बन्द भएको एक दशकमा फेरि के कुराले उद्धेलित ग¥यो र पुनः सञ्चालनमा आयो ? पोखरेल भन्छन्, ‘सुरुवाती केही वर्ष यतिकै बिते पनि लामो समयदेखि सञ्चालन गर्ने पहल गरेकै थियौ, खोजे जस्तो जग्गा पाइएको थिएन, यसमा नाटक कलाको संरक्षणको बोध गरेर काठमाण्डौं महानगरपालिकाले महत्वपूर्ण सहयोग गर्ने बचन दिए पछि थप सहज भयो ।’ महानगरले अहिले थापागाउँमा भएको जग्गाको भाँडा आगामी असार मसान्त सम्म तिरिदिने सम्झौता छ । यो आगामी वर्षमा पनि निरन्तरता पाउनेमा कुञ्ज थिएटर टिम आशावादी छ । ‘अहिले कुञ्ज थिएटर सञ्चालनमा छ, यो सबै भन्दा सुखद कुरा हो । यसमा ८० प्रतिशत काठमाडांै महानगर र २० प्रतिशत हाम्रो लगानी छ,’ उनी थप्छन्, ‘अब नाटक कलाका लागि गुरुकुल उत्कृष्ट साधनास्थल बनाउने कोसिसमा लाग्छौ ।’

मञ्चनमा छ पुतलीको घर
‘द डल्स हाउस’ अर्थात् ‘पुतलीको घर’, कोरोना कहरका बाबजुद कुञ्ज थिएटरमा मञ्चन जारी छ । नर्वेजियन लेखक हेनरिक जान इब्सनले लेखेको नाटक ‘द डल्स हाउस’ को नेपाली अनुवाद ‘पुतलीको घर’ पोखरेल स्वय्मले अनुवाद र निर्देशन गरेको मुख्यतः श्रीमान श्रीमती बिचको सम्बन्धसँग सम्बन्धित छ । यसले पुरुषवादी चिन्तनबाट समाजमा महिलाहरु कसरी उपेक्षित छन्, महिलाहरुका चाहना, सपना, खुसीका रंगहरु कस्तो हुन्छ ? यी र यस्ता विषयलाई गहिरोसँग उजागर गरेको पोखरेल बताउँछन् । ‘यो कथा नेपालमा नयाँ पुस्तामा भन्दिन, हाम्रो पुस्तामा अझै छ । यो नाटक झण्डै मेरै जीवनमा पनि फर्केर आएथ्यो’ उनी भन्छन्, ‘१० वर्ष पछि सुरुवातमै यो नाटक छान्नुमा त्यस्तो विशेष कारण त केही छैन,राष्ट्रिय नाँचघरमा एउटा च्यारिटी सो गर्नुपर्ने थियो, त्यसका लागि तयारी गरिएकाले यहीबाट सुरु गरेका हौ, अब सबै भन्दा पहिले मञ्चन गरेको अग्नीको कथादेखि अरु नाटक, नेपाली नाटकहरु पनि क्रमशः मञ्चन गर्नेछौ । पूतलीको घर माघ २२ सम्म स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै प्रदर्शनमा हुनेछ । यस नाटकमा प्रमुख पात्र नोराको भूमिकामा निशा शर्मा, उनका पतिको भूमिकामा हेमन्त –शेखर चापागाईँ) छन् । राजकुमार पुडासैनी, सुनिल पोखरेल लगायतको सशक्त अभिनय हेर्न सकिन्छ ।

‘पुतलीको घर’को अनुवाद र मञ्चन कथा
नेपालमा द्वन्द्ध बढेको थियो । कचहरी नाटकको तयारीका क्रममा तत्कालीन समयमा डेनमार्कमा द्वन्द्ध व्यवस्थापन सम्बन्धि कार्यक्रम थियो । म प्रशिक्षकको हिसाबले त्यहाँ पुगेको थिए । जहाँ थिएटर निर्देशक मोडिलिनसँग भेट भो । उनले ग्रिक नाटक इडियसको ३ वटा श्रृंखला छ, उनीहरुले त्यो नाटक देखाएका थिए । त्यहीबेला निर्देशक मोडिलिनसँग चिनजान कुराकानी भयो । अन्तरंगका क्रममा युरोपेली संस्कृति र नेपाली संस्कृति अनुभव आदान प्रदान गर्ने कुरा भयो । नेपालको नाटक हेर्न डेनियन टोली आउने र नेपाली टोली कोपनहेगन जाने सहमति भए पनि नेपाल आउने बेला नेपालको मध्यपूर्वमा सार्स रोग फैलिएका कारण उनीहरु आएनन्, हामी भने त्यहाँ पुगेर नाटक देखायौ । त्यसबेला यही द दल्स हाउस पूतलीको घर अनुवाद गरेर मञ्चन गरेका थियौ । यो नाटक गुरुकुलको अग्नीको कथा पछिको दोस्रो नाटक थियो ।

पुरानै लयमा फर्कने कोसिसमा गुरुकुल
थापागाउँको मुख्य सडकबाट केही भित्र पसे पछि आउने आरोहण गुरुकुल कुञ्ज थिएटर पस्दा मात्रै पवित्र तिर्थस्थल प्रवेशको अनुभुति हुन्छ । पुराना रंगकर्मी देखि नयाँ सिक्न तम्तयार युवा पुस्ताले आशा र उत्साहको फरक रक्तसञ्चार गराउँछ । ‘गुरुकुल अब छिट्टै लयमा आउनेछ, अब १२ जना नयाँ भाइबहिनीहरु गुरुकुलमै बसेर नाटक सिक्नेछन्’, पोखरेलले भने, ‘यसबाहेक छुट्टै कोर्स बनाएर अन्य नाटक सिक्न इच्छुकहरुलाई पनि कक्षा चलाउने योजना छ, मलाई विश्वास छ अब पछि फर्कनु पर्ने बिडम्बनापूर्ण अवस्था आउने छैन ।’

गुरुकुलको भविष्य ? गाह्रो छ, तर संशय छैन
आरोहण गुरुकुलको ब्राण्ड नेपाली कला जगतमा पृथक रुपमा स्थापित छ । यति हुँदा हुँदै विगतमा दुर्भाग्यपूर्ण दिन भोगेको गुरुकुलका लागि वर्तमान र भविष्य त्यति सहज नभएको स्वयम् रंगकर्मी पोखरेल बताउँछन् । ‘गुरुकुल चलाउन अवश्य गाह्रो छ तर अब संशय छैन । हिँड्न सुरु गरे बाटो बन्छ, कतै खोजे भेटिन्छ, कतै आफै खनेर बनाउनु पर्छ,’ उनले भने, ‘विगतबाट राम्रै सिकाई पनि भएको छ, अब हामी बाटो बनाउँछौ, हिँड्छौ, बन्द चाही हुँदैन ।’

 

२०७८, ६ माघ बिहीबार ०८:५३
कथालिका नयाँ कथा
  •  पुनहिलः पदमार्गीको पदचाप

    पुनहिलः पदमार्गीको पदचाप

    • म्याग्दी
    पोखरादेखि उलेरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिस घोरेपानीको बाटो आवतजावत गर्थे…
  •  माटोको सहरः लोमान्थाङ

    माटोको सहरः लोमान्थाङ

    • म्याग्दी
    मुस्ताङका प्रथम राजा अम पालले स्थापना गरेको ‘माटोको सहर’ लोमान्थाङ बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण…
कथालिका