गाउँको सिंहदरवारः शासक होइन, सेवकको खोजी – कथालिका

गाउँको सिंहदरवारः शासक होइन, सेवकको खोजी

सबै भन्दा नजिकको सरकार अर्थात् गाउँको सिहंदरवारको बागडोर सम्हाल्ने प्रतिस्पर्धाको अन्तिम घडी सम्मुखमा छ । अबको केही घण्टा पश्चात स्थानीय तहको नयाँ जनप्रतिनिधि चुुन्न मतदान हुनेछ । मतदानका लागि देशभरका ७ सय ५३ पालिकामा निर्वाचनको सबैजसो तयारी पुरा भइसकेको छ ।

मौन अवधि र चलखेल

राजनीतिक दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरु चुनावी घरदैलो र सभा सकिसकेका छन् । निर्वाचन आचार संहिता अनुसार मौन अवधि सुरु भइसकेको छ । मतदानको ४८ घण्टा अघिबाट चुनावी प्रचार प्रसार बन्द गरेर मौन अवधि राख्नुको मतलब कुनै दबाब र प्रभाब बिना अब नागरिकले निसंकोच मत जाहेर गर्ने सहज निर्णयका लागि हो । हुन त अधिकांश नागरिकले बिभिन्न दल र उम्मेदवारका विषयमा आफ्नो अभिमत सहितको धारणा तय गरिसकेका छन् । अझै पनि ठुलो समूहको मत तरल अवस्थामा छ । उनीहरुले अझै पनि आफ्नो मत कसलाई जाहेर गर्ने भन्नेमा अन्यौल र द्धिविधा छ । यही तरल मत प्रभावित गर्न मौन अवधिमै सबै भन्दा बढी चलखेल हुन्छ । मनी र मसलको सबै भन्दा धेरै अभ्यास यही बखत हुने गर्छ ।

चुनावमा मात्र घर गाउँ आएकोमा नागरिकको रोष
२०७४ सालमा नयाँ संघीय अभ्यास अनुुसार पहिलो पटक भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि प्रति आम नागरिकको गुनासो व्यापक देखिएको छ । नजिकको सरकारको रुपमा केही काम र सेवा प्रवाह नभएका होइनन्, तर जति गर्नुपर्ने र हुनुपर्ने थियो, त्यसो हुन सकेन । यसका अलावा चुनाव जिताएर पठाए पछि जनप्रतिनिधिले आफूलाई शासकको रुपमा प्रस्तुत गरेको व्यापक गुनासो र आक्रोश अहिले चुनावको सम्मुखमा जनताको घरदैलोमा आएको बखत पोखियो । उनीहरुले व्यंग्यात्मक शैलीमा भने,–अब अहिले चुनाव आएर बल्ल आउनु भो, अब जिते पनि हारे पनि उही पाँच वर्ष फेरि आउने त होला नि ? यी र यस्तै गुनासो बिच गाउँ समाज र आम नागरिकका लागि शासक नभइ सेवकको खावश्यक भएकाले त्यस्तै जनप्रतिनिधि रोज्ने उनीहरुको भनाई छ ।

पैसा होइन, विवेकको खेल होस्
निर्वाचन भनेको पाँच वर्षको अनुक्रममा आउने नियमितता मात्र होइन, यसले अबको पाँच वर्षका लागि हाम्रो गाउँ समाज, शहर कस्तो बनाउने भन्ने सोच र योजना सहितको सक्षम, सबल नेतृत्व चयन गर्ने अवसर हो । विगतका पाँच वर्ष के कसरी बित्यो ? त्यसको यथोचित मुल्यांकन गर्ने सुविधा हो । भाषण, चुनावी घोषणापत्र र आश्वासनमा जे पनि लेख्ने र भन्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने या त्यो सक्षमता संकेत नदेखाउनेहरुलाई सबक सिकाउने समय हो । यसर्थ, निर्वाचनसँग हामी र हाम्रो समाजको भाग्य र भविष्य गाँसिएको छ । यसकारण पनि निर्वाचन कुनै लहड या खेलाचीको विषय होइन र कदापि बनाइनु हुँदैन । निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित बातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग, सरकार र यसका निकायहरु सक्रिय छन् । आम नागरिकले पनि यसमा सही तबरले हातेमालो गर्नु अपरिहार्य छ । मौन अवधिकै बेलामा राजनीतिक दल, उम्मेदवार, नेता, कार्यकर्ता झोलामा पैसा बोकेर मत प्रभावित गर्न हिँडिरहेका खबर विगतमा धेरै पढिएका, सुनिएका थिए । यो प्रवृत्ति अहिले पनि दोहोरिने खतरा यथावत छ ।

आफ्नो शासक होइन, सेवक छानौ
सोझासाझा, गरिब, विपन्न नागरिकको उन्नत चेतनाको अभाव माथि राजनीतिक दल, नेताहरुले पटक पटक खेलाँची गरिरहेका छन् । यो यसपटक पनि हाबी हुने जोखिम छ । हर मतदाता नागरिकले बुझ्नुपर्छ कि अहिले तपाईले जाहेर गर्ने एक मतले तपाई आफै माथि पाँच वर्ष शासन गर्ने प्रतिनिधि छान्दै हुनुहुन्छ । मतदान भनिन्छ तर मत दान होइन, मानिसले दान गरे पछि फिर्ताको अपेक्षा गर्दैन । मतलाई दान सम्झेर होइन, मतको उपयोग गर्ने अर्थात् तपाईले जाहेरको गरेको मतबाट बिजेता बन्ने जनप्रतिनिधिले तपाईको पालिकामा अब्बल उपलब्धि हासिल गर्ने सामथ्र्य र कौशलता देखाउन सक्ने पात्रको विवेक सम्मत हिसाबले चयन गरौं । अन्यथा पाँच वर्ष कर्मकाण्ड र समय रेखामा मात्र सीमित नरहोस् ।

 

२०७९, २९ बैशाख बिहीबार ०४:३९
कथालिका नयाँ कथा
कथालिका