माइतीमा महिला – कथालिका

माइतीमा महिला

सारङ्गीमा एउटा तार चुडियो भने सारङ्गी नै काम नलाग्ने भन्ने हुँदैन । हाम्रो समाजमा कुनै नारी वा पुरुष बिचको सम्बन्ध कारणबस टुट्यो भने पुरै खराब जस्तो ठानिन्छ । तर, सबै खराब हुँदैनन् । त्यस घटना, अप्रिय निर्णयको विन्दु सम्म आइपुग्नुका पछाडिका कारणहरुको गम्भीरतापूर्वक खोजी गरिदैन । सम्बन्ध विच्छेद भए देखि मानिसले राम्रै काम गरे पनि नकारात्मक तवरले हेरिन्छ । त्यसमा पनि पुरुषलाई त धेरै स्वतन्त्रताकै जीवन हुन्छ । आफ्नै घरमा बस्छ, बाहिर कतै निस्किन्छ, उसलाई घरमा खासै रोकतोक हुँदैन । धेरै नै तनाब हुँदा साथीभाइ सँग बस्छ, खान्छ, रमाइलो गर्छ । घरमा साथीहरुसँग छु भन्छ, सहजै लिइन्छ । तर, नारी सम्बन्ध टुटेपछि माइती घर फर्किनु पर्ने बाध्यतामा हुन्छ । हुन त आजकाल अन्यत्र कोठा/फ्लाट खोजेर पनि बस्न सक्छन् । यद्यपि, समाजले त्यसलाई पनि नराम्रो नजरले हेर्छ । श्रीमान् छोडेर रमाउन माइत पनि नगई बाहिर कोठा खोजेर बसेकी छे भन्छ, कुरो काट्छ ।

सम्बन्ध सुधार वा सम्बन्ध नटुटाउनका लागि अक्सर एउटा महिला पुरुषले भन्दा बढी नै प्रयास गर्छन् । आफूले आफ्ना रहर, स्वतन्त्रता, चाहनाहरु गुमाएर पनि पति पत्नीको सम्बन्धलाई समाजको अगाडि थामथुम गर्छ । घर परिवारले दिएका/लगाएका चोटहरु भरसक लुकाउने कोसिसमा हुन्छन् तर, मान्छे हो, सबैको मन हुन्छ । सम्बन्धमा ठूलै दरार उत्पन्न भए पछि परिवार वा भनौं सम्बन्ध बिच्छेद गर्ने बाध्यात्मक अवस्थामा पुग्छन् र माइतीघरको ढोका ढकढकाउन पुग्छन् । त्यसमा पनि मागेर गएकी नारीलाई भन्दा भागेर गएकी नारीलाई अझै अप्ठ्यारो अवस्था हुन्छ । त्यसमा पनि बच्चाबच्ची नभएका नारीहरुलाई त एउटा शरीर जहाँ गए पनि जे खाए पनि भो, बच्चाबच्ची भएकी नारीलाई त बच्चा छोडेर कहाँ जाने ? सँगै लिएर लालन पालन सहितको जीवन यात्रा र जिम्मेवारी बढी नै हुन्छ ।
घर छाडेर माइत आएको दिन माइतीले छोरीले साह्रै दुःख पाई, कस्तो घरमा दिएछौं वा गइछ, भाग्य पनि कस्तो होला ? चिन्ता नगर छोरी हामी छौं, यो घर तिम्रो पनि त हो भन्छन्, माया गर्छन् । माइतिघरमा आए पछि नारीले पहिले झैं आमालाई सघाउने, घरको काम गर्ने गर्छिन् । दिन सौहार्दपूर्ण वातावरणमा बितिरहेको हुन्छ । घरमा भएका घटना, परिघटना, त्यसक्रममा पाएका दुःख, पीडा, यातना सुनाउँछिन् । अनि माइतबाट पनि जहाँ खुसी छैन, भविष्य छैन त्यहाँ किन र कसरी बस्छौ र ? भने पछि कठोर सम्बन्ध विच्छेदको निर्णयमा पुग्छन् ।

