शताब्दी घर: सभ्यता चियाउने आँखीझ्याल – कथालिका

शताब्दी घर: सभ्यता चियाउने आँखीझ्याल

  • शताब्दी घरमा साँस्कृतिक संग्राहालय, लाइब्रेरी, अतिथि आवास गृह, कलाको आवासीय कक्षा (आफ्टर स्कूल, मास्टर क्लास) जहाँ वाङ्मय (ललितकला) का हर विधाका कक्षा र सिर्जनशील कर्म गर्नेहरु आएर सिक्न सिकाउन सक्नेछन् । छुट्टै ज्ञानशाला, कला मन्दिर हुनेछ । 

शहरको सुन्दरता फुंग उडेको छ । अधिक शहर घुम्दा आफ्नै आँखामा जालो लागेजस्तो आभाष हुन्छ । गाउँहरु वसन्त ऋतुमा पनि उजाडजस्ता लाग्छन् । अधिकांश तन्नेरी सन्तानहरु परदेश लागेपछि गाउँ वृद्धाश्रमजस्ता देखिन्छन् । पुरानो पुस्ता गाउँ मोहले जबरजस्त बसिरहेका त छन् । तर, गाउँघरको ‘अर्गानिक’ स्वाद गाउँमा छैन । मौलिक संस्कार, संस्कृति, चालचलन, रीतिरिवाज र सभ्यताहरु क्रमशः लोप हुँदै गएका छन् । आँखै अघिको यस्ता उदेकलाग्दा दृश्य र घटनाले बुढापाकाहरुलाई आहत तुल्याइरहेछ ।

पहिलेका शहरहरु अहिले शहरजस्ता छैनन् । न त अहिलेका गाउँहरु गाउँजस्ता रहे । शहर कंक्रिटको बगरजस्तो देखिन्छ । सिमेन्टी घर रसंरचनाहरुले कुरुप हुँदै गएको छ । उस्तै कुरुप हुँदै छ मानिसहरुको सोच पनि । अनि प्रदूषण, बेथितिले आक्रान्त बनिरहेको छ । यो व्यस्त र अस्तव्यस्त शहरमा पवित्र सोचले रहरलाग्दो शहर बनाउने बारे सोच्ने फुर्सद कसलाई !?
०००
वरिपरि तपस्वीजस्ता लाग्ने पहाडहरू । पन्चासे, डहरे देउराली, कार्कीनेटा, बलेवा पहाड, हम्पाल पर्वत । यिनै पाखापर्वतले घेरिएको, दायाँबायाँ प्रसिद्ध मोदी र कालीगण्डकी नदीले सिञ्चन गरेको एक पहाडी थुम्को हो– कुश्मा बजार । कुश्मा क्षेत्र प्राचीन समयमा कुशैकुशको बगैँचाले भरिपूर्ण थियो अरे । त्यसैले यसलाई कुशुमपुर भन्ने गरिन्थ्यो । र, पछि यो शब्द अपभ्रंश भएर कुश्माचौर हुँदै कुश्मा नाम रहन गयो ।

पौराणिककालमा माता पार्वतीको जन्म भएको विश्वास मानिएको पाङ, कुशैकुशको बगैँचा भएको कुशुमपुर (कुश्मा) देखि वैदिकसाहित्यमा वर्णित प्रसिध्द पन्चासेको आधार क्षेत्रका रुपमा रहेको आर्थर डाँडाखर्कसम्मको भूभागमा फैलिएको छ-कुश्मा ।

