गैंडाको दुखान्त मरण – कथालिका

गैंडाको दुखान्त मरण

प्राणी जगतको मृत्यु त अवश्यमभावी छ । तर, अकालमै अज्ञानता या लापरवाहीबस हुने मृत्यु अझ बढी पीडाडायी हुने गर्दछ । संवेदना हराउँदै गएको नेपाली समाजमा आइतबार गैडाको दुखान्त मरणको दृश्यले देश तरंगित छ ।
|
व्यस्त दुनियाँमा मानिसहरुलाई आफ्नै र आफ्नाका बारेमा चिन्ता गर्ने फुर्सद त छैन, त्यो गैंडाको मृत्यु, खाल्डोमा खसेर फसिसके पछिको छटपटाहट, उद्धारको पखार्ईको पीडा कति भए होला ? अहिलेको समाजमा यसको के हिसाब होला र ? तर, घटना जे जसरी भयो, दुखद छ । सरकार र सरोकारवालाले समिक्षा र चिन्तन गर्नुपर्ने देखिएको पशु अधिकारकर्मी बताउँछन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडा मरेको हो । अन्दाजी १२ वर्षको भाले गैँडा दिउँसो करिब ३ः३० बजे गैँडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । मरेको गैँडालाई सामुदायिक वनमा पोष्टमार्टम गरिएको छ । गैँडाको खाग र खुर निकालेर खाल्डोमा गाडिएको छ ।

नेपालमा कति छ गैँडा ? 
पछिल्लो तथ्यांक अनुसार नेपालमा गैंडाको संख्या बढेको छ । नेपालमा गत वर्ष गरिएको गैँडा गणना अनुसार देशमा उक्त दुर्लभ वन्यजीवको सङ्ख्या ७५२ पुगेको थियो । तथ्यांकमा ६ वर्षको अवधिमा १६१ वटा गैँडाको मृत्यु भए पनि कुल सङ्ख्या बढेको पाइएको थियो । संख्या बढेर संरक्षणकर्मी उत्साहित भए पनि संरक्षणका लागि चुनौतीहरू थपिएको उनीहरूको ठम्याई छ ।

पछिल्लो गणनाअनुसार चितवनमा ६९४, बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीनवटा गैँडा फेला परेका छन्। तीमध्ये वयस्क ५२० वटा, अर्धवयस्क ९६ वटा अनि बच्चा १३६ वटा रहेको बताइएको छ। चितवन राष्ट्रिय निकुञ्ज एकसिङ्गे गैँडाको संसारकै दोस्रो ठूलो वासस्थान हो। भारतको असमस्थित काजिरङ्गा राष्ट्रिय निकुञ्जमा १,२०० वटा गैँडा पाइने विश्ववन्यजन्तु कोषले जनाएको छ।

६ महिनामा २१ गैडा मरे
चालु आर्थिक वर्षमा यो सँगै २१ वटा गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । जसमध्ये दुईवटा चोरी सिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् । ठूलो संख्यामा गैँडाको मृत्युको विषय प्रति पशु अधिकारकर्मी चिन्ता व्यक्त गर्छन् । तर, सरकार र सरोकारवाला निकाय यसको थप संरक्षणका चूनौतिका बारेमा विश्लेषण गरेर योजना बनाउन चुकिरहेको उनीहरु बताउँछन् ।

खाल्डोमा फस्यो, समयमै उद्वार हुन सकेन
भरतपुर महानगरपालिका–९ गोन्द्राङमा पूर्व पूर्वपश्चिम राजमार्गमा सडक विस्तार क्रममा नाली बनाउँदाको केही खाल्डो थियो । गैडा त्यसमै फस्यो । समयमा उद्वार हुन सकेन । गोन्द्राङदेखि पुल्चोक सम्म ६ लेनको सडक विस्तारको लागि नाली बनिसकेको भए पनि खाल्डो नपुर्दा गैंडा त्यसमै परेर ज्यान गुमाएको हो ।

वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा मरेको निकुञ्जले दाबी गरेको छ।
निकुञ्जको वरण्डाभार वन क्षेत्रमा निर्माणाधीन नालीको खाडलमा परेर आइतबार दुर्लभ एकसिङ्गे गैँडा मरेको थियो । गैँडाको पेटमा नाली निर्माण गर्न प्रयोग गरिएको रड छिरेपछि खाडलबाट बाहिर निस्किन नसकेर गैँडा मरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वरण्डाभार क्षेत्रमा सडक निर्माण गर्नुपर्दा आवश्यक पर्ने प्रक्रिया पूरा नगरी काम गरिएको छ । हालसालै डिभिजन सडक कार्यालय भरतपुरले रुख काट्नका लागि अनुमति लिन पत्र पठाएको छ । सडकले निर्माण पूर्व नै प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने हुन्छ । ती दुवै काम नगरीकनै सडक विस्तार थालिएको पाइएको छ । यस्तो कार्य गर्दा निकुञ्जसँग अनुमति र राय लिनुपर्ने हुन्छ ।

आचार्यका अनुसार सहमति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट लिनुपर्ने हुन्छ । निकुञ्जको रायअनुसार विभागले सहमति दिएपछि निकुञ्जले अनुमति दिने गर्दछ । यहाँ निर्माण गर्दा भने निकुञ्जलाई कामको जानकारी नदिएको आचार्यले बताउछन् । घटनास्थलको प्रतिवेदन आज पेश भएसँगै अनुसन्धान अधिकृत तोकेर घटनाको अध्ययन सुरु गर्ने उनले बताए । निकुञ्जले अब सडक बिभागलाई पत्राचार गर्ने उनको भनाई छ ।

गैडा कहाँबाट त्यहाँ फस्यो ?
नजिकैको वनदेवी सामुदायिक वनबाट भाग्ने क्रममा खाल्डोमा फसेको निकुञ्जका कर्मचारी बताउँछन् । अर्को गैडासँग जुधेर भागेको हुनसक्ने आशंका गरिएको छ । उक्त गैडा बनमा संरक्षणका लागि लगाइएको तार जाली भत्काएरै बाहिर आएको थियो । ’तारजाली भत्काएर बाहिर आएको हुनाले आपसमा जुधेर भागेको हुन सक्छ, हामी अनुसन्धान गर्दैर्छौ,’ निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले भने,’ समयमै निर्माण आयोजनाले ढलको खाल्डो पुरेको भए यस्तो अप्रिय घटना हुन्थेन कि भन्ने हो ।’

निर्माण कम्पनी इन्डो सगुनका प्रतिनिधि सहदेव थापाले भने राष्ट्रिय राजमार्ग भएकाले सावधानीपूर्वक नै काम गरिएको बताए । ‘वाल उठाउने क्रममा ढलान गरेका थियौ, त्यसको केही दिन सम्म पानी हाल्नुपर्ने, काम गर्ने चरणमै भएकाले साइडमा खाल्डो थियो,’ थापाले भने, ‘घटना जे भएको छ, दुखद हो । यसमा हाम्रो लापरबाही भन्न मिल्दैन ।’

संरक्षणमैत्री विकासको अपरिहार्यता बोध
नेपालको विकास गर्ने तौरतरिकामा गम्भीर बहसको खाँचो पटक पटक औंल्याइएको छ । पछिल्लो समय यथेष्ट प्राविधिक, सामाजिक र बातावरणीय अध्ययन बिना धमाधम डोजरको प्रयोग गरेर संरचना तयार गर्ने गरिएको छ । यसले बाढी, पहिरो, भुक्षय जस्ता प्राकृतिक विपद् त निम्ताएकै छ, निकुञ्ज आसपासमा उसैगरी निर्माण गर्न थालिएका र गरिएका संरचना मानिसका साथै पशुपंक्षीलाई समेत धराप सावित भएका छन् । यसले संरक्षणमैत्री विकासको अपरिहार्यता अझ बढी बोध भएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताए । यसमा अबका दिनमा थप सचेत गराउने उनको भनाई छ ।

