हिमालमा हिउँ खेल – कथालिका

हिमालमा हिउँ खेल

इतिहासले ठग्यो भनु भने शहिदको गाथा छ
भुगोलले ठग्यो भनु भने सर्वोच्च सगरमाथा छ
कविताको हरफमा उल्लेख भए जस्तै नेपाल त्यस्तो देश हो, जहाँ विश्वकै सर्वोच्च शिखर सगरमाथा छ । सगरमाथा मात्र छैन, दर्जनौ हिमालहरु छन्, र त हिमालयको देश हो नेपाल ।

नेपालमा यदि हिमाल नभएको भए कस्तो हुन्थ्यो होला ? हिमाल हुन्थेन भने नेपालको बिबिधता, विशेषता र सौन्दर्यता कति भिन्न हुन्थ्यो होला ? उसो त हिमाल छ र त हिउँहरु पर्छन् । विश्वका पर्यटक त्यही हिउँ छिचोल्दै हिमाल चढ्छन्, हिमाल हेर्छन् र हिमाली सौन्दर्यतामा रमाउने गर्छन् ।

हिमाली भेकमा हिउँ पर्नु अनौठो होइन । अचेल सहर बजारका पहाडी भूभागमा हिउँ पर्दा हिउँ खेल्ने, रमाउने र सेल्फी खिच्नेका ताँती लाग्छ । वास्तविक हिमालको सौन्दर्यता र हिउँ आनन्द लिने नै हो भने हिमाली क्षेत्र उक्लिनै पर्छ अनि देखिन्छ हिउँका पहाड ।
हिउँ देख्नु र हिउसँग लुकामारी खेल्नु मात्र पर्यटनसँग जोडिएको विषय होइन । हिउँ मज्जा त हिउँ खेलसंग अझ गजब हुने खेलाडी र खेलप्रेमी बताउँछन् । सरकारले साहसिक खेल पर्यटनको नारा लगाइरहे पनि खेल प्रर्वद्धनमा यथेष्ट सहयोग र भूमिका खेल्न नसकेको उनीहरु गुनासो गर्छन् । यद्यपि हिमाली क्षेत्रमा खेल पर्यटनको केही प्रयत्न भने भइरहेका छन् । हिमाल पारिको जिल्ला मुस्ताङमा राष्ट्रिय स्तरको स्की च्याम्पियनसीप गरिएको छ । सेताम्मे हिउँमा खेलिएको आइस स्की खेलले अन्तर्राष्ट्रिय स्तरमा समेत ध्यान तानिरहेको छ ।

हिउँसंगै चिप्लेटी खेलिने साहसिक खेल हो स्की । हिउंसंगै खेलेर साहसिकता प्रदर्शन गर्नु र त्यसमा पृथक आनन्द लिन सक्नु उत्तिकै चुनौतीपूर्ण कुरा हो । पश्चिमेली मुलुकको प्राथमिकतामा परेको हिउँमा खेलिने खेल स्की नेपालमा अझै प्राथमिकता पाउन सकेको छैन । हिमाली क्षेत्रमा अनुकुल मौसममा बग्रेल्ती हिउँ पर्छ । तर, त्यो हिउँ कयौ दिन पछि मात्रै घाम सँगै बिलाएर जान्छ । हिउँमा खेलिने खेलको परिकल्पना र विकास गर्न सके त्यसले नेपालको पर्यटनलाई उचाईमा पू¥याउने स्थानीय बताउछन् ।

नेपालमा हिउँमा खेलिने स्कीको विकास र प्रर्वद्धन गर्न गठित स्की एशोसिएसन नेपालले हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१ रानीपौवाको सेताम्मे हिउँमा चौथो राष्ट्रिय स्की च्याम्पियनसीप २०२२ सम्पन्न गरेको छ । पहिलो सुरुआती च्याम्पियनसीप लाङटारमा आयोजना गरिए पनि त्यहाँ खेल खेलाउन निकै कठिन प¥यो । राष्ट्रिय गौरवको सडक सञ्जालले जोडिएको मुस्ताङमा अन्य स्थान भन्दा हिउँको संरचना बढी हुन थालेपछि एशोसियनको ध्यान मुस्ताङतर्फ मोडियो । मुक्तिनाथका युवा पर्यटन ब्यवसायी सुरज गुरुङ स्कीको विकल्पका बारेमा सुझाए पछि अहिले समेत गरेर तीन संस्करणको च्याम्पियनसीम मुक्तिनाथमा गरिएको बताउँछन् ।

कोरोनाका कारण बिचका दुई वर्ष मुस्ताङमा स्की हुन सकेन । कोरोना जोखिम न्युनिकरण हुँदै गइरहेको र नागरिकले कोरोना बिरुद्ध खोप लगाइसकेकाले स्की एशोसियसनले यसवर्ष मुस्ताङमा चौथो राष्ट्रिय स्की च्याम्पियनसीप आयोजना गरेको एशोसियसनको भनाई छ ।
मुक्तिनाथको सेताम्मे हिउँ माथि खेलाडी र स्थानीयले खेलको मज्जा लिए । त्यहाँ नया र पुराना खेलाडीलाई चार दिनसम्म तालिम दिइएको थियो भने अन्तिम दिन च्याम्पियनसीप गराइएको थियो । च्याम्पियनसीपको अल्पाइन स्की पुरुषतर्फ काठमाडौंका साहसराम श्रेष्ठ च्याम्पियन बने । धनगढीका दिनेश कुमार बोहरा दोस्रो र सोलुखम्बुका छिरिङ तेन्जिन गुरुङ तेस्रो भए । अल्पाइन स्की महिलातर्फ नुवाकोटकी संगिता लामा पहिलो हुँदै च्याम्पियन बनिन् । ललितपुरकी देबोटा तिमाल्सिना दोस्रो र धनकुटाकी लक्ष्मी राई तेस्रो भईन् ।

