वाह ! अन्नपूर्ण – कथालिका

वाह ! अन्नपूर्ण

कुनै स्थान विशेषको यात्रा । त्यो एक रहको यात्रा, सोच र सपनाको यात्रा, त्यो एक उत्साह र कौतुहलताको यात्रा । यात्रै यात्राको समष्टिगत रुप जीवन । यात्रामा कोही छोटो समयमै थाक्छन्, गन्तव्यमा पुग्न सक्दैनन् । जीवनमा पनि संघर्षको बाटोमा कोही हिँड्दा हिँड्दै हरेश खान्छन् र जीवनदेखि हार्छन् । कोही अथक यात्रा गरिरहन्छन् र अनेक हावाहुण्डरीका बाबजुद पनि गन्तव्य पुग्छन्, जीवनका अनेकन असिम आनन्द, खुसीको सुखद अनुभूति लिएर बाँच्छन् ।


मलाई घुम्नुसँग जीवन अनुभूति भएकाले अधिक रुचि छ । त्यसैले, नेपालका पर्यटकीय गन्तव्यका रुपमा परिचित र स्थापित धेरै स्थलमा त सामूहिक रुपमै साथीहरु सँग पुगे पनि । यसको मजा पनि मेरा लागि फरक स्मरण र अनुभव रह्यो । बिभिन्न ठाउँहरु साथीहरु सँगै घुम्दै गए पनि यस पटकको यात्रामा एक्लै थिए । सुरुवातमा एक्लै जाने रहर सोच होइन, पूर्व निर्धारित यात्रामा सामेल हुने तय भएका साथीहरु सबैले व्यक्तिगत कारण देखाएर यात्रामा सरिक हुन नसक्ने निर्णय सुनाए । तर, घुम्नुको एक किसिमको लत लागिसकेको हुनाले एक्लै फकिर पदयात्रा गर्ने सोचका साथ “सोलो ट्रेकिङ” मा निक्लिए ।


फेरी सोँचे बागलुङ बजारमा खाजा खाना जानको लागि त साथी चाहिने म एकल पदयात्रामा ? केही समय मनमनै आफ्नो मनमा उब्जिएको प्रश्नको आफै उत्तर दिइरहे । दिमागले मलाई एक्लै लामो यात्रामा जान हुँदैन भनिरहेको थियो तर, मनले जान हिम्मत दिइरहेको थियो । आखिर मनको अगाडि दिमागको केही लागेन । मनले एकल पदयात्रा गर्ने आँट ग¥यो । आखिर आँटबाट नै उत्साह आउने हो र उत्साहबाट नै यात्रा सुरु हुने रहेछ भन्ने यात्राको सुरुवातीमै मलाई बोध भयो ।


यात्रा थियो अन्नपूर्ण आधार शिविर (बेस क्याम्प) सम्मको । कुनै एक विद्वानले भनेका छन्-
Traveling solo means getting to know the real you.”
एकल यात्रा भनेको आफुलाई वास्तविक रुपमा चिन्नु हो । म को हो भनेर अरुलाई चिनाउन भन्दा पहिले मैले आफैलाई चिन्नु पर्ने हुन्छ । त्यही आफैलाई चिन्ने मौका स्वरुप अन्नपूर्ण सर्किटको यात्रामा एक्लै निस्किए ।
साथी शुभेच्छुकले एक्लै नजान सुझाइरहेका थिए । मौसम केही प्रतिकुल थियो । त्यसमा पनि अन्न्पूर्ण आधार शिविर पदयात्राका क्रममा गत माघ ३ गते गएको हिमपहिरोमा ७ जना पुरिएका थिए । १ जनाको शव भेटिएको भने ६ जना हराइरहेका थिए । रुट खुलेको पनि धैरै भएको छैन, राष्ट्रिय मिडियाहरुमा मेरो यात्रा सुरु हुनु भन्दा केही समय अगाडि अन्नपूर्ण सर्किट सुनसान भन्ने समाचार प्राथमिकताका साथ आइरहेका थिए । यी सबै विषयलाई बेवास्ता गर्दै मैले अन्नपूर्ण आधार शिविर सम्मको एकल पदयात्रा गर्ने निर्णयमा पुगे । यात्रा थालिसके पछिका चूनौती तपशीलका कुरा हुन्, जे पर्छ जसो पर्छ, सामना गरेर अघि बढ्नु पर्छ भन्नेमा दृढ थिए ।

