बेथानचोकको पर्यटकीयस्थल ‘गजराम थुम्का’ – कथालिका

बेथानचोकको पर्यटकीयस्थल ‘गजराम थुम्का’

बिहान घाम लाग्दै गर्दा होस् या गोधुली साँझमा मनै लोभ्याउने सुन्दर, शान्त र रमणीय बस्ती ढुङ्खर्कको ‘गजराम थुम्का’ पुग्ने जोकोही मन्त्रमुग्ध हुन्छन् । काठमाडौँबाट ४५ किमी दूरीमा रहेको महाभारत पर्वत आसपास फैलिएको गाउँ बेथानचोक विविधताले भरिएको सो ठाउँ भने प्रचार–प्रसार अभावमा ओझेल परेको छ ।

काभ्रेपलाञ्चेकको बेथानचोक गाउँपालिकाको पर्यटकीय गन्तव्य बेथानचोक नारायाणस्थान डाँडापछिको अर्को महत्वपूर्ण गन्तव्य बन्ने सम्भावना बोकेको ‘गजराम थुम्का’ पुग्ने सबैलाई पुनः जाउजाऊ लाग्ने बनाउँछ । पछिल्लो समय चर्चामा रहेको बेथानचोक नारायणस्थानबाट उत्तर–पूर्वमा रहेकोे अर्को अग्लो स्थान गजराम थुम्का झण्डागाडे, चुलीडाँडा नामले चिनिन्छ । बेथानचोक नारायणस्थानसँग तुलना गर्न मिल्ने सो स्थान सुन्दर फराकिलो र थली परेको भू–भाग छ । जुन राजधानीबाट नजिक पर्ने एक उत्कृष्ट पर्यटकीय गन्तव्य हो ।

समुद्री सतहबाट करिब तीन हजार मिटर उचाइमा रहेको सो क्षेत्र पर्यटन प्रवद्र्धनका लागि निकै सम्भावना भएको क्षेत्र हो । बेथानचोक गाउँपालिका–३ मा रहेको सो ठाउँलाई पछिल्लो समयमा पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले गजराम थुम्काडाँडासम्म पुग्नका लागि बाटो मर्मत र गजराम थुम्काको भिरालो जमिन सम्याएर टेन्ट राखेर पर्यटक बस्न मिल्ने बनाउन सहयोग गरेपछि पर्यटन प्रवद्र्धनको कामलाई थप टेवा पुगेको स्थानीय बासिन्दा बताउँछन् । सो ठाउँमा राष्ट्रिय झण्डा राख्नका लागि बेथानचोक गाउँपालिका–३ थलिडाँडाका छविलाल तिमिल्सिनाले पु¥याउनुभएको सहयोगले पर्यटकीय गन्तव्य बनाउनमा साथ दिएको स्थानीय बासिन्दा बताउँछन् ।

स्थानीय बासिन्दा कमलप्रसाद नेपाल बेथानचोक ढुङ्खर्क क्षेत्रमा रहेको बेथानचोक नारायणस्थान र गजराम थुम्काको प्रचारका लागि निरन्तर लागिरहनुभएको बताउछन् । माउण्ट महाभारत घरबास एण्ड इको अग्र्यानिक फार्म बेथानचोक, ढुङ्खर्कका सञ्चालकसमेत रहनुभएका उहाँले गाउँपालिकाले विनियोजन गरेको एक लाख बजेटबाट झण्डा निर्माण गर्नेदेखि ठाउँ सम्याउने र बाटो मर्मत गरेपछि सो ठाउँमा पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुगेको बताए। उनले भने, “राष्ट्रिय झण्डाले त्यस भेगको पर्यटन प्रवद्र्धनमा थप मद्दत पुग्ने छ ।”