कुनै बेलाको पौराणिक हिस्ट्री–मिस्ट्री बोकेको कुशुमपुर नगरी अहिले बनेको छ–आधुनिक शहर । जसलाई जोडेको छ राष्ट्रिय गौरवको आयोजना पोखरा–बागलुङ (मध्यपहाडी) लोकमार्गले । अनि कालीगण्डकी करिडोरले । र यही शहरको आँगन हुँदै हुँइकिन्छन् दैनिकजसो हजारौँ सवारी साधन । ती साधनमार्फत चलायमान छन् लाखौँ यात्रुहरु । उनीहरु रमाउँदै लाग्छन् गन्तव्यतिर ।
कुश्मा धौलागिरिको प्रवेशद्वार पनि हो । कुश्मा नगरको प्रख्यातिमा यहाँ अवस्थित विभिन्न गुफाहरूको उल्लेख्य महत्व छ । हाल कुश्माको परिचय अग्ला, लामा झोलुङ्गे पुलहरूसँग पनि जोडिएको छ । यी पर्यटकीय महत्वका पुलहरुले पनि यहाँ ठूलो समृद्धि ल्याएका छन् ।

कुश्मा नगरभित्र उजागर नभएका अनेकौँ जैविक, साँस्कृतिक विविधता छन् । प्रचार हुन नसकेको प्राकृतिक सौन्दर्य खानी छ । यिनको अध्ययन, अवलोकनका लागि नयाँ गन्तव्य स्थलका रूपमा कुश्मा अगाडि बढिरहेको छ । यिनै ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक एवं भौगोलिक सम्पदा र सम्भाव्यता शुश्मा खास विशेषता हुन् । जसको जगमा टेकेर समुन्नत विकास सिँगार्न सकिन्छ ।
०००
कुश्मा नगर आफैँमा चित्रमय भूगोल लाग्छ । भड्किलो आधुनिकता, बिलासी जीवनशैली र दुरगामी सोचको अभावले देशका अधिकांश शहर कुरुप भइरहेका छन् । कंक्रिटका भौतिक संरचनाले मात्र ती शहरको भव्यता धान्न सकिरहेको छैन । पुराना ऐतिहासिकता, मौलिकता बोकेका घर, अरु सभ्यतासँग जोडिका सम्पदाहरु कैयौँ भत्किएर भग्नावशेष अवस्थामा छन् । कति त कंक्रिट मोहले जबरजस्त भत्काइएका छन् । हामी हाम्रो आफ्नोपन बिर्सिंदै गएका छौँ । तर, कुश्माको यो शहरभित्र अझै पनि एउटा बलियो ऐतिहासिक सभ्यता बोकेको, पहाडे वास्तुले सुसज्जित एउटा नमुना घर ठडिरहेको छ । मानौँ ऊ अनेक परकम्प खपेर पनि बाँचेको छ । जसलाई केही समय यता नाम दिइएको छ– ‘शताब्दी घर’ ।

तीन सय वर्ष पुरानो त्यो घर
पर्वतको कुश्मा नगरपालिका– ६ माझगाउँमा अवस्थित छ ‘शताब्दी घर’ । यो घरले अनेकन्र मौलिकता बोकेको छ । ३ सय वर्षअघि निर्मित यो घर ठूलो ढुङ्गे आँगन, पिढी, मझेरी, आँटी, माइली आँटी, बार्दली, सिरानतलामा फैलिएको छ– डेढ रोपनी जग्गामा । यस घरको आकर्षण भन्नु नै खास पहाडे वास्तुकला हो । जसलाई हेर्दा गाउँघरको काल्पनिकी तरोताजा हुन्छ ।

शताब्दी घरको आँगन सिँगार्दै स्थानीय महिला ।

घरको रोचक र स्मरणीय पाटो के छ भने यति पुरानो घर भएर पनि यसका काठ, झ्याल–ढोका, गाह्राहरु अझै पनि दुरुस्तै छन् । अब्बलछन् । यो घर ठ्याक्कै कहिले बन्यो त ? यो भने अझै यकीन छैन । यद्यपि, यो घर ३ सय वर्षअघि नै निर्माण भएको हो भन्ने केही प्रमाण तथा आधारहरु भने छन् । पर्वतका ईश्वर गिरी, जसले यो घर बनाएको मानिन्छ । उनका बुवा धनराज गिरी काठमाडौँ दहचोकबाट मुक्तिनाथ धाम दर्शन गरेर फर्किने क्रममा कुश्मा नगरमा बस्न योग्य जमिन र वस्ती देखेपछि उनैले त्यहाँ शिवालय स्थापना गरेर वसोवास गर्न थालेका थिए ।

