हिउँले कतै ‘उत्साह’, कतै सास्ती – कथालिका

हिउँले कतै ‘उत्साह’, कतै सास्ती

कतै हिउँ पर्नु आजकाल ठूलो खुसी र उत्साहको विषय बन्न थालेको छ । हिउँ पर्नु, हिउँ खेल्नु र सामाजिक सञ्जालमा ‘भाइरल’ हुनु धेरैको रहर सपनाको विषय बनेको छ । तर, नेपालका धेरै ठाउँ र गाउँ हरेक वर्षको जाडोयाममा हिउँकै कारण सकस र सास्तीको जीवन झेल्न बिबश छ ।

हिमाल पारिको जिल्ला मुस्ताङ यसको एक ज्वलन्त अनुभव बोकेको जिल्ला हो । जोमसोममा अक्सर हिउँदयाममा हिउँ पर्नु हिमाली क्षेत्रका लागि अनौठो होइन, स्वभाविक मानिन्छ । हिमाली अन्तर्गत उपल्लो मुस्ताङीले यार्तुङ पर्व मनाए पछि बर्खा सकिएर हिउँदयाम सुरु भयो भन्ने बुझिन्छ ।

बर्खायामको खेतीपाती थन्क्याएपछि उपल्लो मुस्ताङीले भदौको अन्तिममा यार्तुङ पर्व मनाउँछ । त्यसपछि सुरु हुन्छ हिउँदयामको उराठिला महिना । हिउँदयाममा अत्यधिक चिसो र हिमपात पर्ने भएकाले उपल्लो मुस्ताङीहरु जाडो र हिमपात छल्न बेसी झर्छन् । पर्यटकीय गतिबिधि र विकास निर्माणका कामहरु समत यहाँ ठप्पै हुने गर्छ ।

वर्षेनी हिउँदयामको कात्तिक देखि फागुनको अन्तिम महिनासम्म मुस्ताङमा हिउँ पर्ने गर्छ । यस समय अवधिमा उपल्लो मुस्ताङका अधिकांश घरहरुमा ताल्चा मारिएका हुन्छन् । घरका एकाध मात्र पशु चौपाया र घरको रेखदेख गरिबसेका हुन्छन् । अरु सबै जाडो छल्न र घुम्ती व्यापारमा निस्कन्छन् । तल्लो मुस्ताङमा पनि कतिपय पर्यटन व्यवसायी र स्थानीय पनि जाडो छल्न पोखरा झर्छन् ।

हिउँदयामको महिना मुस्ताङीका लागि ज्यादै उराठिला दिनको रुपमा लिइन्छ । जिल्लाका नागरिक सबै बेसी झर्ने मुस्ताङीको पूख्र्यौली परम्परा हो । यद्यपी हिउँदमा यहाँ अत्यधिक चिसो हुने जनजीवन समेत प्रभावित हुने हँुदा मुस्ताङीहरु बेसी झर्ने रहर नभई बाध्यता हो । अत्यधिक चिसो र हिमपातले घरका धारा,सेफ्टी ट्याङकी, सिञ्चाई कुलो आदि जमेर दैनिक जीवनमा असर पू¥याएको हुन्छ । घर पालुवा पशु चौपाया र स-साना बालबालिकाको रेखदेख र व्यवस्थापनमा उत्तिकै समस्या पर्ने गर्छ । मुस्ताङीका लागि हिउँदको महिना कष्टकर मौसमको रुपमा लिईने गरिन्छ । हिउँदको महिना जिल्लाका सरकारी कार्यालयहरु समेत स्थानीय नहँुदा प्रायः सुनसान हुन्छन् ।
जलवायु परिवर्तनको प्रभावका कारण पछिल्ला वर्षमा स्वभाविक हिउँ पर्न सकिरहेको छैन । हरितगृह ग्यास उत्सर्जनका कारण वातावरण क्षेत्रमा परेको नकारात्मक प्रभावका कारण हिमाली क्षेत्रमा असमान प्रकारको हिमपात हुने गरेको पाईएको छ । मुस्ताङमा कुनै वर्ष अत्यधिक हिमपात,कुनै वर्ष आशिंक हिमपात र कुनै वर्ष हिमपातसंगै भारी वर्षा हुने गरेको छ । ३ वर्ष अघि उपल्लो मुस्ताङमा भारी हिमपात भयो । हिमपातका कारण सयौं याकचौरी र भेडा च्यांग्रा खर्कमा हिउँमा पुरिएर मरे । त्यसपछि उपल्लो मुस्ताङमा उस्तो हिउँ पर्न सकिरहेको छैन । विगतको हिमपातको घटना सम्झँदै लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट भन्छन्, ‘दश वर्ष अघिको जस्तो हिउ पर्न सकेको छैन ,हिउ त पर्छ आंशिक मात्रै पर्छ । तहन नहस हुने गरी भारी हिमपात भएको छैन ।

