स्वयम् आर्जित दुःख, प्रायोजित ‘खुसी’ – कथालिका

स्वयम् आर्जित दुःख, प्रायोजित ‘खुसी’

  • विश्व ब्रह्माण्डभरका मानिसहरुका लागि उसै गरी पृथ्वीमा अध्यारो हुन्छ, उसैगरी उज्यालो हुन्छ । दिन आफैमा कसैका लागि राम्रो र कसैका लागि नराम्रो, अशुभ,पक्षपाती भएर आउदैन ।

हरेक विहान हरेक मानिसका लागि अनेक अवसर र चूनौती लिएर आउछन् । र साँझ उपलब्धि, नत्र अनुभव दिएर जान्छन् । तर, धेरै मानिस एउटा सिंगो दिन के गरेर गयो ? या के गर्नुपथ्र्यो या के पाएर बित्यो वा के गुमाएर गयो ? हेक्का राख्दैनन् । अमूल्य जीवनलाई दिन गुजार्ने नियति ठान्छन् । र समय यतिकै बर्बादी भइरहेको हुन्छ, झट्ट हेर्दा त्यो केबल समय बर्बादी जस्तो मात्रै लाग्छ । तर, याद गर्नुपर्ने कुरा के छ भने त्यो समय बर्बादी मात्रै होइन, यसरी त सिंगो जिन्दगी बर्बाद हुन सक्छ ।

दिन आफैमा कसैका लागि राम्रो र कसैका लागि नराम्रो पक्षपाती भएर आउछ र ? समय, मौसम, प्रकृतिले मान्छेहरु माथि त्यस्तो विभेद र वर्गिकरण गर्छ होला र ? यसो त कदापि होइन, विश्व ब्रह्माण्ड भरीका मानिसहरुका लागि उसै गरी पृथ्वीमा अध्यारो हुन्छ, उसैगरी उज्यालो हुन्छ । हरेक विहान घाम उदाँउछ र उसैगरी हरेक साँझ घाम अस्ताउछ । मानिसहरुको सुख र दुःख या हाँसो र रोदन वा सफलता, असफलता जस्तै दिन र रातको पारिस्पारिक सम्बन्ध र बिरोधभास संसारभरी छ । त्यसैले कुनै मानिसका लागि दिन राम्रो र कसैका लागि नराम्रो प्रकृतिले बनाएर पठाएको होइन र हुँदैन । त्यो त तपाई हामी स्वंयम्ले गर्ने सोच र कर्ममा आधारित छ । हामी के कसरी सोच्छौ र गर्छौ ? हाम्रो आदर्श बोली र व्यवहार बिचको दुरी, हाम्रा साथीसंगी, परिवार, आफन्त, समाज र देश यी सबै कुराले हाम्रा दिन र रातहरु सुखद या दुखद बन्ने निर्धारण गर्छन् । वर्तमानका दिनहरु मात्र होइन, हाम्रो भविष्य समेत यिनै कुराहरुबाट निर्देशित हुन्छ । अब भन्नुस्, तपाई आफ्नो दिन कस्तो बनाउने ? सुखद या खराब ? त्यो मुख्यतः तपाईकै हातमा छ ।

