चाइना ट्रान्जिट – कथालिका

चाइना ट्रान्जिट

  • अध्यागमनमै ‘इन्ट्री परमिट’ भनेर चौबीस घन्टाको भिसा हान्यो पासपोर्टमा । यदि प्लेन छुटेको खण्डमा ‘प्लेन छुट्यो’ भनेर कसलाई भन्नू ! भन्दा अंग्रेजीमै भन्नुप¥यो । तर, बुझ्ने कसले ? जब २ घन्टा बित्छ, समात्न आइपुग्नेछ प्रहरी ।

जीवन आफैंमा एउटा सुन्दर यात्रा हो । मृत्यु नामको गन्तव्य नभेटिउन्जेल जीवन ‘यात्रा’ भएर वा ‘यात्रामय–जीवन’ भएर यो हिँडिरहन्छ । अगस्टिन अफ हिप्पोको एउटा भनाइ सम्झन्छु– ‘द वल्र्ड इज अ बुक एन्ड दोज् हू डू नट ट्राभल रिड अन्ली द पेज ।’

जापानमा गोल्डन वीक सुरु हुँदै थियो । प्रत्येक वर्ष त्यहाँको सरकारले वार्षिक एक साता बिदा दिन्छ, जसलाई गोल्डन वीक भनिँदो रहेछ । यसकै छेको पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले स्वर्ण शृङ्खला मनाउँदै थियो । उक्त कार्यक्रममा भाग लिन र आफ्नैै कृति ‘पिपिरी’ को जापान लोकार्पण गर्न त्यसतर्फ जाने आकस्मिक तयारी गर्दै थिएँ । यो सन् २०१९ अप्रिल अन्तिम साताको कुरा हो ।

टिकट टेन्सन

अप्रिल २८ मा सिनोकुबो, टोकियोमा कार्यक्रम आयोजना हुँदै थियो । त्यसका लागि नेपालबाट रमेश पौडेल दाइ र म सहभागी हुँदै थियौं । छोटो समयमै भिसा लगाउनेदेखि टिकट काट्ने कामसम्म गर्नुपर्दा मैले कवि श्यामलको कविता ‘हतारमा यात्रा’ सम्झिरहेको थिएँ ।

जापानमा मुख्य दुई सिजन व्यस्त मानिने कुरा साथीहरूबाट जानकारी भएको थियो । एउटा साकुरा फुल्ने समय र अर्को गोल्डन विक । हाम्रोतिर दसैं–तिहारको छेकोमा ‘प्लेन फेयर’ बढेझैं उताको लागि उल्लेखित दुई सिजनमा नबढ्ने कुरै भएन ।
एकाएक टिकटको मूल्य आकासियो । यति हुँदा पनि भनेको समय र फ्लाइटमा टिकट पाउनै गाह्रो । झन् त्यसमा हाम्रो ‘टाइम ग्याप’ पनि कम । यी सबै कारणले साविकको भन्दा महङ्गो पर्ने देखियो टिकट ।

‘ट्रान्जिट चाइनामा पर्छ । लामो पनि छ । त्यसमाथि झ्याउ चाहिँ अलि झ्याउ नै छ । यहाँबाट टाइममा उडेको रेकर्ड पनि छैन’, चाइना इस्टर्नको टिकट कन्फर्म गर्दै गर्दा राजुजीले भनेका थिए, ‘तर एअरपोर्टमै अन–अराइभल भिसा दिन्छ । बाहिर गएर होटलमा बस्दा नि खासै महङ्गो पर्दैन ।’

यता रमेश दाइको इच्छा थियो, सिंगापुर ट्रान्जिट पारेर जाने । ‘लि क्वान यू’ले निर्माण गरेको आधुनिक सिंगापुरको भव्यता हेर्ने । त्यसका लागि हामी सिंगापुर एअरलाइन्स हुँदै जानुपथ्र्यो । तर, यता मैले टिकटचाहिँ चाइना इस्टर्नको काटिसकेको थिएँ ।

