बगरका माझी बगरमै – कथालिका

बगरका माझी बगरमै

माझी दाईले जुनीभरी डुङ्गा टारिरहे
अरुलाई टार्दा टार्दै आफु चाँही वारी रहे
उदित नाराण झाको स्वरमा स्वरवद्ध यो गीतले धेरै माझी समुदायको जीवन कथा बोल्छ । कालीगण्डकी किनारमा जलमै जीवन बिताइरहेका गमसिन माझीको जीवनमा यो गीत पूर्णतः मेल खान्छ । पर्वत र बागलुङको सिमाना बस्दै आएका गमसिन अहिले उमेरले ५० पुगे । उनी २० वर्षे लक्का जवान हुँदा कालीगण्डकी नदी वारपार गर्ने एउटा मात्रै विकल्प डुङ्गा थियो । आफ्ना बुबा काकाहरुसंगै गमसिन पनि डुङ्गा चलाउँथे र यात्रीलाई कालीगण्डकी वारपार गराउँथे ।

पुख्र्यौली पेशा भएका कारण उनले कत्तिलाई वारपार गराए, उनलाई हेक्का छैन । अलिअलि हात पाखुरा चल्ने भएदेखि नै उनले वारीपारि गराउने काम गरिरेहका थिए । निरन्तर बगिरहेको कालीगण्डकी जस्तै जिन्दगी पनि आफ्नै रफ्तारमा बग्दै थियो । निरन्तर सलल बगिरहेको उनको जिन्दगीमा २०४८/०४९ सालमा अचानक भेलबाढी आयो । त्यही भेलबाढीले उनी बगरमा मिल्काइए । अरुलाई पारी टार्दा टार्दै उनी आफै वारी छुटे । त्यसपछि दिन अरु कठिन कठिन भयो । त्यो बेला विहान बेलुकाको गासका लागि गरेको संघर्ष अब गासबास दुबैका लागि गर्नुपर्ने भयो । बागलुङ-पोखरा राजमार्ग निर्माण गर्ने क्रममा बस्ती नै विस्थापित भएपछि झण्डै तीन दशक उनले बाँङ्गेचौर छाप्रो हालेर बिताउन पुगे ।
…………………………
देउकली माझी ७१ वर्षको भईन् । २००७ नेपालमा प्रजातन्त्र स्थापना भएकै सालमा उनको जन्म भएको हो । यो ७ दशकको अवधीमा उनले थुप्रै जीवनका उकाली ओरालीहरु झेलिन् । उनको जीवनले राणाकालदेखि पञ्चायत, प्रजातन्त्र, गणतन्त्र सबै देखे । देशमा एकपछि अर्को व्यवस्था परिवर्तन हुँदै गए । देउकलीको जीवनमा झन् भन्दा दुःख पिरलो थपियो । कालीगण्डकी नदीको बगर नजिकै उनको छाप्रो छ । जीवनका उर्जावान समयहरु खर्च भैसके । अचेल उनी आफ्नै झुपडीमा बसेर बगिरहेको कालीगण्डकी नियाल्छिन् । सुस्साउँदै बगेको कालीगण्डकी एक निमेष पनि नरोकिइ बगिरहेछ । नजाने कहाँ पुग्न हतारोमा छ । हिउँदमा दुब्लाएको काली बर्खामा उर्लिन्छ । वैंशले उन्मत्त कालीले वारपारका वस्तुहरु मडारेर लैजान्छ । हर बर्खा कालीको वैंश फर्किन्छ । देउकलीका दिनहरु भने निरन्तर बितिरहेका छन् । बितेर गएको उनको वैंशका दिनहरु अब फर्कने छैन । हिउँदमा शान्त र सुशिल काली बर्खामा उर्लदै बगेको देखेकी देउकली र कालीगण्डकीमा एउटै विषय समान छ । काली ओरालो बगिरहेछ र उनको जीवन पनि अब ओरालो यात्रामा छ ।
…………………………….
३० वर्ष अगाडि सम्म बागलुङ नगरपालिका-१ खनियाबासका माझी समुदायका पुरुष डुङ्गा टार्ने, हिउँदमा कालीगण्डकीको बगरमा सुन चाल्ने, माछा मार्ने र महिलाहरु बागलुङ बजारमा अरुको घरमा काम गरेर जीवन गुजारा चलाउँथे । २०४८ सालमा बागलुङ पोखरा राजमार्ग निर्माण सुरु भएपछि उनीहरुको सिंगो बस्ती नै विस्थापित भयो । उनीहरु आफ्नो पुरानो थातथलोबाट खेदाइए । संगै पुख्र्यौली पेशामा संकटको बादल मडारियो । आफ्नो पुख्र्यौली थलोबाट विस्थापित भएपछि उनीहरुले साढे दुई दशक बाङ्गेचौरमा बिताए । सडक निर्माणसंगै नयाँ पुल र मालढुङ्गामा पुल बनेपछि डुङ्गा टार्ने काम रोकियो । सुन चाल्ने काम गर्नका लागि सबैका सीप भएन । माझीहरु विस्तारै वैकल्पिक पेशामा लाग्न थाले ।