हुन त आजकाल म मात्र भएर बाँच्ने या केबल श्रीमान र श्रीमति मात्रै भिन्न भएर बाँच्ने लहड चलेको छ । चाहे त्यो सुविधा सम्पन्न देशहरुमा पुगेर होस् या देश भित्रै पनि बाआमा भन्दा केही टाढाको शहरहरुमा गएर होस् । बुढेसकाल लागेका बाआमालाई अलिअलि पैसा र खर्च पठाइदिएर जिम्मेवारीबाट भागेर कथित खुसी पूर्वक बाँच्ने लालसा युवापुस्तामा अधिक देखिन्छ । अहिले आफ्ना खुसीहरु बाआमा या परिवारका लागि चुड्नुपर्ने भय र सन्त्रासमा रहेका हामीहरुले हिजोका दिनमा हामीलाई जन्म दिन, हुर्काउन बढाउन, पढाउन उनीहरुले आफ्नो सिंगो खुसी र उर्जाशील उमेर कुर्वानी गरेको विगत र तथ्य बिर्सिरहेका छौ । यो केबल भावनात्मक विषय मात्र होइन, यो तत्काल अनुभूति नहुन सक्छ, तर एक न एकदिन पारिवारिक जिम्मेवारी, अपनत्व अभाव, सकिर्णताको जडले हामीलाई पश्चातापको चितामा जर्बजस्त चढाउनेछ र हामी भन्नेछौ ढिलै भए पनि एकल या द्धैध खुसी हुनु भनेको त अचकल्टो खुसी रहेछ । जसरी तरकारीमा नुन नहाल्दा सिंगो खाना अलिनो हुन्छ, हो उसैगरी जीवनमा सगोलको खुसी र आनन्द अपुग र अधुरो हुनेछ ।

यति हुँदा हुँदै पनि अर्को सत्य पनि के हो भने यहाँ म मात्रै या तपाइँ मात्रै छैनौ । म या तपाई बाँच्दा परिवार, समाज बाँच्नुपर्ने संस्कार र सम्बन्ध छ । यी र यस्ता संस्कार र सम्बन्धहरुले हाम्रा खुसी, सफलताहरुको दायरा फराकिलो पनि बनाउने गर्छ भने कतिपय अवस्थामा अरुको खुसी, सफलता, सुखका लागि बाँच्दा बाँच्दै आफ्नो खुसी हराइरहेको हुन्छ, अरुका लागि सोँच्दा सोँच्दै समय, अवसर र उमेर धेरै दुर भइसकेको हुन्छ । यसको अर्थ हामी केबल आफ्नै लागि मात्र बाँच्नुपर्छ भन्ने कदापि होइन । तर, सबै भन्दा पहिले म या तपाई आफू खुसी नहुञ्जेल अरुलाई खुसी बनाउन सकिदैन, म या तपाई आफू सफल नहुञ्जेल अरुलाई सफल बनाउन सकिदैन । म या तपाइँ आफू नहिडुञ्जेल अरुलाई कुनै बाटो देखाउन सकिदैन । त्यसैले, सबै भन्दा पहिले तपाइँ सबल हुुनुपर्छ, सफल हुनुपर्छ, खुसी हुनुपर्छ, सुखी बन्नुपर्छ, आनन्दित हुनुपर्छ ।

अब यी सब फेरि प्राचिन समयमा आफसेआफ भगवानले वरदान दिए जसरी आउने कुरा होइन भन्नेमा त हामी सबै प्रष्ट हुनुपर्छ । यसका लागि त यथेष्ट सपना, यसको प्राप्तिका लागि दृढ इच्छा शक्ति, सोही किसिमको सोच, योजना, तयारी र असल मार्ग पहिचान गर्न सक्नुपर्छ । असल मार्गबाट हिँडे असफल हुनुपर्दैन, असफल भइहाले पनि धेरै दुख्नु पर्दैन । असल सोचले असल बाटोमा हिँडे एकै बाटोमा अल्झिरहनु पर्र्दैन । अरु अनेकन बाटो र विकल्प तपाईका सामु आउनेछ । जहाँबाट गन्तव्यमा पुगे पछिको प्राप्तिको आनन्द त अथाह हुन्छ नै, कथमकदाचित पुग्नै नसके पनि जहाँ सम्म पुगिन्छ, या त्यसबिचमा जे प्राप्ति हुन्छ, त्यसले पनि जीवनमा कति हो कति सन्तुष्टि र आनन्द दिन्छ । जीवनमा स्वतःस्फुर्त प्राप्त हुने यस्तो खुसी र आनन्दमा बाँच्ने कि अनेकन स्वार्थको जञ्जाल, अरुको असफलता र दुःखबाट आर्जित प्रायोजित खुसीहरुमा रमाउने ? सोचौ है !

२०७८, १४ चैत्र सोमबार ०५:४७
कथालिका नयाँ कथा
कथालिका