समय बित्दै जाँदा, एउटै घरमा सँगै बस्दा कहिलेकाहीँ खुट्टा लाग्छ, त्यो स्वभाविकै हो । त्यस्तो सबैको घरमा हुन्छ तर, माइती घरमा बसेकी नारीका लागि अलिक फरक तवरले चोट लाग्दो रहेछ । घरबाट उपेक्षित भएर अभिभावकत्व, माया ममता खोज्दै आएको चेलीको अन्ततः माइतमा पनि नराम्रा पक्षहरु केलाएर राम्रै गर्दा पनि नराम्रो बन्ने अवस्था पनि आउँदो रहेछ । चन्द्रमामा उज्यालो हेर्ने कि दागहरु हेर्ने मानिसको स्वभावमा भर पर्छ । आधा भरिएको गिलासलाई आधा भरिएको रुपमा हेर्ने कि आधा खालीको रुपमा हेर्ने ? त्यो पनि त मानिसको दृष्टिकोण र स्वभावमै भर पर्छ । भनिन्छ नि, आफूलाई मन परेको मान्छेको सिगान पनि घिन लाग्दैन र मन नपर्ने मान्छेको छाया पनि अप्रिय लाग्छ । त्यसरी नै माइतीमा पनि जब नारी अनावश्यक वस्तु जस्तै बन्छिन् र घरबाट पन्छाउन खोजिन्छ । तब नारीको हृदयमा कति चोट पुग्छ होला ?

सदैव समय कसको एकनाश हुन्छ र ! ती मैतालु नारी अब फेरी माइतीकोे इच्छा मुताविक चल्नुपर्ने भयो । उनलाई मनमा लागेका चाहानाहरु फेरी मार्नु पर्ने अवस्था सिर्जना भयो । माइतीको चाहाना अनुसार चल्नुपर्ने भयो । सानो काखी च्यापेर ल्याएको बच्चाबच्ची पनि हुर्किदै गयो । उसलाई पढाउनु, हेरविचार गर्नु, उसका चाहाना पूर्ण गर्नु, उसलाई स्वावलम्बी बनाउनु, उसको भविष्य निर्माण गर्नु सबै जिम्मेवारी ती नारीको शिरमा थुप्रियो । उनलाई बारम्बार लाग्दो हो बाउआमा जे भने पनि मै त हो । त्यसैले उसलाई माया गरेर, फकाएर, गाली गरेर, पिटेर जे गरेर भए पनि असल बनाउनु पर्छ । उसले आफ्नो काम आफै गर्न सक्नुपर्छ भन्ने उनको धारणा हुन्छ । हजुरबा हजुरआमालाई बच्चालाई गाली गरेको, थर्काएको, पिटेको मन नपर्नु स्वभाविकै होे । यही सानो कुरामा आमासँग ठाकठुक पर्न थाल्छ । आमाले बच्चालाई गाली नगरी खुवाउ भन्ने उनले आफै खान सिक्नु पर्छ, छिटो खानु पर्छ भन्ने विषयमा मतभेद हुन थाल्छ । सोही दिनदेखि आमाछोरीको बिचमा बोलचाल बन्द हुन्छ । आमाको मनमा आफ्नै किसिमका तर्कनाहरु विकास हुन पुग्छन् भने छोरीको मनमा पनि अनेक सोच र तर्कना आउँछ ।

आमा छोरीको विषयलाई लिएर परिवारका सदस्यहरु विभाजित बन्छन् वा भनौं सबै आमाको पक्षमा लाग्छन् । उनले चालेका प्रत्येक कदम र कामहरु माथि नकारात्मक नजरले हेरिन्छ । जस्तो व्यवहार उनले पहिले घरमा भोगेकी थिइन् । दिदी, दाइ, भाइ, बहिनीहरु बिच बैमनस्यता सिर्जना हुन्छ । ती नारीले विवाह हुनु भन्दा अगाडि घर व्यवहार धान्न गरेका हर कर्म गौण बन्छ । जो कोहीले जीवनभर राम्रो काम मात्रै गर्न सक्दैन र जो कोहीले सबै नराम्रो काम मात्रै पनि गर्दैन । बिडम्बना भनौ, तीनका आमाबाबुको हकमा भने फरक हुन्छ किनकि उनीहरुले नराम्रो बाहेक राम्रो देख्नै छाडिसकेका हुन्छन् ।