यसबीचमा जापानस्थित अनेसासका साथीहरू दीप पाठक, प्रकाश पौडेल, अरुण पौडेल लगायतसँग निरन्तर सम्पर्कमा थियौँ । साथीहरूको मनसाय, एउटै कार्यक्रममा आउने भएपछि सँगै आइदिए हुन्थ्यो भन्ने थियो । फरक फरक तरिकाले आउँदा इमिग्रेसनमा पनि समस्या हुनसक्ने सम्भावनाबारे सचेत गराइरहेकै थिए । पछि रमेश दाइसँग सल्लाह गरेर हामी एउटै फ्लाइटबाट जाने निर्णय ग¥यौं । उता साथीहरू पनि खुसी भए ।

उसो त प्लेन यात्रा हो । यद्यपि, चाइना इस्टर्नबाट चाइना नै ट्रान्जिट भएर हानेदा, टोकियो पुग्नु सजिलो पक्कै थिएन । लामो, त्यसमाथि दुई–दुईटा ट्रान्जिट । काठमाडौं टु कुन्मिङ । कुन्मिङ टु साङ्घाइ हुँदै बल्ल टोकियो । यहाँनेर दिक्कलाग्दो अर्को कुरा के भने कुन्मिङमा लगेज निकाल्नुपर्ने । त्यहाँबाट साङ्घाइ जाँदा नयाँ यात्रीझैं बोर्डिङ पासदेखि सबै काम गर्नुपर्ने । खासमा रमेश दाइलाई यही झन्झटले गर्दा पनि चाइना ट्रान्जिट भएर जान मन थिएन भन्ने मैले बुझेको थिएँ ।

भलै श्रमिक भएर अरब आउँदा–जाँदा किन नहोस्, दुई÷चार घन्टाको ट्रान्जिट अनुभव थियो नै । थिएन त लामो अनुभव । ह्या ! लामो ट्रान्जिटको अनुभव पनि हुन्छ, घुमघाम पनि । यस्तै सोचेर म यो लम्बेतान यात्रा गर्न अन्तरहृदयदेखि नै उत्साहित थिएँ ।

अध्यागमन झमेला

एक नेपालीले अर्को नेपालीप्रति कतिसम्म तुच्छ व्यवहार गर्छ भन्ने कुराको प्रष्ट उदाहरण हो, अध्यागमन । उहिले अरब जाँदा पनि अकारण अध्यागमन–सिकार भएको छु ।
अध्यागमनको समय भयो । हातमा बोर्डिङ पास, राहदानी र अन्य कागजपत्र च्यापेर ‘नेपाली नागरिक’को अलग–अलग लाइनमा उभियौँ हामी । सुखद संयोग ! अध्यागमनकर्मी रमेश दाइका स्रोता रहेछन्, चिनिहाले । काम पनि तत्काल भइगयो । तर, मेरो भने अलिक समय लाग्यो ।

‘पुरानो पासपोर्ट हराएर नयाँ बनाउनु भएको हो ?,’ अध्यागमन अधिकारीको प्रश्न यहाँबाट सुरूवात भयो । ‘हो सर’ मैले भनें । त्यसपछि प्रश्नोत्तरको शृंखला चल्यो । प्रश्न यस्ता पनि थिए, जस्तो कि म जापान उड्न अयोग्य छु । म उतै गएर बसिदिन्छु । यद्यपि उनले सोधेका सबै कागजात एकएक देखाउँदै गएँ । अन्तमा खै के सोचे कुन्नि ! ‘यो लेटर मैले राख्न मिल्छ ?,’ भनेर सोधे । जुन ‘इन्भिटेसन लेटर’ थियो । उताबाट साथीहरूले पठाएका ।

‘मसँग अर्को कपी छैन सर,’ अध्यागमनकर्मीसँग अलि नरम रूपमा प्रस्तुत भएँ । त्यसपछि उनले गोजीबाट मोबाइल निकाले । क्यामेरा अन गरे र उक्त पत्रको फोटो खिचे । उनले किन यसो गरिरहेका छन् भन्ने थाहा पाए । म हेरेको हे¥यै भइरहेँ ।

यस्ता कोही–कोही मात्रै ‘भाग्यमानी’ हुन्छन् होला जो सहजै, बिना केरकार अध्यागमन पार हुन्छन् । कम र बढी, फरक यत्तिको होला । हरियो राहदानीसँग किन यति बिघ्न एलर्जी हुन्छ कुन्नि अध्यागमनकर्मीलाई ?

