समकालीन तस्वीर – कथालिका

समकालीन तस्वीर

आज पाँचौँ दिन हो हामीले नियमित यहाँ काम गरेको ।
गैँटी चलाउनु, बेल्चा समाउनु, घन हान्नु, बालुवा बोक्नु, भुई सम्याउनु, फन्टीको सहायतामा जमिन लेबल मिलाउनु, टायल ब्लक ओसार्नु, धागोको रेखाले मागेको लाइनमा ब्लक बसालेर काठको टुक्राले ट्वाक ट्वाक हान्दै मिलाउँदै पसिना बगाउनु हाम्रो दैनिकी । अथवा अस्तित्व जोगाउन हाडमासु घोटिरहेका हामी मजदुरका तालिकाबद्ध जीवनपद्धति ।

रोल्पाको दुई प्रमुख नदी लुङ्री र माडीको दोभान भन्दा एक कदम माथि चतुर्भुजको फाँट, फाँट भन्दा उत्तर पट्टिको अर्को खण्डमा आउने मनोरम फाँट, अझ भनुँ, खुँग्रीको फराकिलो मैदान । पूर्व र पश्चिमबाट दुबै नदीले कटान गरेर बनाएको एक छाँगे भीर । कुनै समय यही मैदान हुँदै नदी बगेको र पछि नदीले काट्दै तल गति लिएपछि दुई नदीको दोभानले बनाएको फाँट हुनुपर्छ यो ठाउँ । यहाँका ढुङ्गाका आकार र गुणले यही बताउँछ । अझ उत्तरतिरको अग्लो डाँडा खुँग्रीकोट, कुनै समय शासन गरेका भुरेटाकुरे राजाको दरबार भएको स्थान । रोल्पालाई राजधानी अथवा मधेशसँग जोड्ने मुख्य मार्गको पूर्वपट्टि मैदानको ठीक बीच भागमा केही उठेको भूखण्डमा अवस्थित त्रिपुरासुन्दरीदेवीको मन्दिर छ । प्राक्समाज स्थापनाकालदेखि धार्मिक आस्थाको केन्द्र मानिदै आएको यो मन्दिर परिसर चारैतिरबाट पर्खालले घेरिएको छ । निकै उमेर खाएका साल, बरपिपलका झाडी बिच रहेको आकर्षक मन्दिरमा एकाबिहानै बज्ने मंगलधून र भजनगीतले हाम्रो आँखा खोलिदिन्छ ।

अँ भन्दै थिएँ, यहाँ काम गर्छौँ हामी । सुरजे, दुजे, राजु, भानसिँह, मानबहादुर र म च्यान्टे । हामी सबै मगर समुदायका । दुरदराजको बिकटगाउँ, अभावले कोपरिरहने ठाउँ, जहाँबाट काम माम खोज्न औलो झरेका हामी ।

धरतीमा उज्यालो खस्न नपाउँदै मन्दिरको माइकबाट बज्ने तीखा भजनले हाम्रो कानमा धावा बोलेपछि आँखाको निद चौकोष पारी भाग्छ । धाराको पानी लिन गाग्री बोक्यो, नित्य कर्म ग¥यो, चिया पकायो, खायो–उही शिलशिलाबद्ध बानीको लय समात्छौँ । उज्यालोले बंैश भर्न नपाउँदै हामी मेला भर्न गैँटी बेल्चा समाउन गईसक्छौँ । मन्दिरको पवित्र आँगनलाई ब्लक बिछ्याई रंगीन पार्ने काममा हामी झन पबित्र मनले लागिपरेका छौँ । एघार बजे एक घण्टाको समयपछि साँझ अँध्यारो नआई पुगुन्जेलसम्म एकोहोरो मन्दिरको प्राङ्गणमा हाम्रा औँला सल्बलाईरहन्छ । यस्तो लाग्छ, यो धर्तीको क्यानाभासमा आफूलाई समर्पण गरेर जमिनको बालुवामा आफ्नो भाग्यको चित्र कोरिरहेछौँ । अनवरत हाड,मासु घोटिरहेछौँ र पनि मन्दिर ब्यवस्थापन समितिका मान्छे आएर भन्छन्–“छिटो है छिटो…. दशैँ अगाडि तयार भईसकेको हुनुपर्छ ।”

