हस्तकला इतिहासको खोज र खजाना – कथालिका

हस्तकला इतिहासको खोज र खजाना

  • एक बसाइँमा पुस्तक पढि सक्काएर उठ्दा कुनै सुन्दर दृष्यावलोकन गरेझैं अनुभुत भयो । उक्त पुस्तक पढिरहँदा लेखकले जहाँ–जहाँ लैजान्छन्, आँखाहरु तत् तत् स्थानमा पुग्न सफल भए ।

कला साधकका लागि कुनै पुस्तक पढ्नु या पाउनु त्यो सुन्दर र अमुल्य उपहार हो । त्यो उपहार कुनै सजावटका लागि भन्दा दिमाग र जीवान मन्थनका लागि प्रयोग गर्न सके जीवनमा अनेक रस देखिन र भेटिन सक्छ । जसबाट आफू आनन्दित र लाभान्वित हुने विकल्प र अवसर त प्रशस्त छ नै, अरुलाई समेत रसस्वादन गराउने सम्भावना र अवसर पनि उत्तिकै हुन्छ । यस्तै पुस्तक मध्येको एक हो-‘हस्तकलाको ऐतिहासिक पक्ष’

नेपाली हस्तकलाका क्षेत्रका हस्ती, कलाकार प्राज्ञ धर्मराज शाक्यद्वारा लिखित यस पुस्तक पढ्दा साथ हर जो कोहीले निर्धक्क र निष्कर्षका साथ भन्न सक्छ कि कलाकार, व्यवसायी, लेखक, अनुसन्धाताका लागि गोरेटो बाटो हो, कला साधना सिर्जना गर्ने विद्यार्थीका लागि जरुर खोज, खजाना हो । कुल १४२ पृष्ठ रहेको पुस्तकमा हस्तकला के हो ? नेपाली हस्तकलाको महत्व के ?, कहाँ–कहाँ रहेका छन् ? कुन–कुन माध्यममा सिर्जना भएका छन् ? कसले सिर्जना गर्छन्, पुराना हस्तकलाको जर्गेना भएको होला कि नहोला ? सरकारी तवरबाट कस्तो व्यवस्था छ ? यसका चुनौती, समस्या र समाधान के कस्ता छन् ? यावत प्रश्नहरुको जवाफ एउटै पुस्तक भित्र पाउन सकिन्छ ।

निकै मिहिनेत, खोज, अनुसन्धान गरी लेखिएको पुस्तकमा एघार अध्याय अर्थात् शीर्षक छन् । पुस्तकका पानाहरु पल्ट्याउँदै जादाँ कुनै भ¥याङका खुड्किला उक्लिरहेको आभाष हुन्छ । त्यस्तै लेखकले विषयवस्तुको उठान र सोही विषयवस्तुमा केन्द्रित रही सरल भाषामा त्यसको नालीबेली व्याख्या (स-विस्तार) गरेकोले कुनै सुन्दर ओजस्वी उपन्यास, कथा पढिरहेझैं भान हुन्छ । यसरी उक्त पुस्तक पढिसक्दा लेखक प्रति स्वतः सम्मान भाव पैदा हुन्छ ।

पुस्तकको पहिलो अध्यायमा हस्तकलाको ऐतिहासिक पक्षको बारेमा विवेचना गरिएको छ । लेखकले मानव सभ्यताको विकाससँगै हस्तकलाको विकास भएको उल्लेख गरेका छन् । स्थानीय स्रोत, साधन र कच्चा पदार्थको अधिकतम सदुपयोग गरी परम्परागत सीप र ज्ञानलाई हात वा हाते औजारको सहयोग लिई विभिन्न किसिमका कलात्मक मूर्ति, चित्र, तथा वस्तु उत्पादन गरिनुलाई हस्तकला भनिन्छ । हस्तकला सामग्रीहरु उत्पादन हुनुमा धार्मिक, सामाजिक, ऐतिहासिक एवम् सांकृतिक, आर्थिक कारणहरु छन् । यी कारणहरुले सिर्जना भएका कला कृतिहरुको आ–आफ्नै महत्व, पहिचान र कला शैलीले गर्दा नेपाली हस्तकला विश्वका ८८ राष्ट्रहरुमा निर्यात हुने गरेको पाइन्छ” भनि व्याख्या गरेका छन् ।

