ताराखोला गाउँपालिकाको केन्द्रमा नवनिर्मित प्रशासकीय भवन । भवनमा (लिफट) सहितका सुविधा छन । तस्वीरः संगम घर्ती
- ताराखोला गाउँपालिका पूर्वाधारमा उल्लेख्य विकासका साथै विद्युतमा पनि आफ्नै उत्पादनमा निर्भर छ । त्यहाँका आयोजनाबाट निस्कने बिजुली केन्द्रीय प्रसारणसम्म पुग्छ । शिक्षा र स्वास्थ्य प्रणालीलाई पनि सुदृढ पार्न गाउँपालिकाले लगानी बढाउँदै लगेको छ ।
शैक्षिक अन्तक्र्रियामा भाग लिन बागलुङ जिल्लाको ताराखोला पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल त्यहाँको सभागृह देखेर दङ्ग परे । दर्शकदीर्घाअघि उभिएर उनले भने, “यो हेर्दा, यहाँ बोलिरहँदा कुनै विकसित सहरको सभागृहमा पुगेझैँ अनुभूति भइरहेको छ ।”
उनले आन्दोलनमा होस् या विकास निर्माणमा ताराखोलाका जनसमुदायले इमान्दार भूमिका निर्वाह गरेकामा प्रशंसा व्यक्त गरे । “यहाँको जनसमुदाय मेहेनती र इमान्दार छ, कुनै छलछाम र तिकडम छैन भन्ने कुरा कामले पुष्टि गरेको छ”, उनले भने, “भौतिक पूर्वाधारदेखि समग्र विकासमा ताराखोलाको नेतृत्वले लिएको पहलकदमी सह्रानीय छ ।”
मन्त्री पौडेलले भनेझैँ अविकास, गरिबी र पछ्यौटेपनबाट गुज्रिरहेको ताराखोला अहिले समृद्धिको यात्रामा सङ्घर्षरत छ । कुनै ताका माओवादी युद्धको रापताप झेलेको ताराखोला क्षेत्र गाउँपालिका बनेको भर्खर पाँच वर्ष बित्दैछ । सुरुकालका जनप्रतिनिधिको कार्यावधि आखिरितिर आएको छ । यस अवधिमा पूर्वाधार विकासतर्फ ताराखोलाले जिल्लाका अन्य स्थानीय तहलाई भने उछिनेको छ ।
सडक, विद्युत्, खानेपानी हुँदै जिल्लाकै ठूलो र सुविधायुक्त सभागृह, बहुसांस्कृतिक सङ्ग्रहालय, आफ्नै प्रशासकीय भवनदेखि औद्योगिक ग्रामको योजनासम्म आइपुग्दा समृद्धि पछ्याइरहेको स्थानीय तहका रूपमा ताराखोलाले आफूलाई प्रमाणित गरेको छ ।
ताराखोला गाउँपालिकाको रु.पाँच करोड दस लाखको लागतमा बनेको नवनिर्मित प्रशासकीय भवन । तस्वीरः राम थापा
स्रोत तथा दक्ष मानव संशाधनको सीमितता, भौगोलिक कठिनाइ, नागरिक सशक्तीकरणको कमी आदिका बाबजुद विकास निर्माण र नागरिक सेवामा ताराखोलाले मारिरहेको फड्कोको अनुभव त्यहाँ पुग्ने जो कोहीले गर्छन् । आफैँमा प्राकृतिक र सांस्कृतिक वैभव बोकेको ताराखोलाको चिनारी अब समृद्धितिर लम्किरहेको गाउँपालिकाका रूपमा पनि बदलिएको छ । नयाँ व्यवस्था र संरचनामा काम गरेर छोटो अवधिमै नतिजा दिनुपर्ने चुनौतीलाई ताराखोलाले धेरै हदसम्म पार गरेको छ ।
सदरमुकाममै व्यवस्थित सभाकक्षको अभाव खड्किरहेको स्थितिमा ताराखोलाले गत वर्ष नै जिल्लाकै पहिलो र ठूलो सभागृह बनायो । ताराखोला–२ अर्गलस्थित उक्त सभागृह ५०० क्षमताको छ । रु दुई करोड ६७ लाखमा निर्मित सभागृह गण्डकी प्रदेश सरकार र गाउँपालिका मिलेर बनाएका हुन् ।