०००

उडान थियो साँझ ५ः३० को । घडीमा पाँच बज्न थुप्रै मिनेट बाँकी हुँदैमा हामी अध्यागमन ‘पास’ भइसकेका थियौं । र, प्लेन कुर्ने अन्तिम प्रतीक्षालयमा प्रतीक्षा गरिबस्यौँ । सिसाबाट बाहिर विमानस्थलतिर ‘चाइना इस्टर्न’ लोगो अंकित प्लेन देखियो । मन पनि त्यसै फुरुङ्ग भयो प्लेन चढ्ने भनेपछि ।

एकछिनमै प्रतीक्षालयको ढोका खुल्यो । त्यही बाटो भएर हामीहरू प्लेनभित्र छि¥यौँ । बिस्तारै अनाउन्समेन्ट भयो । सिट बेल्ट बाँधिए । एअर होस्टेसले नियमानुसार सबै यात्रुहरूको स्थिति जाँचे । बिस्तारै प्लेनको टाउको मोडिएर रन–वेतिर सोझियो । अब त प्लेन उड्ने–उड्ने बेला भयो । यसैबखत मैले घडी हेरेँ । साढे पाँच अर्थात् प्लेन उड्ने समय हुन अझै केही मिनेट शेष थियो । तर, प्लेनका टायर रन–वेमा घिस्रिन थालिसकेका थिए । अनि मैले राजुजीलाई सम्झिएँ । उनकै अनुसार चाइना इस्टर्न समयमा उडेको रेकर्ड थिएन ।

कुन्मिङ अध्यागमन

कुन्मिङको आकाशबाट भूइँतिर हेर्दा दिपावली गरेझैं लाग्थ्यो, बत्तीको बाक्लो पिलपिल । रेखी हालेझैँ सडक छेउमा दुइतर्फी बलिरहेका ल्याम्पोस्टको अटुट एवम् मनमोहक लश्कर । त्यो अँध्यारोमा कुन्मिङ उज्यालो देखिन्थ्यो ।

साढे तीन घन्टाको सफर थियो, काठमाडौं–कुन्मिङ । नेपालको समय ९ बजे र त्यहाँको स्थानीय समयानुसार लगभग ११ः१५ हुँदा कुन्मिङमा अवतरण भयो, चाइना इस्टर्न ।

हरियो राहदानी (पासपोर्ट अफ नेपाल) बाहिरबाट हेर्दा जति पृथक र सुन्दर देखिन्छ, यो बोकेर यात्रा गर्दा पृथक एवम् तीता अनुभव पनि पचाइरहनु पर्छ । अझ यसको सुरुवात त आफ्नैै देशको अध्यागमनबाट हुन्छ ।

नेपाली राहदानी बोकेर यात्रा गर्दा कस्ता विशिष्ट मान्छेहरूले दुःख पाएका छन् । झन्झट बेहोरेका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर एवम् लेखक रामेश कोइरालाले ‘हरियो पासपोर्टको पीडा’ भोगेको ब्लग पनि पढेको थिएँ । उता अरबमा हुँदा पनि नेपाली राहदानी हुँदामा उही सीप र उही काममा पनि तलबको तुलो हेरफेर भएको स्वयंले भोगेको हुँ । अतः हरियो राहदानी गौरव भन्दा पनि एक प्रकारको यातना लाग्छ ।

कुन्मिङको अध्यागमनभित्र ‘फरेनर्स’को लाइनमा दुई नेपाली पनि अरूसरह नै उभियौं । हामीले थाहा नपाएर, नचिनेर होला, हामीसँग खासै नेपालीहरू थिएनन् । चाइनिजहरू नै धेरै थिए । त्यसबाहेक अन्य देशका अनुहार पनि फाट्टफुट्ट देखिन्थे । अँ, खैरेहरू पनि थिए ।