समाजमा मन्दिर आस्था र विश्वासको पवित्र प्रतिक हो । यहाँ बदनाम भएर नाम खोज्न आउनु हुन्न । यहाँ बेइमान गरेर इमान जोख्न आउनुहुन्न । यहाँ घृणित क्रियाकलापलाई चोख्याउनु हुन्न ।

“हुन्छ हजुर, जसरी पनि तयार पार्छम् ।”– हामी भित्रको परिश्रम बोल्छ, आज्ञाकारी बनेर ।
विहानको नौ बजे । माथि उक्लिसकेछ घाम । बुढा रुखले छेकेर घामको न्यानोपना ज्यानमा पर्न सकेको छैन । यो देशको राज्यबाट हामी मजदुरले पाउने सुविधा र अहिलेको घाम उस्तै उस्तै लाग्छ । कठ्याङ्ग्रिएको ज्यानमा उति साह्रो स्फुर्ति नआए पनि कडा परिश्रमले सबको निधारमा पसिना टल्किरहेछ ।

पश्चिमतिरको मुलगेटनेर गाडी ब्रेक लगाउँदा रोकिएको आवाजले मेरो ध्यान तान्छ । हेर्छु, बेवास्तापूर्वक हेर्छु । जापानीज कम्पनीको चिल्लो इसुजु गाडीभित्रबाट सुकिला कपडा लगाएको एउटा मान्छे झर्छ मुस्कुराउँदै, त्यस्तो खुशी जस्तो कि कुनै अन्तर्राष्ट्रिय खेलको स्वर्ण पदक बिजेता स्वदेश फिर्ता हुँदा विमानस्थलको स्वागत ग्रहण गर्दाको होस् । यो दृश्यले मभित्रको बेवास्तापनलाई पर धकेलिदिन्छ र गौर पाराले नियाल्न बाध्य हुन्छु ।

“ओहो ! ठेक्दारसा‘व नमस्ते ।”– गेटनेर उभिएको वडाध्यक्षको बोली झर्छ सुकिला त्यो मान्छेको टलक्क टल्केको जूत्ता भुईमा टेक्न नपाउँदै ।
“नमस्कार नमस्कार ।”– उसका सुकिला कपडा र गाडी भन्दा चिल्ला बोली छ ।
“हैन हो, नयाँ गाडी लिनु भएछ नि, कति प¥यो ?”
“अँ सब गर्दा सत्तरी लाख नाघ्यो ।”
“ल बधाई छ ।”
हात मिलाउँछन् । अँगालोमा बेरिन्छन् । मुस्कुराउँछन् खुशी साटासाट गरेर ।
उनीहरुको त्यो खुशीयालीले मेरो मनमा बेखुशीपन भरिदिन्छ, अनायास । त्यहाँबाट बिस्मित नजर मोडेर काममा निमग्न हुन्छु ।
किन ?
अरुको खुशमा बेखुश हुनुपर्ने के छ कारण ?
गम्भीर छ कारण । कोही पिरो मान्दैन अकारण, अनायास ।