जिल्लाका कतिपय स्थानीय तह अहिले पनि भाडाका घरबाट सञ्चालित भइरहेका बेला ताराखोलाले ‘लिफ्ट’सहितको सुविधायुक्त प्रशासकीय भवन बनाएको छ । रु पाँच करोड १० लाखमा बनेको सो भवनमा गण्डकी प्रदेश सरकार र गाउँपालिकाको ६०–४० लागत साझेदारी छ । निर्माण कम्पनी ‘निशान–आचार्य–विके जेभी’ले सम्झौता अवधिभन्दा छ महिनाअगावै भवन निर्माण सकेको हो । कम्पनीका प्रतिनिधि ओमप्रकाश घर्तीले नवनिर्मित भवन केही दिनभित्रैमा गाउँपालिकालाई हस्तान्तरण गरिने बताए ।
चारतले भवनमा २७ कोठा र एउटा सभाकक्ष छ । अपाङ्गतामैत्री भवनमा ‘लिफ्ट’ जडान गरिएको छ । भवनमा बैठक, पुस्तकालय, भान्छा, सुरक्षा र अतिथिकक्ष पनि छ । तातो पानीको सुविधाका लागि सौर्य ऊर्जा जडान गरिएको छ । गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले नयाँ भवन बनेसँगै प्रशासनीक कार्यसम्पादन र सेवा प्रवाहका लागि कोठाको अभाव हटेको बताए । “हस्तान्तरणलगत्तै नयाँ भवनमा मुख्य प्रशासकीय कार्यालय सर्छ, अरुमा विषयगत शाखा रहन्छन्”, उनले भने ।
सदरमुकाम रहेको बागलुङसँगै गलकोट, जैमिनी नगरपालिकालगायतले अहिलेसम्म प्रशासकीय भवन बनाउन सकेका छैनन् । केही स्थानीय तह जेनतेन जग्गाको जोहो गरेर भवनको जग बसाउने तयारीमा छन् । सङ्घ र प्रदेश सरकारसँगको लागत साझेदारीमा वडा नं १ भुस्कातमा निर्माणाधीन ‘औद्योगिक ग्राम’लाई पनि ताराखोलाले विकासको आधारशीलाका रुपमा लिएको छ । ग्राम सञ्चालनमा आउँदा स्थानीय स्रोत, सीप र प्रविधिको उपयोग हुनुका साथै गाउँमै उद्यमशीलता विकास र रोजगारी सिर्जना हुने विश्वास लिइएको छ ।
ताराखोलाको पहिचानका रूपमा चिनिने ‘स्लेट ढुङ्गा’, नेपाली हातेकागज, पेय पदार्थ, जडीबुटी तथा कृषि र पशुजन्य उत्पादनमा आधारित उद्योग सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । सरकारले प्रस्ताव माग गर्दा जग्गा व्यवस्थापन गर्न नसकेका कारण औद्योगिक ग्रामको योजना ल्याउनबाट अरु स्थानीय तह पछि परेका बेला ताराखोला भने त्यसमा पनि सफल भयो ।
मगर बाहुल्य रहेको ताराखोलामा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण पनि अन्तिम चरणमा आइपुगेको छ । समाज, संस्कृति र जीवनशैलीको झल्को दिने गरी निर्माण भइरहेको सङ्ग्रहालयमा पर्यटन मन्त्रालय, सासंद विकास कोष र गाउँपालिकाको लगानी छ । रु दुई करोड १६ लाखको लागतमा सङ्ग्रहालय बन्न लागेको हो ।
सडकतर्फ दुई रणनीतिक योजना ताराखोलामा सञ्चालित छन् जसले सिङ्गै गाउँपालिकालाई पूर्व–पश्चिम र उत्तर–दक्षिण छिचोल्छन् । गलकोट ताराखोला हुँदै म्याग्दीको रुम जोड्ने सडक कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । सडक बोर्डमार्फत रु ३३ करोडको ठेक्कापछि त्यहाँको कामले गति लिएको हो ।
स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरुप गाउँपालिकाको केन्द्र जोड्ने रिजालचोक–अमरभूमि–अर्गल सडक पनि कालोपत्रका लागि छनोटमा परेको छ । गाउँपालिकाले ‘शहीद मार्ग’ का रुपमा नामाकरण गरेको २० किमि दुरीको उक्त सडकको ‘डिपिआर’ बनेर ठेक्का प्रकृया अगाडि बढेको छ ।
