बन्दीपुरका महिला भरिया – कथालिका

बन्दीपुरका महिला भरिया

  • पहाडकी रानी भनेर चिनिने बन्दीपुरको मुख्य क्षेत्र भित्र सवारी साधन सञ्चालनमा निषेध छ । जसले बजार भित्रको ऐतिहासिकता, सुन्दरता र मौलिकता मात्र जोगिएको छैन, बाध्यता या आवश्यकताले दैनिक भारी बोकेर जीवन धान्ने श्रमिक महिलालाई आर्थिक आर्जन गर्ने राम्रो अवसर समेत बनेको छ ।

सिमली छायामा बसी भरिया लामो श्वास फेरेको
उमेर भइसक्यो असी, झन् ठुला दुःखले घेरेको

जनवादी गायक जीवन शर्माले दशक अघि गाएको भरियाको दुःख, संघर्ष र पीडाले भरिएको यो गीतले देशका समग्र किसान, श्रमिक, मजदुर र भरियाहरुको जीवन्त कथा बोल्छन् । यो गीत अहिले धेरै पुरानो भइसक्यो । भारी बोकेर असिन पसिन हुँदै भारी बोक्ने भरियाहरु पनि कतिले यो धर्तिबाट विदा लिइसके, कतिले समयको बदलावसँगै पेशा बदले । नेपाली समाजमा भारी बोकेर हिँड्नेहरु क्रमशः कम हुँदै गए । अर्थात् यसो भनौ, सडक र सवारीको पहुँचले उनीहरुको बाध्यता या रोजीरोटी खोसियो । दुरदराजका गाउँहरुमा सडक पुगेसँगै भरियाको भारी बोक्ने पेशा संकटमा प¥यो । तर, केही ठाउँहरु अझै स्थानीयको जागरुकता र अग्रसरतामा मोटरबाटो र सवारी साधनको पहुँचबाट टाढा राखिएको छ । जसले भारी बोकेर जीविका चलाउनेहरुलाई राहत मिलिरहेको छ ।

यस मध्येको एक स्थान हो बन्दीपुर अर्थात् पहाडकी रानी । सुन्दर तथा पर्यटकीय गाउँ बन्दीपुरका विषयमा अनेकन कथा, कविता, किस्साहरु छन् । जो त्यहाँ पुगेर रम्नेहरुले कथेका हुन् । प्राचीन तथा कलात्मक शैलीमा बनेका घर, ढुंगाले छापिएको बाटो, शान्त अनि सुन्दर बन्दीपुर । त्यहाँ पुग्दा सुन्दर, सफा, मौलिकता, पुराना वास्तुकलाको दृश्यावलोकनले मन आनन्दित तुल्याउँछ । आन्तरिक पर्यटक होस् या बाह्य । एकपटक बन्दीपुर पुग्ने चाह र सपना अवश्य हुन्छ ।

शहरको कोलाहल तथा सवारी साधनको आवाज, मान्छे भिडभाड देखेर अवाक भएर शान्त, स्वच्छ, ग्रामीण बातावरण खोज्ने व्यक्तिलाई बन्दीपुरले पृथक अनुभूति दिलाउँछ । बन्दीपुरका भित्री सडक र गल्लीहरुमा गाडी चल्दैन । धेरै पहिलेदेखि नै गाउँलेले यहाँको मौलिकता जोगाउन सवारी निषेध गरेका हुन् । बन्दीपुर घुम्न जानेले लिएर जाने तथा अन्य सार्वजनिक सवारीसाधनलाई समेत केही तल गाउँकै छेउमा पार्किङको व्यवस्था मिलाइएको छ । त्यसैले, बन्दीपुरमा सरसामान लैजान भारी बोक्नेहरु र यसबाटै जीविका चलाउनेहरु पनि छन् । यो सुन्दर पर्यटकीय क्षेत्र बन्दीपुरको लुकेको कथा हो । अर्थात् रम्ने रमाउनेहरुका बिचमा ओझेलमा परिरहेको श्रमिक महिलाहरुको कथा हो ।

४१ वर्षीया शान्ती सुनार पहाडी रानी भनेर चिनिने तनहुँको बन्दीपुरमा प्रायः भारी बोकेर विभिन्न होटलमा सामान पु¥याइरहेको अवस्थामा भेटिन्छिन् । यो उनको दैनिकी कर्म हो । भारी बोकेर उनले दिनमा ६ देखि ७ सय रुपैयाँसम्म कमाउँछिन् । कहिले भने खाली हात बस्नुपर्ने हुन्छ ।