गाडीबाट ओर्लने सुकिला मनुवा मेरो चिरपरिचित पूर्वसहकर्मी हो, अथवा भूतपूर्व कमरेड सूर्यनाथ सुवेदी । एउटै लक्ष्य र उद्देश्यकासाथ सँगै युद्धमा होमिएका सहयोद्धा थियौँ । भोकभोकै हिँडेका हौँ एकै पाइलामा कुनै समय । मृत्युले हामीलाई एउटै मोर्चामा कुना कुना लखेटेथ्यो । हाम्रो एकतादेखि मृत्यु आफै पराजित भएथ्यो । लडाईमा धेरैचोटि गोलीले हामीतिर मृत्यु सुँघाउन आएथ्यो, तर हाम्रो अदम्य साहसको सामु गोलीले निशाना चुकाएर पत्थरहरुमा ठोकिन्थ्यो । एउटै गास, एउटै बास । अथवा एउटै ओछ्यानमा साझा सपना देख्थ्यौँ, समान रुपमा । इच्छा, आकाँक्षा, भावना, पीडा, सुख, दुःख, अप्ठ्यारा, सप्ठ्यारा सबै सबैमा समानता । एउटाको दर्दमा अर्कोलाई दुख्थ्यो । अर्कोको दुःखमा आफनो आँशु झाथ्र्यौँ । युद्धकालीन परिबेशको आरोह अवरोहमा हामी हाँस्दा हाँस्दै रुन्थ्यौँ, अनि रुँदा रुँदै हाँस्थ्यौँँ पनि ।
अहिले ?
अहिले चित्र आफै बोल्छ ।
म कहाँ छु ? ऊ कहाँ छ ?
म कहाँको माटो खेलाउने मान्छे, ऊ कहाँको चिल्ला गाडी चढ्ने मान्छे ।
आकाश पाताल फरक ।
पक्षपाती समयले हाम्रो पोल्टामा दुःख थुपारिदियो । सुख जति सुकिला मुकिलाका हातमा थमाईदिएर सिँहदरबार छिराईदियो ।
हामी भुईमान्छे जहाँको तहीँ ।
अनि बिक्षिप्त हुन्न त मन ?
मनमा लाग्छ, पत्थरमा ठोकिएका गोली फर्काएर उतै सोझाइउिँ कि जस्तो ।
मेरो कानमा हुबहु गुञ्जन्छ उसबेलाको उसका तीखा बोली– “दुःखियाका सुखी जीवन फिराउन हामी मुक्तियुद्धमा ज्यान दिन तयार हुनुपर्छ ।”

कानमा झङ्कृत यो बोली र अहिलेको चित्र देखेर आँखामा रिङ्गता लाग्न थाल्छ । अन्यमनस्क बन्न खोज्छु, अहँ हुँदैन । झन मुखातिभ हुन आउँछन् उसबेलाका भाषा । मनले प्रतिवाद गर्छ– “कुन दुःखियाको लागि कसको ज्यान दिएर आयो त यो गाडी ?”

मेरो अन्तरदृष्टिमा युद्धकालीन दृश्य उभिन्छ । बिगत उभिन्छ । ऊ उभिन्छ । अर्थात् उबेलाको छापामार । अहिलेको ठेकदारसा‘व हैन । मिठा कुरा गर्न सिपालु थियो ऊ । लडाई पहिले बाह्र हात अगाडि उफ्रन्थ्यो, लडाईमा अरुलाई अगाडि सारी आफू बाह्र हात पछाडि लत्रन्थ्यो र टाउको लुकाई आकाशतिर फायर गथ्र्यो । स्थिति काबुमा आएपछि कब्जामा आएका प्रहरीलाई लाताले भकुथ्र्यो । अझ कति ठाउँ त आफ्नो कमाण्डरको आँखा छलेर गोली हानी बदला पनि लियो आत्मसमर्पण गरिसकेका प्रहरी जवानलाई । गाउँ फर्केपछि कार्यकर्ता र जनतासँग चौकी कब्जा गर्न मुख्य पहल आफूले लिएको चर्को भाषण सुनाउँथ्यो । यो क्रम धेरै ठाउँ धेरै पटक दोहोरियो ।
कब्जा भएका सामान पार्टीलाई बुझाउने अनुशासनको नियम उसको आन्तरिक हकमा कहिले लागु भएन । चौकी कब्जापछि उसको विशेष सर्च झोला र मनिपर्सतिर केन्द्रित हुन्थ्यो । महत स्ट्राकिङ्ग बेस क्याम्प कब्जापछि डीएसपी ठुले राईको हातको मूल्यवान घडी उसैले पुकालेको थियो । राईले आफ्नो पे्रमिकाको प्रेमोपहार भएकोले फिर्ता पाउन आँखामा आँशु टम्म भरेर बिनित माग गरेका थिए । तर कब्जा गरेर पार्टीलाई बुझाईएको सामानभित्र त्यो घडि कहीँ पनि देखिएन ।