महाभारत पर्वत शृङ्खलाको सबैभन्दा अग्लो स्थान भएकाले पनि पछिल्लो समय सो स्थान उत्कृष्ट दृश्यावलोकनको केन्द्र बनेको छ । यतिमात्रै नभएर प्रायः सदावहार हरियाली रहने त्यहाँका जङ्गलले सधैँ आगन्तुकको आँखामा शीतलता र मनमा आनन्दित हुने वातावरण रहेका कारण सो क्षेत्र पर्यटकको रोजाइमा पर्ने सम्भावना रहेको उनको भनाइ छ । विभिन्न मौसममा जङ्गल नै ढकमक्क लालीगुराँसलगायत अन्य प्राकृतिक फूलहरूले थप सुन्दरता प्रदान गरिरहने सो ठाउँको अर्को विशेषता हो । यहाँ बँदेल, मृग, घोरलजस्ता वन्यजन्तु, मुनाललगायत चराचुरुङ्गी अवलोकनका लागि पनि सो स्थान उपयुक्त रहेको पर्यटन व्यवसायी नेपालको भनाइ छ । यस साथै विभिन्न थरिका जडीबुटी, महाभारत क्षेत्रमा पहाडसँगै रहेका ठूला–ठूला चट्टान र त्यसबीचमा रहेको प्राकृतिक गुफा अन्वेषणका केन्द्र बनाउन सक्ने सम्भावना बोकेको ठाउँ बन्ने उनको भनाइ छ ।

बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहादुर श्रेष्ठले बेथानचोक नारायणस्थान डाँडा र गजराम थुम्का ९झण्डा गाडे डाँडा०लाई पर्यटन मन्त्रालयबाट समेत बेथानचोक सामुदायिक वनको पर्यापर्यटन गुरुयोजना सम्पन्न भइसकेको बताए । “नारायणस्थान डाँडामा घेराबारको काम सुरु हुँदैछ भने गजराम थुम्कामा जाने सिँढी निर्माण भइरहेको छ”, उनले भने, “दुवै ठाउँको पर्यटन प्रवद्र्धनका लागि बजेट व्यवस्थापन भइसकेको छ ।” त्यससँगै सो क्षेत्रमा ठूलो बुद्धको प्रतिमा राख्ने कामका लागि बजेट व्यवस्था गरिसकेको वडाध्यक्ष श्रेष्ठले बताए ।

पर्यटनजस्तै कृषि क्षेत्रको पनि प्रचुर सम्भावना बोकेको बेथानचोक विषेश खाद्य परिकारमा हिमाली चामलको भात, सेराना प्रजातिको माहुरीको मह, अल्लो सिस्नो, खुवालगायत दुग्धजन्य परिकार, लोकल मकैको ढिँडो, मौसमअनुसार फल्ने ऐंसेलु, काफललगायत विभिन्न प्रकारका प्राकृतिक फलको स्वाद लिन पाइने बेथानचोकलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गाउँपालिकाले पहल गर्नुपर्ने स्थानीय बासिन्दा बताउँछन् । बेथानचोकका ती दुई ठाउँमात्रै नभइ कामीडाँडा, च्याल्टिडाँडा, थलिडाँडा, महाँकालडाँडा, ठूलाचौर, चोरण्डे आले, अर्खौले, डाँडागाउँ, पार्थली, गुम्बुडाँडालगायत फरक–फरक स्थानबाट रमणीय दृश्यावलोकन गर्न सकिन्छ ।

पर्यटकको चहलपहल बढेसँगै सो स्थानमा सहजै उपलब्ध हुने जडीबुटीबाट उत्पादन गर्न सकिने गुणस्तरीय चिया, कफी, फलफूललगायत खाद्यवस्तु उत्पादन गर्दै व्यावसायिक जडीबुटी नर्सरीसमेत सञ्चालनमा आएका छन् । जसले गर्दा बेथानचोकमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै बेथानचोकमा निजी तथा सामुदायिक घरबास सञ्चालनमा आएका छन् । घरबासको अलावा फार्म हाउस, रुम–स्टे, रिट्रट सेन्टर र केही होटल सञ्चालनमा छन् । जसले बेथानचोक जाने पर्यटकलाई खाना बासको राम्रो प्रबन्ध गरिरहेका छन् ।

ब्रम्ह्ण, क्षेत्री, तामाङ, नेवार, मगर, दलितको मिश्रित बस्ती रहेको सो क्षेत्रमा पुग्ने पर्यटकलाई तामाङ समुदायको झाँक्री नाच, ब्राम्ह्ण समुदायको खैजेडी भजन, मन्दिरमा हुने भजन यहाँका कला संस्कृति र परम्परागत शैलीमा निर्माण भएको ढुङ्गा, माटो र काठबाट बनेका घर पर्यटनमैत्री रहेका छन् । जसले विश्वसामु बेथानचोकको विविधतालाई चिनाउन मद्दत पुग्ने देखिन्छ ।

२०७८, २९ माघ शनिबार ०८:०८
कथालिका नयाँ कथा
कथालिका