सरकार नदेखेको साङ्ता गाउँ – कथालिका

सरकार नदेखेको साङ्ता गाउँ

नेपालमा संघीय शासन व्यवस्था सुरु भएको पाँच वर्ष हुनै लाग्यो । अहिले देशमा एक संघीय सरकार सहित ७ प्रदेश सरकार र ७५३ पालिका सरकार छन् । तल्लो तह सम्म पुग्न गाउँ गाउँमा सिहंदरबारको नारा सहित अर्बौको खर्चमा सरकार र यसका संयन्त्रहरु सक्रिय छन् । तर, दुर्भाग्य ऐतिहासिक परिवर्तन पछि आएको उन्नत व्यवस्थामा पनि एक गाउँले परिवर्तनको कुनै अनुभूति नै गर्ने अवसर पाएको छैन ।

मुस्ताङ सदरमुकाम जोमसोमबाट पश्चिम लाग्दा करिब ४० किमीमा एउटा विकट बस्ती भेटिन्छ, यो ठाउँको नाम हो साङ्ता । मुस्ताङ र डोल्पाको पश्चिम सीमाना स्थित अग्लो पहाडको खोचमा पर्छ यो गाउँ । ६ महिना वारि, ६ महिना पारि बासस्थान फेर्ने साङ्तेलीको वार्षिक कार्यतालिका हो ।

हिउँद लाग्दा जाडो छल्न पारी पाखो र बर्खा लाग्दा वारी पाखो उनीहरुका वासस्थान हुन् । बर्खायाममा खोला वारी पशुपालन, कृषि र आन्तरिक व्यापार व्यवसाय गरेर उनीहरु गुजारा गर्छन् । हिउँद याममा पशु, चौपाया र खाद्यान्न बोकेर खोलापारीको घोक भन्ने स्थानमा जाडो कटाउन पुग्छन् ।

अहिलेको साङ्ता बस्ती उनीहरुको सुरुआती बस्ती होइन । धेरै वर्षअघि यो बस्ती खोला पारीको सेन्ताक भन्ने ठाउँमा थियो । बस्तीमा सुख्खा पहिरोको जोखिम बढेपछि खोलावारी सरेको गाउँ मुखिया ङाहिटुक गुरुङले जानकारी दिए । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ शाङ्तामा विपन्न वर्गका १४ घर छन् ।

गएको निर्वाचनमा यहाँ करिब ४० मतदाता थिए । एउटै वडा पर्ने फल्याक र धार्काजुङ भन्दा साङ्ता गाउँ करिब ३० किमी टाढा छ । समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा अवस्थित साङ्ता मुस्ताङकै सबैभन्दा कम जनघनत्व भएको गाउँ हो । स–साना एकआपपसमा जोडिएका माटोका घर जोडिएको छ । यो गाउँ मुस्ताङको निकै पिछडिएको गाउँ हो । यहाँका बासिन्दा शुद्ध नेपाली समेत बोल्न जान्दैनन् ।

बस्तीका सबै घरले खेतीपाती गरे पनि उत्पादन गरेको अन्नवालीले ४ महिना थेग्दैन । सबैले च्यांग्रा र याकचौरी पनि पालेका छन् । वैशाख लागेपछि उनीहरु पाटनमा यार्सा खोज्छन् । यार्सा, कृषि र पशुपालन व्यवसाय उनीहरुको जीवन धान्ने माध्यम हुन् । सीमित खेतीयोग्य जमिनमा गहुँ र फापरबाहेक अरु खेती हँदैन । हिउँद/बर्खा नै उनीहरु गाउँमै बस्छन् । हिउँदको जाडोमा महिलाले घरेलु गलैंचा बुन्छन् ।
मुस्ताङको दुर्गमको बस्ती साङ्ता गाउँमा ५ वर्षमा ५ पटक पनि स्थानीय, प्रदेश र केन्द्रीय सरकारको उपस्थिति नदेखिएको स्थानीयको गुनासो छ । जब चुनाव हुन्छ, तब मात्र यहाँ नेताहरु साङ्तेली बस्तीमा पुग्छन् र सपना बाँड्छन् । यो गाउँमा कच्ची सडक बिस्तार भएपछि खाद्यान्न ढुवानीमा भने केही राहत मिलेको छ । बाह्रै महिना गुमनाम पहाडको खोंचमा उनीहरु दिन कटाउँछन् ।

मुस्ताङको साङ्ता बस्ती हुँदै डोल्पा जोड्ने पदमार्ग छ । गाउँदेखि पैदल हिडे ६ घण्टामा याकखर्क पुगिन्छ । त्यसबाट ४ घण्टा हिँडे डोल्पाको छार्का गाउँ पुगिन्छ । डोल्पा हँुदै विदेशी पर्यटक मुस्ताङ आउँछन् । झन्डै ५ पुस्ता पुरानो साङ्ता गाउँको बस्ती पछिल्लो समय वर्षेनी अन्यत्र स्थानान्तरण हुने क्रममा छ । सुरुआतमा २५ घरधुरी रहेकोमा अहिले १४ घरधुरीमात्र छन् । अहिले यहाँ मुस्ताङ-डोल्पा जोड्ने कच्ची सडक बिस्तार भईसकेको छ ।

यहाँ आधारभूत सुविधा उपलब्ध नभएपछि वस्ती विस्थापित हुन थालेको वडाध्यक्ष राप्के गुरुङ बताउँछन् । उनी भन्छन् ‘गाउँमा विद्युत, सञ्चार र स्वास्थ्य चौकी अभावले बस्ती विस्थापित हँुदैछ । यहाँका पूरै युवा अशिक्षित छन् । बिरामी पर्दा समेत उपचार पाउन कठिन छ । गाउँमा शौचालय पनि छैेन ।’ घर नजिकैको स्कुल विद्यार्थी नहुँदा करिब खाली छ । आफूहरु तीन तहको सरकारको सबै भन्दा नजिकको सरकारको रुपमा रहे पनि भौगोलिक विकटता, मौसमी जटिलताले सेवा, सुविधा र अवसरको पहुँच स्थापित गर्न नसकिएको उनले बताए ।

यहाँका केही बालबालिकालाई अन्यत्रका स्कुलमा राखेर पढाइएको छ । जोमसोम सम्म कच्ची सडक भए पनि यहाँ आइपुग्न पूरै दिन लाग्छ । गाउँ सम्म सडक विस्तार भए पनि सार्वजनिक सवारी चल्दैनन् । गाउँले जोमसोमबाट चर्को भाँडा तिरेर खाद्यान्न गाउँ लैजान्छन् । मुस्ताङमा ९६ गाउँ छन् ।

२०७८, २६ माघ बुधबार ११:०९
कथालिका नयाँ कथा
कथालिका