पोखराकी पहिलो ‘महिला खलासी’ – कथालिका

पोखराकी पहिलो ‘महिला खलासी’

  • सह–चालकको काम गर्छु भन्दा श्रीमान् सुरुआतमा त अक्क न बक्क परेका थिए । एउटा त समाजको डर, अर्को यो पेशा अलि असुरक्षित होला भन्ने डरले होला । तर, हरेक श्रम, कामलाई सम्मान गर्ने सोच भएकाले गर भन्नु भो । त्यस यता दैनिक यही काम गरिरहेको छु ।

सह–चालक या खलासी भन्ने बित्तिकै तपाईको दिमागमा कस्तो चित्र आउँछ ? चञ्चल, भर्खरको ठिटो, प्वाल परेका पाइन्ट, जिङिग्रङ्ग कपाल, हातमा चुरोट, कलेटी परेको ओठ, चर्को चर्को स्वरमा गन्तव्य स्थल भट्याइरहेको बालक या युवक । नेपालभर देखिने र भेटिने सहचालकले यी र यस्तै तस्वीर सबैजसो मानिसको दिमागमा आउँछ होला । तर, अहिले समय बदलिएको छ । सोचहरु बदलिएका छन् । र त यो पुरानो मानक भत्काउदै पाका महिलाहरु पनि यो काम गरेर जीविका चलाउन उद्वत देखिएका छन् ।
∞∞∞
पोखराको लामाचौरमा बस्ने सम्झना गुरुङ हरेक बिहान ४ बजे उठ्छिन् । सवेरै उठेर आफू, श्रीमान् र छोराका लागि खाना बनाउँछिन् । छोरालाई विद्यालय जान आवश्यक पर्ने लत्ता कपडा, सरसामान तयार पारिदिन्छिन्, अनि पोखराका विभिन्न फरक–फरक रुटमा चल्ने सार्वजनिक बसमा सह–चालक (खलासी)को काम गर्न जान्छिन् । यो उनको नियमित दैनिकी हो । केही चाडपर्व तथा घरमा अत्यावश्यक काम पर्दा बाहेक उनी हरेक दिन सार्वजनिक बसमा सह–चालकका रुपमा हिँड्छन् । यो कर्म अहिले सम्झनाको जीवनको अभिन्न अंग बनिसकेको छ ।

उमेरले २६ वर्षमा टेकिन् सम्झना । खास नाम उनको सम्झना भुजेल हो । तर, उनी विहे गरे यता श्रीमान्कै थर लेख्छिन् र यही नाम उनको पहिचान बनेको छ । तनहुँको भानु नगरपालिका ९ मा जन्मिएकी सम्झनाले सानै उमेरमा विवाह गरिन् । उनले कास्कीकै धम्पुसका उज्ज्वल गुरुङसंग विवाह गरेकी थिइन् । अन्तरजातीय विवाह गरेकी सम्झनाको ८ वर्षका छोरा छन् । गाडीको सह–चालक हुनका लागि उनको खासै ठूलो र लामो कथा छैन तर एउटा घटना र बिबशता जोडिएको छ । बस् उनी यत्ति भन्न चाहन्छिन्, ‘मलाई बाध्यता र परिस्थितिले पोखरामा चल्ने सार्वजनिक बसको सह–चालक हुने अवस्था बनायो ।’ अहिले उनलाई यही पेशा प्यारो लाग्छ । यसबाटै गास, बास र कपासको आधारभुत आवश्यकता पुरा भएको उनको भनाइ छ ।

अन्तरजातीय विवाह गरेकी सम्झनाका श्रीमान्ले पोखरामा ट्याक्सी चलाउँथे । केही वर्ष ट्याक्सी चलाउँदा आम्दानी राम्रै थियो । सुरुमा अरुकै ट्याक्सी चलाइरहेका उनले पछि काम राम्रो गर्दै गर्दा अर्काको ट्याक्सी चलाउन छोडेर आफ्नै ट्याक्सी व्यवसाय सञ्चालन गर्ने सोच बनाए । यो सोच र सपना पुरा भयो पनि । आफ्नै ट्याक्सी चलाउँदा फाइदा भइरहेकै थियो । आम्दानी राम्रै थियो । श्रीमानको जोडमा केही समय पछि फेरी अर्को दुई वटा ट्याक्सी पनि गुरुङ दम्पतिले । ३ वटा आफ्नै ट्याक्सी भए पश्चात् आम्दानी झन् बढ्दै थियो । आफू सहित सम्झना तथा छोराको हरेक आवश्यकता पुरा भएकै थियो, घरव्यवहार चलेकै थियो ।