लेखकले उक्त पुस्तकमा नेपाली कला शैली र त्यसको ऐतिहासिक पृष्ठभुमीको बारेमा अधोपन्त व्याख्या गरेका छन् । यसले पाठकलाई नेपाली हस्तकलाको बारेमा जानकारी हुनुको साथै नेपाली हस्तकला प्रतिको जिज्ञासा बढ्ने वातावरण सिर्जना गराउँदछ । यस पुस्तक भित्र नेपालमा हस्तकलाको संस्थागत विकासक्रम र शिक्षण सँस्थाको विकासक्रम साथै वर्तमान अवस्थाको बारेमा समेत उल्लेख्य मात्रामा उल्लेख गरेको पाइन्छ ।

नेपालका विभिन्न ठाउँहरुमा हस्तकलाको उत्पादन भएता पनि हस्तकलाको विकास भने काठमाडौं उपत्यका र त्यसैको टेरीटोरीमा बढी मात्रामा भएको पाइन्छ । काठमाडौं उपत्यकाका नेवार सम्प्रदायमा जात अनुसार कामको बाँडफाँड भएको कुरा पुस्तकमा उल्लेख गरिएको छ । उदाहरणका लागि चित्रकारले चित्रकलाको, ताम्राकारले तामाको, अवाले तथा प्रजापतिले माटोको, नकर्मीले फलामको, शाक्य तथा बज्राचार्यले सुन, चाँदी, प्रस्तर, धातु तथा काष्ठकलाको काम गर्ने जिम्मेवारी रहेको बताइन्छ । त्यस्तै नेपाली हस्तकलाका विभिन्न सामानहरुका लागि विभिन्न ठाउँहरु प्रख्यात छन् । जस्तैः भोजपुरको खुकुरी, पाल्पाको करुवा, पूर्वको ढाका टोपी, तराईको ढकिया आदि ।

प्राचिन कालदेखि हालसम्म यति धेरै कला कृति तथा हस्तकलाका सामग्रीहरु तयार भए कि जसका तथ्य तथा प्रमाणहरु हामीले प्रशस्त भेट्न सकिन्छ । विभिन्न देवीदेवताका मूर्ति, चित्र, मन्दिर, देवालय, शिवालय, ढुङ्गेधारा इत्यादि उत्कृष्ट उदाहरण हुन् । नेपाल एउटा यस्तो मुलुक हो जहाँ कलालाई पुजिन्छ र कलाकारको सम्मान पनि गरिँदैन । नेपाली कलाकारको नाम स्वदेश तथा विदेशमा गरी अनगिन्ती कलाकृति तथा हस्तकलाका सामग्रीहरु निर्माण गरेको कुनै ठोस प्रमाण भेटिँदैन । त्यसमध्ये स्वदेशमा रहेका कतिपय कला कृतिहरुमा डाटा वा निर्माण गर्न लगाउने व्यक्तिको वा राजाको नाम उल्लेख गरिएको भेटिन्छ तर बनाउने कलाकारको नाम उल्लेख नहुँदा एकातर्फ कलाकारको शोषण भयो भने अर्कोतर्फ कलाकृतिको पूर्ण विवरण प्राप्त हुन नसकी कलाको इतिहास अधुरो हुन पुग्यो । यस पुस्तकमा प्रमाणहरुका आधारमा केही कलाकार र कला अभियन्ताहरु भृकुटी, गुण धर्म, अरनिको, अभयराज शाक्य, विजित सिंह, कल्याण सिंह, करुणाकर र रतकर शाक्य, जय मुल्मी तथा राज मुलमी, बेखाराज शाक्य आदिको बारेमा छोटकारीमा व्याख्या गरिएको छ ।

