जन्मिदै जब गुमाइन् आमा… – कथालिका

जन्मिदै जब गुमाइन् आमा…

हुम्लाको अदानचुली–५ की ३२ वर्षीया गौरा छत्यालले पुस २९ गते छैटौँ सन्तान छोरी जन्माइन् । तर, छोरीको मुख पनि राम्रोसँग हेर्न नपाई प्रशव पीडामै आमाको निधन भयो । धर्तीमा ओर्लिएको केही बेरमै आमाले आफूलाई छाडेपछि नवजात शिशुको त बिचल्ली हुने नै भयो । अब बिचल्लीका दिन उनका दिदीका पनि सुरु भए । बाबु गोरख छत्याल गरिब परिवारका र त्यसमा पनि दमका बिरामी ।

अब त झन् श्रीमती नै नरहेपछि त्यो नवजात शिशुसहित ६ छोरी कसरी पाल्नु ? त्यसपछि उनका आफन्त र दाजुभाइले नै खोज्नथाले बच्चा पाल्ने दाता । गोरखका आफन्त बताउने कमल छत्याल,तीर्थ रोकाया र जयराज छत्यालले सरु सुवेदीलाई फोनमा ती शिशुबारे जानकारी गराए । नवजात शिशु मात्र १४ दिनकी मात्र थिइन् । तुलसालय आश्रम चलाइरहेकी सरुले अन्ततः एकछिनको सोच विचार पछि ती शिशु र उनका ५, ७ वर्षका दुई दिदीलाई तुलसालयमा ल्याउने निधो दिइन् ।

“बच्चीको अवस्था सुन्दा जतिसक्यो चाँडै काठमाडौँ ल्याउन मन लागिसक्यो तर दुई हप्ता मात्रकी उनीसहति तीन जना बच्चालाई हुम्लाबाट जहाजमा नेपालगञ्ज हुँदै कसरी यहाँ ल्याउने भनेर मनमा तनाव सुरु भयो । अनि खर्चको समस्या फेरि छँदैछ । त्यसपछि ती छोरीहरुलाई यहाँसम्म ल्याउन सहयोगको याचना गरेर फेसबुकमा लेखेँ । केही रकम सहयोग आयो र बाँकी आफैँले जुटाएर नेपालगञ्जबाट जहाजमा राखेर काठमाडौँ ल्याएँ”, सरु भन्छिन् ।

अहिले सरुको ललितपुर नख्खुडोल स्थित तुलसालयमा ती शिशु र उनका ५ र ७ वर्षका दुई दिदी छन् । २१ दिनकी बच्चीलाई आफैँले काखमा राखेर ल्याएकी सरु उनको हेरचाहमा आफैँ खटेकी छिन् । अल्पायुमै निधन भएकी आफ्नी आमा तुलसादेवीको स्मृतिमा सरुले सो तुलसालय आश्रम स्थापना गरेकी हुन् । अहिले त्यस आश्रममा यस्तै अनाथ र गरिब परिवारका १८ जना बालबालिका छन् । यहाँ २९ दिनकी ती शिशुदेखि ७२ वर्ष उमेरका ३० जना छन् । उहाँले तुलसालय हरिहर फाउन्डेशन स्थापना गरी अनुदान र सहयोगका भरमा ती ३० जनाको लालनपालन गरिरहेकी छिन् । आफ्ना जन्मदिन, वैवाहिक वर्षगाँठदेखि अन्य अवसरमा यहाँ मानिस गएर ती अनाथलाई भोजन गराउनेदेखि आर्थिक सहयोग गर्ने गर्दछन् ।

संयोग पनि कस्तो प¥यो भने उहाँकी छोरी हृया २४ वर्ष पुगेकै दिन ती २१ दिनकी शिशु तुलसालय प्रवेश गरेकी छिन् । “मलाई त २४ वर्षपछि मेरो अर्को सन्तान हुम्लामा जन्मिइजस्तो लागेको छ, मेरा लागि यो साक्षात् भगवान् नै हो”, सरुले भनिन् । जन्मिएदेखि रोइरहेकी उनी सरुको काखमा आएपछि शान्त भइन् । सरु भन्छिन्, “कस्तो अचम्म भने नेपालगञ्ज विमानस्थलमा उ मेरो काखमा आएर यसो मेरो मुखमा के हेरेकी थिइ, चुप लागिहाली । एकछिन मुखमा टलटल्ती हेरी अनि रोइन् । मलाई त लाग्यो उसले बल्ल आमा पाई । त्यसैले म पनि उसलाई मेरी कान्छी छोरी भनेकी छु ।”

