मनः मगन, मैदान कि मसान घाट ? – कथालिका

मनः मगन, मैदान कि मसान घाट ?

कसैले तपाईको शरीरको सबै भन्दा सुन्दर अंग या भाग कुन हो भनेर सोध्यो । अस्वभाविक प्रश्न पश्चात मेरा दिमागमा केही कुराहरु आए तर, एकछिन अलमलिए । जसरी अलमलिएको छु, कैयन पटक आफ्नो जीवनका लक्ष्य र सपनाका बाटाहरुमा । टोलाए एकछिन, जसरी स्कुलका जाँचमा प्रश्नको उत्तर नआए पछि कलम टोक्दै भित्ताहरु हेरेर टोलाएको छु।

प्रश्न सामान्य भनौ या गम्भीर ? सहज भनौ या जटिल । मेरा लागि भने प्रश्न गम्भीर भएर सोधिएको होला भन्ने निश्कर्षमा पुगे ।
सामान्यतः शरीरको सुन्दर अंग या भाग भन्दा साथ झट्ट दिमागमा जवाफ आउँछ ।
आँखा, ओठ, डिम्पल, अनुहार
निःसन्देह धेरैको जवाफ यस्तै आउँछ होला
या यस्तै राम्रो लाग्ने कुनै अंग होला ।

म चाही प्रश्नले रन्थनिरहेको छु र जवाफ सोचिरहेछु । केहीबेरको सोच, खोज र चिन्तन पछि जवाफ दिए । मान्छेका सबै भन्दा सुन्दर राम्रो त उसको मन हुनुपर्छ । प्रश्नकर्ता उत्साहित र केही गम्भीर देखियो । अंग, अनुहार, ज्यान सुन्दर भए पनि मन यदि उसको कुरुप छ भने त्यो सुन्दरता, सुन्दरताकै बदनाम गर्ने हुन्छ । सुन्दरता केबल आवरणमा सीमित हो भने अझै खतरानक हुन्छ । यस्तो सुन्दरता क्षणिक, केबल कमाउ धन्दा र स्वार्थहरुमा रुपान्तरित हुन्छ, मैले आफ्नो जवाफको दलिल पेश गरे ।

अनेकन बाध्यता, बिबशता, परिबन्दले थिचिएर पिल्सिएर सयौ सपना मरेका छन् । मृत सपनाहरु कसरी बसेका होलान् मनमै ? यति हो सपना विपनामा परिणत हुँदाको सुगन्ध र सुखद अनुभूति मानिसको ओठ र अनुहारमा प्रकट हुन्छ, मनमै सपनाहरु मरेको त दुर्गन्ध आउँदैन ।

सबै भन्दा पहिले मन कति सुन्दर छ ? आफैले आफैलाई प्रश्न सोधौ, आफैले आफैलाई जवाफ दिऔ । त्यसमा कति सन्तोषजनक अंक र नतिजा आयो ? आफैले आफैलाई सोध्ने प्रश्न र उत्तर या लिइने जाँचमा उतिर्ण हुनुभयो ? आफैले जाँचकी भएर मनको जाँच गर्नुस् । यसरी लिइने जाँचको पास फेल दुनियाँलाई बताइरहनु नपर्ने रहेछ । केबल मनमनै गुनेर थप सिकाई, मेहेनेत र कोशिस जारी राखे काफी हुँदोरहेछ ।

तपाईको मन सुन्दर, स्वच्छ, पवित्र भएको अनुभूति सहितको उत्तर आयो भने त्यसले जीवनमा दिने आनन्द, सन्तुष्टि, खुसी कति हो कति पृथक हुन्छ । तर, मन कुरुप भएको कतै नै कतै गडबड गरेको, धेरैलाई ढाटेको, ठगेको, छलेको जस्ता परिदृश्य मात्रै आउन थाल्यो भने त्यसले लज्जाबोध मात्र हुँदैन, लामो समय ग्लानी हुन्छ । पश्चातापको अगेनोमा जलिरहनु पर्छ । आफूलाई देखेर दुनियाँ त लजाएकै होला, आफैलाई देखेर आफै लजाउने अवस्थाको बिडम्बनापूर्ण भोगाई पनि भोग्नुपर्नेछ ।

हाम्रो मनले कयौ असल सोच्दा सोच्दै कति खराब पनि सोच्यो होला । र सोही अनुरुप खराब कर्म गरिएको पनि छ, तपाईले पनि होला । आजको दिन सम्म कुरुप मनबाट गरिएका खराब कर्म देख्नेहरुबाट दुनियाँका माझ कति लज्जित हुनुपरेको होला ? यसको झन् के हिसाब र ? प्रत्यक्ष परोक्ष कृति घृणा, उपेक्षित र अपमानित गरिएको होला । के हामीले जीवनमा यसरी पनि सोचेका छौ ? या सोच्ने फुर्सद छ ? अझ यसो भनौ यसरी सोच्ने दृढ इच्छा शक्ति छ ?

