पार्टीबाट ‘कारबाही’, जनताबाट पुरस्कृत – कथालिका

पार्टीबाट ‘कारबाही’, जनताबाट पुरस्कृत

बागलुङ नगरपालिका–१२ अमलाचौरका कोपिलामणी शर्मा (वर्ष ६९) । पछिल्लो एक महिनामा उनको जीवन र परिचयमा उल्लेख्य बदलाव आए । नेपाली कांग्रेसको गाउँ सभापति, अघिल्लो स्थानीय तह निर्वाचनको वडा अध्यक्षका उपबिजेता, पार्टीको तर्फबाट स्थानीय तह चुनावमा वडा अध्यक्षको आंकाक्षी, पार्टीबाट उम्मेदवारको टिकट नपाए पछि बागी, स्वतन्त्र उम्मेदवार, त्यसपछि निश्कासित सदस्य हुँदै अहिले त उनी बानपा १२ को नवनिर्वाचित वार्ड अध्यक्ष । यद्यपि, कांग्रेसको बिधि बिधान अनुसार आजको मितिमा उनी कांग्रेस रहेनन् । जुन पाटीका लागि जीवनको अधिक समय र उर्जा खर्चिए । कारवाही फुकुवा नगर्दा सम्मका लागि त्यो परिचय गुमेको छ ।

पार्टीमा जीवन बिताए, बुढेशकालमा स्वतन्त्र उम्मेदवार
जीवनको उर्जाशील उमेरदेखि बुढ्यौली सम्म पनि नेपाली कांग्रेसको लागि अनेकन बाधा, व्यवधान झेले । आफ्ना व्यक्तिगत स्वार्थ, सुख, खुशीहरुलाई तिलाञ्जली दिए । गाउँमा पार्टीको अस्तित्व र पहुँच स्थापित गर्नका लागि अविचलित अनवरत सति साल बनेर उभिरहे । तर, दुर्भाग्य भन्नुपर्छ, जुन पार्टीका लागि उनले सिंगो जीवनको महत्वपूर्ण समय र उर्जा खर्चिए । अहिले त्यही पार्टीबाट कारवाहीमा परे । स्थानीय तह निर्वाचनकै क्रममा स्वतन्त्र उम्मेदवारी दिए पछि नेपाली कांग्रेस बागलुङले साधारण सदस्य समेत नरहने गरी निलम्बन ग¥यो । यसका बाबजुद पनि उनले गठबन्धन र एमाले उम्मेदवारलाई हराउँदै चुनाव जिते पछि भने चर्चा चुलिएको छ ।

नेतृत्वले ग्राउण्ड नबुझ्दाको परिणति
वैशाख ३० गतेको स्थानीय तह चुनावका लागि देशव्यापी गठबन्धन गर्ने निर्णय भयो । त्यस अनुसार बागलुङ जिल्लामा पनि सत्ता गठबन्धन दलले चुनावी एकता गर्ने निर्णय गरे । यसको भागवण्डामा बानपा १२ राष्ट्रिय जनमोर्चाको भागमा प¥यो । कोपिलामणीले यो निर्णय न्यायोचित नभएकोमा पार्टी नेतृत्वलाई चर्को रोष, असन्तुष्टि व्यक्त गरे तर, सुनुवाई सम्बोधन भएन । मनोनयनको दिन स्थानीय कार्यकर्ता र शुभेच्छुक समेतको दबाबमा स्वतन्त्र रुपमा प्यानल नै बनाएर उम्मेदवारी दिए । गठबन्धनबाट साझा उम्मेदवारको रुपमा राजमोका लोकनाथ शर्माले उम्मेदवारी दिए । एमालेका तर्फबाट निवर्तमान वडा अध्यक्ष गुरुदत्त पाठक स्वंयम् चुनावी मैदानमा थिए । बागी (स्वतन्त्र) प्यानलगत उम्मेदवारी फिर्ता गर्न कांग्रेस नेताहरुले अनुनय, विनय गरे । कोपिलामणी चट्टानी अडानका साथ जीवन भर भोट हालेको र भोट मागको रुख चिन्ह छोडेर मुढा चिन्हका साथ मैदान उत्रिए । पार्टीले उनी सहित सबै उम्मेदवारलाई कारवाही ग¥यो । तर, स्थानीय जनताको अपार समर्थनका बिच उनले शानदार जित हासिल गरेका छन् ।

