जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–६ दैयाका हलिया समुदाय गिट्टी कुटेर जीविकोपार्जन गरिरहेका छन् । सरकारले मुक्त हलिया घोषणा गरे पनि हलियाको जीवनस्तर पछिल्लो समय झन् नाजुक बन्दै गएको छ ।
हलिया समुदायका मानिसले दैनिक जीविकोपार्जनका लागि गिट्टी कुटेर दिन बिताउने गर्दछन् । तर गिट्टी बिक्री नभएपछि बिहान बेलुकी छाक टार्न उनीहरुलाई सकस भएको छ । गिट्टी बेचेर बिहान–बेलुकीको छाक टार्दै आएका उनीहरुले कुटेका गिट्टी पनि बिक्री हुन छाडेको बताइएको छ ।सरकारले मुक्त हलिया घोषणा गरे पनि उनीहरुले उचित राहत र जग्गा नपाउँदा खोला किनारमा गिट्टी कुट्न बाध्य छन् । स्थानीय सरकार ले काम गरेको पाँच वर्ष पुग्न लाग्दा पनि हलिया समुदायले स्थानीय तहबाट पाउने सेवा–सुविधा नपाएको गुनासो गरेका छन् ।
बुढीनन्दा नगरपालिका–६ दैयाका खड्के विककी आमा शारीरिक अपाङ्गता हुनुहुन्छ । आमाबुवालगायत १४ जना परिवार पाल्न उहाँलाई निकै समस्या छ । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रममा समेत राजनीतिकरण गरेर आफ्नो परिवारलाई छनोट नगरेको दुःखेसो पोखे । उनले भने “थोरै जमिन थियो । त्यही जमिनसमेत बड्डीगाड खोलाले बगायो । अहिले ढुङ्गा फुटाएर नै सकिनसकी १४ जनाको परिवार पाल्दै आएको छु ।”
स्थानीय तहबाट पाउने हरेक सेवासुविधाबाट बञ्चित हुँदै आएको उनको गुनासो छ । हलियाले पाउने भनेको राहतसमेत अहिलेसम्म पाउन नसकेको अर्का हलिया सगुने विकले बताएका छन् । उनले भने “परिवार पाल्नका लागि बड्डीगाड खोलामा दिनभरि ढुङ्गा फुटाउँछु । पछिल्लो समय कुटेको गिट्टी बिक्री समेत भएको छैन । ”
घर खर्च चलाउनका लागि गाउँमा रोजगारी नपाएपछि श्रीमान्लाई कोरोनाको जोखिममा समेत भारतमा काम गर्न पठाएको गौती विकले दुखेसो पोख्नुभयो । उनले भने, “कोरोना आएको छ, श्रीमान भारतमा छन् । के–कस्तो छ फोनसमेत गर्न पाएको छैन । श्रीमान्ले अलिकति पैसा कमाएर ल्याएपछि उदारो ल्याएको दालचामलको पैसा तिर्नहुन्थ्यो ।”
आफूले पनि दिनमा गिट्टी कुटेर छोराछोरीको पेट पाल्ने गरेको उनले बताए । “पेट पाल्नकै लागि दुःख गरेर खोलामा मरिमेटी ढुङ्गा फुटायौँ, तर ती फुटाएका ढुङ्गासमेत बिक्री नभएर खोलामै थन्किएका छन्”, अर्की पीडित जनकला विकले भने।
उहाँहरु मात्रै होइन, दैयाका हलिया दिनभरि कामका लागि विभिन्न ठाउँमा भौतारिरहेका हुन्छन् । तर काम नपाएपछि बेलुका निराश हुँदै घर फर्कने गरेको नरे विकले बताए । आफूले लगाएको घरमा टिन हाल्ने पैसा नहुँदा अहिलेसम्म घर छाउन नसकेको उनको गुनासो छ । उनले भने “ घर छाउन सहयोग पाएको छैन । ”