यात्राको अघिल्लो दिन अर्थात् माघ २३ गते शुक्रबार बेलुका सम्म सबै तयारी पुरा गरे । २४ गते विहानै ४ बजे आखाँको परेली खुले । बाहिर लगातार वर्षा भइरहेको रहेछ । मौसमले मलाई फेरी अर्को चुनौती थपिदियो । जतिसुकै चुनौती भए पनि जाने भनेर आँट गरेपछि जस्तोसुकै परिस्थितिमा पनि म त्यहाँ पुगेर आउँछु भन्ने अठोट लिए । हरेक मानिसमा केही नँया कुरा गर्ने आँट हुन्छ, जसले जोखिम मोल्न उत्प्रेरित गर्छ । म भित्र पनि केही नयाँ गर्ने अभिलाषा थियो । विहानको ६ बजेतिर पानी विस्तारै रोकिदै गयो । बिदा भएकाले संगै बस्ने साथि पनि घर जाने कुरा थियो । बागलुङ बजारदेखि नयाँपुलसम्म एउटै रुट भएकाले साथिको बाइकमा नयाँ पुलसम्म पुगे । नयाँपुलबाट मड्क्यू भन्ने ठाउँसम्म गाडी जाने र त्यहाँबाट पदयात्रा सुरु गर्ने मेरो पूर्व योजना थियो । नयाँ पूल पुग्दा अन्नपूर्ण आधार शिविर जानका लागि कोही पनि पर्यटक त्यहाँ थिएनन् । त्यहाँ यता उता बुझ्दा पछिल्लो केही समय यो रुट लगभग सुनसान नै रहेछ ।

करिब एक घण्टाको पर्खाइ पछि एकजना विदेशी पर्यटक ट्याक्सीबाट झरिन् । उनी पनि बेस क्याम्प सम्म पुग्नका लागि आएकी रहेछिन् । नयाँ पुलबाट मड्क्यूसम्म जिपले ३ हजार रुपैयामा रिजर्भ लग्निने रहेछ । उनी र म सेयरिङमा मड्क्यूसम्म पुग्ने निर्णय गरियो । बाटोमा बुझ्दै जादाँ उनी पोल्यान्डको नागरिक रैछिन् । उनी पनि एकल पदयात्रा मार्फत अन्नपूर्ण आधार शिविरसम्म पुग्न आएकी रहिछन् । उनलाई देखे पछि मेरो मनमा रहेको अलिअलि डर पनि हरायो । विदेशीहरुले त अर्काको देशमा आएर एकल पदयात्रा मार्फत नेपालका डाँडापाखा छिचोल्छन् भने म त आफ्नै देशमा घुम्न निस्किरहेको छु भनेर मनमा छुट्टै प्रकारको उत्साह आयो ।

भनिन्छ, यात्रा आफैमा एउटा उत्सव हो, यात्रा गर्ने व्यक्तिले एउटा नयाँ केही न केही सिकेकै हुन्छ । मैले पनि केही नयाँ कुरा सिक्ने र केही नयाँ अनुभव बटुल्ने चाहना लिएर अन्नपूर्ण आधार शिविरसम्मको एकल पदयात्रा रोजाईमा राखेको थिए । मनमा विभिन्न कुुराहरु खेलाउँदै करिब २ घण्टाको जिप यात्रा पछि म मड्क्यू भन्ने ठाउँमा पुँगे र यहाँबाट मेरो ५ दिनको अन्नपूर्ण आधार शिविरसम्मको एकल पदयात्रा शुरु भयो ।

नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण राष्ट्र र पदयात्राका लागि प्रख्यात पनि । सन् १९६० को दशकमा सर एडमण्ड हिलारीले गरेको पदयात्रा भनौ वा त्यसपछि टोनी हेगनले दशकौंसम्म गरेको नेपालका रमणीय, दुर्गम, रोमाञ्चक पदयात्राहरुका कुरा गरौं, ती पदयात्राहरु विश्वमै चर्चित छन् । विश्वकै एक सर्वोत्कृष्ट ट्रेक रुटको रुपमा रहेको अन्नपूर्ण सर्किट । त्यसमाथी स्वदेशी तथा विदेशी ट्रेकरका माझ लोकप्रिय र संसारमै चर्चाको विषय बन्ने मनोरम तथा साहसिक पदयात्रा गन्तव्य अन्नपूर्ण आधार शिविर (बेस क्याम्प) ।