आमा बाबाको नजरमा आफ्ना छोराछोरी सबै एउटै हुनुपर्ने हो तर। ती नारीको आमा बाबाको नजरमा समान हुन सक्दैन । अरु छोराछोरीको खाना, नाना र छानामा खुब ख्याल गरिन्छ, ती मैतालु छोरीलाई खाए खाओस्, नखाए नखाओस्, जतासुकै जाओस्, जे सुकै गरोस् भन्ने अवस्था पैदा हुन्छ । एक घरको एक किस्सा, अरु छोराछोरीहरु यात्रामा कतै निस्किँदा छिनछिनमा फोन गर्दै कहाँ पुग्यौ ? स्वास्थ्यकोे ख्याल राख, फोन गर्दै गर भन्ने आमा बाबाले उनलाई यात्रामा निस्किएको बेला दुई तीन दिनसम्म पनि एक कल गर्दैनन् । अरु छोराछोरी घरबाट निस्किएको बेला सिमसिम पानी पर्दा पनि कहाँ छौं रुझि पो हाल्छौ कि ? आफ्नो ख्याल गर है भन्ने आमा बुवा छोरी घरबाट निस्किएको एकैछिनमा मुसलधारे पानी प¥यो । तर, केही प्रवाह छैन । यस्तो अवस्थामा उनको मन क्षत विक्षत हुन्छ, सपनाहरु धुजा धुजा परेको अनुभूति हुन्छ, आफ्नो भन्नु उही बेवारिसे भएर हिँड्ने सडक मात्र भएको आभाष हुन्छ ।

एक दिन आमाले भान्सामा खानाको तयारीको लागि तरकारी केलाउने, प्याज, लसुन काटिसक्दा छोरी आफ्नो बच्चा लिएर खाना खुवाउन भान्सामा र्छिर्छिन् । तब आमा बाहिर निस्किन्छिन् र छोरी भान्साबाट ननिस्किउन्जेल खाना पकाउन भित्र र्छिदिनन् भने आमा भएको ठाउँमा छोरी जानुको के अर्थ रह्यो र ! यसरी नै आमादेखि छोरी र छोरीदेखि आमा टाढिँदै जान्छन् ।

सानोमा तिनै छोरीले गल्ती गर्दा फेरी गल्ती नगरोस्, छोेरीलाई राम्रो बाटोमा हिँडाउँछु भनि खुट्टामा निलडाम हुने गरी कुटेका बाबाले आज त्यही छोरीले आफ्नो सन्तानलाई गलत गर्दा हप्काउँदा, दप्काउँदा, पिट्दा पुनः सोही छोरीलाई गाली गर्छन् । नारी सोच्छिन्, के सधैैं मैले नै गाली र पिटाई खानु पर्ने हो ! आफुलाई जन्मदिने आमाबाले त यस्तो व्यवहार देखाउँछन् भने दाजुभाउजु, भाइ बुहारीले के सोच्लान, के गर्लान् । ती नारीको मन जोडले हुरी चल्दा उडाएका पतकर जसरी गन्तव्य विहिन उडान भर्छ र उड्छ ।

जसरी राम्रो सम्बन्ध हुँदा बोली, व्यवहार, चालचलन, काम गराई सबै राम्रो हुन्छ, त्यसरी नै सम्बन्ध नराम्रो हुँदै जाँदा सबै नराम्रो हुँदै जाँदोरहेछ । खाना पकायो नमिठो लाग्ने, बोल्यो कर्कश लाग्ने, हिँड्दा अभद्र लाग्ने, राम्रो ग¥यो नराम्रो लाग्दै जाने आदि आदि । यस्तो हुँदा पुरै परिवार नै बिथोलिन्छ र यसको सम्पूर्ण दोष नारीमै आउने रहेछ ।

अनि एक्लो नारीले के सोच्ने, कसरी सोच्ने ? जसको हात, साथको अपेक्षामा आँखा चिम्लिइन् अहिले उनीहरु नै सिधा नजरले हेर्न चाहन्नन् । अनि त ती नारीको जीवन सोँच्नै नसक्ने ठाउँमा पुग्छ । जसको न भोलिको प्रष्ट बाटो देखिन्छ, न गन्तव्य । त्यसैले उनको मनमा विद्रोहको भाव जन्मिन्छ । तर, विद्रोह गर्ने ठाउँ हुँदैन् किनकि उनी घरबाट विद्रोह होइन, सम्बन्ध बिच्छेदमा बिबशताको परिबन्द बिच हस्ताक्षर गरेर माइतीमा पुगेकी छिन् । माइतमा कसरी विद्रोह गर्नु र ?

त्यस पछिका समस्या त कति हो कति ? न घरले बुझ्यो, न माइतीले बुझ्छ नारीलाई । यस्तो ठाउँ कहाँ होला ? जहाँ बुझुन् नारीको महत्व, पाउन् सम्मान र अवसर । त्यही ठाउँ र गन्तव्य खोज्दैछिन् ती नारी…

२०७८, २० माघ बिहीबार ०५:००
कथालिका नयाँ कथा
कथालिका