सुन्दर शहरकी एक्ली ‘महिला प्लम्बर’ – कथालिका

सुन्दर शहरकी एक्ली ‘महिला प्लम्बर’

  • सुरुआती समयमा महिला भएकैले धेरैले मेरो कामलाई विश्वास गरेनन्, सिप हुँदा र आत्मनिर्भर भएर खान्छु भन्दा समेत महिलाप्रति समाजको कमजोर सोचले गर्दा धेरै दुःख पाएँ ।

कति मान्छे दुःख, पीडा र शोकले बिथोलिन्छन्, जीवन सपनाहरु अस्तव्यस्त हुन्छ । व्यक्तिगत जिन्दगी मात्रै होइन, पारिवारिक जीवन समेत बिचल्लीमा पर्छन् । तर, कतिपय मानिसले भोगेको पीडा, साहसले र सिपले गरेको दुःख पीडाको सामनाले अरु धेरै मानिसका लागि कर्मशील भएर बाँच्न प्रेरित गर्छन् । पोखराकी सम्झना कुमाल यसको एक उदाहरणीय पात्र हुन् ।

सम्झना सबेरै उठ्छिन् । दुई छोरालाई विद्यालयका लागि तयार गर्छिन् । आफूसहित छोरा तथा सासुका लागि खाना तयार पारेर श्रमका लागि काममा जानु उनको दैनिकी हो । एक वर्ष अगाडि सम्म उनको दैनिकी यो भन्दा अलि भिन्न थियो । तर, अहिले समय बँदलिएको छ, जिम्मेवारी र भूमिका फेरिएको छ । पहिले घरको काम मात्र गर्ने उनलाई आज भोलि परिवारको अभिभावकीय जिम्मेवारी पनि छ । यसमा उनलाई कत्ति गुनासो छैन ।

घर परिवारको जिम्मेवारी निर्वाह सँगै नेपाली समाजमा निकै कम महिलाहरुले गरेको काम सिकेर गरेर भिन्न पहिचान बनाएका छन् । यद्यपि चर्चा, भाइरल हुने दुनियाँमा उनको खोजी छैन । तर, जसले प्लम्बरको काम गराउनु पर्नेछ, तत्तत् क्षेत्रमा भने उनको खोजी व्यापक छ ।

अहिले सम्झना घर मात्रै होइन, समाजकै हर्ताकर्ता बनेकी छिन् । समाजका लागि महिलाले पनि पुरुष श्रमिक सरह काम गर्न सक्छन् भन्ने देखाएकी पनि छन् । पोखराको लेखनाथ स्थित भण्डारढिककी ३० वर्षीया सम्झना प्लम्बिङको काममा व्यस्त हुने गरेकी छिन् । उनले यो काम सुरु गरेको एक वर्षमात्र भएको छ । यो अवधिमा प्लम्बिङको ठेक्का लिएर करिब १५/१६ वटा घरमा काम गरिसकेको सम्झना बताउछिन् । कुनै घरमा समस्या आएको खण्डमा पानीका धारा, ट्वाइलेट मर्मतका लागि पुग्छिन् सम्झना । यो उनको दैनिकी बनेको छ र उनीसहित परिवारका लागि बाँच्ने आधार समेत यही बनेको छ ।

प्लम्बिङ पेशा अपनाएर दुई छोरालाई पढाएकी छन् । ‘सबैभन्दा ठूलो कुरा यही पेशा अपनाउँदा म आफैं आत्मनिर्भर भएकी छु, दुई छोरासहित परिवारको जिम्मेवारी पुरा गरेकी छु,’ गर्वका साथ सम्झना भन्छिन्, ‘यही नै मेरो लागि आत्मसन्तुष्टीको कुरा हो ।’

श्रीमानको मृत्यु पछि बढ्यो दायित्व, बँदलियो दैनिकी

एक वर्ष अगाडि मात्रै श्रीमान्को निधन भएको थियो । त्यसयता परिवारिक दायित्व बढ्यो र दैनिकी बँदलियो । उनका श्रीमान् दिपेन्द्र कुमाल बिरामी भइरहन्थे । त्यसपछि चेकजाँच गराउने क्रममा उनलाई जण्डिस देखियो । टाउकोमा मासु पलाएको थियो उनको । अपरेशनका लागि लैजाने भनिएको भोलिपल्ट नै उनले यो सदाका लागि यो संसारबाट विदा लिए । श्रीमान्को अल्पायुमै निधन भए पछि सम्झना र उनका परिवार शोकमग्न भए । तर, के गर्नु ? जति रोइकराइ गरे पनि, शोकमा डुबे पनि आफूलाई सम्हालेर परिवार सम्हाल्नुको उनी सँग अर्को विकल्प थिएन ।