एकदिन उनको श्रीमान्ले सार्वजनिक बस किनेर पोखरामा सञ्चालन गर्ने योजना सम्झनालाई सुनाए । श्रीमान्ले पहिले पनि ट्याक्सी चलाउने पेसा गरेकाले बस सञ्चालन गर्दा पनि आम्दानी राम्रै हुन्छ भन्ने उनको सोच थियो । त्यसैले बस किनेर सञ्चालन गर्ने श्रीमान्को योजनालाई साथ दिइन् । धेरै सोच विचार गरेर उनीहरु दुवै जनाले बस किन्ने निर्णय गरेका थिए । अफसोच ! जीवन सोचे जस्तो हुँदैन रहेछ । जीवनमा हामी एउटा सोच्छौं, जीवनमा भइदिन्छ अर्कै । सम्झना र उनका श्रीमानको जीवनमा पनि त्यस्तै भयो । बस सञ्चालन भएको अवस्थामा ट्याक्सी व्यवसाय भन्दा केही आम्दानी बढी होला कि भन्ने श्रीमान्–श्रीमती दुवै जनाको सोचमा तुषरापात भयो ।

लयउन्मुख जीवनमा कोरोनाले दिएको झड्का
उनीहरुले ठुलो बस त किने तर, नेपालमा कोरोनाको महामारी भित्रिएसंगै लामो समयसम्म लकडाउन भयो । सार्वजनिक सवारी साधन लामो समयसम्म ठप्प बन्यो । केही समय लकडाउन खुलेको अवस्थामा समेत सार्वजनिक बस चलेका थिएनन् । कोरोना फैलिने डरले त्यस्ता ठुला सार्वजनिक सवारी साधन चलाउन लामै समय रोक लगाइयो । केही धेरै आम्दानी हुने र भविष्यका लागि बचत गर्न सकिने योजनासहित उनीहरुले बस किने ।

लगत्तै लकडाउन घोषणा भएपछि उनीहरुको जीवनमा समस्या होइन, संकट सिर्जना हुन थाल्यो । तर, उनीहरुले हार मानेनन् । बस राखेर केही आम्दानीमुलक काम गरेर घर व्यवहार चलाए । लकडाउन लामो समयका लागि लागु भए पनि बाँच्नै प¥यो, खानै प¥यो । समस्या र चुनौती आए पनि सम्झना र उनका श्रीमान्ले डटेर सामना गर्दै गए ।

जति धेरै लकडाउन भयो, त्यति नै उनीहरुलाई पनि अन्य यातायात व्यवसायीलाई जस्तै किस्ताले सताउन थाल्यो । जीवनको लय भंग भएर ऋणात्मक तर्फ ओरालो लाग्दै गयो । दुई वर्षको अवधीमा फरक–फरक समयमा घोषणा गरिएको लकडाउनको समय उनीहरुले जसोतसो व्यतित गरे । त्यो समयमा आर्थिक समस्या पनि भोग्नुप¥यो उनीहरुले । हुन त नेपाल लगायत पुरै विश्वलाई कोरोनाले आक्रान्त बनायो । सम्झना र उज्ज्वल यो समस्याबाट अछुतो रहन सकेनन् । काम गरेर पेट पाल्ने उनीहरुलाई आर्थिक समस्या आए पनि आत्तिएनन्, एकदिन त बस सञ्चालन गर्ने समय आउला भन्दै सुन्दर दिनको प्रतिक्षामा बसे ।