एउटै लक्ष्य र उद्देश्यकासाथ सँगै युद्धमा होमिएका सहयोद्धा थियौँ । भोकभोकै हिँडेका हौँ एकै पाइलामा कुनै समय । लडाईमा धेरैचोटि गोलीले हामीतिर मृत्यु सुँघाउन आएथ्यो, तर हाम्रो अदम्य साहसको सामु गोलीले निशाना चुकाएर पत्थरहरुमा ठोकिन्थ्यो ।

लडाईको घनत्व बढ्दै गयो । बिरामीको कारण देखाई आफू सेनामा काम गर्न नसक्ने कुरा बारम्बार गर्न लाग्यो र उसले राजनीतिक फाँतको सँगठनमा सरुवा मिलायो । खुशीयालीमा घोषण गरेथ्यो– “कमरेडहरु हामी विचार र भावनामा सँगै छौँ… महान क्रान्तिको लागि समग्र युद्धको अर्को मोर्चामा जाँदैछु ।”

वाकपटुताको खप्पिस ऊ छिट्टै एरिया इञ्चार्ज बन्यो । त्यसमा पनि अझ आर्थिकस्रोत भएको ठाउँ रोज्यो । पार्टी र क्रान्तिको नाउँमा उठाइएको ठूलो रकम हात पा¥यो । लडाईमा गएको एक साधारण छापामारको सुन्दरी श्रीमति भगाएर युद्धको रंगमञ्चबाट गायब भयो र उसको अर्को मोर्चाको महान क्रान्ति ग¥यो । अनि शान्ति प्रक्रियापछि गाउँ आएर ठेकदारसा’व कहलिएको थियो ।
अँ मन्दिरको कुरा गर्दै थिएँ ।

म आफनो काम हातले सक्रियतापूर्वक गरे पनि ध्यान चाहीँ उही सुकिला मान्छेतिर नै केन्द्रित थियो ।
गेटको घण्टी बजायो । घण्टी मुनिको माटोमा दायाँ हत्केलाका औँला छुवायो । छाती र शिरमा हात चढाएर आफ्नो आस्था प्रकट ग¥यो । केही सिढी चढेपछि जुता फुकालेर मेरो नजिकैबाट पाइला बढायो । धुलोबाट बच्न लगाएको मेरो मुखको मास्क यथावत थियो । शिरको पीक्यापलाई अलि तल झारेर आँखा लुकाएँ ।

बालुवा र टायलसँग चलिरहेको मेरा औँला भन्दा एक फुट नजिकैबाट उसको पाइला बढ्यो । हामीले लगाउँदै गरेको टायलमाथि कुल्चँदै सगर्वसाथ छाती फुलाएर गयो ऊ । मलाई लाग्यो, मेरै छातीमाथि कुल्चेर हिँडिरहेछ । उसबेला सयौँ कोष टाढा भए पनि भावना र विचारमा नजिकै हुन्थ्यौँ, अहिले ? …. एक फुटको फरकमा ज्यान हुँदा पनि भावनामा सयौँ कोष टाढा छौँ हामी ।

बिधि शास्त्र अनुसार पुजारीले अर्चना शुरु गरिदियो । प्रसाद चढाइन्छ । धूपबत्ती बालिन्छ । मुखारबिन्दुबाट मन्त्र जपिन्छ । सबै मन्दिरका ढोका अघि घुँडा टेकाई झुक्छन् । र, शिरले शालिक पाउ छुन्छन्, उहिले बिरोधीलाई आफनो पाउमा जसरी झुकाउँँथ्यो त्यसको ठीक उल्टो मूर्तिको पाउमा झुक्छन् । पुजारीले टीका लगाइदियो, रातो टिका । यो रंगलाई उहिले शहिदका रगत सम्झेर कसम खाने त्यो मान्छेले अहिलेको टिकालाई कसरी परिभाषित ग¥यो, ऊ आफै जानोस् ।

जल्दै गरेको अगरबती र पूजा सामाग्री बोकेर परिसरबाट सबै बाहिरिन्छन्, जहाँ उसको शान र बैभव इसुजुमा रुपान्तरित भएर उभिएको थियो ।