मृत्यु भए कालीगण्डकी ‘जुठो’
खनियाबासका माझीहरु कालीगण्डकीलाई आफ्नो दाजुभाई मान्छन् । माझी समुदायमा कसैको मृत्यु भयो भने कालीगण्डकी जुठो पर्छिन् भन्ने मान्यता अझै पनि रहँदै आएको छ । हुन पनि माझीहरुको बाँच्ने आधार नै कालीगण्डकी नदी हो । पछिल्लो समय कालीगण्डकीमा सुन चाल्ने र डुङ्गा टार्ने दुबै काम नचल्ने अवस्थामा पुगेपछि माझीहरु अहिले त्यही कालीगण्डकीबाट गिटी बालुवा चालेर आफ्नो दैनिकी चलाई रहेका छन् । युवा पुस्ताका माझीहरु ड्राइभिङ र गाडी लोड अनलोडको काममा पनि लागेका छन् । यद्यपि, अहिले पनि माझी समुदायको बाँच्ने आधार मुख्य रुपमा कालीगण्डकी नै हो । बगरका माझीहरु अहिले पनि बगरमै रहेको उनीहरु स्वयम् बताउँछन् ।

डोजर चलाउदा मर्कामा माझी

पछिल्लो समय क्रसर व्यवसायीले डोजर लगाएर कालीगण्डकीबाट गिटी बालुवा निकाल्न थालेपछि हातले खस्रेर गिटी बालुवा निकाल्दै आएका माझी समुदाय मर्कामा छन् । डोजर प्रयोग गरी ढुङ्गा बालुवा निकाल्दा आफूहरुलाई समस्या परेको देउकुमारी माझी बताउँछिन् । ‘डुङ्गा चलाउने, सुन चाल्ने हाम्रो पेशा सकियो,’ उनी भन्छिन्,‘गिटी बालुवा निकाले छाक टार्दै आएका थियौं । अहिले त्यहाँ पनि धनी हुने खानेहरुले डोजर लगाईदिएर हामीलाई अप्ठ्यारो पारेका छन् । विगतमा सुन भेटिने कालीगण्डकीको बगर अहिले गहिरा खाडलमा परिणत भएको उनको गुनासो छ । ‘सुन भेटिने जग्गा त कतै बाँकी नै छैन, डोजर चलाएपछि अहिले ढुङ्गा बालुवा पनि नपाउने अवस्थामा पुगेको छ,’ उनी गुनासो गर्छिन् ।

हातले चालेका बालुवामा पनि ‘ठगी’

नदी बगरमा भएको ढुङ्गा गिटी डोजर प्रयोग गरेर उठाईदिँदा उसै पनि मर्कामा परेका माझीहरु बल्ल तल्ल जम्मा गरेको गिटी बालुवा बिक्री गर्दा पनि ठगिने गरेका छन् । व्यवसायीले उनीहरुलाई एक ट्याक्टर गिटी बालुवाको जम्मा एक हजार पाँच सय रुपैयाँ मात्रै दिने गरेको उनले सुनाईन् । ‘साहुहरुको गाडी आउँछ, त्यही १५ सय रुपैयाँमा दिने गरेका छौं,’उनले भनिन्,‘त्यसैमाथि गिटी बालुवा उठाउन आउने गाडीका ड्राईभरले चिया खर्च एक दुई सय रुपैयाँ देउ भन्छन् । हामी त जसरी पनि मारमै छौं ।’ आफुहरुले पनि व्यवसायीलाई बिक्री गर्नुपर्ने भएकाले उनीहरुले भनेकै मूल्यमा नदिए नकिन्दिने समस्या रहेको उनले बताईन् । सामान्य तया बागलुङमा क्रसर उद्योगबाट उपभोक्ताले गिटी बालुवा किन्दा पाँच हजार देखि सात हजार रुपैयाँसम्म प्रति ट्याक्टर तिर्नुपर्ने हुन्छ ।