अन्न्पूर्ण आधार शिविर पोखराबाट उत्तर पश्चिम तर्फ अन्नपूर्ण हिमालको आधार शिविरसम्म जानको लागि गरिन्छ । अन्नपूर्ण आधार शिविरबाट संसारकै अग्ला दश हिमालमध्ये तीन धौलागिरी, मनास्लु र अन्नपूर्ण मात्र होइन, माछापुच्छ्रे, अन्नपूर्ण दक्षिण, निलगिरी, हिउँचुली, बाह्रशिखर हिमालहरुको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । जसको लागी ५ देखि ७ दिनको समय छुटउनु पर्दछ । यो पदयात्रा छोटो समयमा, निकै फलदायी तरिकाले गर्न सकिने भएकाले विश्वमै उत्कृष्ट मध्यको एक हो । आधार शिविरसम्म पुग्नको लागि कास्कीको नयाँपुल हुँदै मड्क्यू भन्ने ठाउँसम्म जिप मार्फत जान सकिन्छ र मड्क्यूबाट पदयात्रा सुरु हुन्छ ।

यस अन्तर्गत, मड्क्यूदेखि झिनु (१७६० मिटर) लगभग डेढ घण्टा हिड्नुपर्ने हुन्छ । त्यसपछि झिनुदेखि छोमरोङ (२१७०मि) जान अर्को साढे २ घण्टा उकालो चढ्नुपर्छ । छोमरोङबाट सिनुवा (२१०० मि) जान करिब १ घण्टा जस्तो ओरालो अनि २ घण्टा जस्तो उकालो भागको यात्रा गर्नुपर्छ ।

सिनुवादेखि वेम्वोे (२५०० मि) जान करिब दुई घण्टा केही समथर, केही उकालो र धैरै ओरालो भागको यात्रा गर्नुपर्ने हुन्छ । बेम्वोदेखि दोभान (२५८० मि) सम्म पुग्न लगभग दुई घण्टा उकालो चढ्नुपर्छ । दोभानदेखि हिमालय (२९२० मि) सम्म पुग्न लगभग साढे दुई घण्टा उकालो चढ्नुपर्छ । हिमालयदेखि देउराली (३२०० मि) सम्म पुग्न करिब ३ घण्टा केही उकालो केही समथर र केही ओरालो भागको यात्रा गर्नुपर्दछ । देउरालीदेखि माछापुच्छ्रे आधार शिविर (३७०० मि) करिब ३ घण्टाको उकालो यात्रा गर्नुपर्दछ । माछापुच्छ्रे आधारशिविरदेखि अन्नपूर्ण आधार शिविर (४१३० मि.) लगभग २ घण्टाको उकालो यात्रामा पुगिन्छ । यहि नै अन्नपूर्ण आधार शिविरसम्मको पदयात्राको अन्तिम गन्तव्य हो ।
मेरो पहिलो दिनको यात्रा छोमरोङसम्मको लागि थियो । करिब डेढ घण्टा हिडेपछि झिनु पुगेर विहानाको खाना खाईसकेपछि उकालो लागे । बाटोमा त्यति धैरै पर्यटकहरुको आवत जावत थिएन । बाटोमा हिँड्दै गर्दा पोखराबाट यात्रा सुरु गरेको एउटा ५ जनाको समूह र काठमाण्डौबाट यात्रा सुरु गरेको एउटा ३ जनाको समूहसंग चिनजान भयो । उनीहरु पनि अन्नपूर्ण आधार शिविर सम्मका लागि यात्रा गरिरहेका रहेछन् । झिनु देखि लगातारको उकालो पार गरेपछि करिब ४ बजेतिर म छोमरोङ पुगिसेकेको थिएँ । छोमरोङमा छिट्टै पुगेकाले मैले पहिलो दिनको यात्राको योजनालाई परिवर्तन गरी पुनः साढे दुई घण्टाको थप पैदलयात्रा गरी अपर सिनुवासम्म पुग्ने योजना बनाए । पहिलो दिन करिब बेलुकाको ७ बजे म सिनुवा पुगे र मैले त्यस दिन त्यही बस्ने निर्णय गरे ।

