‘उपचारका लागि हेलिकप्टर होइन, अस्पताल होस्’ – कथालिका

‘उपचारका लागि हेलिकप्टर होइन, अस्पताल होस्’

खानीखोला गाउँपालिका–४ बाँसघारीकी ४० वर्षीया ग्याञ्जमाया लोप्चन गत बिहीबार भीरबाट लडेर सख्त घाइते भइन्। घाँस काट्न जाँदा लडेर बेहोस् पनि भएपछि तत्काल उपचारका लागि हेलिकप्टरमार्फत उनलाई काठमाडौँ लगियो । महाभारत पर्वत शृङ्खला (डाँडापारी) पारी अवस्थित उक्त गाउँकी लोप्चनको टाउकोमा ठूलै चोट लागेकाले तत्कालै हेलिकप्टरको व्यवस्था गरी उपचारका लागि काठमाडौँ पठाइएको स्थानीयवासी जीवन घिसिङले जानकारी दिए। उनका अनुसार लोप्चनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

“सख्त बिरामीको उपचारका लागि गाउँमै सम्भव नहुँदा काठमाडाँै पठायौँ” घिसिङले भने । यसअघि गत साउन अन्तिम हप्ता सोही वडास्थित डाँडागाउँका ७० वर्षीया सुन्तामाया जिम्वालाई उपचारका लागि हेलिकप्टर मार्फत धुलिखेल अस्पताल पु¥याइएको थियो । टाउको दुख्ने र हात झम्झमाउने रोगबाट पीडित उहाँलाई पनि गाउँको कच्ची सडकबाट एम्बुलेन्समा लैजान सम्भव नहुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता भएको थियो । त्यतिबेला उहाँका आफन्तले रु ७० हजार भाडा तिरेर धुलिखेल पु¥याएका थिए ।

गतसालको साउनमा पनि सोही वडास्थित जगथलीको एक गर्भवती महिलालाई पनि हेलिकोप्टर मार्फत नै उद्धार गरिएको थियो । केही दिनदेखिको व्यथाले च्यापेपछि उहाँलाई अस्पताल लैजाने अन्य विकल्प नभएपछि हेलिकप्टर मगाइएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले बताए।

“ सख्त प्रकृतिका बिरामी, आकस्मिक उपचार पर्दा तथा वर्षायामका बेला हेलिकप्टरबाहेक अन्य विकल्प छैन” उनले भने। उता गत भदौमा डाँडापारी अवस्थित महाभारत गाउँपालिका–५ बुढाखानीको २१ वर्षीया गर्भवती अनुशा तामाङको स्वास्थ्यमा समस्या देखिए पछि उपचारार्थ हेलिकप्टरबाट काठमाडौँ पठाइएको थियो । वडाध्यक्ष रवीन मोक्तानका अनुसार लामो ‘व्यथा’ तथा दिसापिसाब रोकिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभइ स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि हेलिकप्टरको व्यवस्था गरी थापाथलीको प्रसूति गृह लगिएको थियो ।

त्यसबेला वर्षाले कच्ची सडकको विभिन्न स्थानमा क्षति पु¥याएपछि सदरमुकाम स्थित अस्पतालमा पु¥याउन सम्भव नभएका कारण हेलिकप्टर मगाउनु परेको थियोे । “निःशुल्क हवाई उद्धार निर्देशिका–२०७७ अनुसार अनुशालाई सेवा उपलब्ध गराइएको थियो” गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने । हालसम्म छ गर्भवती तथा सुत्केरीको स्वास्थ्य जोखिममा परेकाले हेलिकप्टरको सहारा लिएको उनले बताए।

अध्यक्ष जिम्बले भने, “लामो कच्ची सडकमा वर्षायाममा बिरामीलाई लैजान कठिन हुने भएकाले डाँडापारीका जनताले आकस्मिक उपचारका लागि हेलिकप्टरकै भरपर्नुपर्छ, अब अस्पताल बन्दैछ केही सुविधा होला कि ?”

गत साल पनि तीन दिनदेखि झाडापखालाले ग्रस्त खानीखोला गाउँपालिका–६ को १७ वर्षीया रञ्जिता थोकरलाई उपचारार्थ अस्पताल लैजान हेलिकप्टरलाई गाउँमै बोलाइए पनि रित्तै फर्काउनुप¥यो । बिडम्बना, हेलिकप्टर गाउँ पुग्दै गर्दा उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममै मृत्यु भइसकेको थियो । रञ्जितालाई थप उपचारका लागि काठमाडौँ लैजान परिवार र जनप्रतिनिधिले निर्णय गरे पनि उनको ज्यान बचेन ।

वर्षायाममा ग्रामीण भेगका सडक भत्किने र पहिरोले अवरुद्ध पर्दा जिल्लाको दक्षिणी क्षेत्र महाभारत डाँडापारीका बासिन्दाले बिरामी पर्दा हेलिकप्टरको भर पर्नुपर्ने हुन्छ । हेलिकप्टरको भाडा तिर्न नसक्नेले उपचारबाट वञ्चित हुनुपर्ने बाध्यता पनि देखिएको छ । डाँडापारीस्थित टाढाको विकट क्षेत्रका बासिन्दालाई उपचारका लागि अस्पताल पु¥याउन थुप्रै रकम लाग्ने भए पनि सडक अवरुद्ध हुँदा हेलिकप्टर निकै सजिलो साधन भएको छ । “पहिले पनि समयमै उपचार नपाउँदा केही गर्भवती तथा सुत्केरी महिला र बिरामीको गाउँमै मृत्यु हुन्थ्यो, अहिले स्थानीय तहको सहयोगमा स्वास्थ्य जोखिम भएकालाई केही सहज भएको छ” अध्यक्ष जिम्बाले भनिन्।

भौगोलिक विकट्ता तथा मनसुनमा कच्ची सडक अवरुद्ध हुँदा काभ्रेपलाञ्चोकको डाँडापारी क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारतमा हवाई उद्धार गर्नुपर्ने बाध्यता रहँदै आएको छ । हेलिकोप्टरबाट बिरामी,गर्भवतीको उपचारार्थ उद्धार गरिए पनि जिल्ला सदरमुकामका अस्पताल लैजान हेलिकप्टर अवतरण गर्न थप व्यवस्थापन गर्नुपर्ने हुँदा काठमाडाँै नै लैजानुपर्ने अर्को बाध्यता समेत छ ।

२०७८, २ फाल्गुन सोमबार ०८:१४
कथालिका नयाँ कथा
कथालिका