पहिले सुन चाल्ने ठाउँ अहिले गुमनाम
कृष्ण माझी अहिले ३८ वर्षका भए । सानो हुँदा उनले बुबा हजुरबुबाले डुङ्गा चलाएको तथा सुन धुने काम गरेको देखेका छन् । कालीगण्डकीको बगरमा सुन चाल्नका लागि बनाईएका ठाउँहरु पनि उनलाई याद छन् । तर अहिले त्यसको अवशेष पनि ती ठाउँहरुमा देख्न पाइँदैन । उनी भन्छन्,‘ढुङ्गा बालुवा नै डोजर लाएर सुनको मूल्यमा विक्री वितरण भैरहेको छ, सुन चाल्ने ठाउँहरुमा अहिले त्यसका लागि कुनै पनि संरचनाका अवशेष बाँकी छैनन् ।’ पेशा नै हराएपछि उनी बागलुङ बजारकै एक अफसेटमा कम्प्युटर अपरेटरको रुपमा काम गर्छन् । ‘बाउ बाजेको पेशा हामीले अलिअलि थाहा पाउँदासम्म देख्नसम्म भ्यायौं । त्यो काम गर्न पाईएन,’ उनले भने ।

माछा बेच्ने माझी आफै चाख्न पाउँदैनन्
पुख्र्यौली पेशाबाट विमुख भएका गमसिन माझी अहिले बागलुङमै कोक डिलरको गाडी चलाउँछन् । आफु जस्तै ६÷७ जना अन्य माझीले पनि ड्राईभरको काम गर्ने गमसिन बताउँछन् । ‘मैले डिलरको गाडी चलाउँछु, अरु पाँच÷६ जनाले पनि गाडी चलाउँछन्, कतिले ट्याक्टर कतिले पिक अप चलाउने गरेका छन्,’ उनले भने । माछा मारेर बिक्री गर्ने माझीको पुख्र्यौली पेशा भए पनि अहिले आफैले चाख्न नपाउने अवस्था रहेको उनी बताउँछन् । ‘माछा त कहिलेकाँही आफैलाई चाख्नका लागि मात्रै मार्ने हो,’ उनी भन्छन्,‘बिक्री गर्ने गरी मार्ने चलन छैन ।’ माझी बस्तीका सबैजसो महिला गिटी बालुवा जम्मा गरेर जिविकोपार्जन गर्ने गरेका छन् ।

जले माझी यसरी भए खाली हात
खनियाबासका माझीहरुको पुरानो र मुख्य पेशा सुन धुने भएको ७१ वर्षीया देउकली माझी बताउँछिन् । ‘हामी त सुनधुवा माझी हौं, यहाँ भन्दा माथि माझी नै छैनन्,’ उनी भन्छिन्,‘हाम्रा बाउ बाजेहरु हिउँदमा सुन धुनका लागि म्याग्दीसम्म पुग्ने गर्थे ।’ अधिकाँश समय पानीमै बिताउने गरेका कारण आफूहरुलाई जले माझी पनि भन्ने गरिएको उनी बताउँछिन् । ‘सुन चाल्ने, डुङ्गा टार्ने, माछा मार्ने काम गर्दा धेरै समय जलमै हुने भएकाले जले माझी पनि भन्थे,’ उनी भन्छिन् । खनियावासको अधिकाँश जग्गा विगतमा माझीकै भएको उनी बताउँछिन् । ‘यहाँका सबैजसो जग्गा माझीको थियो, बर्खाको समयमा खानेकुरा नहुने अन्न लिएर खाने साहुको बन्धकी राख्ने गरी गरी यहाँका जग्गा माझीले बेचेर अहिले सबै अरुका भएका छन्,’ उनले भनिन् ।