भारत पुग्छ गैडा, फिर्ता ल्याउनै समस्या
नेपालका गैडा भारत पुग्छन् । निकुञ्ज भएर बगेका नारायणी, राप्तीजस्ता नदीमा बाढी आउँदा वन्यजन्तु बगेर भारत पुग्छन् । बिभिन्न कारणले भारत पुगेका गैँडा र अन्य वन्यजन्तु फर्काउन निकै कठिन हुने गरेको छ ।
नेपाल–भारत सीमा क्षेत्र अन्र्तगत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को त्रिवेणीबाट गत मङ्सिर ६ गते एउटा गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा फर्काइयो । नारायणी नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको गैँडा नेपाल फर्केको मौका छोपी नेपाली प्राविधिकले उद्धार गरेर निकुञ्ज फर्काएको निकुञ्जका पशु चिकित्सक तथा गैंडा उद्धार प्राविधिक टोलीका संयोजक डा. विजय श्रेष्ठले बताए । नदीले बगाएर वा अन्य कारणले भारत पुगेका गैँडा कहिले फर्कन्छन् र उद्धार गरेर फर्काउने भनेर कुरेरै बस्नुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
हात्तीको सहयोगमा गैँडालाइ डार्ट (बन्दुकबाट बेहोस बनाउने औषधि दिएर) उद्धार गरिन्छ । पछिल्लो तीन वर्षमा चार वटा गैँडालाई नेपाली भूमिमा फर्केको मौका छोपी उद्धार गरिएको निकुञ्जले जनाएको छ । त्यसअघि २०७४ साउन २८ गते आएको बाढीले बगाएर भारत पु¥याएका मध्ये नौ वटालाई भारतीय क्षेत्रबाटै उद्धार गरेर निकुञ्ज फर्काइएको थियो ।

संख्यासँगै चूनौति बढ्यो, तर व्यवस्थापन सम्भव छ
गैँडाको सङ्ख्या बढे सँगै अभियानमा चुनौती थपिए पनि यसको व्यवस्थापनमा ध्यान दिए तत्काल कुनै समस्या नहुने गैँडाविज्ञ नरेश सुवेदी बताउँछन्। एकै ठाउँमा धेरै गैँडा हुँदा जुधेर घाइते हुने तथा मर्ने सम्भावना बढी हुने हुँदा तिनको व्यवस्थापन गर्न आवश्यक भएको सुवेदीको भनाई छ । उनका अनुसार ३० प्रतिशत गैँडा जुधेर मरेका छन्।

वासस्थान व्यवस्थापन गर्दा घाँसे मैदान विस्तार, घोलको संरक्षण तथा मिचाहा प्रजातिको वनस्पति नियन्त्रण गर्न आवश्यक हुने उनको सुझाव छ । गैँडाको घनत्व बढी भएको स्थानबाट कम भएको स्थानमा आन्तरिक स्थानान्तरण गर्न सकिने सुवेदी बताउँछन् ।
विज्ञहरुका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ८०० देखि ९०० वटासम्म गैँडा अटाउन सक्छ भने बर्दिया राष्ट्रिय निकुञ्जमा १०० वटा र शुक्लाफाँटामा ५० वटा र कोशीटप्पुमा ३० देखि ५० वटा गैँडा अटाउन सक्छ । तर गैँडा संरक्षणको लागि चोरी सिकार नियन्त्रण र मानिससँगको द्वन्द्व कम गर्नु महत्त्वपूर्ण हुने सुवेदी बताउँछन् ।

२०७८, १० माघ सोमबार ०६:५३
कथालिका नयाँ कथा
कथालिका