उनको न्वारन भएको छैन । भोलि शुक्रबार ३० दिनका दिन उनको न्वारनको तयारीमा छिन् सरु । नख्खुडोलमा साँघुरो भएर भक्तपुरको चाँगुनारायणमा हालै आश्रम सारिएको छ । सरुले भनिन्, “भोलि छोरी ३० दिनकी पुग्छे, उसको न्वारन गर्ने र आश्रमको घर सरेको पूजा पनि लगाउने तयारीमा छु ।” काठमाडौँ ल्याउनका लागि गराइएको जन्मदर्तामा प्रकृति नाम राखिएको रहेछ । तर सरुले उनको नाम स्तुती राख्ने सोच्नुभएको छ । स्तुती नाम किन रोज्नुभयो ? सरुले भनिन्, “तुलसालयको यो कान्छो सन्तान मार्फत् म नेपाली आमाहरुले यसरी छोराकै लागि ६/६ छोरी जन्माउनुपर्ने अवस्था अब नआओस् र कुनै बाबुआमाले पनि यसरी आफ्नो सन्तान पाल्न नसक्ने अवस्था नरहोस् भनेर मैले भगवानलाई स्तुती गरेको छु । त्यसैले उसको नाम स्तुती राख्ने विचार छ ।”

यसपालि धेरै हिमपात भएका समाचार आएका थिए । माघ २० गते कर्णाली र मध्यपश्चिमका कैयौँ भागमा भारी हिमपात थियो, कतै विमान नउड्ने, कतै सञ्चार सम्पर्कमै समस्या । सरु थप्छिन्, “नेपालगञ्ज पुगेर बसेँ तर उता हुम्लादेखि त्यहाँ पुग्न कस्तो समस्या । चिसो उस्तै । मलाई यस्तो चिसोमा हुम्लादेखि त्यो बच्ची कसरी ल्याइदेलान् र मैले काठमाडौँ पु¥याउँला भन्ने त्रास थियो । बच्ची हातमा समातेपछि काठमाडौँबाट लगेका न्यानो कपडाहरु लगाइदिएँ । डाइपर त लगाइदिएका तर कति दिनदेखि दिसा सफा नगरेको । सबै सफा गरेँ । मेरो हातमा आएपछि त उ केही क्षण रुन पनि छोडी, अनि केही सहज भयो । काठमाडौँ ल्याएर अहिले उसैको स्याहारमा छु । एकछिन काख छोड्यो भने रुन थाल्छे, समात्नै पर्छ । हुन त आश्रममा १८ छोराछोरी छन् तर उसैको माया बढी लाग्छ । अनि अरु सबैले पनि बहिनी भनेर माया गर्न थालेका छन् ।”

हुम्लादेखि काठमाडौँसम्मको यात्राका लागि सरुलाई केही सहयोग प्राप्त भएको छ । “इल्या भट्टराई दिदी, दाजु अशेष मल्ल र भाउजु अनि अमेरिकाबाट सरला दिदीले सहयोग र आँट दिनुभएको छ । बच्चीलाई वर्षदिनको दूध व्यवस्था भएको छ । भगवानले तँ आँट म पु¥याउँछु भन्छन् रे, हेर्दै जाउँ । यी लालाबालको भविष्यका लागि सबैको सहयोगबाट म लागि नै रहनेछु”, सरु भन्छिन् । ‘‘बाहिर समस्या जे जति भए पनि आश्रमका १८ सन्तानले आमा भनेर बोलाउँदा निकै खुसी लाग्छ, अनि सबै पिर पर्का नै बिर्सन्छु’’ उनले भनिन् ।

२०७८, २७ माघ बिहीबार ०६:५६
कथालिका नयाँ कथा
कथालिका