कुश्मामै बस्ने क्रममा उनले स्थानीय पुरी थरकी एक स्त्रीसँग बिहेवारी गरी गृहस्थी जीवन बिताउन थाले । ततपश्चात उनका पाँच सन्तान भए-जेठो छोरा नरसिंह गिरी, माइलो कालु गिरी, साइलो दौलत, काइलो प्रताप र कान्छो ईश्वर गिरी । उनै कान्छो सन्तान ईश्वर गिरी जिजुहजुरबुवाले अहिलेको ‘शताब्दी घर’ बनाएको राम गिरी बताउँछन् ।

शताब्दी घरमा नाँच्दै टिकटक बनाउने क्रममा युवतीहरु ।

यो घर कुश्माका रैथाने गिरी परिवारको एक्लो बिरासत हो । जहाँबाट सात पुस्ता गिरीहरू विस्तार र पुस्तान्तरण भए । अर्को यो घरनिर्माण गर्नुअघि नरसिंह गिरीकी बुहारी राधिका गिरीले शिवालय मन्दिर परिसरमा प्रतिस्थापन गरिएको घन्टमा पनि केही संकेत अंकित छ । यो अभिलेख पनि ‘शताब्दी घर’ करिब सवा तीन सय वर्षको इतिहास बोकेको घर हो भनी पुष्टि गर्ने आधार रहेको कुश्मा कला परियोजनाका अध्यक्ष आरके अदीप्त गिरी बताउँछन् ।

यो घर अहिले पुस्तान्तरण हुँदै अंशबन्डाका क्रममा राम गिरीको नाममा आएको छ । ‘हाम्रो यो बुढो घर हो । यही हाम्रा सात पुस्ता हुर्किए। बिहेवारी भयो । क्रमशः छुट्टीभिन्न पनि भइयो । एउटै घरमा अट्ने कुरा पनि भएन,’ अहिलेका घरधनी राम गिरी भन्छन्, ‘सबै भाइले पक्की घर बनाएका छन् । मैले पनि छुट्टै घर बनाएर यो घर भाडामा लाएर बसेको थिएँ । आरके अदिप्त बाबुले आफ्नो मौलिक र नविन सोचसहित यो घर फरक हिसाबले संरक्षण गर्छौं भनेर आएपछि दिने निर्णयमा पुगेको हुँ ।’

शताब्दी घर अहिले १० वर्षका लागि मासिक १५ हजार भाडामा दिइएको उनले बताए । यसपछि संस्था (कुश्मा कला परियोजना)ले राम्रो काम गर्दै गए सम्झौतालाई निरन्तरता दिइने गिरीको भनाइ छ ।

बुटवलबाट ८ दिन लगाएर ल्याइएको थियो जस्ता

यो घर जुन समयमा बन्यो, त्यतिबेला न त सडक सञ्जाल थियो, न सवारी साधनको पहुँच नै । सडक नभएपछि खाद्यान्नदेखि अरु अत्यावश्यकीय सामान पनि बटौली बजार पुगेर ल्याउनुपर्ने बाध्यता थियो । शताब्दी घरमा छाइएको टिनका जस्तापाता बुटवलबाट ल्याइएको रहेछ । त्यसबेला ८ दिनको पैदल यात्रामा मान्छेलाई बोकाएर ल्याइएको राम गिरी सुनाउँछन् ।

शताब्दी घरमा सामूहिक तस्वीर खिचाउँदै आगन्तुक पाहुना ।

त्यसपूर्व यो घर घरायसी खरले छाइएको थियो । ‘काठ भने त्यस समयमा यही छेउछाउमा जंगल रहेछ । त्यही काटेर प्रयोग गरिएको रे । निकै मेहेनतका साथ बनाइएकाले अहिले पनि बलियो छ,’ घरको ढाँचा पनि गजबको छ । उनी थप्छन्, ‘पुख्र्यौली घर भएकाले माया तथियो, तर राम्रोसँग मर्मत र संरक्षण गर्न सकेका थिएनौँ, अहिले पुरानो घरको संरक्षण र यसका लागि कुश्मा कला परियोजनामार्फत भइरहेको प्रयास देखेर हामी धेरै नै खुसी छौँ । अहिले घरले नयाँ जीवन पाएको छ । घर सबैका लागि फरक गन्तव्य बनेको छ ।’