अध्यागमनभित्र ड्युटीमा खटिएका सेक्युरिटीले कुन लाइनमा को–को जाने बताइरहेका थिए । भाषाले होइन, हातको इसाराले । आफूलाई टुटेफुटे अंग्रेजी त आउँथ्यो । तर त्यै पनि चाइनामा नचल्ने, नबुझ्ने ।
‘यु गो’ एउटा मोटे सेक्युरिटी निकै रूखो बोल्थ्यो । र, कुनै स्थानतिर चोर औंलाको बन्दुक तेस्र्याउँथ्यो । म उभिएकै लाइनको अलि पछाडिपट्टी थिए खैरेहरू । पक्कै ती कुनै युरोप–अमेरिकी मुलुकका होलान् । तर, चाइनिजलाई यसको के मतलब ? सायद उसले गोरो छालावालालाई अमेरिकन सोचिबस्यो होला । अमेरिका भन्नेबित्तिकै चाइनाको कट्टर दुश्मन । मैले झट्ट सम्झिएँ, लामो समयदेखि यी दुई शक्तिशाली राष्ट्रबीच ‘ट्रेड वार’ चलिरहेको छ । यसकारण पनि गोरो छालादेखि यो चिडिएको हो ।

कुन्मिङ अध्यागमनमा बेहोर्नु तनाव बेहोरेपछि बल्ल थाहा भयो हाम्रो देशको (अव)सान कस्तो छ ? हरियो राहदानीको (बे)इज्जत कति छ ? नेपाली भएकै कारण अध्यागमनमा लामो समय केरकार झेलेरै बित्यो । त्यहाँ रहेका अधिकारीबाट पासपोर्ट र मान्छे (हामी दुई नेपाली) ‘सिनियर अफिसर’को जिम्मा लगाइयौँ । छुट्टै डेक्समा लगेर जाँच–पड्ताल गरियो । अर्थात् नेपालीलाई हेर्ने दृष्टिकोण एकदमै घटिया । यो सब हाम्रो अस्थिर राजनीतिक अवस्था र बलियो परराष्ट्र नीति नहुनुले हो भन्ने प्रष्ट थियो ।

०००

माथि जति पनि लेखेँ, त्यो सब ‘चाइना ट्रान्जिट’को पृष्ठपोषण थियो । खास लेखिनुपर्ने कुरा बाँकी नै छ । यसकारण म अलिक फड्किन चाहन्छु ।

कुन्मिङको झन्डै नौ घन्टा लामो ट्रान्जिट । त्यहीँ भेटिइन् नेसनल प्लेयर शान्ति अधिकारी । विगत चौध वर्षदेखि चाइनाअन्तर्गत पर्ने मकाउमा बस्दै आएकी उनी एनआरएनकी अध्यक्षसमेत रहिछन् । उनैले सहयोग गरिन् । भाषाको समस्या पनि ट¥यो । एअरपोर्टभित्रको एउटा होटलको कुर्सीमा उँघेर काटियो, ‘ट्रान्जिट टाइम’ । छर्लङ्ग बिहान बनाइयो । भोलिपल्ट बिहान उनी मकाउका लागि उडिन् । पौने आठ बजे हामी साङ्घाइका लागि उड्यौँ । अब साङ्घाइमा लगेज निकाल्नु पर्थेन । सिधै हानेदामा लिँदा हुने रहेछ । दुःख पाइरहेकै मेसोमा यत्तिले पनि खुसी दिलायो ।

कुन्मिङबाट फेरि तीन घन्टामा साङ्घाइ उत्रियौं । डोमेस्टिक फ्लाइट अन्तर्गत पर्दो रहेछ यो यात्रा । यसरी साङ्घाइमा पनि छ घन्टाको पट्यारलाग्दो ट्रान्जिट भोगेर साँझ पाँच बजे बल्ल हानेदाका लागि प्रस्थान ग¥यौं । साङ्घाइमा त्यस्ता साङ्घातिक समस्या भने आएनन् ।

०००

समय जान कति बेर ! जापान पुगेको दस दिन त केही जस्तै लागेन । हेर्दाहेर्दै नेपाल फर्किने दिन आइसके ।