श्रीमानको निधन पछि सम्झनामाथि परिवारको जिम्मेवारी बहन गर्नुपर्ने अवस्था आयो । उनलाई अब के गर्ने, के नगर्ने भन्ने द्विविधा पैदा भइरहेको थियो । सिंगो परिवारको आशा र भरोसा रहेको श्रीमान्को निधन हुनु, त्यसमाथि २ जना छोरासहितका परिवारको जिम्मेवारी पुरा गर्नुपर्ने । योे अवस्थामा उनले केही सोच्नै सकिरहेकी थिइनन् ।

छिट्टै जानु रैछर यस्तो सिप सिकाएका रहेछन्…

उनका श्रीमान् दिपेन्द्रले पनि प्लम्बिङको काम गर्थे । श्रीमान्ले पछि काम लाग्न सक्छ है, तिमीले पनि जान्दा राम्रो भन्दै यही काम कहिलेकाहीं सिकाइरहेका हुन्थे । श्रीमान्ले सिकाउँदा उनलाई खासै वास्ता हुँदैनथ्यो । जानिएला नि भन्दै त्यति राम्रोसंग ध्यान दिने थिइनन् सम्झना । श्रीमान्ले सिकाउँछु भन्दा सिकिहालौं न त भन्ने भए पनि त्यो समयमा सम्झनाले हुन्छ नि त भने पनि हेरे जस्तो या गरे जस्तो मात्र गर्थिन् । ‘अहिले लाग्छ उहाँले छिट्टै हामीलाई छोडेर जानु रहेछ सायद, त्यसैले यो काम मलाई सिकाउने कोसिस गर्नुभएको रहेछ, ता कि परिआएको खण्डमा परिवारको जिम्मेवारी बहन गर्न तथा आत्मनिर्भर बन्न सकुन् ।’ भावुक हुँदै त्यसबेलाको क्षण सम्झिदै सम्झना भन्छिन्, ‘आफू त जानुभयो, तर मलाई आफ्नो सिप सिकाएर छोरा तथा परिवारको हेरचाहका लागि बाटो देखाएर जानुभयो ।’

एकातिर श्रीमान्ले संसारबाट बिदा लिनु र अर्कोतर्फ परिवारको जिम्मेवारी आफ्नो काँधमा आउनु । अन्य काम उनलाई आउँदैनथ्यो । काम गर्न नआए पनि दुई छोरालाई राम्रो शिक्षा दिनु थियो, सासुको हेरचाह गर्नु थियो । अन्य काम गरौं कि भन्ने सोंच नआएको होइन उनलाई । शोक भन्दा अगाडि उनको लागि परिवारको जिम्मेवारी थियो । त्यसैले सम्झनालाई आँसुमा डुबेर, रोएर बस्ने छुट थिएन । के गर्ने के नगर्ने भन्ने द्वविधा बिच उनलाई श्रीमानले आफ्नो काम सिकाएको याद आयो । श्रीमान् उनलाई सधैं भन्थे, काम सानो ठूलो हुँदैन र यो पुरुष र यो महिलाका लागि भनेर छुट्याइएको हुँदैन । यही भनाइले उनलाई उर्जा दियो र सोही का मगर्न प्रेरित ग¥यो ।

अनि श्रीमान्को सोंचलाई आत्मसाथ गर्दै अब सोही सोंचका साथ अगाडि बढ्ने उनले निधो गरिन् । प्लम्बिङ पेशामा लाग्नु भन्दा अगाडि उनको अगाडि पहाड जस्ता चूनौती थिए । सबैभन्दा ठूलो चूनौती उनका लागि समाज र परिवार थियो । समाजले के भन्ला र परिवारले साथ देलान् कि नदेलान् भन्ने द्विविधा बिच उनले २ जना छोराको भविष्यका लागि भए पनि प्लम्बिङ पेशा अपनाउने निधो गरिन् । सम्झनाको जे सोचेकी थिइन्, त्यही भयो आखिर उनको लागि सुरुआतमा परिवारका सदस्य चूनौती बनिदिए । प्लम्बिङलाई पेशा बनाउँछु भन्दा उनकी सासु, नन्द, अमाजुले अरु नै केही गर्ने कि भन्ने सुझाइ रहनु भएको थियो । ‘सायद उहाँहरुलाई समाजको डर थियो, यो काम नगर भनिरहनुभएको थियो मलाई,’ सम्झना भन्छिन्, ‘त्यो स्वभाविक पनि हो, नेपाली समाजले अहिले नारीले यस्तो काम गर्न सक्दैनन् भन्ने सोच्छन्, म त झन् प्राविधिक काममा हात हाल्न सुरु गरिरहेको थिएँ ।’

