स्याङ्जा सिरुबारीः घरबासको पाठशाला – कथालिका

स्याङ्जा सिरुबारीः घरबासको पाठशाला

-जहाँबाट दक्षिण एशियामै सुरु भयो घरबास पर्यटन

स्याङ्जा सिरुबारी दुई दशक अघि दुर गाउँ मात्रै थियो । सदरमुकामबाट यो गाउँ पुग्नु एक किसिमको युद्ध जित्नु जस्तै थियो । गाउँको दैनिकी उस्तै कष्टप्रद, शहर र विदेश पलायन हुने क्रम बढ्दै थियो । गुरुङ समुदायको बाहुल्य रहेको बस्ती क्रमशः उजाडिदै जाने परिदृश्य गाउँका लागि ‘खतराको घण्टी’ थियो । तर, गाउँमा स्रोत साधन, सम्भावना र अवसर प्रचुर थियो । तत्कालीन सरकारले गाउँको समस्या, आवश्यकता सम्बोधन गर्ने योजना कार्यक्रम ल्याउने आशा र सपना एकादेशको कथा जस्तै बनिसकेको थियो ।

यो सबै कुरालाई नजिकबाट नियालेका स्याङ्जा सिरुवाबारीका क्याप्टेन रुद्रमान गुरुङ यसको उपर्युक्त विकल्प, समाधान र अवसरको खोजीमा थिए । यही अनुक्रममा गाउँ फिरेर योजना बनाए–‘घरबास मार्फत ग्रामीण पर्यटनको विकास गर्ने र गाउँ गुल्जार बनाउने ।’
भारतीय सेनामा कार्यरत रहँदा बिभिन्न देश घुमेका उनीसँग अनेकन अनुभव थियो । त्यही अध्ययन, अनुभवको जगमा सिरुबारीमा घरबास (होम–स्टे) सुरुवात गरियो । जुन घरबास नेपालको पहिलो त थियो नै, दक्षिण एशियाकै पहिलो घरबास बन्यो स्याङ्जा सिरुबारी ।

क्याप्टेन रुद्रमानकै परिकल्पना र अगुवाइमा वि.सं २०५४ असोज २२ गतेदेखि स्याङ्जाको सिरुबारी सामुदायिक होम–स्टेमा पाहुना राख्न थालियो । विस्तारै आन्तरिक र बाह्य पर्यटकहरुको आगमनले सुनसान बन्दै गरेको गाउँमा चहल पहल हुन थाल्यो । वि.सं. २०५७ मा यसलाई नेपालकै पहिलो नमुना पर्यटन गाउँ घोषणा गरियो ।

कुनै एक व्यक्तिले देखेको सानो सपनाले कति विशाल रुप लिन सक्छ भन्ने एक अनुपम उदाहरण हो स्याङ्जा सिरुबारी र यसका मुख्य ‘नायक’ हुन् उनै रुद्रमान गुरुङ । सिरुबारीबाट सुरु भएको ग्रामीण पर्यटन विकासको यात्रामा ठूलो उभार आइसकेको छ । होम-स्टे एसोसिएसन नेपालका अनुसार एसोसियसनमा आवद्ध होमस्टेको संख्या मात्रै ४ सय ५० छ । जसमा प्रदेश १ मा ८०, मधेस प्रदेशमा ४ वटा, बागमती प्रदेशमा २ सय ५०, गण्डकीमा ५ सय बढी, लुम्बिनीमा ५० बढी, कर्णालीमा पनि ५० हाराहारी र सुदूरपश्चिम प्रदेशमा ३० वटाको संख्यामा होमस्टे रहेका छन् । सामुदायिक र निजी गरी १ हजार हाराहारीमा होमस्टे रहेको तथ्याङ्क छ ।

