आस्थाको आत्मविश्वास: ताल सफा गर्न तालमा पस्ने कि बाहिर बस्ने ? – कथालिका

आस्थाको आत्मविश्वास: ताल सफा गर्न तालमा पस्ने कि बाहिर बस्ने ?

  • उनी नेपाली राजनीतिमा महिलाले सधैं ‘उप’को भूमिका मात्र होइन, नेतृत्वदायी भूमिका निर्वाह गर्नुुपर्छ भन्ने अभियानमा छिन् । ‘फोहोरी खेल’ भनेर चित्रित नेपाली राजनीतिलाई सफा गर्न युवापुस्ताको हस्तक्षेपकारी भूमिका अपरिहार्य ठान्छिन् ।

हाँस्दै, रमाउँदै आफ्नो व्यक्तिगत भविष्यका खातिर दिन बिताउनुपर्ने उनी देशको राजनीति परिवर्तन गर्ने हुटहुटी र अठोट बोकेर हिँडिरहेकी छिन् । उमेरले २३ वर्ष छिचोल्दै गरेकी उनको सिंगो दिन पार्टी काममा बित्छ । उनको जीवन लक्ष्य एउटै छ–‘नेपाली राजनीतिमा महिलाले सधैं ‘उप’को भूमिका मात्र होइन, नेतृत्वदायी भूमिका पाउनुपर्छ भन्ने सोच स्थापित गर्नु छ, समाज र देश परिवर्तन गर्नु छ ।’ समाज परिवर्तनका लागि गुनासो मात्रै गरेर, सरापेर हुँदैन, केही पाइला आफैंले चाल्नुपर्छ भन्नेमा उनी दृढ छिन् । उमेरले लाउँलाउँ–खाउँखाउँ भन्ने समयमा उनको समय आजभोलि फोहोरी खेल भनेर चित्रित नेपाली राजनीतिलाई सफा गर्न युवापुस्ताको हस्तक्षेपकारी भूमिका अपरिहार्य ठान्छिन् ।

उनी अर्थात् आस्था नेपाली । यो समाजमा महिला भएर भोगिरहेको सकस होस् या दलित भएर भोग्नुपर्ने बिभेद र सास्तीका पीडा होउन् । आम मानिसले भोग्ने समस्या र त्यसमा यी दुवै भएर भोगेर उनी अझ दरिलो भएकी छिन्, र यस्तै उपेक्षा, बिभेद, अन्याय र अपमान, पिँधमा परेका जाति, वर्ग, समुदायका लागि काम गर्न उद्धत छिन् ।

नेपाली राजनीतिमा महिलाले नेतृत्वदावी भूमिका पाउनुपर्छ भन्ने सोंचसहित उनले कलिलो उमेरमा स्याङ्जाको पुतलीबजार नगरपालिकामा मेयरको दावी गरेकी छिन् । यति मात्र होइन, उनी नेपाली राजनीतिमा हावी रहेको र उनीहरुलाई दलित महिला सदस्यका रुपमा मात्र सीमित राखिने प्रचलनलाई परिर्वतन गर्न चाहन्छिन् । सोही नगरपालिकाको वडा नम्बर १ गैरीबजारमा जन्मिएर हुर्किएकी उनले राजनीतिलाई एसएलसी दिइसकेपछि नै बुझ्ने कोसिस गरेकी थिइन् ।

नगरमा मेयरका आंकाक्षी

युवापुस्ताले राजनीतिमा किन अवसर नपाउने भन्ने सोंचका साथ आस्थाले आफू भन्दा अग्रजलाई पुतलीबजारको मेयरमा चुनाव लड्ने विषयमा छलफल गरिन्, सबैले साथ दिए । केहीको मात्र सल्लाह तथा सुझाव भएर भएन, उनलाई परिवारको साथको आवश्यकता थियो । त्यसैले केही नजिकका आफन्त तथा आफ्नी आमासंग आफूले पुतलीबजार नगरपालिकाको मेयरमा चुनाव लड्ने दावी गरेको जानकारी दिइन् । उनको यो दावी र निर्णय सुनेर सुरुमा उनकी आमा अकमक्क परिन् । मामाहरुले पनि यो विषयमा निर्णय दिन सकेनन् ।