सासुसहित नन्द तथा आमाजुले यो काम गर्न हुँदैन भने पनि सम्झनालाई उनको देवरले भने साथ दिए । काम गर्नुपर्छ भाउजु, केही हुँदैन, नजाने सिक्दै गइन्छ भन्ने देवरको बोलीले उनलाई ठूलो राहत मिल्यो । ‘प्लम्बिङ गर्छु भन्दा देवरले बाहेक कसैले साथ दिनुभएन, देवरले भने काम गरेर खान लाज मान्नुहुँदैन भन्दै सधैं साथ दिनुभयो । यसका लागि म आभारी छु,’ उनी भन्छिन् । यता माइती पक्षले सुरुमा कुरा राख्दा हुँदैन भने पनि अलि समय पछि काम गरेर खानुपर्छ, जे गरेकी छौ त्यो राम्रो हो, काम गरेर अगाडि बढ्नुपर्छ भन्दै साथ दिन थाले । ढिलो भए पनि उनले परिवारको साथ पाइन् । सम्झनाका लागि यही ठूलो कुरा भएको उनी बताउछिन् ।

सुरुमा काम दिन अन्कनाउँथे, इन्कार गर्थे

नयाँ घर निर्माण हुँदा सम्झनाले प्लम्बिङको ठेक्का लिएर काम गर्छिन् । उनलाई काम सिक्न समय लागेन । केही श्रीमान्ले नै सिकाएका थिए, केही काम गर्दै गए पछि जान्दै गइन् । अहिले यो पेशासंग सम्बन्धित सबै काम आफैं गर्छिन् र सहयोगका लागि केही कामदार छन् । या यसरी भन्न सक्छौं, उनले केहीलाई रोजगारी दिएकी छिन् । सुरुमा कसैको घरमा प्लम्बिङ सम्बन्धी काम गर्न जाँदा उनलाई केटी भनेर पत्याउँदैनथे । मलाई काम आउँछ भन्दा समेत आउँदैन होला, झन् अन्य सामान बिगारि पो दिन्छौ कि भन्दै अन्कनाउँथे । त्यो समयमा भने उनलाई निकै गाह्रो भएको थियो । गाह्रो भए पनि उनलाई पछि हट्ने मौका थिएन । किनकि उनले काम नगरे छोराको भविष्य अन्धकार बन्न सक्थ्यो, परिवारलाई के जिम्मेवारी कसरी निभाउने भन्ने प्रश्न उठ्थ्यो ।

यो काममा लागिसकेपछि धेरै नमिठा पल भोगेकी छिन् सम्झनाले । रिपेयरिङका लागि जाँदा कसैले महिला भएकै नाताले फर्काइदिन्थे । कसैले साइट दिंदैनथे । काम गर्न सक्छु, भनेर बुझाउँदा समेत काम नदिएको अनुभव छ उनलाई । ‘यहाँ महिला भए पछि अगाडि बढ्नुपर्छ भन्ने भन्दा धेरै त हामीलाई पछाडि धकेल्ने हुने रहेछन् ।’ उनले भनिन्, ‘सुरुआतको समयमा महिला भएकैले धेरैले मेरो कामलाई विश्वास गरेनन्, सिप हुँदा र आत्मनिर्भर भएर खान्छु भन्दा समेत महिलाप्रति समाजको कमजोर सोचले गर्दा धेरै दुःख पाएँ ।’