६ मे २०१९ अर्थात् हाम्रो नेपाल फर्किने दिन । फ्लाइट थियो ढाइ बजेको । सबै एअरपोर्टमा उही तीन घन्टा अघि पुग्नुपर्ने नियम त होला भनेर हामी समयमै हानेदा इन्टरनेसनल एअरपोर्ट पुग्यौं । प्रकाश दाइ, भूमिका भाउजू, मित्र अरूण, इन्दुजीले योकोहामाबाट बिदाइ गरिसकेका थिए । हामीलाई छोड्न भनेर एअरपोर्टसम्मै हुनुहुन्थ्यो प्रकाश दाइ र भाउजू ।

अब बोर्डिङ पास लिनु थियो । ‘चाइना इस्टर्न’को लामो लाइनमा उभिएर काउन्टर छेउ पुग्यौं । दाइले जापानिज भाषामा कुरा गर्नुभयो । एकछिन छलफल जस्तो भयो । काउन्टरकी सुकुमारीले दुई÷चार पटक कताकता फोन घुमाई । यसोउसो गर्दा एकछिन समय लागिहाल्यो । र पनि बोर्डिङ पास आउँदैन त ! न उसको कुरा नै बुझिन्छ । म घरी प्रकाश दाइको अनुहारको भाव हेर्छु, घरी सुकुमारीको । तर, के पाक्दैछ भन्ने पत्तो अझै पनि चलेन ।

‘चाइना इस्टर्न मै जाने हो भने अलि लेट हुन्छ रे,’ सुकुमारीसँग भएको संवादको सारमा प्रकाश दाइले हामीलाई सोध्नुभयो, ‘अहिले एक बजेको साङ्घाइ एअरलाइन्समा जाने भए मिलाउँछ रे !’

नेपालमा लामा–छोटा दूरीका असंख्य यात्रा गरियो । कुनैकुनै बसले आफ्नो गन्तव्य नपर्ने ठाउँकासमेत यात्रु उठाएर पछि अर्कै बसमा चढाएर पठाएको थाहा थियो । तर, प्लेन यात्रामा पनि यस्तो हुन्छ भन्दा पत्याउनै गाह्रो भइरहेको थियो । होइन कि झैं गरी ।

अन्ततः हामी इ–टिकटमा उल्लेख भएको एअरलाइन्स र समयभन्दा अगावै उड्ने भयौं । फिर्ती हुँदा पनि सवा ३ घन्टा साङ्घाइ र १७ घन्टाको ट्रान्जिट फेरि कुन्मिङमै थियो । यहाँनेर साङ्घाइ ट्रान्जिटको समय एकाध घन्टा बढेको कुरा मैले भन्नैपर्छ । किनकि हानेदाबाट निर्धारित समयागावै हामी जो उडेका थियौँ ।

साङ्घाइमा प्लेन अवतरण भयो । टर्मिनल एकमा । अब कुन्मिङका लागि अर्को फ्लाइट समात्नुपर्ने छ, टर्मिनल दुईबाट । हामीसँग समय छ, जम्मा चार घण्टा जति ।

‘तिमी पढे–लेखेकालाई सप्पै थाहै छ क्यारे,’ रमेश दाइ व्यङ्ग्य हान्नुहुन्छ, ‘त्यसमाथि देश–विदेश नि घुम्या छौ ।’

दाइको कुरा सुनेर म मख्ख पर्दिनँ । तर, हल्का मुस्कुराउँछु ।

साङ्घाइको अध्यागमन पार गरेर सामानसहितको ट्रली गुडाउँदै, यताउता हेर्दै, अंग्रेजीमा केही लेखेको देखे पढ्दै हिँडिरहेका छौँ । हिँड्दा–हिँड्दै ‘एक्जिट’ आइसक्यो । बाहिर निस्के फेरि भित्र पस्न नदेला कि भन्ने पिर ! तर, मरिगए ‘टर्मिनल–२’ फेला पर्दैन ।

हामीसँगैको फ्लाइटमा आएकाहरू सबै लाखापाखा लागिसके । हामी दुई भने ट्रली घुमाउँदै यता र उता गरिरहेका छौँ ।

‘इस्क्युज मी’, गुडिरहेको ट्रली रोकेँ र एकजना सेक्युरिटीनजिक पुगेर मैले सोधेँ, ‘व्हेर इज टर्मिनल–२ ? एन्ड हाउ टु रिच देयर ?’