‘सुरुमा मामाहरुले मेयरमा दावी त गरेकी छौ तर, जित्ने होइन कि ? भोट थोरै पो आउँछ कि भनिरहनुभएको थियो’–आस्था भन्छिन्, ‘बिस्तारै बुझाउँदै जाँदा उहाँहरुले हौसला दिनुभयोे ।’ जब उनले सामाजिक सञ्जाल फेसबुकमा आफूले पुतलीबजार नगरपालिकाको मेयरका लागि दावी गर्ने निर्णय सार्वजनिक गरिन्, उनलाई धेरैले साथ दिए । केहीले सक्छौ र ?, भोट थोरै आउँछ कि भनिरहे पनि उक्त दावीबाट पछाडि नहट्ने उनी बताउँछिन् । उनलाई लाग्छ, केही गर्न सकिन्न, हारिन्छ कि भन्ने सोचेर बस्नुभन्दा लड्नु र लड्दा आउने चूनौतिको सामना गर्नु पनि एक प्रकारको जित हो । ‘हो, हारिन्छ कि भन्ने डर म भित्र छ तर, हार्ने डरले म सधैं पछाडि रहन सक्दिन, म आउन सक्ने हरेक चुनौतीलाई सामना गर्न तयार छु ।’ निर्धक्क हुँदै उनी भन्छिन् ।

मेयरमा दावी गरे पनि उनलाई उनी सम्बद्ध जनता समाजवादी पार्टीले कुनै निर्णय दिएको छैन । उनलाई आशा छ, आफ्नो निर्णयलाई पार्टीले पुरा साथ दिने छ । ‘हाम्रो पार्टी जनता समाजवादी पार्टीले जनजाति, दलित, महिला, उत्पीडित तथा सीमान्तकृत वर्गलाई एकै स्थानमा ल्याउने कार्य गरेको छ, त्यसैले मेरो दावीलाई साथ दिनुहुन्छ भन्ने लाग्छ ।’ उनी भन्छिन्, ‘अहिलेसम्म पार्टीका केही सिनियर नेतासंग छलफल गर्दा समेत उहाँहरुले मेरो दावीलाई सकारात्मक रुपमा लिनुभएको छ । हेरौं अब के हुन्छ ।’ मेयरमा दावी गरिरहेकी आस्थाको ठूला–ठूला योजना केही छैन, ठूला–ठूला सपना बाँड्ने उनलाई कुनै रहर छैन । बस् उनलाई नगरपालिकाभित्र पर्ने तर शिक्षा, स्वास्थ्य तथा रोजगारीसहितका सुविधाबाट बञ्चित गाउँठाउँमा यी सबैबाहेक अन्य सुविधा पु¥याउनु छ । सहरलाई प्राय सबै सुविधा उपलब्ध गराएर सहर जस्तै बनाउनु छ । ‘पुतलीबजार नगरपालिकाभित्र केही त्यस्ता स्थान छन्, जहाँका स्थानीय नागरिक धेरै सुविधाबाट बञ्चित छन् ।’ आस्था भन्छिन्, ‘मेयर लड्न पाएछु र जितेछु भने उनीहरुलाई यस्ता सुविधा दिने मेरो उद्देश्य हुनेछ ।’

यी बाहेक उनको एउटा सपना छ, लैंगिक अल्पसंख्यकलाई उनीहरुको हक–अधिकार दिलाउने र इज्जतका साथ जिउने वातावरण निर्माण गरेर दक्षता र क्षमता अनुसार रोजगारी उपलब्ध गराउने । नेपालमा केहीले बाहेक लैंगिक अल्पसंख्यकले हरेक अधिकारबाट बञ्चित हुनुपरेको छ । उनीहरु पनि यही समाजका हिस्सा हुन्, उनीहरु पनि इज्जत र खुसीका साथ जिउन पाउनुपर्छ भन्ने आस्थालाई लाग्छ । ‘हामी कुनै पनि कार्यालयमा रोजगारीका लागि गयौं भने फारममा महिला र पुरुष भन्ने मात्र हुन्छ, अन्य भन्ने अप्सन नै हुँदैन ।’ आस्था भन्छिन्, ‘दावी गरिरहँदा नगरपालिकाको मेयर हुने अवसर पाएँ भने उनीहरुलाई रोजगारी उपलब्ध गराउन रोजगारीको फारममा अन्य भन्ने थप्नेछु । रोजगारी र सम्मानजनक तरिकाले बाँच्न पाउनु उनीहरुको अधिकार हो ।’

उपेक्षित समुदायको प्रतिनिधित्व र प्रमाणित गर्ने अवसर
मुलधारको नेपाली राजनीतिका विषयमा कुरा गर्ने हो भने दलित समुदायका महिला तथा व्यक्तिलाई दलित सदस्यका रुपमा मात्र राख्ने धेरै उदाहरण छ । हाल समाजवादी विद्यार्थी युनियन कास्कीको संयोजक तथा जसपा नेपाल गण्डकीको कार्यालय सचिव रहेकी आस्था मुलधारको राजनीतिमा विशेष गरी दलित महिलालाई नेतृत्वदावी भूमिका प्रदान गर्नुपर्छ भन्ने सोच्छिन् । यही सोचले गर्दा उनलाई मेयरको दावी गर्न मद्दत मिल्यो । ‘मुलधारको राजनीतिमा हेर्न सक्नुहुन्छ, हाम्रो समुदायका महिलालाई दलित महिला सदस्यका रुपमा प्रस्तुत गरिएको धेरै उदाहरण छन् ।’ उनले भनिन्, ‘हामी नेतृत्वदायी भुमिकाका लागि सक्षम छौं, कुरा यत्ति हो, अवसर दिइएको छैन हामीलाई । अवसर पाएको खण्डमा काम गर्न सक्छौं ।’

