हराउँदै मैथिली परम्परा – कथालिका

हराउँदै मैथिली परम्परा

जीवनको ८० औँ वसन्त पार गरेका भङ्गाहा नगरपालिका–४ रामनगरका किसान यसपालिको वसन्तोत्सवको दृश्य देख्दा खिन्न थिए । माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त उत्सव पर्वसँग जोडिएको कृषि परम्परा कतै नदेखेपछि उनको मन निकै पोलिरहेको छ ।

गत आइतबार श्रीपञ्चमी पर्वमा कृषिसँग जोडिएका विधि कतै नदेखेपछि महतोमा चरम निराशाको भाव पैदा भएको छ । “आव बुझायल, जे सब अपन पुरान मैथिल परम्परा मिटागेल, अई बेर श्रीपञ्चमी पावैनमें पासपडोस आ कतो हरक फेरा लगायत नई देखलीय, अब बुझ्दैछु, हाम्रा सबै मैथिल परम्परा मेटिदैछन्, यसपाली श्रीपञ्चमी पर्वमा कतै हलो घुमाइएको देखिएन,” श्रीपञ्चमी कृषि कार्यसँग जोडिएको महत्वपूर्ण यस पर्वमा मैथिल परम्परा अनुसार अढाइ मोड (साँढे दुई घुम्ती) हलो घुमाउने (जोत्ने) कतै नदेखेपछि पुराना परम्परा हराउँदै गएको देखेर उनी र उनी जस्ता पुरानो पुस्ताको मन कुँडिएको छ।

महतोकै समकक्षी सोही बस्तीका दीपबहादुर फुँयाल पनि अब पर्व विशेषका रितिथिति र चलन हराउँदै जाँदा आफ्नै ठाउँ बिरानोजस्तो लाग्ने गरेको बताउनुभयो । “हामी यही जन्म्यौँ, हुक्र्यौं । यहाँका चलन र परम्परामा भिज्यौँ” उहाँले भन्नुभयो, “वसन्तपञ्चमी पर्वमा बाँझो खेत नजिक नभेट्दा सडकमै भए पनि गोरु नारेर दुई/तीन फेरा घुमाइन्थ्यो, हामी कति रउस (रमाइलो) मान्थ्यौँ, खै अब पर्वका यी परम्परा हराए ।”

मिथिला क्षेत्रका किसान श्रीपञ्चमीलाई मुख्य कृषि पर्वका रुपमा मनाइँदै आइएको विगत सम्झन्छन् । “श्रीपञ्चमी किसानका लागि नयाँ वर्षको प्रारम्भ हो” बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ५५ वर्षीय किसान महेन्द्रसिंह कुशवाहाले भने, “श्रीपञ्चमीकै दिन कृषि ज्यावलको पूजा गरिन्छ, यसै दिन अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको व्यवस्था गरेर वरण गरिन्छ, कृषि ज्यावल बनाउने र मर्मत गर्ने लोहार यसै दिन वरण गरिने परम्परा थियो, त्यसैले यो किसानका नयाँ वर्ष बनेको हो ।” यस पर्वका दिन हलो घुमाउने विधि पनि कामको कहिल्यै खाँचो नहोस् भनेर खेती शुभारम्भ भएको प्रतीकको रुपमा लिने गरेकोे उनको भनाइ थियो ।

पछिल्ला केही वर्षयता जोत्ने गोरु किसानका गोठमा देखिन छाडेका छन् । “अरु छिमेकका के कुरा गर्नु रु मेरै गोठमा १० वर्ष पहिलेसम्म तीन हल गोरु थिए, अहिले गोठ रित्तो छ” बर्दिबास–७ प्रेमनगरका रामचन्द्र महतोले भन्छन्, “करिब २०० घरको प्रेमनगर बस्तीमा अहिले गोरु पाल्ने किसान मुस्किलले एक, दुई होलान्, न गोरु, न हलोफाली, जे खेती गरेपनि ट्याक्टरकै भर ।”

जोत्ने गोरु र राँगा पाल्न छाडिएपछि हलो, हरिस, जुवा, अनौँं, फालीजस्ता हलोसँगै जोडिने पुराना यी सामग्री पनि अब देखिन छाडेका छन् । किसानका घरघरै रहने यी परम्परागत खेतीका सामग्री अब पछिल्लो पुस्तालाई इतिहास पढाएझैं बुझाउनपर्ने भइसकेको पशुपतिनगर गाविसका पूर्व अध्यक्ष नथुनी महतोले बताए । “देख्दा देख्दै सबै हराए, यस्तो दिन आउला भन्ने त कल्पना पनि थिएन हाम्रो पुस्तालाई”, ८० पुग्नुभएका उनले भने, “न पुरानो खेती प्रणाली रह्यो, न खेती गर्ने मजदूर नै पाइन्छन्, अनि के हाम्रा कृषि पर्वका परम्परा जोगियुन् ?”