पञ्चायतको अड्डा–अदालत बसेको घर
जतिबेला मुलुकमा पञ्चायती शासन व्यवस्था विद्यमान थियो, त्यही बेला पर्वतको कुश्मामा जिल्ला सदरमुकाम ल्याइयो । यो वि.सं. २०२४ साल तिरको कुरा हो । जतिबेला पर्वत जिल्ला पञ्चायतको सभापति थिए अमृतप्रसाद जोशी । कुश्मा बजार कुनै एक गाउँजस्तो थियो । जहाँ पूरै खरका घर थिए । टिनले छाएको फरक र आकर्षक घर यही मात्र रहेछ । त्यतिबेलाको तत्कालीन जिल्ला पञ्चायत सभापति अमृतप्रसाद जोशी र आफ्ना बुवा बलभद्र गिरी बीचको संवाद स्मरण गर्दै राम गिरी भन्छन्, ‘कुश्मामा सबैजसो खरको घर भयो, कान्छा बा मलाई घर दिनुपर्यो । कार्यालय राख्ने राम्रो ठाउँ भएन भन्नु भएपछि तत्कालीन पञ्चायत सरकारको कार्यालय नै राखियो, ३ वर्ष बढी राखिएपछि अर्कै व्यवस्था गरियो ।’

फिरन्ते गिरी : जसले सोचे शताब्दी घर
आरके अदीप्त गिरी निस्फिक्री, स्वतन्त्र मुद्रामा देश घुम्ने, देश बुझ्ने र रम्ने मान्छे हुन् । यतिमा मात्र उनी सीमित छैनन्, प्रकृति, पर्यावरण, कला–साहित्य, संस्कृति, सभ्यता र आफ्नो मौलिकताका बारेमा अध्ययन– चिन्तन गर्ने पात्र हुन् । उनको असली परिचय एक कुशलफोटो पत्रकार, सशक्त कवि–लेखक, गजलकार र स्वतन्त्र पर्यटन तथा विकास परामर्शदाता हो ।

उनी आफ्नो घुमन्ते जीवनलाई ज्ञानको ठूलो श्रोत ठान्छन् । पर्यटन र विकासमा स्नातकोत्तर गरेका गिरीले अध्ययनको सिलसिलामा दर्जनभन्दा बढी विदेशी राष्ट्रहरूको पनि अनुभव लिएका छन् । उनी दक्षिण एसियाली विश्व विध्यालयको छाता संगठन (SASF) का पूर्व महासचिव पनि हुन । पछिल्लो केही वर्षयता उनले कालीगण्डकी दोहन विरुद्व ’कालीगण्डकी बचाऔ अभियान’ साझा र स्वायत्त ढङ्गले चलाइरहेका छन् । र समाजका यावत बेथिति विरुध्द लेखी–बोली लडिरहेका छन् ।

शताब्दी घर र कुश्मा कला परियोजनाका मुख्य अभियन्ता आरके अदीप्त गिरी

बागलुङको जैमिनीमा जन्मिएका आरके कुश्मा बजारमै हुर्के बढेका र पढेका पात्र हुन् । उनले यो सेरोफेरोका सम्भावना नजिकबाट नियालीरहेका छन् । पर्वत र यसको सदरमुकाम ’कुश्मा’ कथैकथा, अनेकन ऐतिहासिक गाथैगाथाले भरिएको उनी बताउछन् । ‘नेपाल गाउँ नै गाउँले बनेको देश हो । मौलिकता हाम्रो पहिचान हो । कला, संस्कृति, सभ्यतामा हामी निकै धनी छौ । यी हाम्रा ठुला वैभवहरु हुन्,’ उनी भन्छन्, ‘यो देश देशावर डुल्दा जेजस्ता जटिलता, संकट निम्तिदै गरेको देखे, त्यसले मलाई केही सोच्न र अग्रसर बनेर कदम उठाउन बाध्य बनायो । यही अनुक्रममा ’शताब्दी घर’ र कुश्मा बजारको मौलिकता फर्काउने र बचाउने गरी कुश्मा कला परियोजनाको जन्म भयो ।’