खलासी नपाउँदा अन्ततः आफै बने खलासी
नेपालमा कोरोना संक्रमणको दर केही कम भए पछि उनीहरुले बस सञ्चालन गर्ने निर्णय गरे । बस सञ्चालन गर्ने निर्णय त गरे तर, सह–चालक पाएनन् । बस त सम्झनाका श्रीमान् आफैंले चलाउँथे । सह–चालकको आवश्यकता अपरिहार्य थियो । आर्थिक अभाव र कोरोना भाइरसले बस सञ्चालन गर्न ढिलो भएकाले सह–चालकलाई धेरै तलब दिने उनीहरुको अवस्था थिएन । अहिले तलब थोरै दिए पनि पछि वृद्धि गरिदिन्छौं भन्दा समेत कोही आएनन् । दुवै जनाले केही सोच्नै सकिरहेका थिएनन् । काम उनीहरुलाई गर्नु नै थियो, बस सञ्चालन गर्नु नै थियो । किनकि उनीहरुलाई भविष्य सुरक्षित गर्नु थियो, छोरालाई राम्रो शिक्षा प्रदान गर्नु थियो र घर व्यवहार चलाउनु थियो ।

यहीबाट सुरु हुन्छ सम्झना गुरुङको सह–चालक बन्ने कथा । कतै केही उपाय नलागे पछि सम्झनाले आफैं बसको सह–चालक बन्ने निर्णय गरिन् । यो भन्दा अगाडि उनले विद्यालयमा काम गर्थिन् । उक्त काम छोडेकाले उनको समय फुर्सदिलो थियो । फुर्सद बस्न नपर्ने, काम हुने र आफ्नै श्रीमान्ले बस चलाउने भएकाले आफैले सह–चालक म हुन्छु, तपाई गाडी चलाउनुस् भनिन् श्रीमान्लाई । सम्झनाको यो निर्णय सुनेपछि श्रीमान् सुरुआतमा अक्क न बक्क परेका थिए । ‘एउटा त समाजको डर, अर्को यो पेसा अलि सुरक्षित हुन्न कि भन्ने डरले होला । सुरुमा त उहाँ म सह–चालकका रुपमा काम गर्छु भन्दा छक्क पर्नु भएको थियो ।’ सम्झना भन्छिन्, ‘तर, उहाँ हरेक श्रम, कामलाई सम्मान गर्नु हुन्छ, महिला र पुरुषले गर्ने काम फरक हो भन्ने सोँच्नुहुन्न । केही समय पछि मलाई हुन्छ भन्नुभयो, यही नै मेरो लागि ठूलो कुरा हो । त्यस यता यही काम गरिरहेको छु ।’

शहरमा बढ्दै महिला खलासी
सम्झना पोखराको सार्वजनिक बसमा महिला सह–चालकका रुपमा काम गर्ने पहिलो महिला हुन् । उनी भन्दा अगाडि यो पेसामा अन्य महिला थिएनन् । ‘म सुरुमा बसमा सह–चालकका रुपमा हिंडिरहँदा सबैले एकटकले हेर्थे । किनकि यो पेसामा अरु महिला थिएनन् ।’ गर्वका साथ उनी भन्छिन्, ‘पोखराको पहिलो महिला सह–चालक म आफैं हुँ ।’ सम्झनालाई काम गरेर खान लाज लाग्दैन । उनलाई काम भन्ने कुरा यो महिलाको लागि र यो पुरुषका लागि भनेर छुट्याएको हुन्छ जस्तो समेत नलाग्ने बताउछिन् । महिलाले पनि हरेक काम पुरुष सरह गर्न सक्छन् भन्ने उनको सोच छ । पोखरामा महिला सह–चालक आफूले सुरु गरे यता एकिनका साथ भन्न नसके पनि ८/९ जना महिला सह–चालक भएको सम्झना बताउँछिन् ।

काम गर्न अप्ठ्यारो नलाग्ने भएकाले सुरुमा समेत उनलाई सह–चालकका रुपमा काम गर्न कुनै असहज भएन । आफ्नै श्रीमान्ले गाडी चलाउने भएकाले पनि असहज महुशुस नभएको उनको भनाइ छ । उनलाई लागेको थियो–सहचालक भएर काम गरेमा परिवारका सदस्य तथा माइतीले साथ दिँदैनन् । घर, आफन्त र समाजको डरले काम छोड्नुपर्ने हो कि ? । तर, परिवार तथा माइतीको सोच सम्झनाले सोचेको भन्दा ठीक उल्टो भइदियो । उनलाई सबैले यो काम गर्न प्रोत्साहन गरे । काम गर्दा असहज हुनुहुँदैन भन्ने ज्ञान दिए । ‘सुरुमा परिवार तथा माइतीले साथ दिनुहुन्न होला भन्ने लागेको थियो ।’ खुसी हुँदै सम्झनाले भनिन्, ‘तर उहाँहरुले त मलाई झन् प्रोत्साहन गर्नुभयो, काम गरेर खान लाज नमान भन्नुभयो ।’