यतिमात्र होइन, उनको अर्को पेशा चटपट व्यवसाय पनि हो । चटपट व्यवसायबाट भने उनले दैनिक कम्तीमा ९ सयदेखि १ हजारसम्म कमाउँछिन् । सुरुमा पहिले–पहिले चटपट व्यवसाय र सामानको भारी बोकेर होटलमा पु¥याउने काम उनको नै थियो । तर, अहिले चटपट व्यवसायलाई उनकी छोरीले सम्हालेकी छिन् । सोही कारण उनलाई बन्दीपुरमा भारी बोकेर होटलमा पु¥याउने काम गर्न सहज भएको छ । र यसले थप आम्दानी मार्फत गुजारा चलाउन पनि सहयोग मिलेको छ । बन्दीपुर गाउँपालिका २ मोहोरियाकी उनलाई आजभोलि यही काम प्यारो लाग्छ ।

चटपट व्यवसाय र भारी बोक्ने काम सुरु गर्नुभन्दा अघि शान्तिले आफ्नो श्रीमान्संगै ज्याला मजदुरीमा काम गर्थिन् । स्वास्थ्यमा समस्या आएपछि उनले ज्याला मजदुरीको काम छोडिन् । तर, घरमा बस्न उनको मन मानेन । त्यसैले आजभोलि उनी कहिले चटपट बेचिरहेको र कहिले भारी बोकिरहेको अवस्थामा बन्दीपुरमा भेटिन्छिन् । उनी आफू अँगालेको पेशामा खुसी पनि छिन् । छोराछोरीलाई आवश्यक केही सामान किन्नु परेमा श्रीमान् तथा परिवारका अन्य सदस्यको सहयोगको अपेक्षा उनलाई गर्नु पर्दैन । आफैं सक्षम, आत्ननिर्भर बनेकी छिन् । ‘बिरामी भएपछि ज्याला मजदुरीको काम छोड्नुप¥यो ।’ शान्ति भन्छिन्, ‘घरमा बसिरहन मन लागेन, त्यसैले अहिले भारी बोक्ने र चटपट बच्ने काम गर्छु ।’ घरकाले कहिलेकाही काम नगरेर आराम गर्न सुझाव नदिएका होइनन् । उनलाई भने काम गर्न पाउँदा नै आनन्द लाग्छ । ‘त्यसै बस्न त म सक्दै सक्दिन, त्यही माथि परिवारको जिम्मेवारी प्रायः मैले नै पुरा गर्नुपर्ने हुन्छ ।’ शान्ति गर्वका साथ भन्छिन्, ‘त्यसैले भारी बोक्छु र खुसी पनि छु ।’

यहाँ कुनै होटलमा खाद्यान्न लगायतका विभिन्न सामान आवश्यक परेको खण्डमा पसलबाट फोन आउँछ र भारी बोक्ने पसलमा पुग्छन् । दिनभरीमा कति सकिन्छ, उनीहरुले सोही अनुसार भारी बोक्छन् । भारी बोक्ने पेसा त्यहाँका स्थानीयका लागि आम्दानी गर्ने स्रोत बनेको छ आफ्नै स्थानमा ।
शान्ति मात्र होइन, बन्दीपुरमा अन्य महिला समेत त्यसरी नै भारी बोकेर त्यहाँका होटलमा सामान ओसारिरहेको भेटिन्छन् । भारी बोकेर होटलमा सामान पु¥याए बापत उनीहरुले ज्याला पाउँछन् । पुरुष पनि भारी बोक्ने काममा नभएका होइनन् । तर, बन्दीपुरमा पुरुष भन्दा महिला धेरै भारी बोक्छन् । दिनमा कति भारी बोक्न सक्छन्, त्यही अनुसार उनीहरुको कमाई हुन्छ । भारी अनुसार कमाई हुने भएकाले उनीहरु प्रायः दिनभर काम गर्छन् । कहिले दिनभरी नै बोक्छन् त, कहिले काम नै हुँदैन । त्यस्तो अवस्थामा उनीहरु ज्याला मजदुरी गर्न जान्छन् ।