हाल मेयरको दावी गरिरहेकै नगरपालिकाको वडा नम्बर १ गैरीबजारमा जन्मिएकी आस्थालाई राजनीतिको विषयमा युवापुस्ता माझ भएको बुझाईलाई परिर्वतन गर्नुछ । नेपालमा राजनीतिलाई फोहोरी खेल भनिन्छ । प्राय युवा पुस्ताले राजनीति भनेपछि नाक खुम्च्याउँछन् । उनीहरुको एउटै उद्देश्य हुन्छ जसरी हुन्छ विदेश जानु । हुन पनि हालको नेपालको राजनीति अवस्था, रोजगारीको अभाव, परिवारको हेरचाह लगायतका समस्याले विदेशिनु नेपाली युवाको बाध्यता बनिसक्यो । राजनीति अवस्थाले नेपालमा प्रगती गर्न सकिदैन भन्ने मानसिकता उनीहरुको हुन्छ र परिवार तथा समाजले पनि यही सिकाउँछ अहिलेका युवापुस्तालाई । ‘हामी तालैतालको सहर पोखरामा बस्छौं, यहाँका तालमा फोहोर भयो भने सफा गर्न तालमा पस्नुपर्छ, अनि सफा गर्न सकिन्छ ।’ आस्था भन्छिन्, ‘त्यसरी नै राजनीतिमा फोहोर छ भने सफा गर्न राजनीतिमा युवापुस्ता नै लाग्नुपर्छ, प्रयत्न गर्नुपर्छ ।’

परिवर्तनका विभिन्न विषयमा समाजका कुरा उठे पनि जातीय विभेद नेपालमा अझै कायमै छ । आस्थाले जातीय विभेद प्रत्यक्ष रुपमा नभोगेको भए पनि अप्रत्यक्ष रुपमा धेरै भोगेकी छिन् । सुरुमा उनलाई यस्ता विभेद देख्दा यो सामान्य होला भन्ने लाग्थ्यो । तर, विस्तारै बुझ्दै गएपछि उनलाई यो सही होइन भन्ने लाग्न थाल्यो । जातीय विभेदको कुरा गर्ने हो भने उनलाई अझै विद्यालय समयको एउटा घटनाले मनमा पोलिरहन्छ । एक जना उनको नजिककै साथी छिन् । साथी उनको घरमा आइरहने र घरभित्रै पस्ने । आस्था सोही साथीको घरमा जान्थिन् । तर, घर भित्र पसेकी थिइनन् । ती साथी उनको घरमा पस्दा केही हुँदैनथ्यो । एकदिन सोही साथीले आफ्नो घरमा कोही नभएको र बस्न आउन आस्थालाई आग्रह गरिन् । बच्चाको दिमाग नै हो, उनी साथीको आग्रहलाई सहर्ष स्वीकार गरेर गइन् । साथीको घरमा केही निर्माण भइरहेको रहेछ । उनलाई लाग्छ, पानीको ट्यांकीलाई सुरक्षित राख्न ढक्कन निर्माण भइरहेको थियो त्यो बेलामा । साथीको घरभित्र गइसकेकी थिइन् आस्था । सोही समयमा साथीका आमाखबाबा टुप्लुक्क आइपुगे । ‘त्यसपछि त उनीहरुले मलाई नानी तिमी त हाम्रो घरमा छिर्न हुन्न नि भने । केटाकेटीको दिमाग न हो, त्यो बेलामा मलाई लागेको थियो पानी ट्यांकीको काम भइरहेकाले सुरक्षाका लागि भनेका होलान् ।’ आस्था भन्छिन्, ‘अहिले आएर बुझ्छु, त्यो जातीय विभेद रहेछ ।’ यस्ता विभेदलाई चिर्नु छ उनलाई, परिर्वतन गर्नु छ उनलाई ।