यात्रुबाट उपेक्षा होइन, जब प्रोत्साहन पाइन्
सार्वजनिक सह–चालकका रुपमा विशेष गरी पोखराको विषयमा कुरा गर्ने हो भने महिलालाई बिरलै भेट्न सकिन्छ । उनलाई सह–चालकका रुपमा महिला देख्दा धेरैले तपाईं गाडीको सहचालक हो र ? अनि पोखरामा महिला सह–चालक हुन्छन् र भन्ने किसिमका प्रश्न गर्थे । कसैले उनलाई गाडीको भाडा माग्दा एकोहोरो हेरेर विश्वास गर्दैनथे सह-चालक हो भन्ने कुरामा । प्रश्न गर्दा उनी हाँस्दै म सहचालक नै हो भन्ने जवाफ दिन्थिन् । एकनासले हेर्नेलाई उनी विश्वास दिलाउने कोसिस गर्छिन् ।

आफू गाडीको महिला सह–चालक हो भन्दै । धेरैले उनलाई यसरी गाडीमा सह–चालकका रुपमा काम गर्दा प्रोत्साहन गरेको पाएकी छिन् । ‘पछाडि त समाजले नराम्रो भन्छन् होला, तर मेरो अगाडि भनेका छैनन् ।’ सम्झना भन्छिन्, ‘खुसी त तब लाग्छ, जब गाडीमा भाडा उठाउँदा यात्रुले नै राम्रो काम गर्नु भएको छ, निरन्तरता दिनुस् भन्दै प्रोत्साहन गर्छन् ।’

अहिलेसम्म सह–चालकका रुपमा गाडीमा हिंडिरहँदा सम्झनाले कुनै पनि प्रकारको दुव्र्यवहार तथा हिंसा भोग्नुपरेको छैन । केहीले महिला सहचालक देख्ना साथ तपाईंलाई भाडा नदिए पनि हुँदैन भनेर जिस्काउँछन् । तर, पछि भाडा दिने सम्झनाको बुझाई छ । कसैले अचम्म मानेर फर्की–फर्की हेर्छन् । अनि आँखामा सम्झनासंग अनेकन प्रश्न गर्छन् । कति प्रश्नको उनी जवाफ दिन्छिन्, कतिको जवाफ दिंदिनन् । अहिले उनको दिनचर्या बसमा सहचालकका रुपमा दित्छ । हरेक बिहान करिब ४ बजे सुरु हुने उनको दिन राति करिब ९ बजेसम्म हुन्छ । यो समयमा गाडीमा सहचालक भएर घर फर्किन्छिन् सम्झना । घर आइसकेपछि खाना बनाएर श्रीमान् र छोरालाई खुवाएर उनले बल्ल आराम गर्ने मौका पाउँछिन् ।

यतिमात्र होइन, सम्झना विभिन्न संस्थामा समेत आवद्ध छिन् । कहिले कता त कहिले कता कार्यक्रमका लागि हिंडिरहनुपर्छ उनलाई । ‘म जिफन्ट, क्युपेक नेपाल कास्की पोखरामा आवद्ध छु । यसले मलाई आत्मसन्तुष्टि दिन्छ,’ सम्झना भन्छिन् । आफू आवद्ध संस्थाले आयोजना गर्ने कार्यक्रममा समेत उनी सहभागी हुन्छिन् । हरेक विषयमा सिक्न खोज्नु उनको बानी हो । यस्ता कार्यक्रममा हिँडिरहँदा केही फरक विषयमा सिक्न सकिन्छ कि भन्ने सम्झनाको मानसिकता हुन्छ ।