कुनै शहिद आमाले उसलाई छोरा सम्झेर उहिले अबीर लगाइदिए जस्तै गरी पुजारीले उसको गाडीलाई अबीर लगाइदियो । धजा बाँधिदियो । र, मगमगाउँदो अगरबतीको धुँवाले पवित्र पारिदियो । गाडीको टायरमुनि नरिवलको सिँगो फल राखियो र टायरले कुल्चेर फुटालियो । यसपछि हर्षोल्लासको ताली र खुशीयाली उत्सवको उत्कर्षमा थालको प्रसाद बाँडेर ओँठमा सन्तुष्ट मुस्कान फुलाउँछन्, रोष्टम अघिको गमलाको फूलजस्तै ।

देखेर मलाई लाग्यो, नरिवल हैन, सोझा जनताका टाउको फुटाईदैछ ।
मन्दिर हो, देवीका आस्थावानहरु, भक्तजनहरु आउ जाउ हुनु स्वाभाबिक हो । मंगलबारको दिन यो क्रम अझ बाक्लिन्छ ।
तर, अर्को दिनको अस्वभाबिक दृश्यपानले मुटु चिमुट्यो । एउटा टु ट्वान्टी पल्सर मोटरसाइकल मुख्य गेटनेर रोकियो । हेर्दा आकर्षक रुप र खाइलाग्दो गहुँगोरो मोटो चालकको पछाडि टाँसिएर कुनै नारी सवार थिइन् । गाडीको डिसब्रेकको झड्काले ती महिला पुरुषको पिठ्युँमा अस्वाभाबिक तवरले ठेलिइन्, सायद अलिकति जानाजान आशक्तिपनाको आकर्षणले पनि होस । आधुनिक जिन्सको टाइट् पाइन्ट, आकर्षक टिसर्ट र नयाँ डिजाइनको महँगो स्याण्डिल लगाएकी थिइन् । थाइकडको हेयर स्टाइल, सुहाउँदो लाली र गाजल अनि मगमगाउँदो वासनादार क्रिम लगाएकी ती महिला छातीका स्तन भुईँमा हामफल्लानझैँ गरी हल्लाउँदै झरिन् । अनुहारतिर झरेका दुईचार केश रेशालाई टाउको झड्कारेर पछाडि सारिन् ।

अरे ! वाह !! बाफ्रे बाफ !!!
उनी त गौमाया पो रहेछिन् । छिमेकी धनबीर छोरी । गुन्यु चोली लगाएर घाँस दाउरा गर्ने ती महिलाको यत्रो परिवर्तन देखेर अर्को पल्ट मेरा आँखा रिङ्न थाल्यो । पहिलो सन्तान जन्मेपछि बिदेशिएका उनका श्रीमान अरबमा राम्रै कमाई गर्छन् । गौमाया छोरो पढाउने भनेर उमेर खाका सासु ससुरालाई गाउँको घरमा छाडेर सुलिचौर बजार बस्दै आएकी थिइन् ।

अघिल्लो दिनको ठेकदारसा‘वकै शैली अपनाउँदै मन्दिरभित्र प्रबेश गरे । मूल मन्दिर अगाडि सँगसँगै उभिएर हात जोडी प्रणाम टक्र्याए । उही तवरमा एकैसाथ देवीको पाउ ढोगे । पुजारीले पालैपालो दुबैलाई टिका लगाइदिए । पुरुषले गोजीबाट केही रुपियाँ दक्षिणा दान ग¥यो र एक अर्काको हात समाउँदै बाहिरिए ।
मनमनै सोँचे, ‘अघोषित साइनोमा हिँडेका यी जोडीले के बर मागे होलान् ?’
“अरे यार, जमाना त धेरै पो बदलिएछ ।”– दुजे छक्क प¥यो ।
“गौमाया हैनन् र ?”– सुर्जेले पनि थप्यो ।
“केटा को रैछ कुन्नी ?”– दुजेको खुल्दुली ।
“जलजला पल्नोपट्टीको केटा हो, दाङतिर जग्गा प्लटिङ्मा काम गर्छ ।”–मेरो उत्तर ।
“मेमाराई या प्लट जैने म नि सिपालु ओलिज्याउ लेउ ।”– स्त्री प्लटिङ्मा पनि सिपालु रहेछन् भनेर खाम भाषामा अर्को साथीले थप्छ ।
“दलाली गरेर कमाको पैसा कता फालुन् र ?”– राजुले आक्रोश पोख्छ ।
मनमनै चिन्तित हुन्छु,– ‘बैदेशिक रोजगारको ‘साइड इफेक्ट’मा मिसिएको आधुनिकताले समाज कता मोडिँदैछ ?’