समाजले पनि उनलाई यो पेशा अपनाउँदा राम्रो भनेनन् । कहिलेकाहीं राति घर आउँदा समेत आफैंसंग आएर किन ढिलो आएको, महिला भएर यस्तो काम गर्नु भन्दा छोडेर अन्य पेशा अपनाउनु राम्रो, राति ढिलो हुने पेशा किन अपनाएको भनिदिन्थे । तर, उनलाई यस्ता कुराले छोएनन् । निरन्तर आफ्नो कर्ममा लागिरहिन् । समाजको कुरा सुनेर परिवारले यो पेशा छोडिदेऊ भन्न थालिसकेका थिए । सम्झना भने आफ्नो पेशा र निर्णयमा अडिग थिइन् । टसको मस भइनन्, निरन्तर लागिरहिन् । किनकि उनलाई कसैको दया, करुणा या सहारामा बाँच्नु थिएन । ‘हामीलाई कुनै व्यक्तिले एउटै विषयमा धेरैपटक भन्न थाल्यो भने हो कि भन्ने हुन्छ र विश्वास गर्न थाल्छौं,’ उनले भनिन्, ‘मेरो परिवारलाई त्यस्तै भएको थियो । अहिले बुझिसक्नुभएको छ, समाजका कुरा सुन्नै छोड्नुभयो ।’

काम गरेर खान लाज मान्नु हुँदैन भन्ने सम्झना सोच्छिन् । सोच्नेले अनेकौं कुरा सोचे पनि समाजले के भन्छ भन्ने स्वयंम् आफूमा निर्भर रहने विषय भएको सम्झना बताउँछिन् । ‘सोच्नेले त जे पनि सोच्छन्, नराम्रै सोच्छन्, म त कसले के भन्छन् भन्ने विषयमा मतलब राख्दिन,’ उनी थप्छिन्, ‘काम गरेर खाने हो, आफूले गल्ती गरेर हिँड्दिन, काम गरेर खान लाज लाग्दैन ।’ समाजको कुरा सुन्न छोडेको सम्झनाले धेरै भइसकेको छ । आत्मनिर्भर छिन्, परिवारको जिम्मेवारी राम्रोसंग निभाएकी छिन् । छोरालाई शिक्षा प्रदान गर्न कुनै कसर बाँकी राखेकी छैनन् । उनको लागि महत्वपूर्ण विषय यही हो हालका लागि ।

यो काम नगर भन्नेहरु अहिले प्रशंसक

अहिले समय परिर्वतन भएको छ, उनलाई पेसामा लागेको देखेर धेरैले राम्रो ग¥यौ भन्छन् । कुनै बेला महिला भएर राति हिंड्न हुँदैन, यो पेशा छोडेर अर्कै काम गर भन्ने समाजले उनको प्रशंसा गर्छन् । सासुले पनि पुरै साथ दिन्छिन् । ‘सासु धेरै बोल्नुहुन्न तर, कुरा बुझ्दा मलाई लाग्छ अहिले उहाँले बुझ्नुहुन्छ ।’ यही पेशा अपनाएर उनले दुई बच्चा पढाइरहेकी छिन् । उनका छोराहरुले समेत उनको प्रशंसा गर्छन् । १३ र १० वर्षका छोराले उनको प्रशंसा गर्दा सम्झनालाई आफूले अपनाएको पेशा प्रति गर्व लाग्छ ।

उमेर सानो छ तर, कहिलेकाहीं छोराहरुले सम्झनासंग भावुक कुरा गरिदिन्छन् । त्यो समयमा भने उनलाई निकै दुःख लाग्छ । अनि आफैं भावुक बनिदिन्छिन् । ‘छोराहरुसंग कुरा गर्दा कहिलेकाहीं ममी तपाइँलाई दुःख गाह्रो भयो होला यो काम गर्दा, हामी ठूलो भए पछि काम गरेर तपाइँलाई हेर्छौं भन्छन्,’ उनले भनिन्, ‘कहिलेकाहीं बाबुहरुलाई आफ्नो बाबाको याद आउँदो हो, अनि बाबा नहुँदा हामी हेपियौं ममी भन्न आउँछन्, त्यो समयमा भने मलाई सम्हाल्न अलि गाह्रो हुन्छ ।’

कास्कीमा सम्झना एक्ली महिला प्लम्बर हुन् । सम्झना आफैं पनि दावी गर्दै भन्छिन् ‘म पोखरा आसपासको क्षेत्रमा एक्लो महिला प्लम्बर हो । अहिलेसम्म अन्य भेटेकी छैन ।’ हुन पनि सम्झना प्लम्बरका लागि आवश्यक पर्ने सामानको डिलरले पोखरामा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन्छिन् । उक्त कार्यक्रममा समेत कसैलाई भेटेकी छैनन् महिला प्लम्बरका रुपमा । सुरुआतका समयमा त्यस्ता कार्यक्रममा जाँदा उनलाई अप्ठ्यारो लाग्थ्यो । त्यसैले मास्कसहित पछ्यौराले मुख छोपेर सहभागी हुन्थिन् । कार्यक्रममा जाँदा डिलरमा काम गर्ने केही व्यक्तिले उनलाई प्रोत्साहन गर्थे यो पेसालाई निरन्तरता दिनुपर्छ भन्दै । त्यसपछि भने त्यो असहजता हट्दै गएको छ सम्झनाका लागि । त्यसैले कुनै त्यस्तो कार्यक्रम आयोजना भएको छ भने उनी भ्याएसम्म सहभागी हुन्छिन् । किनकि उनलाई प्रोत्साहन गर्नेहरु हरेक दिन बढिरहेका हुन्छन् ।

