बालविवाह गराउँदै ‘अभिभावक’ – कथालिका

बालविवाह गराउँदै ‘अभिभावक’

केटा र केटीको उमेर २० वर्ष नपुगी विवाह गर्न बर्जित छ । त्यस्तो विवाह कानूनी रुपमा स्वतःबदर हुन्छ र दण्डित समेत गर्ने कानुनी व्यवस्था छ । तर, परिवर्तित समय र व्यवस्थामा पनि पुरानै प्रचलन अनुसार बालविवाह गर्ने गराउने क्रम अझै जारी छ ।

आजको २१ औं शताव्दीमा पनि किन रोकिएको छैन बालविवाह ? आखिर कसले गर्छ ? र गराइरहेको छ बालविवाह ? यसको तथ्य खोज्न थाल्ने हो भने डरलाग्दो अवस्था देखिन्छ । समाजले कम उमेरमा हुने विवाहलाई सहजै मान्यता दिँदा समस्या भइरहेको स्थानीय सामाजिक अगुवा बताउँछन् ।

नेपालको कानूनमा २० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने व्यवस्था भए पनि तराईको धनुषा जिल्लामा बालविवाह रोक्न जनप्रतिनिधि र स्थानीय प्रहरी प्रशासनलाई सकस देखिएको छ । कोही जानीजानी वा कोही नजानी छोराछोरीको विवाह गराउने प्रवृत्ति ह्वात्तै बढेपछि बालविवाह रोक्नका लागि अभियान नै चलाइएको प्रहरीले जनाएको छ ।

डेढ महिनामा ९ बालविवाह रोकियो

बालविवाह हुने क्रम बढेपछि धनुषा प्रहरीले बालविवाह रोक्न विशेष अभियान नै चलाएको छ । अभियान अन्तर्गत विगत डेढ महिनाको अवधिमा धनुषामा नौ वटा बालविवाह रोकाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

“सामुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गाउँगाउँमा बालविवाहबारे अन्तक्र्रियासँगै बालविवाह भइरहेको सूचना पाए तत्कालै रोकाउने गरेका छौँ”, प्रहरी नायब उपरीक्षक बस्नेतले भने, “यसबाट विगतको भन्दा बालविवाहमा कमी आउने विश्वास लिएका छौँ ।” गत माघ महिनायता जिल्लाभरि नौ वटा बालविवाह रोकाइएको उनले बताए । “बालविवाह हुँदैछ भन्ने जानकारी पाएपछि हामी त्यहाँ पुग्छौँ”, उनले भने, “बास्तवमै उमेर नपुगेर विवाह भइरहेको पाइएपछि अभिभावक, न्यायिक समिति, नागरिक समाजलगायतका व्यक्तिको समन्वयमा बालविवाह रोकाइरहेका छौँ ।”

प्रहरीले बालविवाह रोकाउँदा कतिपय अभिभावकले त्यसलाई सहजरुपमै लिने गरिए पनि अधिकांशले निराशा र चिन्ता नै व्यक्त गर्ने गरेका छन् । “केटी पक्षले राम्रो केटा र घर हेरे विवाह तय गर्ने गरेका छन्”, धनुषाको विदेह नगरपालिका–६ निवासी विजय मण्डलले भने, “विवाह कुरा गरिरहँदा केटा र केटीको उमेरको कुरै चल्दैन, यसबारे छलफल भए पनि उमेरलाई खासै वास्ता गरिँदैन ।” कानूनी व्यवस्थाबारे धेरैलाई थाहै हुँदैन, कतिपयलाई थाहा भए पनि बेवास्ता गर्ने गरिएको छ ।

अन्तिम घडीमा विवाह रोकिदाँ जन्ती अलपत्र

कानूनी कुराको ज्ञान नभएकाले ठूलो रकम खर्चिएर विवाहको तयारी गर्ने अन्तिममा जन्ती आउने बेलामा विवाह रोकि दिएपछि अभिभावक अप्ठ्यारोमा पर्ने गरेका छन् । आफूहरुलाई छोरीको विवाह गर्न २० वर्ष पुग्नैपर्छ भन्ने विषयमा जानकारी नभएकाले सानै उमेरमा छोरीको विवाह गराउन लागेको बालविवाह रोकिएका अधिकांश अभिभावकको भनाइ छ ।

कतिपय अभिभावकमा बालविवाह कानूनी अपराध हो, बालविवाह गरिए कानूनी दण्ड र सजाय भोग्नुपर्छ भन्ने कुराको ज्ञान नभएकाले छोराछोरीको उमेर नपुग्नै विवाह गराइरहेका छन् भने कतिपयले कानूनी कुरा बुझेर पनि दाइजोको लोभ, राम्रो केटा र घर पाएपछि विवाह गरिहालौँ भन्ने गलत सोचका कारण बालविवाह गराइरहेको स्थानीय बताउछन् ।

“नेपालको कानूनले २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न बन्देज गरेको भए पनि अझै बालविवाह हुँदै आएको छ”, बुद्धिजीवी तथा दलित अगुवा सिजेन्द्र सदाले भने, “उमेर पुगेपछि छोरीलाई भने जस्तो केटा नपाइने, केटा पाइहाले पनि धेरै दाइजो दिनुपर्ने त्रासका कारण सानै उमेरमा विवाह गर्ने प्रवृत्ति मौलाएको छ ।”

अभिभावकलाई सचेतना

बालविवाह कानूनी रुपमा अपराध भएको र बालविवाह गराए कानूनी कारवाही हुने बारेमा अभिभावकका लागि सचेतनामुलक कार्यक्रम गर्न थालिएको छ ।

“हामीले पछिल्लो केही वर्षदेखि गाउँगाउँ, विद्यालयमा पुगेर बालविवाहबाट हुने असर, त्यसले महिलामा पुग्ने असरका विषयमा अभिभावक र बालबालिकाबीच सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएका छौं”, दलित अगुवा सदाले भने, “बालविवाह न्यूनीकरणका लागि सचेतना अभियान सञ्चालन गरिएपनि यसको अन्त्य भएको छैन् ।”

यस्तो छ कानुी व्यवस्था
मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद ११ को दफा १७३ को १, २ र ३ मा बालविवाह गर्नु/गराउनु हुँदैन, गराएमा त्यस्तो विवाह स्वतःबदर हुने र बालविवाहको कसुर गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको अधिवक्ता डोमन साहले जानकारी दिए ।

२०७८, १९ फाल्गुन बिहीबार १०:२२
कथालिका नयाँ कथा
कथालिका