यी दुई सडकलाई ताराखोलाको ‘लाइफ लाइन’मा रुपमा हेरिएको छ । बस्ती जोड्ने र भित्री गाउँसम्म सडक सञ्जाल विस्तार र स्तरोन्नतिका लागि गाउँपालिकाले पनि वर्षेनी बजेट छुट्टाउने गरेको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले बताए । पालिकाको पूर्वाधारमा उल्लेख्य विकासका साथै विद्युतमा पनि ताराखोला आफ्नै उत्पादनमा निर्भर छ । त्यहाँका आयोजनाबाट निस्कने बिजुली केन्द्रीय प्रसारणसम्म पुग्छ । शिक्षा र स्वास्थ्य प्रणालीलाई पनि सुदृढ पार्न गाउँपालिकाले लगानी बढाउँदै लगेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत विद्यालय भवन बनिरहेका छन् ।
ताराखोला जोड्ने मुख्य सडकको तरिम र साँघुबोटमा दुई पक्की पुल पनि पछिल्लो अवधिमा बनेका हुन् । अरु पुल बन्ने चरणमा छन् । वडा नं ४ को दोगाडीमा गाउँपालिकास्तरीय रङ्गशाला निर्माणाधीन छ । वडा नं ५ को ठूलो हिलेमा पनि नयाँ खेलमैदान बनेको छ ।
जनयुद्धताका तत्कालीन सरकारी सुरक्षा फौजले चार माओवादी कार्यकर्तालाई हत्या गरेको वडा नं २ अर्गलको गयार भन्ने स्थानमा सहिद उद्यान बनाउन विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरी काम थालिएको अध्यक्ष घर्तीले बताए । माओवादी आन्दोलनमा ताराखोलाका २१ जना सहिद बनेका थिए भने दुई अझै बेपत्ता छन् ।
करिमेलालाई ‘ढुङ्गेनी गाउँ’का रूपमा विकास गरी पर्यटक भित्र्याउने लक्ष्यअनुरुप पूर्वाधार निर्माणका लागि रु १६ करोडको ‘डिपिआर’ बनेको गाउँपालिकाले जनाएको छ । त्यसमा सहिद उद्यान, पदमार्गलगायत पर्यटकीय पूर्वाधारलाई पनि समेटिएको छ । ताराखोलाको मुख्य पर्यटकीय गन्तव्यस्थल गाईघाट झरनाको पूर्वाधार विकास र सौन्दर्यीकरणका लागि पनि गुरुयोजना बनाएर काम थालिएको छ ।
सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार झरनाछेउ ‘रिसोर्ट’ निर्माणको काम पनि अगाडि बढेको छ । सय रोपनी जग्गामा बन्ने ‘रिसोर्ट’मा गाउँपालिकाको पनि लागत साझेदारी रहने जनाइएको छ । वडा नं ५ हिले, वडा नं १ को अमरभूमिलगायतका पर्यटकीय सम्भावनायुक्त स्थलमा पूर्वाधार खडा गरी पर्यटन प्रवद्र्धन गर्ने योजना गाउँपालिकाको छ ।
पर्यटकीय गतिविधि बढाउनकै लागि गाउँपालिको आर्थिक सहयोगमा वडा नं २ मा ‘किकल्टा घरवास’ र ५ मा ‘हिले घरबास’ सञ्चालित छ । यीबाहेक प्रदेश सरकारको अनुदान लिएका दुई घरबास पनि ताराखोलामा सेवारत छन् । चालु आवमा स्थानीय पूर्वाधारतर्फका कपितय योजना सम्पन्न भइसकेको र केही निर्माणाधीन रहेको प्रमुख प्रशासकीय अधिकृत विकको भनाइ छ । निर्माण भइरहेकामध्ये कुनै योजना बहुवर्षीय छन् । भौतिक पूर्वाधारसँगै मानव विकास, सामाजिक उत्थान, सशक्तीकरण र संस्कृति संरक्षणका क्षेत्रमा पनि गाउँपालिका लागिपरेको छ ।