जातीय बाहेक उनलाई नेपालमा महिला भएकै कारण हुने भेदभाव तथा उनीहरुलाई गरिने तल्लो दर्जाको व्यवहार देख्दा परिर्वतन हुनु जरुरी छ भन्ने लाग्छ । हुन त हाम्रो समाजमा महिलाहरु पहिलेभन्दा अहिले धेरै सामाजिक कार्यका अग्रसर छन्, चुलोचौको र बालबच्चा हुर्काएर घर सम्हाल्ने अवस्थाबाट केही मात्रामा भए पनि बाहिर निस्किएर समाजसंग घुलमिल भएका छन् । आस्थाको नजरमा महिला अगाडि बढ्ने हो भने उचित शिक्षा सबै भन्दा आवश्यक विषय हो । ‘शिक्षित भएको अवस्थामा उनीहरुले आफ्नो क्षमतानुसार काम गर्न सक्छन्, आत्मनिर्भर बन्न सक्छन्, अनि महिला कसैको अधीनमा बस्नु पर्दैन । यो पनि समाजमा महिलालाई अगाडि बढ्ने एउटा राम्रो उपाए हो’ उनी भन्छिन् ।

राजनीतिक आन्दोलनमै तीन पटक हिरासत

महिलाले आफ्नो लागि आफैं पाइला अगाडि बढाउनुपर्छ भन्ने सोचका साथ सानै उमेरदेखि राजनीतिमा लागेकी आस्था सुरुमा विद्रोही राजनीति गरेकी थिइन् । हाल जनता समाजवादी पार्टीमा आवद्ध भएपनि सुरुआतको राजनीति उनले त्यो समयमा नेपालमा प्रतिबन्धित विप्लवको पार्टीबाट गरेकी थिइन् । हुन त यो पार्टी अहिले मुलधारको राजनीतिमा आइसकेको छ । उक्त पार्टी प्रतिबन्धित हुँदा उनी ३ पटक हिरासतमा बसिसकेकी थिइन् । हिरासतमा जाँदा उनी मानसिक रुपमा तयार भएपनि परिवारलाई डर लाग्थ्यो । कति पटक त आस्थालाई आमाले राजनीति छोड्न आग्रह गरिन् । ‘म त्यसरी हिरासतमा जाँदा आमाले मलाई राजनीति छोडेर सामान्य जीवन बाँच्न धेरैपटक आग्रह गर्नुभयो । म भने परिर्वतनका लागि हिंडिरहेकाले हिरासतमा परिन्छ भन्ने सोंचका लागि मानसिक रुपमा तयार भइसकेको हुन्थें ।’

आस्थाको विषयमा उनकी आमा चिन्तित हुनु स्वभाविक थियो । किनकि आमाको लागि सहारा आस्थासहित उनका २ जना भाइ बहिनी नै हुन् । उनकी आमाले बाबासंग कानुनी रुपमा डिभोर्स गरिसकेकी छिन् । यी बाहेक आस्था आफ्नो व्यक्तिगत जीवनका विषयमा धेरै बोल्न चाहन्निन् । आस्था तथा उनका भाइबहिनीका लागि आमा र बाबा दुवै आफ्नी आमा नै हुन् । ‘व्यक्तिगत विषयमा धेरै बोल्न चाहन्न, कुरा यत्ति हो, मेरो लागि सबै कुरा मेरो आमा नै हो,’ भावुक हुँदै उनी भन्छिन् ।

उमेर होइन, सपना र दक्षताको कदर

पुलतीबजार नगरपालिकाको मेयरमा दावी गरिरहँदा उनलाई लाग्छ, आमाले आफ्नो लागि देखेको सपना पुरा गर्नु छ, समाज परिर्वतनका लागि अझै लड्नुछ र परिर्वतन तथा विकासका किरण छर्नु छ । ‘उमेरभन्दा दक्षताका आधारमा अवसर पाउनुपर्छ भन्ने मेरो माग हो, मलाई आशा छ, मेरो दावीलाई पार्टीले पनि साथ दिने छ ।’ उनी भन्छिन्, ‘यस्तो गर्छु, उस्तो गर्छु भन्दै धेरै ठूला–ठूला सपना बाँड्दिन, तर अवसर पाएको खण्डमा नगरपालिकाको मुहार परिर्वतन गर्ने कोसिस गर्ने छु ।’

२०७८, २३ चैत्र बुधबार ०७:५२
कथालिका नयाँ कथा
  •  देवतालाई आराम

    देवतालाई आराम

    • सोलखुम्बु
    यो चलनलाई कतिपयले रूढीवादीको संज्ञा दिने गरेका छन्। यसलाई तोड्न धेरैले कोसिस गरे तर ठूला…
  •  अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    • पोखरा
    स्याङ्जा र कास्की सीमानाको यो गाउँको मेलमिलाप यहाँको सुन्दर विषेशता हो । होम-स्टे सञ्चालनमा आइसके…
  •  सिपले सफल हर्कबहादुर

    सिपले सफल हर्कबहादुर

    • पोखरा
    हर्कबहादुर यदि सही समयमै तालिम नलिएको भए ऋण खोजेरै भए पनि विदेश जानुपर्ने बाध्यताको लहरमा…
  •  मनाङ गाउँ

    मनाङ गाउँ

    • पोखरा
    हिमाल पारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित मनाङ गाउँ । प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा…
कथालिका