दुई दशक पछि आफ्नै घर
सडक निर्माणका क्रममा विस्थापित भएर साढे दुई दशकको कष्टकर जीवन पछि दुई वर्ष अगाडि मात्रै बागलुङ नगरपालिकाले यहाँका माझी समुदायका लागि घर बनाइदियो । तत्कालिन समयमा विस्थापित हुँदा रहेको १४ घरलाई आधार बनाएर नगरपालिकाले १४ परिवारको लागि घर निर्माण गरिदिएको हो । हरेक वर्ष दशैंमा घर पाउने आश्वापन पाउँदै आएका माझी समुदायले दुई वर्षयता आफ्नै घरमा बस्दै आएका छन् । एक करोड १३ लाख रुपैयाँको लागत अनुमान गरिए पनि ठेकेदार कम्पनीले ८२ लाख ३० हजारमा बनाउने जिम्मा लिएको थियो । नगर विकास कोषको ८० प्रतिशत अनुदान, १० प्रतिशत ऋण र १० प्रतिशत स्थानीय श्रमदानमा बस्ती निर्माण भएको हो । बस्ती निर्माण भए पनि अन्य विकासका पूर्वाधारहरु पुग्न बाँकी नै छ ।

घर पाए, लालपुर्जा अझै पाएनन्
आफू सहित तीन परिवारले अहिले पनि घरको लालपुर्जा नपाएको गमसिन माझीले बताए । ‘नगरपालिकाले घर बनाईदिएपछि अरु सबैले घरको लालपुर्जा पाए,’ उनले भने,‘हामी सहित तीन घरले पाएका छैनौं । नगरपालिकासंग बुझ्दा प्रक्रिया हुँदैछ भन्ने कुरा छ ।’ घरको लालपुर्जा नहुँदा विद्युत उपभोगमा समस्या परेको उनी बताउँछन् । घरजग्गाको कित्ताकाट नखुलेका कारण समस्या भएको बागलुङ नगरपालिका बताउँछ । ‘जग्गा नभएपछि २२ आना जग्गा हामीले नगरपालिकाबाट संस्थाको नाममा किनेका थियौं,’ बागलुङ नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदी भन्छन्,‘कित्ताकाट नभएका कारण लालपुर्जा दिन नसकेका हौं ।’ अन्य पूर्वाधारका काम आवश्यकता अनुसार गर्दै जाने उनको भनाई छ । ‘सडकको अलि समस्या छ त्यसका लागि बजेट विनीयोजन भएको छ,’ उनले भने,‘नाली निर्माण लगायतका कुरा त आवश्यकता अनुसार गर्दै जाने हो ।’

बागलुङ नगरपालिकाले १४ घर माझीलाई घर बनाईदिएको थियो । अहिले त्यो संख्या बढेर १७ घर पुगिसकेको छ । खोला किनारका माझी अहिले पनि खोला किनारमै छन् । जीवन कालीको बगरमै बितेको छ । कालीगण्डकी दोहनको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेपछि सर्वोच्चले कालीगण्डकीमा गिटी बालुवा उत्खनन् गर्न अहिलेका लागि रोक लगाएको छ । यही बहानामा हातै गिटी बालुवा जम्मा गर्ने मजदुरहरुलाई पनि नियामक निकायले रोक लगाए । त्यसको मारमा माझी पनि परे ।

माझी बस्तीलाई नमुना बस्तीको आश्वासन
अहिले माझीले हातले मात्रै गिटी बालुवा संकलन गर्न दिइएको छ । घर पाए पनि माझीहरुको मुख्य समस्या भनेको दीर्घकालीन आयआर्जन नै हो । लायन्स क्लबले माझी समुदायलाई आत्म निर्भर बनाउन भनेर केही महिना अगाडि प्रत्येक घरधुरीलाई केही बाख्रा तथा कुखुरा वितरण गरेको छ । लायन्स क्लबले ‘माझी बस्तीलाई आत्मनिर्भर नमुना बस्ती’ बनाउने भनेर सुरु कुन रुप धारण गर्छ हेर्न बाँकी छ ।

२०७८, १६ माघ आईतवार ०६:१५
कथालिका नयाँ कथा
कथालिका