अलविदा आम्ची: हजारौंको ज्यान बचाउने आम्चीको निधनले मुस्ताङी शोकमा – कथालिका

अलविदा आम्ची: हजारौंको ज्यान बचाउने आम्चीको निधनले मुस्ताङी शोकमा

जन्मपछि मृत्यु साश्वत सत्य छ । पृथ्वी लोकमा पैदा भएका सबै प्राणी जगतको अन्ततः मृत्यु या अन्त्य स्वभाविक नियम नै हो । चाहे त्यो जतिसुकै लोकप्रिय होस् या शक्तिशाली होस् या धनी सम्पन्नशाली होस् या अरु कुनै क्षेत्रमा सर्वाधिक सफलता वाहवाही पाएको व्यक्ति होस् । अन्ततः उसको पनि अन्तिम गन्तव्य या विन्दु घाट नै हो ।

झन्डै ४० को दशक हो, मुस्ताङमा भरपर्दो अस्पताल र स्वास्थ्य केन्द्र थिएन । कुनै रोगको उपचार गर्नु परेमा आयुर्वेदिक स्वास्थ्य उपचारकै भर पर्नुपर्ने बाध्यता हुन्थ्यो । मुस्ताङमा अहिलेको जस्तो नत सडक सञ्जाल थियो,न त भरपर्दो उपचार गर्ने स्वास्थ्य केन्द्रनै । सुगमको अस्पतालमा उपचार गर्न जादा हप्तौ हप्ता लाग्ने गथ्र्यो । हिमाली जिल्ला मुस्ताङका जो कोही सर्वसाधारणलाई कुनै रोगका कारण बिरामी परेमा आयुर्वेदिक स्वास्थ्य उपचारकै भर पर्नुपर्ने थियो । यद्यपि, अहिलेको आधुनिक परिवेशमा समेत आयुर्वेदिक शिक्षा र स्वास्थ्य उपचारमा आम जनताको जनविश्वास उक्तिकै छ ।

तिब्बती थेरापी र आयुर्वेदिक पद्धतिबाट मुस्ताङी जनताको स्वास्थ्य उपचार गरी हजारौको ज्यान बचाउदै आईरहेका व्यक्ति हुन् आम्ची छम्व ङहवाङ गुरुङ । उनको आफ्नै निवासमा मृत्यु भएको छ । मुस्ताङको घरपझोङ-५ ढुम्बा निवासी आम्ची गुरुङ मुस्ताङका प्रख्यात आम्ची चिकित्सक हुन् । उनलाई स्वदेश तथा प्रवासी नेपालीहरुले आम्ची चिकित्सक रुपमा चिन्ने गर्छन् । क्यान्सर रोगले ग्रस्त आम्ची गुरुङको ७३ वर्षको उमेरमा निधन भएको हो । दुर्गम जिल्लामा कार्यरत एक सफल आम्ची (चिकित्सक) गुरुङ गुमाएकोमा मुस्ताङबासी अहिले शोकमा छन् ।

शिक्षाको जागरण र स्वास्थ्य सेवा मार्फत हजारौंको ज्यान बचाउदै आएका आम्ची गुरुङले आफ्नै ज्यान बचाउन सकेनन् । मुस्ताङी धरोहर आम्ची गुरुङले परम्परागत र विभिन्न विश्व विद्यालयमा आयुर्वेद शिक्षा हासिल गरी गरी हजारौको ज्यान बचाएका छन् । आम्चीको शाब्दिक अर्थ हो डाक्टर । उनी यही बिधामा दक्षता हासिल गरी बिरामीको उपचार गर्दै आईरहेका थिए । आयुर्वेदिक चिकित्सा क्षेत्रमा दक्षता हासिल गर्ने उनी नवौ पुस्ता हुन् । यसअघि उनका आठौ पुस्ताले समेत यस विधालाई पछ्याएका थिए । आम्ची गुरुङको निधनपछि दशौ पुस्ता सम्हाल्न उनले कान्छा छोरा छेवाङ घ्यूर्मीलाई अघि सारिसकेका छन् । आम्ची गुरुङले यसप्रकारको आम्ची शिक्षा ७ वर्षको उमरबाटै बुबाबाट सिकेका थिए । घरबाटै आम्ची शिक्षा ग्रहण गरेको गुरुङले त्यसपछि तिब्बत र भारतका विश्व विद्यालयबाट आफ्नो विद्यालाई झनै निखारे । उनले यस शिक्षालाई पुस्तान्तरण मात्र होइन, अन्यलाई समेत अगाडि बढाउन र आयुर्वेदिक शिक्षाको प्रर्वद्धन गर्न आम्ची अध्ययन सञ्चालन गरेका थिए ।