‘नो’, सेक्युरिटीले टाउको हल्लायो । मैले बुझेँ, उसको ‘नो’ जानकारीका लागि नभएर अंग्रेजी भाषाका लागि थियो ।

यसरी दुई÷तीनजना फरक–फरक मान्छेलाई सोध्दा पनि जवाफ एउटै आइरह्यो– नो । एकजनाले चाहिँ बरू डेक्सतिर जान इसारा ग¥यो । हामी त्यतैतिर लम्कियौं ।

डेक्समा दुई जना सुन्दर युवती थिए । त्यहाँ पुगेर पनि मैले माथिकै प्रश्न दोहो¥याएँ । उनीहरूले बुझेनन् । तेहराएँ, र पनि बुझेनन् । पछि आफूसँग भएको इ–टिकट देखाएर ‘टर्मिनल टु’ भनेर सोधेँ । बुझिछ क्यारे ! सिधै ‘एक्जिट’तिर हात देखाई र मुसुक्क हाँसी । यस्तो बेला उसको मुस्कानले कुनै उत्साह थपेन हामीलाई ।

‘एन्ड हाउ टु रिच ?,’ भनेर के सोधेको थिएँ सुन्दरीले हातको पञ्जा देखाई । उसको यो इशारा ‘एकछिन पर्खी’ भन्ने थियो । एकछिनपछि त ऊ पनि एउटा यन्त्र लिएर आई । हेर्दामा त्यो ट्याबजस्तो थियो । अनि मतिर फर्काएर टेबुल अगाडि राखी । बल्ल बुझेँ, त्यो ‘ल्याङ्वेज कन्भर्टर’ थियो ।

प्रश्नको सुरुवात मैले गरेँ । अंग्रेजीमा सोध्थेँ म । उक्त यन्त्रले त्यसलाई चाइनिजमा रुपान्तरण गथ्र्यो । प्रश्नानुसार चाइनिजमै उत्तर फर्काउँथी युवती । उसको त्यो भाषा अंग्रेजीमा अनुदित भएर पुनः मेरो स्क्रिनमा टप्किन्थ्यो । त्यही अनुसार म आफ्नो जिज्ञासा मेटाउँदै जान्थेँ ।

टर्मिनल–२ पुग्ने बाटोबारे युवतीको भनाइ थियो, ‘यहाँबाट सिधै अगाडि जानू । इलेभेटर आउँछ । त्यसबाट एकतला तल झर्नू । बाहिर निस्केपछि अर्को इलेभेटर आउँछ । त्यसबाट सबभन्दा माथि झर्नू । त्यहाँबाट पनि बाहिर निस्केपछि बस पाउँछ, बस चढेर जाँदा टर्मिनल–२ पुगिन्छ ।’

यो त मैले मिलाएर लेखेको हुँ यहाँ । यति सजिलै उसको अनुदित भाषा पनि बुझिएको होइन । न उसले बताए जस्तो सजिलो नै थियो हामीलाई ।

इलेभेटरबाट तल त झरियो । अर्कै संसार आयो फेरि । म अघिअघि छु । पछिपछि रमेश दाइ । कसैलाई सोध्न खोज्यो, बोल्नै चाहँदैन । कारण उही क्या, अंग्रेजी । बल्लतल्ल टिकट देखाएर जानुपर्ने ठाउँ सोध्यो, हात देखाएर ‘सिधै जा’ भन्छन् । तर बोल्दैनन् । ए बाबै नि !

कतिपटक इलेभेटर चढियो र तिनैबाट झरियो । कतिपटक जाने बाटो थाहा नभएपछि फेरि भित्रैतिर फर्केर गइयो । र, कति त्यहाँका कर्मचारी, सेक्युरिटी र हरेक नयाँ मान्छेलाई ‘टर्मिनल टु’बारे सोधियो, यसको कुनै तथ्याङ्क छैन । ओठ मुख सुकिसके । तालु चिटचिट गरिसक्यो । समय आधा गइसकेको छ । तैपनि उपाय लागेन ।

रमेश दाइ अलि रिसाएजस्तो गर्नुहुन्छ । दाइलाई लाग्छ, यो सब झन्झट मेरै कारणले भएको हो । हुन पनि हो ! सिंगापुरबाट जान तयार भएका दाइलाई चाइनाको चक्कर काट्नुप¥यो । म यता झन् तनावको तलाउमा परेँ ।