स्की खेलका लागि प्रशिक्षक र महङ्गा उपकरण आवश्यक पर्छ, जुन बिदेशमा मात्र पाइन्छ । सरकारले अन्य कुरामा अनुदान सहुलित दिने गरे पनि स्की उपकरण नेपाल भित्राउदा चर्को राजश्व बुझाउनु पर्ने हुन्छ । यसैले यस्ता उपकरण खेलाडीले खरिद गर्न कठिन भइरहेको खेलाडीको गुनासो छ । नेपाल स्की एशोसियसनसंग भने करिव ५० थान स्की उपकरण रहेको जनाएको छ । ।ब्यक्तिले सहज रुपमा किनेर स्की खेल्न नसके पनि एशोसियनले भने स्की खेल्न चाहने ब्यक्ति खोजी खोजी मैदानमा उतार्ने र खेल सिकाउने गरेको छ । नेपालमा स्की खेल पहिले देखि खेल्ने गरे पनि सन् २०१७ देखि मात्रै च्याम्पियनसीप प्रतियोगिता राखेर खेलको विकास र प्रवद्र्धन गरिदै आइएको छ ।

चौथो राष्ट्रिय स्की च्याम्पियनसीपमा सिनियर र जुनियर गरी ३१ जना खेलाडी थिए । स्की अभ्यासमा भने मुक्तिनाथ केही स्थानीयले रमाईलो मान्दै भाग लिए । स्की एशोसियनले च्याम्पियनसीप र तालिम सञ्चालनका लागि ४ जना प्रशिक्षक र दुई जना अफिसियल खटाएको थियो । मुक्तिनाथमा लगातार ५ दिन सम्म सञ्चालन भएको स्कीमा स्थानीय बासिन्दाहरुले स्की खेल अवलोकन गरे ।

पर्यटन व्यवसायी सुरज गुरुङले हिउँमा खेलिने यसको यथेष्ट विकास, प्रचार प्रसार र व्यवस्थापन गर्न सके खेल पर्यटनमा टेवा पुग्ने बताउँछन् । साहसिक तथा पर्यटकीय खेल आइस स्कीको राम्ररी विकास र प्रवद्र्धन गर्न सके नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विहीन बन्ने अवस्थाबाट अवसर सिर्जना गर्न सक्नेछ भने स्थानीयबासीले समेत बेमौसमी पर्यटनको लाभ लिन सक्ने गुरुङले बताए ।

मुस्ताङमा स्की खेलको भविष्य उज्वल रहेको नेपाल स्की एशोसियनका महासचिव बिजय श्रेष्ठले बताए । स्की हिउँ संग सम्वन्धित खेल रहेको र मुस्ताङमा सहज र सम्भव भएकाले एसोसियनले वर्षेनी मुस्ताङमा स्की च्याम्पियनसीप गर्दै आइरहेको बताए । नेपाल हिमालै हिमालको देश भएको र हिउँमा खेलिने खेल भएपनि नेपालमा स्की खेल अरु खेल भन्दा पछि परेको महासचिव श्रेष्ठको भनाई छ ।

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्दराज बैद्यले हिउँमा खेलिने खेल स्कीको माध्यमबाट पर्यटन र खेललाई एकैसाथ लैजान सके नेपालमा पर्यटन क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने दाबी गरे । स्कीको दक्ष खेलाडी उत्पादन गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालीलाई हिमालसंग सम्वन्धित खेलको विकास गर्दै नेपालको पर्यटनसंग जोड्ने स्की एशोसियनको लक्ष्य रहेको उनी बताउँछन् ।

मुस्ताङको मुक्तिनाथ क्षेत्रमा झन्डै दुई सय मिटरको दुरीमा अल्पाइन स्की खेलाइएको थियो भने त्यसका साथमा क्रस कन्टी स्कीको अभ्यास गराइएको थियो । मुस्ताङमा स्की खेलको प्रर्वद्धन र विकास गर्न सके यहाँको बेमौसमे ब्यापार घाटा पूर्ती गर्न सकिने सम्भावना छ । हिउँदयाममा अत्यधिक चिसो र हिमपात हुने हँुदा मुस्ताङको पर्यटन ठप्प हुने गर्छ । मुक्तिनाथमा स्की पूर्वाधार निर्माण हुन सकेमा यहाँको हिउँद खेलका माध्यमबाट पर्यटकले गति लिनसक्ने छ ।

२०७८, ५ फाल्गुन बिहीबार ०७:२९
कथालिका नयाँ कथा
कथालिका