आम्ची गुरुङ मानिसको उपचारमा मात्र सीमित थिएनन्, उनी आयुर्वेद शिक्षाको माध्यमबाट पशुचौपायाको समेत उपचार गर्ने गथ्र्ये । उनी आयुर्वेद पशु बिशेषज्ञ समेत हुन् । तिब्बती मौलिक सांस्कृतिक धरोहर रहेको हिमाली जिल्ला मुस्ताङको मौलिक कला संस्कृति संरक्षण तथा प्रवद्र्धनमा समेत उक्तिकै योगदान दिएका छन् । उनले मुस्ताङ जिल्लाका अधिकांश गुम्बा, छोर्तेन,माने आदीमा कलात्मक भित्ते लेखन अर्थात थान्का बनाउन काम गरेका थिए । कला संस्कृतिको उत्थान र संरक्षण क्षेत्रमा योगदान पू¥याएका आम्ची गुरुङ मुस्ताङका सांस्कृतिक अभियान्ता हुन् । आम्ची गुरुङको सहयोगमा स्वदेश तथा विदेशका विभिन्न रिसर्च बिज्ञ टोलीले मुस्ताङको कला संस्कृति र मौलिकताका बिषयमा दजनौ पुस्तक समेत तयार गरिसकेका छन् । उनको बारेमा माउन्ट कैलाश जर्नर रिसर्चमा आम्ची शिक्षाका यसको महत्वको बिषयमा उल्लेख गरिएको छ ।

आम्ची ङहवाङ गुरुङलाई सन् २००१ मा भर्जिनिया टेक युनिभर्सिटीमा एसियन संस्कृतिका बारेमा अध्यापन गराउन भिजिटिङ प्रोफेसरका रुपमा बोलाइएको थियो । उनले झण्डै ६ महिना त्यहाँ सयौंलाई एसियन संस्कृतिका बारेमा पढाए ।

भर्जिनिया टेक युनिभर्सिटीमा धर्म र संस्कृतिबारे पढाउने कलाकार जेन लिलियन भेन्सले नेपाल आउँदा आम्ची ङहवाङलाई भेटेकी थिइन् । उनी आम्ची ङहवाङसँग अन्नपूर्ण टे्रकिङमा गएकी थिईन भने तिब्बती र मुस्ताङी संस्कृतिको बारेमा ज्ञान हासिल गरेकी थिइन् । त्यसपछि उनैको पहलमा ङहवाङ भिजिटिङ प्रोफेसरका रुपमा अमेरिका गएका थिए । अमेरिकामा उनलाई ६ महिनाका लागि झण्डै ४० हजार डलर पारिश्रमिक दिइएको थियो । उनलाई बिदाई गर्ने बेलामा कलाकार भेन्सले उनको जीवनयात्राको बारेमा थाङ्का कला बनाउने अनुमति मागेकी थिइन् ।

कलाकार भिन्सले ङहवाङको जीवनयात्रालाई समेटेर थाङ्कामा उतारेकी थिइन् । उक्त थाङ्का सन् २००७ को जुनमहिनामा कलाकारसहितको टोली भर्जिनियाबाट मुस्ताङ आएर ङहवाङकै गाउँमा पुगेर हस्तान्तरण गरिएको थियो । थाङ्कामा छम्ब ङहवाङको जीवनयात्रालाई विभिन्न तीनवटा भाषा (तिब्बती, अँग्रेजी र चित्र) मा समेटिएको छ । उनी को हुन्, उनको योगदान के हो लगायतका विषयहरु थाङ्कामा समेटिएको छ । विभिन्न १२ भागमा ङहवाङको जीवनयात्रा समेटिएको थियो ।

मुस्ताङमा स्याउ खेती सुरु गर्न महत्वपूर्ण योगदान दिएका आम्ची गुरुङ मुस्ताङका सफल कृषक समेत हुन् । उनकै पहलमा मुस्ताङमा स्याउ खेती सुरु भएको घरपझोङ—३ का स्थानीय शेरबहादुर गुरुङले जानकारी दिए । मुस्ताङ जिल्लाको तिब्बती कलासंस्कृति र मुस्ताङको खनिज तथा जैविक विविधता महत्व दर्शाई आन्तरिक तथा हाह्य पर्यटक आर्कर्षित गर्न उनकै पहलमा जोमसोममा ईको म्युजिम स्थापना भएको थियो । जोमसोम ईको म्युजियमको संस्थापक अध्यक्ष थिए ।यस्तै,वारागुङ मुक्तिक्षेत्रको उत्थानका लागि वारागुङ सेवा समितिको सस्थापक रही आम्ची गुरुङले जिम्मेवारी निर्वाह गरिसकेका थिए ।मुस्ताङमा रही आयुर्वेद शिक्षा र मुस्ताङको कलासंस्कृति समुत्थानमा योगदान दिए वापत उनलाई २०७५ सालमा नेपाल सरकार अन्तर्गत राष्ट्रपतिबाट जनसेवा पदकले बिभुषित गरिएको थियो ।

२०७८, २३ माघ आईतवार १३:२६
कथालिका नयाँ कथा
कथालिका