म्याग्दीको बगरफाँट, सिङ्गा र बाबियाचौरमा डेढ दशकअघिसम्म धान, गहुँ, मकै र समयअनुसारको अन्नबाली लहलह झुलेको हुन्थ्यो । अन्नबालीले यहाँका फाँटहरु निकै हरिया हुन्थे । यहाँको उत्पादनले स्थानीयवासीलाई १२ महिनासम्म खान पुग्थ्यो । तर जब सडक बनेर गाडी कुद्न थाले यहाँको अवस्था फेरियो । अन्न फल्ने हरिया फाँट अब कङ्क्रिटका घरले भरिन थालेका छन् ।
बेनी नगरपालिका–२ बगरफाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्ने क्रम बढेसँगै खेतीयोग्य जमिन नासिँदै गएको छ । बेनी नगरपालिका– ४ सिङ्गा, बेनी नगरपालिका –१ रत्नेचौर, मङ्गला गाउँपालिकाको बाबियाचौर लगायतका सडकको पहुँच पुगेका ठाउँको अवस्था पनि यस्तै छ । जिल्लाको अन्न भण्डार र प्राङ्गारिक खेतीको गाउँका रूपमा परिचित बगरफाँटमा पछिल्लो केही समययता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्वर फाँट कङ्क्रिटको सहरमा परिणत हुने जोखिम बढ्दै गएपछि यहाँका किसान चिन्तित बनेका छन् ।
सदरमुकाम बेनी बजारसँगै जोडिएको र सबै किसिमका सुविधाको पहँुचमा रहेको गाउँ भएकाले यहाँको उर्वर भूमिमा पछिल्लो समय पक्की घर निर्माण गर्ने क्रम बढ्दै जान थालेको हो । धमाधम खेतीयोग्य जमिनमा पक्की भवन निर्माण हुन थालेपछि उत्पादनमा ह्रास आएको छ । एक त खेतीयोग्य जमिन नै छैन, अर्को भएको जमिनमा पनि जाँगर लगाएर खेतीपाती गरिँदैन । बेनी नगरपालिका–२ बगरफाँटका बेदप्रसाद शर्माले भने, “बाली झुल्नुपर्ने खेतका फाँटमा घर ठडिएपछि अन्नबालीको उत्पादनमा कमी आएको छ । आयातीत खाद्यन्नमा निर्भर रहनुपरेको छ ।”
खेती गरेर उत्पादित कृषिजन्य वस्तुको भन्दा बढी पैसा जग्गा बेच्दा कमाउन थालेपछि किसानले धमाधम जग्गा बेच्न थालेका स्थानीयवासीको भनाइ छ । खेतीयोग्य जमिन घडेरी बनाउनका लागि बेच्न थाले, फलस्वरुप अहिले स्थानीय उत्पादनमा म्याग्दी अघि बढ्न सकेको छैन । कृषि ज्ञान केन्द्रका अनुसार खेतीयोग्य जमिनको धेरै भागमा घर, उद्योग र कलकारखाना बनेका छन् । सडक पुगेपछि जिल्लाको कृषियोग्य जमिन मासिँदै गएको छ ।
प्राङ्गारिक गाउँका रूपमा परिचित बगरफाँटमा अहिले आठ पक्की घर निर्माण भएका छन् । उपल्लो फाँट र तल्लो फाँट ९पलाँसे क्षेत्र० गरी दुई भागमा बाँडिएको बगरफाँट जिल्लाकै अन्न भण्डारका रूपमा चिनिन्छ । जिल्लाका विभिन्न स्थानबाट बसाइँ सरेर बगरफाँटमा घडेरी किनी घर बनाएर बस्नेहरुका कारण उर्वर फाँट मासिँदै गएको स्थानीयवासीले बताएका छन् । बेनीबजारसँगै जोडिएको बगरफाँटमा बजारको तुलनामा घडेरी निकै सस्तोमा पाइने हुनाले यहाँ घडेरी किनेर घर बनाउनेको सङ्ख्या बढेको हो । बजारमा प्रतिहात रु पाँच लाखको हाराहारीमा घडेरी बिक्री हुने गरेको भए पनि यहाँ प्रतिहात रु एक लाखदेखि रु एक लाख ५० हजारमा घडेरी किन्न आउने गरेका हुन् ।
हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा सडक निर्माण भएपछि बगरफाँटमा बस्ती विस्तार र जग्गाको किनबेच हुने क्रम बढेको स्थानीयवासी भवेन्द्रविक्रम शाहले बताए। यही क्रममा बस्ती विस्तार हुँदै जाने हो भने केही समयपछि बगरफाँटको उर्वर भूमि सखाप हुने उनको भनाइ छ । “जिल्लामा न त आधुनिक खेती प्रणालीको विकास हुन सकेको छ, न त रैथाने परम्परागत कृषि पेसालाई राम्रोसँग अपनाउन सकिएको छ,” स्थानीय टेकबहादुर कार्कीले भने, “किसानले खेतीयोग्य जमिन बेच्नुबाहेकको विकल्प छैन ।”
म्याग्दीमा आठ प्रतिशत बेसी क्षेत्र, ५६ प्रतिशत उच्च पहाडी क्षेत्र र ३६ प्रतिशत हिमाली क्षेत्र छ । समुद्र सतहबाट ७९२ मिटर ९बेनी नगरपालिका–१ रत्नेचौर० देखि ८,१६७ मिटर ९धौलागिरि हिमाल० सम्म फैलिएको यस जिल्लाको कूल क्षेत्रफल दुई हजार २९७ वर्ग किलोमिटर ९दुई लाख २९ हजार ७०६ हेक्टर० रहेको छ । डेढ दशकयताको तथ्याङ्क हेर्ने हो भने खेतलाई घडेरी बनाउने होडका कारण यहाँको आधाभन्दा बढी जमिन घटिसकेको छ । अहिले आयातीत खाद्यान्नको भरमा यहाँको जनजीवन चलेको छ । दैनिक दिन खेतीयोग्य जमिनमा पक्की भवन ठडिँदासमेत कसैले खेतीयोग्य जमिनको पक्षमा वकालत गरेका छैनन् । जिल्ला बाहिरबाट मानिस सदरमुकाममा बसाइँ सरेर आएका छन् भने सदरमुकाम आसपासका मानिस खेतीयोग्य जमिन बेचेर काठमाडौँ, पोखरा, चितवन जस्ता सहरमा जाने क्रम बढेको छ । अव्यवस्थित सहरीकरणले पनि खेतीयोग्य जमिनमा असर परेको स्थानीयवासी बताउँछन् ।
सहरी जीवनले पनि खेतीसँगको मोह घटाएको छ । अहिले यहाँका बुढापाकाले खेतीपातीको काम गर्दै आइरहेको भए पनि युवाहरु पढाइ, लेखाइ र अन्य व्यापार व्यवसायमा संलग्न देखिएका छन् ।