मध्यान्हको समय । खानापछिको पहिलो लटको काममा थियौँ । उत्तरतिरको गेटबाट महँगो सारीमा सजिएकी अर्ध बैंशे महिला भर्खरको युवकसित भित्र प्रवेश गरिन् । दुबैले कदम समानान्तर रुपमा चाल्दै थिए । ओँठमा उन्मुक्त हाँसो, उज्यालो चेहरामा प्रेमिल छन्द र आँखाका भावमा कामुक संवाद थियो । उनी कोही नभई सरिता म्याडम थिइन् । हाकिमसा‘व काठमाण्डौँतिरको कुनै अफिसमा जागिर खान्थे । वर्षको तीन चार पटक घर आउँथे । यस बेला मात्र उनी घर हुन्थिन् । बाँकी समय फरक फरक फेसनमा अलग अलग मान्छेहरुसँग यसरी टहलिन्थिन् हाकिम साहेवनी ।

म सोँच्छु– ‘सारी फेरे जस्तै मान्छे फेर्नुमा हाकिमनी म्याडमलाई के स्वाद आउँछ होला ?’

साँझ अबेरसम्म पनि आँखामा निद थिएन । सामुन्ने उभिन्छन् दिउँसो देखिएका चित्रहरु । सामाजिक अवयव देखेर उकुशमुकुश हुन्छ मनमा । घर भन्दा केही पर कोही बोलेको आवाज कानमा ठोकियो । सुन्छु कान खोलेर सुन्छु । त्यसै त्यसै बिथोलिन्छु त्यो आवाजले । हामी बसेको तल्लो घरे दाई फोनमा बोल्दै रहेछन् । आधा घण्टा बढी भैसक्यो कुरा टुङ्गिएको थिएन । भन्दै थिए– “लाटी, त्यो त म दिइहाल्छु नि… कति मिठो मान्छ्यौ हगि !”

“ऐले घर भन्दा बाहिर छु क्या, गाउँबाट फर्कँदै हो ।” उताबाट कहाँ हो भनेर सोधेको हुनुपर्छ । बुढा बीचैमा बोले– “हो र ? ल ल आधा घण्टापछि आइपुग्छु है … । भोलि दाङ जाँदैछु, फर्कँदा स्वर्गद्धारी जाम्ला … ।” केही बेर रोकिए, उताको कुरा सुनेर उत्तर फर्काए– “ह्या, घरवाली त घरै हुन्छिन् नि ।”

फोन सम्वादको अन्तपछि अस्ति दिनको चित्र आँखामा नाच्छ । कुनै विद्यालयबाट एक हुल विद्यार्थी घण्टी बजाउँदै मन्दिरभित्र छिरे । भ्रमणमा आएका विद्यार्थी । हुलबाट छुट्टिएर एक कलिलो किशोर मन्दिर पछाडि एक्लै फोनमा हाँसिरहेथ्यो । भन्दै थियो– “मन्दिर आ‘को छु, के बर माग्दिम् ?”
उताबाट के जवाफ आयो कुन्नी , जवाफमा किशोर बोल्यो– “हो र ? स्वीटी !”
“अँ साँच्ची, अव फर्किदैछम्, साँझ कल गर्छु ढोका खोल्नु है ।”