हिउँदको हिमपात स्वाभाविक नभई असन्तुलित हिमपात भईरहेको छ ।’ थासाङ-२ का वडाध्यक्ष नरप्रसाद हिराचन भन्छन्,‘ ५ वर्षअघि मुस्ताङको तल्लो क्षेत्रमा ५ फिट सम्म हिउँ पर्ने गथ्र्यो,हिमपातले कृषिक्षेत्रलाई राहत पू¥याउथ्यो । तर, पछिल्लो समय उस्तो हिउँ देख्न पाइएको छैन ।’ उनले हिमपातले खुसीसंगै सास्ती दिने गरेको सुनाए ।

मुस्ताङमा सदियौ वर्ष पुराना ऐतिहासिक माटोले बनेका परम्परागत घरहरु छन् । सडक सञ्जाल जोडिएपछि ति पुराना घरहरु क्रमश मासिन थालेका छन् । सडकको पहुच,आधुनिकता र जलवायु परिवर्तनका कारण हिउँ नपरी वर्षा हुन थालेपछि माटोले बनेका घरहरु विस्थापित हुने क्रम बढेको नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले उल्लेख गरे । हिउँ पर्दा घर माथि हिउँ थुप्रिएर बस्थ्यो तर, हिमपातसंगै वर्षा हुदा माटोले बनेका घरहरु चुहिने भत्किने क्रम बढेको उनले बताए । मुस्ताङमा बिहीबारदेखि जारी सिजनको दोश्रो हिमपात भइरहेको छ । हिमपातका कारण घर माथि हिउँको चाङ लागेपछि स्थानीय हिउँ पन्छ्याउन जुटे । हिउँ नपन्छ्याए हिउँ पग्लिएर चुहिने भएकाले घर माथिको हिउँ पन्छ्याउनु पर्ने बाध्यता स्थानीयमा छ । यस्तै,खर्कमा रहेका याकचौरी समेत हिमपातकै कारण बस्ती नजिक स्थान्तरण गरिन्छ । पशु चौपायाको आहारा दिन र न्यानोका लागि पशु चौपाया बस्ती नजिक झार्ने गरिएको घरपझोङ—४ का पशुपालक किसान भुपेन्द्र शेरचनले बताए । हिमाली क्षेत्रमा हिमपात हुँदा ठाउँ-ठाउँमा सडक अवरुद्ध हुँदा पर्यटक तथा तिर्थालुहरुलाई समेत सास्ती हुने गरेको छ ।

हिमपातले स्थानीयलाई सास्ती दिने गरेपनि हिमपात परेपछि यहाँका किसान उत्साहित हुने गर्छन् । हिउँदयामको हिउँ कृषकका लागि वरदान सावित हुने भएकाले कृषक उत्साह थपिने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताए । हिउँले जमिनको भित्री सतहलाई सिञ्चित गर्ने भएकाले कृषकले लगाएको अन्नबाली फस्टाउने उनको भनाई छ । उनका अनुसार हिउँले स्याउ,ओखर,उवा,फापर आलु र लगायतका अन्नबाली सप्रने उनले बताए ।

यति मात्र होइन, हिउँले फलफूल तथा तरकारीमा लाग्ने विभिन्न प्रकोप समेत नियन्त्रण गर्न सघाउने गर्छ । अर्गानिक औषधिको रुपमा समेत हिउँको योगदान उत्तिकै हुने गर्छ । पछिल्ला वर्षहरुमा अपेक्षा गरे अनुरुपको हिउँ पर्न नसक्दा स्याउँ लगायतका अन्नबालीमा स्क्याप रोग लाग्दा मुस्ताङमा कम स्याउ उत्पादन र गुणस्तर समेत खस्किन थालेको थियो ।
हिउँ पर्दा मुस्ताङको वातावरण समेत घनिभुत बनाइ दिएको हुन्छ । हिउँ खेल्न र हिउँ संगै रमाउन जिल्ला बाहिरका उल्लेख्य पर्यटक मुस्ताङ आउने गर्थे । कोरोनाका कारण पछिल्ला ३ वर्ष हिमपातले पर्यटनलाई योगदान दिन सकेको छैन । हिउँ पर्यटन वृद्धि गर्न नेपाल स्की संघले मुस्ताङको मुक्तिनाथमा पहिलो र दोश्रो राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न गरेको थियो । हिउँको माध्यमबाट पर्यटन क्षेत्र आकर्षित गर्न उद्देश्यले स्की प्रतियोगीता सञ्चालन गरिने गरिएको भएपनि कोरोनाका कारण स्की प्रतियोगी हुन नसकेको हो ।

२०७८, २१ माघ शुक्रबार १३:४६
कथालिका नयाँ कथा
कथालिका