फौजी सपना

गाउँमा युवा देख्न र भेट्नै मुश्किल थियो र छ । परिवारको जीविका जोहो र भविष्य खोज्दै शहर र परदेश पुग्ने लहड छ । जसबाट स्याङ्जा सिरुबारी गाउँ पनि अछुतो थिएन । भएका केही युवाहरुमा पनि गाउँ समाज बनाउने बारेको पृथक सोच, योजना थिएन । यो सबै देखे भोगेका क्याप्टेन रुद्रमानले फौजीमा कार्यरत रहँदा रहँदै योजना बनाउँदै लगे । अरु फौजीहरुलाई आफ्नो योजना सुनाउने र सघाउने बातावरण बनाए । ‘क्याप्टेन साप ३२ वर्ष भारतीय सेनामा काम गरेर गाउँ फिर्नु भो, २० दिनको छुट्टी होस् या २ महिनाको छुटट्ी आउँदा गाउँकै बारे हामी बिच गफ हुथ्यो, सुरुमा धेरैलाई विश्वास नै थिएन,’ गाउँ पर्यटन विकास समितिका अध्यक्ष बबरसिहं गुरुङ भन्छन्, ‘क्याप्टेन रुद्रमानले पहिले गाउँको एकता हुनुप¥यो, गाउँ बनाउने मेरो फरक र सोच र सपना छ, सम्भव छ भन्नुभयो, यसमा सबै फौजी र गाउँलेले साथ दियौ । छोटो समयमै गाउँ पर्यटनमय बन्यो ।’

यो होम स्टेको अवधारणा ल्याउने रुद्रमानदेखि अध्यक्ष गुरुङ समेत २९ वर्ष भारतीय सेनामै कार्यरत रहेर अवकाश प्राप्त सैनिक हुन् । होम स्टे सञ्चालनको अधिकांश नेतृत्व अहिले पनि पूर्व फौजीहरुले नै गरिरहेको उनको भनाई छ ।

होम-स्टे सुरुवात गर्दा धेरै समस्या र चूनौती झेल्नु परेको उनी सुनाउँछन् । ‘गाउँका बाटाघाटा ढुंगै ढुंगाको सफा, चरिचट्ट पा¥यौ, बेडरुम, किचन, शौचालयहरु पनि नयाँ बनायौ,’ अध्यक्ष गुरुङले भने, ‘आतिथ्यता, अर्गानिक खाना लगायत समग्र होम स्टे कसरी सञ्चालन गर्ने भन्ने बारेमा स्थानीयलाई राम्ररी सिकाउन त्यसबेला बेल्जियमबाटै प्रशिक्षक ल्याएर दुई पटक तालिम दिइयो ।’ त्यसबेलाको क्षण सम्झिदै उनी भन्छन्,–‘विदेशी आउँदा हिमाल र प्राकृतिक दृश्यावलोकन हेर्न भ्यू पोइन्ट पनि बनायौ । सुरुवातमा विदेशीलाई फोकस ग¥यौ । पहिले विदेशी आए पछि नेपाली पनि आउँछ भन्ने सोच थियो । पछि विदेशी नआए पनि नेपाली आएर चल्छ भन्ने थियो । अहिले ठ्याक्कै त्यस्तै भएको छ ।’

स्याङ्जा सिरुबारी अघिअघि, सरकार पछिपछि
भारतीय सेनामा सेवारत छँदै वि.सं. २०२५ तिरै क्याप्टेन रुद्रमान गुरुङले जन्मथलो सिरुबारीमा पर्यटन मार्फत गाउँ गुल्जार बनाउने सपना देखेका थिए । त्यो सोच र सपना वि.सं. २०४८ सालमा आएर पुरा भयो । सुरुवात गर्ने सपना पुरा भए पनि निरन्तर सञ्चालन, आयआर्जन, पर्यटक आगमन लगायतका विषयमा असली अग्नी परीक्षा सुरु थियो । अन्ततः स्थापनाको छोटो समयमै आवश्यक पूर्वाधार विकास गरेर पर्यटन गाउँका रुपमा सिरुबारी चम्काउन गुरुङ सफल भए । आज सिरुबारीको सिको गर्दै मुलुकभर सामुदायिक होम स्टे सञ्चालनको लहड छ ।