उताबाट बुवाआमा भएको कुरो गरिन् क्यारे केटोले समाधान दियो– “बुवा आमा निदाएपछि कोठामा सुटुक्कै छिर्छु क्या, ल !”
ओछ्यानमै कोल्टो फेरेर सोँच्छु म– ‘फोनको दुनियाँले बुढाबुढीहरु केटाकेटी बने कि केटाकेटीहरु धेरै बुद्धिमानी ?’
मनमायाको बिहे गाउँको साधारण किसानसँग भएथ्यो । सोझा किसानलाई छाडेर ब्रिटिसे लाहुरेसँग दोस्रो बिहे गरेपछि लाहुरेनी बनिन् र आफनो भाग्य सपार्ने कथा रचिन् । यसपछि बदलिएको उनको जीवनशैलीमा धेरै उपकथाहरु छन् । यस बेला लाहुरे बिदेशी भूमिमा शायद खुकुरीको धारमा जिन्दगीको पाइन चढाउँदै होलान्, लाहुरेनी चाहीँ कुनै धनाध्य ब्यापारीका वयस्क छोरासँग सानो नीजि गाडीमा सवार थिइन् । ओर्लेर महँगो सारी सम्हाल्दै दानबाकसमा केही दान गर्दै थिइन् । मलाई देखेर नदेखेझैँ गरी हतार हतार गाडी चढेर हुँइकिइन् ।

मेरो मनमा कुरा खेल्यो–‘लाहुरेनी भएसी लाहुरेहरु जति पनि भर्ति गर्नु, गाडीमा सरर… यस्तो पनि ?’
फेरि अर्को दिनको चित्र । मन्दिरमा प्रकट हुने दैनिक क्रियाकलाप तथा मैले माथि भनेका भन्दा अलिक पृथक खालको चित्र थियो । यस बेला भर्खर पश्चिम पञ्चिकोटसम्म घाम झलमल झर्दै थियो । क्षेत्री थरका दुई बुढाबुढी मन्दिर परिसरमा प्रबेश गरे । अरुलेझैँ परेवाका बच्चा देवीलाई चढाएर उडाए । पुजा सामाग्री निकालेर पुजापाठ गरेपछि बुढीले बुढालाई भन्न थालिन्– “ल, अब भाकल गर्नुस, कसम खानुस… ।” केही आक्रोशित थिइन् ।

“के गरेकी ? यै गर्नलाई पो ह्याँ ल्याकी ? ह्या….गर्दिन म । बेइज्जेती नगर ।”
“अँ !”– बुढीले धारे हात लाउँदै मुन्टो धल्काई बोलिन्– “ह्वाँ गाउँन खुब इज्जत छ बो, धरोधर्म अब त्यो केटीसित बस्दिन भनिकन कसम खानुस ।” बुढी तीखो स्वरमा च्याट्ठिदै थिइन् । फेरि थपिन्– “भाकल गर्नुस छिटो… श्रीमति छोरा छोरीलाई माया दिइन भने यै देवीले भष्म पारुन् भनिकन कसम खानुस ।”

भनाभन हुँदै थियो दम्पति बिच । बुढा मान्दैनथ्यो, बुढी जिद्दी गर्थिन् । उठ्न खोजेको लाचार बुढोलाई फेरि भुईँमै तानेर थचक्क बसालिन् ।
धेरै बेरसम्मको दम्पतियुद्धपछि श्रीमतिकै जीत भयो ।
ढोँगी दुनयिाँको सामाजिक त्रियाकलाप देखेर भनिरहेछु म– ‘मन्दिर त आफ्नो आत्माभित्रै खडा छ, पहिले आफूभित्रको देवतालाई सत्मार्गमा हिँडाएपछि ढुङ्गाको मूर्ति ढोग्न धाउनै पर्दैन ।’
म अहिले सोँचिरहेछु, गम्भीर भएर–
‘समाजमा मन्दिरलाई आस्था र विश्वासको पवित्र प्रतिक मानिन्छ ।’
‘यहाँ बदनाम गरेर नाम खोज्न आउनु हुन्न ।’
‘यहाँ बेइमान गरेर इमान जोख्न आउनुहुन्न ।’
‘यहाँ घृणित क्रियाकलापलाई चोख्याउनु हुन्न ।’

उपरोक्त आदर्श र मैले देखेका चित्रहरु बिच तादात्म्यता किन मिल्न सकेको छैन ? आदर्श र कथित आधुनिक क्रियाकलापबिचको असन्तुलन यो शताब्दीको सर्वस्वीकार्य दर्शन हुन सक्ला र ?
मेरो सामुन्ने ठुलो प्रश्नवाचक चिन्ह खडा छ ।

२०७८, २९ माघ शनिबार ०६:१६
कथालिका नयाँ कथा
कथालिका