यस पुस्तकमा हस्तकलाका विभिन्न विधा र त्यसका तस्विरहरु समेत समावेश गरिएकोले त्यसको बारेमा जानकारी लिन अति सजिलो बनाइएको छ । हस्तकलाका विधाहरु क्रमश्ः १.प्रस्तर कला २.काष्ठकला ३.धातुकला क.धातुपत्र कला ख.धातु पगालेर गरिने कला ३.मृतिका कला ४.हड्डीबाट बनाइने कला ५. चित्रकला क.ग्रन्थ चित्र ख.गाता चित्र ग.पौभा चित्र घ.पट्चित्र ङ.भित्तेचित्र च.जन्मपत्रिका चित्र छ.कागज चित्र ज.मुकुण्डो चित्र झ.धुले चित्र ञ.समसामयिक चित्र ट.मिथिला चित्र ठ.थारु चित्र ६.वास्तुकला क.तले शैली (पेगोडा शैली) ख.शिखर शैली ग.दरबार वास्तुकला घ.गुम्बज शैली ङ.डेगोवा शैली च.रथ निर्माण शैली छ.विहार वास्तुकला ज.ढुङ्गेधार र जलद्रोणीहरु झ.पाटी एवम् पौवा ञ.निजी आवास ७.सुन चाँदीका गहना ८. पस्मिना ९. फेल्ट १०. बाँस ११. लोक्ता आदि उल्लेख गरिएको छ । यहाँ हस्तकला उत्पादन गर्न सकिने विभिन्न कच्चा पदार्थको बारेमा चित्र सहित प्रशोधन विधिका बारेमा व्याख्या गरिएकोले उद्यमीहरुको लागि यो पुस्तक जीवन बदल्ने माध्यम बन्न सक्ने देखिन्छ ।

हस्तकलाको दीगो विकासका निम्ति संस्थागत गर्न आपसी सहयोगबाट कला र कला व्यवसायलाई सफल बनाउन यस क्षेत्रमा काम गर्ने कलाकार, कालिगढ तथा सम्बन्धित सरोकारवालाहरु मिलेर वि.स.२०२२ सालमा ललितकला संस्था, वि.स.२०६७ सालमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वि.स. २०२९ सालमा नेपाल हस्तकला महासंघ स्थापना भए । यसरी हस्तकला विकासका लागि हस्तकला डिजाइन विकास केन्द्र र हस्तकला परीक्षण केन्द्र जस्ता कार्यक्रमहरु पनि आयोजना भए भने भोजपुर हस्तकला सङ्घ, पाल्पा हस्तकला सङ्घ, कास्की हस्तकला सङ्घ, मकवानपुर हस्तकला सङ्घ गरी विभिन्न जिल्लाहरुमा हस्तकला सङ्घ स्थापना भएका छन् । यस्तै, वस्तुगत हस्तकला सङ्घ जस्तै नेपाल सेरामिक सङ्घ, नेपाल ऊनी विकास संघ, नेपाल सुनचाँदी विकास संघ आदि स्थापना भएका छन् । यसरी हस्तकलाको संस्थागत जानकारी उल्लेख भएकोले हस्तकला प्रति चासो राख्ने व्यक्ति तथा व्यवसायीहरुलाई यस पुस्तकले मार्गदर्शन गर्नेछ ।

लेखकले यस पुस्तकमा नेपाली हस्तकलाको क्षेत्रमा रहेको सम्भावना, देखिएका समस्या, चुनौती र समाधानका उपायहरु समेत उल्लेख गरेकोले यो पुस्तक हस्तकला विधाको पूर्ण रुप हो । नेपाली पुस्तक बजारमा हस्तकलाको बारेमा आवश्यक पुस्तक अभावलाई यस पुस्तकले केही हदसम्म पूर्ति गर्नेछ भने कलाका विद्यार्थीहरुलाई यो पुस्तक कोसेढुंगा सावित हुनेछ ।

एक बसाइँमा पुस्तक पढि सक्काएर उठ्दा कुनै सुन्दर दृष्यावलोकन गरेझैं अनुभुत भयो । उक्त पुस्तक पढिरहँदा लेखकले जहाँ–जहाँ लैजान्छन्, आँखाहरु तत् तत् स्थानमा पुग्न सफल भए । सायद समय र बजेट सीमाले होला, यस पुस्तकमा कुनै एक विषयको निकै गहिराईसम्म पुगेर लेखेको पाइएन भने कुनै–कुनै ठाँउमा एउटै कुराहरु दोहोरिएको पनि पाइयो ।
अन्त्यमा, यस पुस्तक हस्तकला विधासँग सम्बन्धित व्यक्ति, विद्यार्थी, कलापारखी, अनुसन्धाता, व्यवसायी, संघ–संस्थाहरुको लागि मार्ग दर्शक बन्नेछ ।

 

२०७८, ७ फाल्गुन शनिबार १२:२७
कथालिका नयाँ कथा
कथालिका