क्याप्टेन रुद्रमानले ग्रामीण पर्यटन शुभारम्भ गरेको धेरै वर्षपछि मात्र वि.सं. २०६७ मा नेपाल सरकारले होम–स्टे निर्देशिका सार्वजनिक गरेको पत्रकार अमृत भादगाउँले बताउँछन् । तर, सरकार भन्दा अगाडि ग्रामीण पर्यटनको दियो जलाउने क्याप्टेन गुरुङलाई राज्यका तर्फबाट सम्मान नगरिएको उनको भनाई छ । वि.सं.१९८७ भदौ १२ गते जन्मिएका गुरुङको वि.सं.२०७२ फागुन १५ गते निधन भएको थियो ।

सिरुबारी प्याकेज

सिरुबारी प्याकेज गज्जबै छ । गाउँ पर्यटन समितिले पर्यटक पाहुनाको आत्मिय स्वागत सत्कार सहित खानपान, आवास र गाउँ घुम्ने घुमाउने पृथक प्याकेज बनाएको छ । सिरुबारी गाउँ पुगेपछि प्रबेशद्वारबाटै मौलिक पञ्चेबाजा र फूलमालाले स्वागत गर्छन् । स्वागत पछि गुरुङ बस्तीको माझमा रहेको गुम्बामा लगिन्छ । बुद्धको दर्शन गराएर चियापान (मिनी खाजा) खुवाइन्छ । अनि पर्यटक पाहुनालाई फ्रेस बनाउन बाँडफाड गरेर गाउँलेले घर–घरमा लैजान्छन् । साँझको खाना खुवाउँछन् । खानामा स्थानीय उत्पादनका परिकारका अनेक स्वाद हुन्छन् । ‘यसमा हाम्रो पहिले नै होम स्टे बसाइँको खाना सहितको प्याकेज हुन्छ, भात, दाल, तरकारी, मासु, लोकल रक्सी त्यसमा हुन्छ, पर्यटन विकास समितिका कोषाध्यक्ष पूर्णबहादुर गुरुङ भन्छन्, ‘यसबाहेक पाहुनाले कोदोको ढिडो,कोदोको रोटी या यस्तै स्थानीय परिकार खान मन लागेर अर्डर गरे त्यही प्याकेजमै हामी दिन्छौ ।’ साँझको समयमा मदिरा सेवन गर्ने पर्यटक पाहुनालाई २ गिलास लोकल रक्सी पनि दिइने उनले बताए ।

साँझको खाना खाइसके पछि राती ८ बजे फेरी बुद्ध गुम्बाको आँगनमा पाहुना जम्मा गरिन्छ । जहाँ स्थानीयले डेढ घण्टा साँस्कृतिक कार्यक्रम देखाउछन् । त्यसपछि फेरि बास बस्ने ठाउँमा पु¥याउँछन् । बिहान सबेरै चिया पिएर झिसमिसेमै माथि डाँडा )भ्यू टावर) तिर घुम्छन्, घुमाइन्छ । अनि झरेर घरमा खाना खुवाइन्छ । खाना पछि सिरुबारी गाउँ भ्रमण गर्न सकिनेछ । त्यसपछि फेरि गुम्बाकै आँगनमा फुलमाला लगाएर स्थानीयले पुनः आउने निम्तो दिँदै विदाई गर्छन् ।

पाहुना बाँड्छन्, आम्दानी बाँड्छन् गाउँले
होम स्टेका संस्थापक रुद्रमान गुरुङको स्थापनाकालीन सोच र सपना थियो कि होम स्टे मार्फत स्थानीय नागरिकको आयआर्जन उकास्ने । ‘कुनै होटल, रिसोर्ट या रेष्टुरेन्ट खोले कुनै एक व्यक्ति या समूहले फाइदा लाभ लिन्छ, होम स्टे बनाए सिंगो गाउँले लाभ लिन सक्छ भन्ने फरक सोच थियो,’ पर्यटन विकास समितिका कोषाध्यक्ष गुरुङ भन्छन्, ‘पहिले ५० बढी घरको होम स्टे १९ घरमा सञ्चालनमा छ, यसबाहेक पनि गाउँको पञ्चेबाजा समूहदेखि स्थानीय उत्पादन गर्ने कृषक, व्यापार व्यवसाय गर्ने सिंगो गाउँले लाभ लिइरहेको छ ।’