श्रीपञ्चमीबाट सुरु हुने मैथिल कृषि पर्व केही वर्ष अघिसम्म आयोजना हुँदै आएको यहाँका पाका किसानले बताए । जुडशितल पर्व ९विक्रम सम्वत्को नयाँ वर्षमा स–साना बोटबिरुवामा पानी हालेर सेचन गरिने, चौरचन (भदौ शुक्लपक्षको चौँथी) पर्वमा नयाँ कृषि उपज चन्द्रमालाई अर्पण गर्ने र छठ पर्वमा बोटैसहितको अदुवा, बेसार, निबुवा, ज्यामिरसहित फल, गुबोपात सहितको उखुका लाँक्रा सूर्यदेवलाई अघ्र्य दिँदा देखाइने अनिवार्य कृषि उपजमा पर्छन् ।

यस बाहेक मिथिलाका अन्य थुप्रै पारम्परिक पर्व खेती र उत्पादित फसलसँग जोडिएका भङ्गाहा–६ सङ्ग्रामपुरका कृषि विज्ञ राजकिशोर यादवले जानकारी दिए। कृषि क्षेत्रको उपसचिव पदबाट सेवानिवृत उनले भने, “अब कृषिका लागि श्रमिक पाइँदैन र खेतीपातीसँग सम्बन्धित पर्व पनि त्यतिकै हराउँदै गए ।” पहिले पहिले खुशियाली र उल्लासका साथ धान रोपाइँका दिन मनाइने पर्व अब दन्त्य कथा जस्तो भइसकेको उनको गुनासो थियो । कृषि सँग सम्बद्ध पर्वका साथै मिथिलाका अन्य पुराना परम्परा पनि हराउँदै गएका छन् ।

श्रीपञ्चमीकै दिनदेखि थालिने वसन्त उत्सवको मुख्य आकर्षण ‘होरीगीत’ अब बस्ती बस्तीमा सुन्न पाईदैन । श्रीपञ्चमीसँगै प्राचीन मिथिलाका बस्तीबस्तीमा प्रत्येक रात झ्याली, मृदङ्ग, हारमुनियम र ढोलकसँगै फागु पूर्णिमासम्म गुञ्जने ‘होरीगीत’ पनि अब सुन्न छाडिएको छ । त्यसैगरी दसैँको झिझिया परम्परा पनि अब गैरसरकारी संस्था र विभिन्न साँस्कृतिक संस्थाले मात्र थेग्दै आएका छन् । अहिले देखिने यो अवस्थाले मिथिलाका लोकपरम्परा अब पछिल्ला पुस्ताले इतिहास पढेर मात्र थाहा पाउने स्थिति बनेको पूर्वशिक्षक चन्द्रनारायणसिंह थारुको भनाइ थियो ।

प्राचीन मिथिलामा श्रीपञ्चमीका दिनदेखि सुरु हुने ‘होरी’ (फागु) गीत गाउनेलाई ‘होलैया’ भनिन्छ । यहाँ यसै दिनदेखि ‘वसन्त’ सुरु भएको मानिन्छ । श्रीपञ्चमी मनाइएपछि मिथिलामा विभिन्न रङ्ग र अबिरको खेलले प्रवेश पाउछ । यसअवधिमा घरमा आउने पाहुनालाई अबिरले स्वागत गर्ने स्थापित परम्परा रहेको पाका मैथिल सम्झन्छन् तर समयको परिवर्तनसँगै यो प्रेम र आत्मीयतासँग जोडिएको परम्परा पनि अब देखिन छाडेको उनीहरुकोे गुनासो थियो ।

“अब मिथिलाका परम्परा के हुन् भनेर देखाउन अहिलेका बृद्ध पुस्तापछि कसैले लेखिदिए इतिहासमा पढ्न पाइने दिन टाढा छ जस्तो लाग्दैन । पूर्वशिक्षक थारु भन्छन्, “ठाउँठाउँका विशिष्ट परम्पराले त्यो ठाउँको खास पहिचान बनाएका हुन्छन् । मिथिला कला, संस्कृति, भाषा र आफ्नै रीतिथिति संसारलाई चिनाएको प्राचीन आर्य सभ्यताको थलो भए पनि अब पुराना परम्परा हराउँदै गएको प्रति पाका पुस्ताको मन अमिलिएको छ । खास परिचयसँग जोडिएका यी परम्पराबारे पछिल्लो पुस्ता बेखबर झैं देखिएका छन् ।” नयाँ पुस्ताले ठाउँ विशेषका परम्परा बुझ्न तत्परता देखाउन् र ती रितिथिति थामी दिउन भन्ने आफ्नो पुस्ताको चासो रहेको वरिष्ठ पत्रकार कृष्णचन्द्र झाको भनाइ थियो ।

२०७८, २५ माघ मंगलवार ०७:४२
कथालिका नयाँ कथा
कथालिका