सोही स्थानका होटलमा भारी बोक्छिन् गोममाया थापा पनि । उनी भने शान्तिले जस्तो सधैं भारी बोक्दिनन् । प्रायः ज्याला–मजदुरीको काममा व्यस्त हुने गोमा फुर्सद भयो भने यो काम गर्न पुग्छिन् । उनलाई पनि कुनै होटलका लागि सामान आवश्यक प¥यो भने फोन आउँछ अनि भारी बोक्न पुग्छिन् । ४० वर्षीया गोममायालाई फुर्सदको समय घरमा बसेर व्यतित गर्न फिटिक्कै मनले मान्दैन । त्यसैले त ज्याला–मजदुरीको कामबाट फुर्सद भयो कि भारी बोक्ने काम गर्न लागिहाल्छिन् । यो काम गर्न उनलाई परिवारबाट त कुनै अवरोध छैन । परिवारले नै काम गर्न लाज मान्नु हुँदैन भन्छन् । उनका श्रमिान् पनि ज्याला मजदुरीको काम गर्छन् । श्रीमान्को कमाईबाट मात्र घर व्यवहार नचल्ने भएकाले काम गरेको गोममाया बताउँछिन् ।

भारी अनुसारको पैसा पाइने भएकाले उनले दिनभरी यो काम गर्छिन् । ‘श्रीमान्को कमाइले मात्र पुग्दैन, घर व्यवहार चलाउनै प¥यो, खर्च धान्नै प¥यो ।’ उनी भन्छिन्, ‘त्यसैले ज्याला मजदुरीको कामबाट फुर्सद हुँदा तथा उक्त काम गर्न कहिलेकाही झ्याउ लाग्दा भारी बोक्न आउँछु । अलिअलि भए पनि कमाइ हुन्छ ।’ उनलाई परिवारबाट यो काममा कुनै अवरोध नभए पनि कहिलेकाहीं बच्चाहरुले भने यो काम नगर्नु भए हुने भनिरहेका हुन्छन् । उनी भने काम गर्न लाज मान्न नहुने र आत्मनिर्भरता ठूलो कुरा भएको भन्दै सम्झाउने कोसिस गर्छिन् । ‘बच्चाहरुले त यो काम नगर्नु भए हुने आमा भनिरहन्छन् नि । के गर्नु उनीहरुको कुरा सुनेर भएन, घर व्यवहार चलाउनै पर्छ,’ उनी भन्छिन्, ‘श्रीमान्को कमाइले पुग्दैन, बच्चाहरुले भने पनि उनीहरुलाई पढाउन र माग पुरा गर्न भए पनि काम गर्नै पर्छ ।’

तर, उनी भारी बोक्ने र ज्याला मजदुरी पेशाबाट सन्तुष्ट छिन् । यही पेशाले उनको घरमा केही भए पनि आम्दानी हुन्छ, । घर चलाउन श्रीमान्लाई सहयोग हुन्छ । सबैभन्दा ठूलो कुरा परिवारसँगै बसेर दुःख सुख बाँड्न पाउनु र रमाउनु भएको उनी बताउँछिन् । त्यसैले उनलाई कुनै गुनासो छैन । अझ बन्दीपुरमा सवारीसाधन नचल्नु आफूसहित अरु श्रमिकका लागि फाइदाजनक भएको उनको भनाइ छ । ‘बन्दीपुरमा सवारीसाधन नचल्दा अरुलाई त थाहा भएन, हामी जस्तालाई भने फाइदै भएको छ ।’ गोममाया हाँस्दै भन्छिन्, ‘रोजगारी पाइएको छ, रोजगारी अनुसार नै कमाई छ, परिवारसँगै बसेर मिठोमसिनो खान पाइएको छ, त्यो भन्दा ठूलो कुरा हाम्रो लागि के नै हो र ?’