सिरुबारी आउने पर्यटक पाहुना मात्र घर घरमा बाँड्दैनन् । गाउँमा पर्यटन समितिले हरेक घरमा आलोपालो गरेर पर्यटक राख्छ । यसो गर्दा सबै घरमा आम्दानी बाँडिन्छ । यहाँ खाना र आवासको एक दिनको सामान्यतः अहिले प्रतिव्यक्ति १४ सय रुपैयाँ लाग्छ । ७,८ वर्षदेखि एक दिनको खाना र बसाइँको प्याकेजमा १२ सय लिइदै आएकोमा गत मंसिरबाट १४ सय बनाइएको कोषाध्यक्ष गुरुङले बताए । कोरोना भाइरसको चरणबद्ध संक्रमणले पछिल्लो समय पर्यटक पाहुनाको आवागमनमा कमी भए पनि सामान्य हुँदाको बखतमा महिनामा १४,१५ सय जना आउने गरेको उनले जानकारी दिए ।

घरबासमा संस्कृतिको सुवास
आफू बसेको घरमा नै पाहुना राख्ने व्यवस्था गरिएको छ । सुन्दर प्रकृतिको आँगन सिरुबारीमा गुरुङ संस्कृतिको अनेक सुवास पाइन्छ । सिरुबारीका गाउँलेको आँखामा आत्मीयता, व्यबहारमा हार्दिकता र इमान्दारिता त अनुभूत गर्न पाइन्छ नै, यसका साथ न्यानो आतिथ्यता, स्वागत सत्कार, परम्परागत गीत र नाँचहरु पनि हेर्न लायक छ । पाहुनाहरु गाउँमा आउँदा पञ्चेबाजा, आमा समूह, युवा क्लब तथा पर्यटन समितिले गाउँ नजिकैको बाटोमा फूलमाला सहित स्वागत गर्छन् ।

यो गाँउ धुलो विहीन जस्तो आभाष हुन्छ । बाटा, गल्ली, आँगन र पदमार्ग स्थानीय ढुंगाहरुले चिरिचट्ट छन् । गाउँदेखि माथि करिब १५ मिनेटमा वलीबास भ्यू पोइन्ट छ । जहाँबाट सिरुबारी गाउँ र आसपासका सुन्दर दृश्य देख्न सकिन्छ । गाउँबाट माथि १ घण्टा ३० मिनेट हिँडे पछि ३२ सय मिटर उचाईको थुमुरोजुरो भ्यू टावरबाट सुर्योदय हिमश्रृंखला देखिन्छ । त्यहाँबाट पोखरा, पाल्पा, बागलुङ, पर्वत, घान्द्रुक लगायतका रमणीय स्थान र दृश्य देख्न सकिन्छ । यही नजिकै डहरे देउराली माइको मन्दिर जंगलको बिचमा छ । यहाँ तपस्वीहरुले दैनिक पुजाआजा गर्ने गर्छन् । वि.स.२०४० साल भन्दा अगाडि तपस्वीहरु जंगल भित्रको गुफामा बस्दथे भने अहिले कुटीमा बस्दै आएका छन् । यहाँ बालाचर्तुदशीमा विशेष मेला लाग्दछ ।

पाटा गोल्ड अवार्ड
१९५१ मा स्थापित, प्यासिफिक एशिया ट्राभल एसोसिएसन (एब्त्ब्) एक गैर–नाफामूलक सदस्यता–आधारित संघ हो । जसले एशिया प्रशान्त क्षेत्र भित्र र भित्र यात्रा र पर्यटनको जिम्मेवार विकासको लागि उत्प्रेरकको रूपमा कार्य गर्दछ ।

हाम्रा निजी र सार्वजनिक क्षेत्रका सदस्यहरूलाई एकसाथ ल्याएर, यसले एशिया प्रशान्त क्षेत्र भित्र र भित्र यात्रा र पर्यटनको मूल्य, गुणस्तर र दिगो बृद्धि गर्न अर्थपूर्ण साझेदारीको सुविधा दिन्छ । यसले २००१ को मे महिनामा सिरुबारी होम स्टेलाई ग्रामीण पर्यटनमा उल्लेख्य योगदान गरेको भन्दै पाटा गोल्ड अवार्ड प्रदान गरेको थियो । सिरुबारीले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपाली ग्रामीण जीवनको संस्कृति र सम्पदा जोगाउन गरेको प्रयासको कदर स्वरूप पाटा गोल्ड अवार्डबाट सम्मानित भएको गाउँ पर्यटन विकास समितिका अध्यक्ष बबरसिहं गुरुङ बताउछन्।