यात्राको दोश्रो दिन विहानै ५ः३० बजे घण्टीले ब्युँझायो । केही समय लगाएर कोठाबाट बाहिर निस्किदा नजिकै जस्तो देखिने माछापुच्छ«े र अन्नपूर्णमा सुर्योदय हुन लागिरहेको रहेछ । हतार हतार क्यामेरा झिकेर त्यो दृश्य क्यामेरामा कैद गरे । हिउँ परेर वरिपरिका पहाड पनि हिमालजस्तै देखिएका थिए । निकै सुन्दर थियो त्यो दृश्य । विहानको ब्रेकफास्ट होटलमै गरी ८ बजे सिनुवाबाट दोश्रो दिनको गन्तव्य देउरालीका लागि अगाडि बढे । बाटोमा भेटिएका साथीहरु पहिलो दिन एउटै होटलमा बसेकाले राम्रो चिनजान भईसकेको थियो । हामीहरु संगसंगै अगाडि पछाडि भएर गन्तव्य तर्फ लागिरह्यौं ।

म जति अगाडि बढ्दै जान्थे, हिमालहरु त्यति नजिक आईरहे जस्तो आभाष हुन्थ्यो । हिमाल भनेपछि सबै भुलिदीने मैले मनमनै आफुलाई भाग्यमानी नै रहेछु जस्तो लाग्यो । किनभने यो सिजनभर मौसम त्यति राम्रोसंग खुलेको थिएन । मैलै यात्रा सुरु गरेदेखि मौसम निकै राम्रो भइरहेको थियो । खैर, यो सबै मेरो भाग्यले नभएर संयोग मात्र थियो । मौसम जति राम्रो भए पनि मनमा विचारहरू सल्बलाउन छोडेका थिएनन् । यहाँसम्म त आइयो, अन्नपूर्ण आधार शिविरसम्म जान पाइएला कि नपाइएला जस्ता कुराहरु मनमा खेलिरहेका थिए । केही पर्यटकहरु माथि जान नसकिने भन्दै बाटैबाट फर्केको मैले देखिरहेको थिए । जे जस्तो भए पनि म अन्नपूर्ण आधार शिविर पुग्नै पर्छ भन्ने अन्तरमनको यात्रा गर्दा गर्दै बेम्वो, दोभान, हिमालय पार गरेर करिब बेलुकाको ६ बजे मेरो आजको गन्तव्य देउराली पुगेछु । देउराली पुग्दा जताततै हिउँ नै हिउँले भरिएको थियो । डाडाँकाडाँहरु बादलभित्र लुकिसकेका थिए । हिउँबाट बनेका झरनाहरु वरिपरि स्पष्ट देख्न सकिन्थ्यो ।

गत माघ ३ गते गएको हिमपहिरो पनि देउरालीको नजिकै हिङ्क भन्ने स्थानमा रहेछ । उक्त हिमपहिरोमा परी ४ जना कोरियन र ३ जना नेपाली हराएका थिए । सुमुन्द्री सतहदेखि ३२०० मिटरमा रहेको देउरालीमा चिसो निकै थियो । अन्नपूर्ण आधार शिविरसम्मको पदयात्रामा अन्य ठाउँको पदयात्रामा जस्तो घर तताउने प्रणालीको भने कमी रहेछ । यो क्षेत्रमा जंगलको रुखहरु काट्न नपाइने भएकाले यो प्रणाली नराखिएको स्थानीय होटलवाला व्यवसायीले बताए । बाहिर बस्दा चिसो हुनाले सकेसम्म छिट्टै खाना खाएर सिरक भित्र पस्नुको विकल्प थिएन ।
केहीबेर बाहिरको दृश्य हेरेर म डाइनिङ हल गएँ । डाइनिङमा केही विदेशीहरू किताब पढिरहेका थिए, केही गफ गरिरहेका थिए । केही लेखिरहेका थिए । म पनि केही समय डाइनिङमै बिताए । खाना तयारी भएपछि मेरो लागि खाना टेबलमा आयो । खाना खाएर आजको बसाईका लागि म कोठा तर्फ लागे । तेश्रो दिन अर्थात् यो यात्रा र मैले पुग्न खोजेका ठाउँहरु मध्येको एक बहुप्रतिक्षित गन्तव्यसम्म पुग्ने दिन ।
यो सिजनमा देउरालीदेखि माछापुच्छ्रे आधारशिविर सम्मका लागि निकैै जोखिमपूर्ण रहेको हुनाले चर्को घाम नहुँदै माछापुच्छ्रे आधार शिविरसम्म पुग्नुपर्ने थियो । घाम चर्किदै गए पछि त्यस क्षेत्रमा हिमपहिरो जाने सम्भावना रहेकाले जोखिमपूर्ण क्षेत्र पार गरिसक्नुपर्ने रहेछ । बसेको होटलमै विहानको ब्रेकफास्ट गरी करिब ७ बजे म आजको गन्तव्य तर्फ लागे ।