दशकपछि म आफ्नै घर–आँगन फर्किएको छु उनी सगर्व आफूलाई सुनाउँछ्न-‘अब कुश्मा नगरको बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक, बहुप्राकृतिक विशेषतालाई व्यावहारिक ढङ्गले वर्गीकरण गरी हामी पर्यटकीय गन्तव्य स्थलको रुपमा कुश्मालाई विकास गर्दैछौँ ।’ स्थानीयको साथ मिलिरहेको छ, यद्यपि सरकारी स्तरबाट अपेक्षाकृत साथ मिल्न सकेको छैन ।’ समाज र तीन तहको सरकारमा बस्नेहरुले अझै पनि कला, साहित्य, संस्कृति, प्रकृति र सभ्यताको महत्वलाई गहिरोसँग बोध गर्न नसकेकोमा उनको गुनासो छ ।

शताब्दी घरलाई सभ्यता जोड्ने सेतु बनाउने योजना
गाउँमै पनि पुराना मौलिकता बोकेका घरहरु भेटिन मुश्किल पर्न थालेको छ । शहरमा त अपवाद मात्रै छन् । पर्वतमा भएको शताब्दीघरलाई सभ्यता चियाउने आँखीझ्याल बनाउने सोच रहेको मुख्य अभियन्ता आरके अदिप्तको सुन्दर सपना छ । जहाँ साँस्कृतिक संग्राहालय, लाइब्रेरी, अतिथि आवास गृह, कलाको आवासीय कक्षा (आफ्टर स्कूल, मास्टर क्लास) जहाँ वाङ्मय (ललितकला) का हर विधाका कक्षा र सिर्जनशील कर्म गर्नेहरु आएर सिक्न सिकाउन सक्नेछन् । शताब्दी घरमा छुट्टै ज्ञानशाला, कला मन्दिर हुनेछ । जहाँ पर्वत कुश्माका नखुलेका पाटाहरुका बारेमा विमर्श गरिनेछ ।

शताब्दी घर र त्यहाँ रहेका परम्परागत सामग्रीको अवलोकन गर्दै साधु सन्तहरु ।

नेपाली समाजको जेजे मौलिकता, पहिचान थिए । ती सबै मेटिदै जान थालेका छन् । यिनै कुरा नरहे मौलिकता, सभ्यता, सम्पदाबारे भोलिको पुस्तालाई के हस्तान्तरण गर्ने ? के बुझाउने ? यति अमूल्य गहना र सम्पतिलाई इतिहासमा सीमित हुन नदिने प्रणका साथ कामगरिरहेको गिरीको भनाइ छ । उनी थप्छ्न-’कुश्मा आफैँमा मौलिक विकास खोजिरहेछ । जनजीवनसँग जोडिएका हरेक साँस्कृतिक सम्पदाको हामी संरक्षण र खोजविन गर्नेछौँ । हामी स्थानीय स्रोत–साधनको अधिकतम परिचालन र व्यवस्थापनबाट कुश्माको दीगो र संस्थागत विकास चाहन्छौँ ।’

पर्यावरणको चिन्तन गरिरहने गिरीको अग्रसरतामा कुश्माको शताब्दीऔं पुरानो ‘शताब्दी घर’ लाई शानदार र सुन्दर बनाएर एउटा इतिहासलाई वर्तमानसँग जोड्ने काम गरेको कान्तिपुर दैनिकमा कार्यरत पत्रकार दीपक सापकोटा बताउछन् । ३ सय वर्ष पुरानो घर भ्रमणले पुरानो समय र सभ्यतासँग सयर गराउने उनको भनाइ छ ।

