फलामे साङ्लो पछि जागेश्वरको जीवन – कथालिका

फलामे साङ्लो पछि जागेश्वरको जीवन

जे सोँच्यो, जस्तो सोच्यो, त्यस्तै जीवन कुनै मानिसको होला ? यस्तो भाग्यमानी पात्र पृथ्वीमा सायदै होला । पुरै सोचे जस्तो नभए पनि धेरैको सोच र सपना अनुसारको जीवन चलिरहेकै छ । कतिपयको जिन्दगी भने कहिल्यै सोच्दै नसोचेका घटना र उतार चढावले ग्रसित बन्दो रहेछ ।

बारा जिल्लाको कलैया उपमहानगरपालिका– १८ मोतिसरका जागेश्वर ठाकुरको जीवन संघर्षपूर्ण तर सामान्य चलिरहेको थियो । दैनिक दुःखजिलो गरेर साँझ विहानको जीविका चलाउने ठाकुरको जिन्दगीमा समय बित्दै जाँदा यस्तो दिन आयो, ठाकुरको ‘मानसिक असन्तुलन’ भयो । यसले उनको जीवनको लय त क्रमभंग भयो नै, पारिवारिक जीवन र सपनाहरु पनि क्षतबिक्षत बन्न पुगे ।

ठाकुरले बञ्चरो हान्थे परिवारलाई
ठाकुर खै कसरी यस्तो अवस्थामा पुगे ? न ठाकुरलाई थाहा छ, न त परिवारलाई । ठाकुर दैनिक कराउन चिच्याउन थाले, हातमा जे छ त्यसैले परिवारका सदस्यदेखि देख्ने मान्छेहरुलाई हान्न थाले । ‘दुःख सुख गरेर जीवन चलाइरहेका थियौ, खै के आइलाग्यो, उहाँ (श्रीमान) पागल जस्तो हुनु भयो,’ ठाकुरकी श्रीमति सुवामा यादवले भनिन्, ‘त्यसपछि हामीसँग झगडा गर्ने, बञ्चरो हान्ने, अरु हातहतियार जे भेटिन्छ, त्यसैले हान्न थाले पछि हाम्रो साना खुसीहरु पनि एकाएक उजाडियो ।’

फलामे साङ्लामा तीन वर्ष

सबैलाई गाली गर्ने, अपशब्द बोल्ने, हान्ने गर्न थाले पछि परिवार र सिंगो समाज आजित बन्यो । त्यतिबेला जागेश्वरलाई खास उपचारको आवश्यक थियो । तर, परिवारको आर्थिक अवस्था कमजोर थियो । दैनिक मजदुरी गरेर जीवन चलाउनु पर्ने बिबशताका अगाडि ठाकुरको उपचार छायामा प¥यो । समाजका मानिसहरु पनि उनको उपचार भन्दा उनलाई कसरी नियन्त्रणमा राख्ने भनेर सुझाव दिन्थे । त्यसैले जागेश्वरलाई सबजना मिलेर घरमै फलामे साङ्लोले बाँधेर राख्न थालियो । ‘हात खुट्टा बाधेर राख्नु पर्दा त मन यति दुख्थेन, कति रोएरै बितायौ समय, त्यो बाध्यता बनेर आइलागेको थियो’ श्रीमति सुवामा भन्छिन्, ‘गोठमा बाँधेका गाईबस्तुको गोबर फाले झै विहान बेलुका दिशा पिसाब सफा गर्दिन्थ्र्यौ, खाना दिँदा एउटा हातको साङ्लो मात्र खोल्दिन्थ्यौ, एउटा हात र खुट्टाको साङ्लो भने वर्षौदेखि बाधिराखियो ।’

जब साङ्लो तोडेर मानव आश्रममा आए
चार वर्षदेखि जागेश्वरलाई साङ्लोले बाँधेर राखिएको थियो । एक वर्ष अघि मात्रै सञ्चार माध्यममा यो खबर आयो । त्यसपछि मानव सेवा आश्रमको टोलीले यो विषयलाई संवेदनशीलताका साथ लियो र घर पुग्यो । सर्वश्रेष्ठ प्राणी मानिसहरुको समाजमा भइरहेको अमानवीय कर्मको एक पराकाष्ठा थियो । जुन दृश्य देख्दा मानव सेवा र कर्मलाई जीवन बनाएकाहरुको मन भाव बिह्वल बन्यो । मानव सेवा आश्रमको टोलीले जागेश्वरलाई फलामे साङ्लोबाट मुक्त ग¥यो ।