कोरोनाको महामारीबाट विश्व नै आक्रान्त बनेको अवस्थामा नेपाल पनि आक्रान्त बन्यो । त्यसबाट पर्यटकीय नगरी बन्दीपुर अछुतो रहन सकेन । झण्डै २ वर्ष जति बन्दीपुर सुनसान बन्यो । महिनौं लामो लकडाउन, विभिन्न क्षेत्रमा भएको निषेधले गर्दा बन्दीपुरमा पर्यटक आउन छोडे । त्यो समयमा भने भारी बोकेर आफूसहित परिवारको समेत गुजारा गर्नेलाई सबैभन्दा कठिन भएको उनले सुनाइन् । भारी बोक्नेले समेत यो समयमा काम पाउन छोडे । उनीहरुलाई परिवारको गर्जो टार्न केही समस्या भएको थियो । तर, अहिले कोरोनाको कहर केही हटेपछि भने बन्दीपुरमा पर्यटकको चहलपहल सुरु भएको छ । करिब २ वर्ष सुनसान बनेको यो क्षेत्रका व्यवसायी यही विषयलाई लिएर उत्साहित छन् । पर्यटकको चहलपहल सुरु भएपछि होटलका लागि भारी बोक्नेलाई केही राहत हुन थालेको छ । उनीहरुले काम पाउन थालेका छन् ।

कोरोना कहरको समयमा सीता नेपालीलाई निकै समस्या भएको थियो । होटल सबै बन्द, केही समयका लागि खुल्ने होटलमा पर्यटकको आवागमन ठप्पै भएपछि उनले काम पाउने कुरा नै भएन । त्यसैले सीताका लागि यो समय कष्टकर बन्यो । अहिले भने उनी खुसी छिन् । पर्यटक आउन थालेपछि उनलाई अहिले पसलबाट सामान लगिदिनुप¥यो भन्दै फोन आउँछ । आजभोलि उनी यही काममा व्यस्त हुन थालेकी छिन् । विगत ६÷७ वर्षदेखि बन्दीपुरमा विभिन्न होटलका लागि सामान ओसारिरहेको बताउने सीता अहिले ४० वर्षकी भइन् । उनले दैनिक ५ देखि ६ सयसम्म भारी बोकेरै कमाउँछिन् । कहिले भने काम नै नहुने उनको भनाई छ । ‘कहिले दिनमा राम्रो कमाई हुन्छ, कहिलेकाहीं खाली बस्नुपर्ने हुन्छ,’ उनी भन्छिन् ।

सीताका श्रीमान्ले गाडी चलाउँछन् । घरको सारा काम उनले नै भ्याउनु पर्ने हुन्छ । घरको काम भ्याएर भारी बोक्न आउँदा कहिलेकाहीं ढिलो हुन्छ । तर पपिन भारी बोकेर होटलमा पु¥याउन छोड्दिनन् । घरकाले उनलाई भारी बोक्ने काम गर्दा साथ दिन्छन्, हौसला प्रदान गर्छन् । यही पेशामा उनको ६÷७ वर्ष बित्यो । यही काम मार्फत् उनी आत्मनिर्भर बनेकी छिन् । उनको लागि आत्मनिर्भर हुनु नै महत्वपूर्ण विषय हो । यो बाहेक अन्य कामका विषयमा कहिले नसोचेको सीता बताउँछिन् । ‘ज्यानले साथ दिएसम्म भारी बोक्ने हो,’ उनी भन्छिन् ।

बन्दीपुरमा सवारीसाधन नचल्दा उनीहरु जस्ता आफ्नै स्थानमा काम गरे आत्मनिर्भर बन्नेका लागि अवसर दिएको छ । उनीहरुलाई रोजीरोटी जुटाउने माध्यम बनेको छ ।

कोलाहलमुक्त वातावरण खोज्नेका लागि उपर्युक्त स्थान समेत हो बन्दीपुर । त्यसैले त सहरको कोलाहलबाट केही समयका लागि भए पनि मुक्त हुन प्रायः पाहुना पर्यटक बन्दीपुर पुग्छन् । भारी बोकिरहने क्रममा बन्दीपुरमा भेटिने यी तीन महिलाको एउटै भनाइ छ–‘बन्दीपुर जस्तो पर्यटकीय क्षेत्र अनि पहाडकी रानी भनेर चिनिने स्थानमा सवारी साधन चल्न नदिने व्यवस्थाले शहर भित्रको सुन्दरता र मौलिकता मात्र जोगिएको छैन, हाम्रो जस्ता दैनिकीमा जीवन धान्ने श्रमिकलाई आर्थिक आर्जन गर्ने राम्रो विकल्प, अवसर र भरोसा बनेको छ ।’

२०७९, ११ बैशाख आईतवार ०९:३५
कथालिका नयाँ कथा
कथालिका