अरुलाई पनि काम सिकाउँदै सम्झना
सम्झनाको काम निरन्तर चलिरहेको छ । छोराहरुलाई विद्यालय पु¥याएर आफूले ठेक्का पाएको घरको साइटमा हरेक दिन पुग्छिन् । सिक्दै गरेका केही कामदारलाई काम गर्न नआउँदा आफैं काम गर्न अग्रसर हुन्छिन् । नजानेको सिकाइदिन्छन् । उनको दिनचर्या यसरी नै बितिरहेको हुन्छ । बाहिर साइटमा काम गरेर आए पनि घरमा आएर छोराहरुको स्याहार सुसार गर्ने उनको दिनचर्या हो । उनी यही दैनिकीमा रमाइसकेकी छिन् । यसमा सम्झना आफ्नो लागि खुसीका थोरै पल भेट्छिन् । साँझ परेपछि जब सम्झना घर पुग्छिन्, अनि छोराहरुले मुस्कुराएर स्वागत गरिदिन्छन्, त्यही मुस्कान उनको लागि दिनभरी काम गर्दा भएका तनाव मुक्त गराउने औषधी बनिदिन्छन् । अनि सबै तनाव भुलिदिन्छिन् उनी ।

उनी शोकलाई शक्तिमा बदलेर आत्मनिर्भर छिन् । छोरा, सासु तथा आफ्नो जिम्मेवारी आफैं निभाइरहेकी छिन् । सुख दुःख उनलाई यही पेशामा छ । तर, कहिलेकाहीं काम गरेर आत्मनिर्भर हुँदा समेत अहिले घरबाट विवाहको लागि दबाब आउँछ । परिवारले विवाह गर्नुपर्छ, जीवन लामो छ, भोलि छोराहरुको समेत आ–आफ्नै जीवन हुन्छ, उनीहरुको आफ्नै परिवार हुन्छ अनि एक्लै पर्छौ विवाहका विषयमा सोच्नुपर्छ भनिरहेका हुन्छन् । तर, सम्झनालाई भने विवाह गर्नु छैन । ‘घरका सदस्यले अब एक्लै बसेर हुँदैन, विवाहका विषयमा सोच्नैपर्छ भनेर बारम्बार भनिरहेका हुन्छन्,’ उनी भन्छिन्, ‘तर मलाई भने विवाह गर्नु छैन अब । दुई छोराको भविष्य बनाउनु छ, उनीहरुलाई राम्रो शिक्षा प्रदान गर्नु छ । बस्, मेरो चाहना यत्ति हो ।’

अब यही पेशा निरन्तर
सम्झना यही पेशाबाट सन्तुष्ट छिन् । यही पेशाले उनलाई गास, बास र कपास बाहेक अत्यावश्यक सबै चिज पु¥याइदिएको छ । छोराहरुलाई शिक्षा दिन कसैको भर पर्नु परेको छैन । श्रीमान्ले सिकाइदिएको पेशा आज उनलाई बाँच्न र आत्मनिर्भर हुने राम्रो माध्यम बनेको छ सम्झनाका लागि । यही उनको लागि महत्वपूर्ण विषय हो । उनी अब यो पेशा कुनै पनि हालतमा छोड्न तयार छैनन् । उनको हालको दैनिकी उनलाई खुसी हुने माध्यम बनिदिएको छ । ‘समाजले के भन्छ भन्ने मेरो सरोकारको विषय होइन, यो पेशाबाट मैले धेरै चिज प्राप्त गरेकी छु, काम गर्न मलाई लाज र अफ्ठ्यारो लाग्दैन ।’ निर्धक्क र गर्वका साथ उनी भन्छिन्, ‘त्यसैले मलाई मेरो यो पेशाप्रति गर्व छ, यसलाई म निरन्तरता दिनेछु ।’

२०७९, ४ बैशाख आईतवार ०८:३६
कथालिका नयाँ कथा
कथालिका