‘वर्षौदेखि साङ्लोमा बाँधिएर बसेका जागेश्वर उस्तै बिक्षिप्त अवस्थामा थिए, उनले आश्रममा पनि हल्ला गरे, चिच्याए, कराएँ,’ मानव सेवा आश्रम पर्साकी जिल्ला संयोजक सोनु गुरुङ भन्छिन्, ‘सुरुका दुई दिन दुई रात त हामीले पनि औषधि खुवाएर कोठामै थुनेर राख्न बाध्य भयौ, तेस्रो दिनदेखि भने विस्तारै औषधिले काम गर्न थाल्यो ।’ आश्रममा ल्याउँदा ठाकुर वर्षाै बाधिएर बसेकाले हिँड्न पनि सक्नुहुन्थेन । दुई वटा हातमा हातमा लौरो दिए हिँड्न सिकाउने र अभ्यास गराउने गरेको गुरुङ बताउँछिन् । ‘हामीले अस्पतालमा परीक्षण गराउने र औषधि नियमित गराउँदै गयौ, उहाँको स्वास्थ्य र सरसफाईमा विशेष रुपमा ध्यान दियौ,खुल्ला पार्क तिर घुमाउन लैजान थाल्यौ’, उनी सम्झिन्छिन्, ‘त्यसपछि जागेश्वरले आफ्नो घर परिवार सम्झन थाले, परिवारका दुःख स्मरण गर्न थाले, अनि घर जान्छु भन्न थाले ।’

यसरी भयो पुर्नमिलन

जागेश्वरको जीवन कुनै चलचित्रको कथा जस्तो भएको स्थानीय बताउँछन् । मानसिक रुपमा अस्वस्थ भइ फलामे साङ्लोमा बस्न बाध्य भएका जागेश्वर ठाकुर ढिलै भए पनि उद्धार उपचार पश्चात सामान्य अवस्थामा फर्किनु स्वयम् परिवार र धेरै स्थानीयले नसोचेको कुरा थियो ।

मानवसेवा आश्रम वीरगञ्ज शाखाले २०७८ जेठ २२ गते उद्धार गरेर मानसिक स्वास्थ्यको उपचार सुरु गरेको थियो । ठाकुरको स्वास्थ्य अवस्था बिग्रेको १२ वर्ष भएको परिवारका सदस्य बताउँछन् । नजिकमा कसैलाई देखेको अवस्थामा गाली गर्ने, कुट्न खोज्ने र एक्लै बसेर बरबराइरहने गरे पनि राम्रो उपचार र औषधी व्यवस्थ ागर्न नसक्दा यो अवस्था आएको श्रीमति सुवामा बताउँछिन् ।

‘आश्रममा आएपछि हामी सबैको माया र प्रेमले उहाँले विस्तारै सामान्य मानिसको जस्तो आचरण देखाउन थाल्नुभयो,’ मानवसेवा आश्रम पर्सा जिल्ला संयोजक गुरुङ भन्छिन्, ‘पछिल्लो केही दिन यता अवस्था ठिक भएर आफैले म घरमा जान्छु, काम गरेर खान सक्छु, परिवारलाई पाल्छु भन्नु भएपछि आश्रमको टिम उहाँको घरमा पुगेर पारिवारिक पुनर्मिलन गराएको हो ।’ पुर्नमिलनले एक व्यक्तिको जीवन मात्र नभई, सिंगो परिवारको खोसिएको हासो खुसी पुनः फर्किएको उनले बताइन् ।

पुर्नमिलनमा देखिएका आँशु र आशा

जागेश्वरको परिवारमा बृद्ध आमा, श्रीमति, दुई छोरा छन् । एक छोरा बोल्न नसक्ने अवस्था छन् । एक छोरी भने विवाह भइसकेको छ । पुर्नमिलनका लागि जागेश्वर घर पुग्दा परिवारका हर सदस्यदेखि स्थानीय गाउँले छरछिमेकको समेत आँखामा आशु थियो । ‘यो मान्छे त यसरी नै मर्छ होला भन्ने सोचेका रहेछन्, यस्तो चामत्कारिक परिवर्तन त चलचित्रको कथामा मात्रै देखे, सुनेका थियौ भनेर हामीलाई सबैले धन्यवाद दिनु भो,’ संयोजक गुरुङ भन्छिन्, ‘मानवता बाँकी छ, समाजमा मानवता जोगाइ राख्नुपर्छ भन्ने प्रमाणित गर्ने अवसर पायौ, मानवियताकै कारण जागेश्वरको जीवन र परिवारमा हराएको खुसी फर्किएको छ ।’

आश्रमद्धारा ७ हजारको उद्धार
मानवसेवा आश्रम २०६९ सालमा स्थापित भएको हो । यसले घर परिवार आफन्तविहीन सडकपेटी र सार्वजनिक स्थलमा रहन बाध्य सहयोगापेक्षी सडक आश्रित मानव र परिवार हुँदा हुँदै पनि घरपरिवारले नै अमानवीय रुपमा उपेक्षित, थुनेर वा बाँधेर राखिएका सहयोगोक्षी व्यक्तिको उद्धार गर्दै आइरहेको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी बताउँछन् ।
हाल सम्म मानवसेवा आश्रमको संरक्षणमा १६ सय बढी सहयोगापेक्षी व्यक्तिहरु आश्रित छन् । १० वर्षको अन्तरमा करिब ७ हजार को उद्धार गरिसकेको अधिकारीले बताए । मानवसेवा आश्रम नितान्त मुठ्ठीदानबाट सञ्चालित छ ।

२०७८, १३ माघ बिहीबार ०८:१९
कथालिका नयाँ कथा
कथालिका