एअरपोर्टबाट बाहिर निस्किसक्यौं । अध्यागमनमै ‘इन्ट्री परमिट’ भनेर चौबीस घन्टाको भिसा हानेको थियो, पासपोर्टमा । अन अराइभल भिजा । यदि प्लेन छुटेको खण्डमा ‘हाम्रो प्लेन छुट्यो’ भनेर कसलाई भन्नू ! भन्दा अंग्रेजीमै भन्नुप¥यो । तर, बुझ्ने कसले ? जब चौबीस घन्टा बित्छ, समात्न आइपुग्नेछ प्रहरी । अनि कारबाही गर्ला । कुनै माध्यमबाट साथीभाइसँग सम्पर्क गरौँला पनि छैन । कुनै पनि सामाजिक सन्जाल चाइनामा चल्दैनन् । त्यसपछि के हाल होला ? झन् जति सोच्यो उति अत्यास लाग्दै गयो ।

अन्तिममा बाहिर भेटिएको एउटाले बताइदियो कि टर्मिनल–२ जाने बस पाँच नम्बरबाट छुट्छ । यति पनि उसले टिकट देखाएपछि बताइदिएको हो । उही इशारामा । र, त्यो पाँच नम्बरको बोर्ड नजिक लगेर हामीलाई छोडिदियो ।

नीलो तर लाम्चो बोर्ड थियो एउटा । टुप्पोतिर गोलाकारभित्र पाँचको अङ्क । मुनि अंग्रेजीमा केही लेखिएको थियो, सेतो रङले । लेखिएको कुराचाहिँ टर्मिनल–२ का लागि बस छुट्ने समय तालिका थियो ।

मैले तालिका हेरेँ र पत्ता लगाएँ कि एउटा बस भर्खरै छुटिसकेको रहेछ । अर्को बस आउन अझै केही समय लाग्ने रहेछ । मनमा फेरि अनेक तर्कना खेल्न थाले । जस्तो कि, बस आइपुगेन भने ? टर्मिनल–२ गएन भने र प्लेन छुट्यो भने…? झन्झन् कहाली लाग्दै गयो ।

रमेश दाइसँग पाँच सय चिनियाँ पैसा थियो । यस्तै अत्तोगाह्रोमा काम लाग्छ भनेर साट्नुभएको । बस नै कुरिराख्दा जे पनि हुनसक्छ भन्ने लागेपछि मैले ट्याक्सीवालालाई बोलाएर उही इ–टिकट देखाएर आफू जाने ठाँउसम्म छोडिदिन अनुरोध गरेँ । ‘ओके ओके’ उसले भन्यो । चोर औंला र बुढी औंला रगडेर भाडा सोध्दा ‘थर्ती’ यानकी तीस युआन बतायो । हामीले सहजै स्वीका¥यौँ । अनि उसैसँग ट्याक्सीमा हान्नियौँ । झ्यालबाट आइरहेको हावाले बल्ल पसिना ओभाउँदै लगे ।

यसरी टर्मिनल–२ पुगेर कुन्मिङका लागि बोर्डिङ पास लियौँ । जब कुन्मिङ झ¥यौँ, बङ्गालीहरू भेटिए । यसबारे चाइना ओहोरदोहोर गर्ने साथीहरूले भनेको सुनेको थिएँ । उनैसँग होटलमा गएर आराम ग¥यौँ, घुम्यौँ । भोलिपल्ट समय भएपछि एअरपोर्टमै ड्रप गरिदिए, टिकट काट्ने ठाउँ देखाइदिए । र हामी कुन्मिङबाट अन्तिम गन्तव्य काठमाडौंका लागि उड्यौं ।

सकुशल काठमाडौं अवतरण भएपछि मैले संकल्प गरेको छु, अब आइन्दा चाइना इस्टर्नबाट यात्रै नगर्ने । यति झमेलाको खेती पढेपछि के तपाईंहरू यही एअरलाइन्सबाट यात्रा गर्नुहुन्छ त ?

२०७८, २३ माघ आईतवार ०८:१७
कथालिका नयाँ कथा
कथालिका