देउरालीबाट केही समय हिँडेपछि मोदीखोलाको पुल तरी पारीपट्टी पुग्दा उदाउँदै गरेको घामको किरण हिमालको चुचुरोमा परेको दृश्य सम्झनयोग्य थियो । यो दृश्य देख्दा मैले मनमनै सोचिरहेको थिए यो त केवल ट्रेलर मात्र हो पुरा फिल्म त अन्नपूर्ण आधार शिविरबाट भोलि विहान हेर्न बाँकी छ । देउरालीको सुरुवातसंगै मेरो हिँउ यात्रा सुरु भईसकेको थियो । म जति माथि पुग्छु त्यति बढी हिउँ थियो ।
हिउँभित्र गोरेटो खोज्दै विहानको मनोरम दृश्य हेर्दै म अगाडि बढिरहें । दुई दिनसम्म लगातार हिँडेर शरीर गलेको भएता पनि हिउँमा हिँड्दा र हिमालको नजिक पुग्दा छुट्टै आनन्द मिल्थ्यो । कतै उकालो त कतै भिरालो पैदलयात्रा गर्दै विहानको १० बजे म माछापुच्छे« आधार शिविरमा पुगे । करिब ३ घण्टाको हिउँ यात्रा मेरो लागि रमणिय र सुन्दर भएपनि यहाँका बासीन्दाहरुका लागि जीवन कति कष्टकर थियो होला ? म अनुमान मात्र गर्न सक्छु ।

माछापुच्छ्रे« आधार शिविरमा केही समय विश्राम गरी चिया पिउने काम भयो । त्यहाँबाट देखिने माछापुच्छ्रे« गंगापूर्ण, गल्यासीडम, गन्धर्व र अन्नपूर्ण फस्र्ट हिमालको दृश्य नजिकैबाट देख्न सकिने रहेछ । केही समय क्यामेरामा त्यहाँबाट देखिने सुन्दर दृश्यहरुलाई कैद गरे । एक्लै घुम्नुका धेरै फाइदा र बेफाइदाहरू छन् । ती मध्ये एउटा बेफाइदा भनेको आफ्नो गतिलो फोटो नहुनु रहेछ । यात्राभर थौरै मात्रमा आफ्नो व्यक्तिगत फोटो लिने मौका मिल्यो ।

करिब दिनको ११ बजे म माछापुच्छ्रे« आधार शिविरबाट अन्नपूर्ण आधार शिवरका लागि अगाडि बढे । त्यहाँ पुग्न मौसम अनुकुल हुँदा जम्मा २ घण्टाको बाटो रहेछ । हिउँ नभएको भए आफ्नै रफ्तारमा हिँड्न सकिन्थ्यो होला । हिउँ भएपछि अलि विचार पु¥याएर हिँड्नुपर्ने । दुई घण्टाको बाटो भनेर मैलै बिहानको खाना अन्नपूर्ण आधार शिविरमै खाने निधो गरेको थिए । जब म ३७०० मिटर देखि उकालो लाग्न थाले त्यो यात्रा मैले सोचेजस्तो सहज भएन ।

हाई अल्टिट्युडले गर्दा स्वासप्रस्वास पनि त्यति सहज थिएन । शरीरमा इनर्जी कम भएर हो या के हो केही समय उकालो चढ्दा साथ विश्राम लिनुपर्ने भयो । ज्यानमा तागत रित्तिए पनि आँट र उत्साह भने अपार थियो मसँग । हिँड्न बाँकी गोरेटोलाई आँखाले खुब चञ्चलताका साथ हेरिरहेको थिएँ । एकछिन आराम गर्दै झोलामा रहेको चकलेट र पानीको साहारमा यात्रा रहेछ जिन्दगी भन्दै आफ्नै गतिमा गन्तव्य तर्फ लागिरहें । अनुपम प्राकृतिक छटा, बादलभित्र लुकामारी खेलिरहेका हिमश्रृङखला, सेताम्मे हिउँले पोतिएको गोरेटो र चौतर्फि देखिने आँखै अगाडि आईपुगेका हिमाललाई पछ्याउदै दिनको करिब ४ बजेतिर म अन्नपूर्ण आधार शिविर पुगेछु ।