सपना र योजना छ, अर्थ छैन !
’शताब्दी घरः अ हेरिटेज होम’ जो अहिले चर्चामा छ, त्यो कुश्मा कला परियोजना मार्फत सञ्चालित छ । यो संस्था जिल्ला प्रशासन कार्यालय पर्वतमा गैरनाफामुलक संस्थाको रुपमा दर्ता छ । कुश्मा कला परियोजना झट्ट सुन्दा कुनै दातृ निकायको सहयोगमा सञ्चालित योजना, परियोजना जस्तो सुनिन्छ, देखिन्छ । तर, अहिले नितान्त स्थानीय स्तरमै आफ्नै सीमित स्रोत साधन प्रयोग गरेर कुश्मा नगरलाई सर्वत्र नयाँ गन्तव्यका रुपमा चिनाउने गिरी बताउछन् ।

शताब्दी घरको माथिल्लो तलामा गफिदै आगन्तुकसँग अभियन्ता आरके अदीप्त गिरी ।

’कुश्मा सेरोफेरोको अद्वितीय भू-स्वरूप, प्राकृतिक बनावट, पर्यावरणीय संरचना, जीवजन्तु, वनस्पति तथा साँस्कृतिक वैभवहरूको अध्ययन–अनुसन्धानमाथि पनि हामी काम गर्नेछौँ । मौलिकता र सौन्दर्यता गुमाउदै गरेको कुश्मा बजारलाई मौलिकताको शहरकै पहिचान दिने मात्र होइन, यसलाई साहित्य– कलाको संगम बनाउन खोजिरहेछौँ’ गिरी आफ्नो महत्वकांक्षी स्वप्नसोच र योजना सुनाउँछ्न। ’आज विकासको नाममा मठ–मन्दिर, पाटी–पौवा, नदी– नाला, पानी–पँधेरो, चौतारो मेटायौँ, भोलि हामी मेटिन्छौँ । हाम्रो सभ्यता, संस्कृति र पहिचान पनि हामीसँगै मेटिनेछ । तसर्थ आजै सचेत र सजग बनौँ, भोलिका लागि साचौँ,’ गिरी गम्भीर सुनिए ।

‘हामीसँग कला, साहित्य, संस्कृति, सम्पदा सबैलाई जोडेर फरक हिसाबले काम गर्ने अनगिन्ती सोच र सपना छ, तर बजेट छैन,’ उनी थप्छन्, ‘स्थानीय सरकारसँग समन्वयमा काम गरौं भने पनि सरकारी झञ्झटिलो प्रक्रिया र सम्बन्धित निकायको इच्छा शक्ति अभावमा तिव्रतर गतिमा काम भएको छैन, अहिले हामी आफैले स्वयंसेवी हिसाबले खर्च जोहो गरेर काम गरिरहेका छौ ।’

शताब्दी घरमा रहेको भकारी र मान्द्रो हेर्दै पाहुना ।

अब शताब्दी घरको काम सकेर क्रमशः कुश्मा नगरलाई के कसरी हुन्छ ’ब्यूटीफिकेसन’ थप्ने ध्याउन्नले कलाका विविध आयाममा गृहकार्य गरिरहेका छौं । सँगै कुश्मालाई ’बाह्रै महिना, बाह्रै मेलाजात्रा’को सहरका रुपमा विकास गर्दैछौँ ।

समृद्धशाली कुश्मा नगरलाई कस्तो बनाउने वा कस्तो हुनबाट जोगाउने, त्यो हाम्रै सोचको परिणति हो । त्यसैले अबका योजना बनाउँदा कला सापेक्ष र विवेकी दृष्टि अपनाउनु पर्नेमा गिरीको जोड छ । तीन तहको सरकारले आफ्नो नेतृत्वमा गर्ने काम राज्यका तर्फबाट नभएपछि स्वयंसेवी हिसाबले काम गर्ने अभियान थालेको कुश्मा कला परियोजनाले बताएको छ ।

२०७९, ८ बैशाख बिहीबार ०४:४६
कथालिका नयाँ कथा
कथालिका