अरुका कारणले दुखेको आफ्नो मन, जीवनमा पाएका असफलता, दुःख, पीडा, चोट, धोकाधडीहरु त बारबार सम्झिरहेकै हुन्छौ । के हामी आफूले या आफ्नो कारणले अरुलाई भएको दुःख, पीडा, चोटहरुको हेक्का राखिरहेका छौ ? मलाई लाग्छ, हामी मध्ये धेरैले आफूलाई मात्र सम्झिन्छौ या आफू र आफ्नालाई केन्द्रमा राख्छौ । अरु सबै गौण ठान्छौ ।

व्यापारमा मात्र होइन, हर सम्बन्धहरुमा पनि केबल नाफा घाटाको हिसाब मात्र गर्ने पात्र र प्रवृत्ति मौलाएको बेला निस्वार्थ सोच, चिन्तनको हिसाब किताब मानिसहरुलाई गर्ने फुर्सद होला र ? किन नहुनु छन् नि । अधिक संख्या नहुन सक्ला तर छन्, हुनुपर्छ ।
हुन त आफ्नै मन धेरै पटक खेल मैदान जस्तो लाग्छ । जहाँ सपनाहरु खेलिरहेका छन्, अनेक कुरा, तर्क बितर्कहरु खेलिरहेकै छन् । आफ्नो मनमा आफ्ना सपना, रहर, कुराहरु खेल्नु त स्वभाविकै हो । तर, आफ्नो मनमा अरु कोही आएर खेलेर या खेलवाड गरेर गएको पीडा असाध्यै दुःखदायी र कष्टप्रद हुन्छ । अरुको मनमा, भावनामा, जीवनमा खेलवाड गर्ने कुरा कति सहज ठान्छन् मान्छेहरु । स्वार्थले कुपोषित भएर यस्तो सोचमा बाँचिरहेका र बाँच्न खोजेकाहरुलाई क्षणिक सफलता र खुसी त मिल्ला । तर, त्यही कुराले कुनै न कुनै दिनहरुमा खुसी र निद्रा हराम हुनेछ ।

यो मन मलाई खेल मैदान जस्तो मात्र होइन, कहिलकाही चाही मसान घाट जस्तो पनि लाग्छ । जहाँ बालापनदेखि देखिएका सपना सजिएका मात्र छैनन्, अनेकन बाध्यता, बिबशता, परिबन्दले थिचिएर पिल्सिएर सयौ सपनाहरु मरेका छन् । मनमै मरेका सपनाहरु कसरी बसेका होलान् मनमै ? यति हो सपना विपनामा परिणत हुँदाको सुगन्ध र सुखद अनुभूति मानिसको ओठ र अनुहारमा प्रकट हुन्छ, मनमै सपनाहरु मरेको भने दुर्गन्ध आउँदैन । जसरी आउँछ मानिस स्वयम् मरेको र अरु पशुंपक्षीहरुको सिनोको दुर्गन्ध । मात्र मनमा मरेका सपनाहरुको बेलाबखत आँखाहरु शोक मनाउँछन् । विगत स्मरण गर्छन्, भावुकतामा डुबुल्की मार्छन् ।

हो सबै सपना त कहाँ कसको पुरा हुन्छ र ? तर, सपना पुरा गर्न न्यनुतम कोसिस र मेहेनत पनि नगरेर मन र जीवन प्रति गुनासै गुनासो गरि बसेकोमा कति सराप्छ होला हामीहरुलाई । यो मनको पनि एक्स रे गरेर हेर्न मिल्थ्यो भने मानिसहरुका सपना, विपनामा रुपान्तरित हुन नपाउँदाको दोसाधमा मरेका सपनाहरुको कति कहाली लाग्दा तस्विर र यथार्थता देखिने थियो होला ।

त्यसैले, मन मन जस्तो बनाउ । दोमन र द्धिविधामा जीवनमा नबाँचौ । मनको भावुकता र दिमागको विवेकको सन्तुलनमा पाइला चालौ । मन शुद्ध होस् । सोच पवित्र होस् । नियत असल होस् । जीवन सफल होस् । <कथालिका पडकास्ट-२ बाट शब्द साभार

२०७८, २८ माघ शुक्रबार ११:५४
कथालिका नयाँ कथा
कथालिका