मलाई २ घण्टाको यात्रा गर्न करिब ५ घण्टा लाग्यो । त्यहाँ पुगेपछि मनमा छुट्टै प्रकारको आन्नद महशुस भयो । कता कता मनले राहत पाए जस्तो लाग्यो । सायद सोचेको कुरा पुरा भएर होला । ४१३० मिटरको उचाइमा रहेको आधार शिविरबाट ३६० डिग्रीमै देखिने हिमश्रृंखलाको बिच उपत्यकामा पुग्दा ‘जीवनको स्वर्णिम क्षण यही त हो’ भन्ने भावना मेरो मनमा जागृत भयो ।

अन्नपूर्ण आधार शिविरमा पर्यटकहरुलाई खाना बस्नको लागि ४ वटा होटलको व्यवस्था रहेछ । म चाँही अन्नपूर्ण गेष्ट हाउसमा बस्ने निधो गरे । शरीर थकानको महशुस गरिरहेको थियो । केही समय घाम तापेर कोठामा गई विस्तारामा पल्टेको भुसुक्कै निदाइएछ । त्यही निन्द्राले माछापुच्छ्रे हिमालमा पर्ने सुर्यास्त हेर्ने मौका मैले गुमाउन पुगे । निन्द्राले छोड्डा झमक्कै साँझ परिसकेको थियो । म होटलको डाईनीङ हल तर्फ गएँ । होटलमा म संगै बाटोमा भेटीएका साथिहरुको समुह बाहेक अन्य पर्यटक कोही थिएनन् । विश्वभर फैलीएको कोराना भाईरस र प्रतिकुल मौषमले अन्नपूर्ण आधारशिविरसम्मको पदयात्रालाई निकै ठुलो असर पु¥याएको मैले महशुस गरेँ ।

हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चर्चित अन्नपूर्ण हिमालको परिधिमा गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रा मार्ग मध्येमा पर्दछ । अन्नपूर्ण आधार शिविरमा विशेषगरी युरोप, अमेरिकाका साथै मलेसिया, चीन, कोरिया लगायतका देशका नागरिक बढी मात्रामा आउने गरेको अध्ययनले बताउँछ । यो सिजनमा भने कोरियाली तथा चिनियाँ पर्यटक बढी मात्रामा आउने गरेकोमा ती देशमा फैलिएको कोरोना भाइरसका कारण उनीहरूको आमगन नगन्य मात्रमा रहेको होटल व्यवसायीको भनाई थियो ।
सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका हिमाल आरोही मोरिस हर्जोगले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँँगै विश्वमै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको थियो ।
अन्नपूर्ण आधार शिविरमा अघिल्लो वर्ष २८ हजार ५३१ विदेशी पर्यटकले पदयात्रा गरेको र विदेशी पर्यटकका नेपाली सहयोगी र आन्तरीक पर्यटक समेत गरी गत वर्ष अन्नपूर्ण आधार शिविरमा पुग्नेको संख्या एक लाखभन्दा बढी रहेको तथ्याङ्कमा भएतापनी यो वर्ष यो संख्यामा कमी आउने पूर्वानुमान सहजै गर्न सकिन्छ ।
केही समय साथीहरुसंग गफगाफ गरे पछि तातो नुडल्स सुप लिई म आजको बसाईका लागि कोठा तर्फ लागे । यो दिनको बसाई पोखरादेखि यात्रा सुरु गरेको समुहसंग एउटै रुममा रहेको थियो । ३ दिनको यात्रामा सँगालेका रमाइला पलहरु सम्झदै र भोलि विहानको सुर्योदय हेर्ने कल्पना गर्दा गर्दै म निन्द्रादेवीको काखमा लुटुपुटिइ सकेको थिए ।