बसाई सराई कायमै, जनशक्ति अभाव

समुन्द्री सतहबाट १,७०० मिटर उचाइमा अवस्थित सिरुबारी गाउँ नेपालको मनमोहक गाउँहरू मध्ये एक उत्कृष्ट गाउँ हो । स्वच्छ, सफा, हराभरा छ । गाउँ मात्र सुन्दर छैन, गुरुङ समुदायको बाहुल्यता रहेको बस्तीमा बोलि, बचन, स्वागत, सत्कार, हार्दिकता, संस्कार संस्कृति पनि उत्तिकै लोभलाग्दो र अनुकरणीय छन् ।

तर, होम स्टेको पाठशाला र धेरैका लागि आकर्षक गन्तब्य बनेको सिरुबारीमा पनि बसाई सराई र जनशक्तिको समस्या छ । बसाई सराई र जनशक्तिको कमीले ४२ घरमा पाहुँना राख्ने गरेकोमा अहिले १९ घरमा सीमित बनेको छ । यहाँ अहिले १ सय २० जति एक रातमा राख्ने क्षमता छ ।

‘होम स्टेले गाउँ नमुना बनेको भन्दै हजारौ मान्छे हेर्न र गाउँको पृथक अनुभवका लागि यस गाउँमा आउँछन्, बिडम्बना भन्नुपर्छ यहीका मान्छे चाही सुख, सुविधा र भविष्य खोज्दै शहर र विदेश जाने क्रम जारी छ,’ पर्यटन विकास समितिका कोषाध्यक्ष गुरुङ भन्छन्, ‘अहिलेको लहडले पनि होला, समय अनुसार बाध्यता पनि बनिरहेको छ ।’ सिरुबारीबाट बसाइँ सरेर जाने गइसकेको र अहिले भने रोकिएको उनको दाबी छ । युवा पुस्तालाई रोक्न सरकारले नै फरक किसिमको योजना, कार्यक्रम र अवसर ल्याउनुपर्ने उनले बताए ।

यसरी पुग्न सकिन्छ सिरुबारी
सिरुबारी पुग्ने धेरै सडक सञ्जालहरु छन् । पोखराबाट नौडाँडा पर्वत कार्किनेटा (६४ किमी) हुँदै बस र जीपमा करिब ५ घण्टामा पुग्न सकिन्छ भने पोखराबाट बादखोला दरौ सिरुबारी, पोखराबाट हेलु अर्जुन चौपारी हुँदै, पोखरा नौडाँडा बेजाङ, पोखरा हेलु रुपाकोट हुँदै पनि जान सकिन्छ । पोखराको पृथ्बीचोकबाट बिहान र दिउँसो सिरुबारी जाने बस छुट्ने गर्दछ ।

२०७८, ३ फाल्गुन मंगलवार ०५:४७
कथालिका नयाँ कथा
  •  देवतालाई आराम

    देवतालाई आराम

    • सोलखुम्बु
    यो चलनलाई कतिपयले रूढीवादीको संज्ञा दिने गरेका छन्। यसलाई तोड्न धेरैले कोसिस गरे तर ठूला…
  •  अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    • पोखरा
    स्याङ्जा र कास्की सीमानाको यो गाउँको मेलमिलाप यहाँको सुन्दर विषेशता हो । होम-स्टे सञ्चालनमा आइसके…
  •  सिपले सफल हर्कबहादुर

    सिपले सफल हर्कबहादुर

    • पोखरा
    हर्कबहादुर यदि सही समयमै तालिम नलिएको भए ऋण खोजेरै भए पनि विदेश जानुपर्ने बाध्यताको लहरमा…
  •  मनाङ गाउँ

    मनाङ गाउँ

    • पोखरा
    हिमाल पारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित मनाङ गाउँ । प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा…
कथालिका