गाडीको सह–चालकका रुपमा काम गर्दा उनलाई कुरा कुरामा असहजता छैन । परिवार तथा श्रीमान्को साथ छ, आत्मनिर्भर छिन्, उनको लागि यही ठूलो कुरा हो । अहिले त छोरा बुझ्ने भएका छन् । आमाको पेसामा उनले केही गुनासो गर्दैनन् । सम्झना भने छोराको पीडा आँखाबाट बुझ्ने कोसिस गर्छिन् । छोरालाई भने जस्तो गरी समय दिन नपाउँदा मन खिन्न हुन्छ । ‘हाम्रो पेशामा बिहानै भयो, रात प¥यो भन्ने अवस्था नै हुन्न, बिहान ४ बजे नै हिँड्नुपर्ने हुन्छ, राति घर आउँदा ढिलोमा ९ बजिसकेको हुन्छ,’ खिन्न हुँदै सम्झना भन्छिन्, ‘छोरा एक्लै हुन्छ, कहिले साथीसंग खेलिरहेको हुन्छ, कहिले घरमा एक्लै । त्यसैले हरेक शनिबार उसलाई समय दिन कोसिस गर्छु, तर कहिलेकाहीं रिर्जभ परेको समयमा त्यो पनि हुँदैन ।’

पेशा नराम्रो छैन, घर चलाउन सहज
यही पेशाले नै उनले आयआर्जन गरिरहेकी छिन् । सह–चालकको पेसाबाट घरव्यवहार चलाउन सजिलै सकिने सम्झना बताउँछिन् । घरमा आम्दानी हुने, छोरालाई शिक्षा प्रदान गर्न केही समस्या नआउने र केही बचत हुने भएपछि उनी यो पेशाबाट सन्तुष्ट छिन् । काम भन्ने कुरा सानो–ठूलो नहुने तथा महिला र पुरुषका लागि फरक–फरक नछुट्याइने भएकाले उनलाई यो पेशामा आवद्ध हुन कुनै समस्या छैन ।

त्यसैले, स्वास्थ्यले दिए सम्म सह–चालकका रुपमा अगाडि बढ्ने सम्झनाको योजना छ । बाहिर सुनिए जस्तो नराम्रो सह–चालकको पेशा नभएको उनी दावी गर्छिन् । ‘खलासी (सह–चालक)को पेशाका विषयमा बाहिर जति नराम्रो सुनिन्छ, त्यति नराम्रो छैन ।’ उनी भन्छिन्, ‘आम्दानी राम्रै हुन्छ, घर चलाउन मज्जाले सकिन्छ, कुरा यत्ति हो, पेसालाई निरन्तरता दिन सक्नुप¥यो, समस्या आएको अवस्थामा समेत हार मान्नु भएन ।’

सम्झनाले यो पेशाबाट आत्मसम्मान पाएकी छिन्, आत्मनिर्भर बनेकी छिन् । अन्य महिलाले अपनाउन हिच्किचाउने पेशा अपनाएकी छिन् । यसमा उनलाई खुसी र गर्व दुवै लाग्छ । परिवार तथा श्रीमान्को साथ र सहयोगले गर्दा उनले सहचालकको पेसालाई निरन्तरता दिइरहेकी छिन् । महिलाले जस्तो काम गरे पनि परिवार तथा श्रीमान्को साथ आवश्यक हुने उनको अनुभव छ । ‘हाम्रै समाजका कति त्यस्ता उदाहरण छन्, जहाँ महिला आफूमा क्षमता भए पनि श्रीमान् तथा परिवारको साथ नपाउँदा पछाडि परेका छन्,’ उनी भन्छिन्, ‘यो मामिलामा म भाग्यमानी रहेछु, परिवार र श्रीमान् दुवैको साथ पाइरहेको छु ।’

यही कामबाट समाजमा उदाहरण बन्ने कोशिस
कामलाई सम्मान गरेर निरन्तर खटिएमा एकदिन सफलता पाउन सकिने सम्झना बताउँछिन् । समस्या र चुनौतीलाई सामना गर्दै आफू यो पेशामा निरन्तर खटिएकाले अहिले अवस्था फेरिएको उनको भनाइ छ । ‘भगवानले भन्छ रे, तँ आँट म पु¥याउँछु, मलाई पनि त्यसैले लाग्छ,’ उनी भन्छिन्, ‘चुनौती तथा समस्या देखेर हार मान्नु भएन, निरन्तर एउटै पेशामा खटिए सफलता हात पर्छ । त्यसैले मेरो एउटै योजना छ, यही पेशालाई निरन्तरता दिने र नेपालमा नै केही गर्न सकिन्छ भन्ने उदाहरण बन्ने कोसिस गर्छौ ।’

२०७९, २० बैशाख मंगलवार ०६:३०
कथालिका नयाँ कथा
कथालिका