चौथो दिन विहानै निन्द्रा खुल्यो । अन्नपूर्ण प्रथममा परेको सुर्योदयको कुरा सुनेर, फोटो, भिडियो हेरेर वा संस्मरण पढेर मात्र अनुभूति गरेको मैले आफ्नै आँखाले नजिकैबाट अवलोकन गर्ने अववसरमा थिए । सुर्योदय हुने सयम ६ः३० को रहेकाले ६ बजेनै उठेर न्यानो कपडा लगाएर बाहिर निस्किएँ । लामो समय पछिको व्यग्र प्रतिक्षा पछि मेरो आधार शिविरबाट सुर्योदय हेर्ने सपना पुरा हुन लागिरहेको थियो । माइनस ३ डिग्रीको तापक्रमले गर्दा हातले क्यामेरा चलाउन पनि निकै कठिन भइरहेको थियो । अन्नपूर्णको चुचुरो हुँदै घामको प्रकाश विस्तारै पोखिन थाल्यो । सुर्यको किरण परेर टल्किन थालेका हिमश्रृङ्खलाहरु सुनकै जलप लगाए जस्तो देखिन थाले ।

निलो आकाश, पुर्वीतर्फबाट हिमालमा ठोक्कीएको सुर्यका किरणहरु र ३६० डिग्रीमा नजीकैबाट देखिने मनोमहक हिमश्रृङ्खलाहरु आहा त्यो क्षण शब्दमा वर्णन गरेरै सकिदैन । सुर्योदयको दृश्यले मलाई औधी उत्साहित बनायो, त्यो बेलाको खुसीको कुनै मुल्य भएन । एउटा पदयात्रीका लागि यो भन्दा खुसीको कुरा के नै हुन सक्छ । मेरो यात्राको उद्देश्य पनि यही थियो । हिमालको काखैमा बसेर सुर्योदय हेर्ने । यो मस्तीमा नरमाउने कुन मानव होला ? हिमालै हिमाल मिलेर बनेको छुट्टै संसार रहेछ अन्न्पूर्ण आधार शिविर । यहाँबाट देखिने हिमश्रृङ्खलाहरु क्यामराको एउटै फ्रेममा अटाउन असम्भव छ । न त यसको प्राकृतिक सुन्दरताको कहानी भनेर साध्य छ । न पूरै लेख्न नै सकिन्छ ।

दुई घण्टा जति आधार शिविरमा बिताएर म आधार शिविरबाट गन्तव्य तर्फ लागे । चौथो दिनको बसाईको गन्तव्य जति टाढा पुग्न सकिन्छ, त्यही गएर बस्ने भन्ने रहेकोले निश्चित गन्तव्य थिएन । बेलुकाको ७ बजेसम्मको लगातार पैदलयात्रा पछि म लोवर सिनुवामा आएर बास बसे । चौथो दिनको बेलुका पोखरा र काठमाण्डौका साथीहरुसंगको समुहसंगै यात्रा सफल भएको खुसीमा एउटै होटलमा बसि निकै रमाइलो गरियो ।

यात्राको पाँचौ दिन अर्थात् अन्तिम दिन सिनुवादेखि, छोमरोङ र झिनु हुँदै मड्क्यूसम्मको पैदलयात्रा सम्पन्न भयो । मड्क्यूदेखि नयाँ पुलसम्म एउटा जिप र नयाँ पुलदेखि बागलुङ बजारसम्म छुट्टै जिप मार्फत बागलुङ बजार आइपुग्दा बेलुकाको ८ बजेको थियो ।

एक्लो यात्रा मार्फत जीवनमा अनुभव बटुल्न हिँडेको म सम्हाल्नै नसक्ने अनुभवहरु ल्याउन सफल भएछु । केही अनुभवहरु शब्द मार्फत पोख्दैछु भने कति धैरै अनुभवहरु शब्दमा बयान गर्न सकिरहेको छैन । जे होस् संघर्षपूर्ण भएपनि साहसका साथ यो यात्रा तय भयो र गन्तव्य चुमे पनि । यस्तो लाग्यो कि यो ठाउँ क्षेत्र घुम्न कसैले छुटाउँछ भने त्यो उसको जीवनमा गुमेको या छुटको एउटा स्वर्णिम अवसर, गन्तव्य पो हुँदोरहेछ । यसर्थमा म त भाग्यमानी नि…!
#Annapurna #Tour #Visitnepal #Mountain

२०७८, ८ माघ शनिबार ०७:२३
कथालिका नयाँ कथा
कथालिका