कसले कति ल्याए मत ?
स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्माको प्यानल विजयी भयो । उनले वडाध्यक्षमा कुल १३ सय ३८ मत प्राप्त गरेर विजयी हाँसिल गर्दा निकटतम प्रतिस्पर्धी एमालेका गुरुदत्त पाठकले ८०१ मत ल्याए ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, राजमो, एकीकृत समाजवादी र जसपाको साझा गठबन्धनका उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्माले जम्मा १७८ मत ल्याए । मत परिणाम हेर्दा यहाँ गठबन्धनका अन्य दलहरुले गठबन्धनका उम्मेदवारलाई मत नहाली स्वतन्त्र उम्मेदवारलाई नै मत दिएको स्थानीय बताउछन् ।

उनको प्यानलबाट महिला सदस्यमा माया नेपाली ११ सय ५३, दलित महिला सदस्यमा मिनाकुमारी विश्वकर्मा १३ सय ११ र खुला सदस्यमा ढुण्डीराज लामिछाने १३ सय ४९ र महानन्द शर्मा १३ सय ४६ मत सहित विजयी भएका छन् ।

वागी उम्मेदवारी यसकारण फिर्ता गरेनन्
काँग्रेसको सिंगो वडा समितिले नै निर्णय गरेर आफू वडाध्यक्षको स्वतन्त्र उम्मेदवार बनेको भन्दै चर्को दवाबका बीच पनि शर्माले उम्मेदवारी फिर्ता गरेनन् । अन्ततः सोमबार साँझ सकिएको मतगणनामा गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पार्दै वडाध्यक्ष पदमा विजयी भए ।

आफु स्वतन्त्र भएपछि सबै दलका कार्यकर्ता र जनाले सहयोग गरेका कारण आफु निर्वाचित भएको उनले बताए। ‘मलाई पार्टीले टिकट दिएन, वडाका सबै काँग्रेसजनको आग्रहमा स्वतन्त्र उम्मेदवार बने,’ उनले भने,‘सबैको साथ र सहयोगबाट जनताको सेवा गर्छु । मैले सार्वजनिक सरकारी पदमा बसेर जनताको सेवा गर्न पाएको थिएन ।’ पटक पटक निर्वाचन हारे पनि अहिले स्वतन्त्र भएर बिजयी हुँदाको खुसी पृथक भएको उनको भनाई छ ।

यस्तो छ कोपिलामणीको इतिहास
उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने पार्टीको चेतावनी डटेर सामाना गरेका उनी स्थानीय तहको जनप्रतिनिधिको रुपमा यसअघि पटक पटक पराजित हुँदै आएका थिए । पहिलो स्थानीय निकायको निर्वाचनमा २०४९ सालमा नेपाली काँग्रेसबाट अमलाचौर गाविसको अध्यक्षको उम्मेदवार बनेका उनी पराजित भएका थिए । २०५४ को स्थानीय निकाय निर्वाचनमा जित नजिक पुगेको बेला विपक्षी दलका नेता कार्यकर्ताले मतपत्र च्यातेर पुनः निर्वाचन गरी हराइएको शर्मा बताउछन् । ‘मैले धेरै पटक हारेंं, कहिले मतपत्र च्यातेर हराईयो,’ शर्माले भने,‘जनताको आवश्यकतालाई मध्यनजर गरेर स्थानीय आवश्यकताको आधारमा योजना निर्माण गरी काम गर्छु ।’

मुलुक नयाँ संरचनामा प्रवेश गरेपछि २०७४ मा काँग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका उनी नेकपा एमालेका गुरुदत्त पाठकसंग पराजित भएका थिए । यस पटक काँग्रेसले जित्ने आधार तयार भएको र भागवन्डा गर्दा अमलाचौर काँग्रेसको भागमा पार्नुपर्ने भन्दै अमलाचौरका काँग्रेस कार्यकर्ताले चर्को दबाब दिए । विगतमा एमालेले जितेका वडा भएकाले भागवन्डामा राष्ट्रिय जनमोर्चाको भागमा पारियो । जनमोर्चाको भागमा परेपछि काँग्रेस कार्यकर्ताका दबाबमा उनी स्वतन्त्र उम्मेदवार बनेका थिए ।

पार्टीले कारवाही गर्दा जिताए जनताले 
गठबन्धनको सहमति अनुसार स्वतन्त्र उम्मेदवारी फिर्ता नगरे स्वतः सदस्यता खारेज हुने नेपाली कांग्रेसको निर्णय छ । यस अनुसार उनको सदस्यता खारेज भइसकेको छ ।

बागी (स्वतन्त्र) उम्मेदवारी दिए पछि कांग्रेसले यसरी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो । तर, कांग्रेस वार्ड सभापति समेत रहेको कोपिलामणी शर्मा र उनको प्यानलले उम्मेदवारी फिर्ता नगरी चुनाव लडेको थियो ।

तर, बानपा १२ अमलाचौरका जनताले उल्लेख्य मत सहित कोपिलामणी र उनको प्यानललाई नै जिताए पछि कांग्रेसका पूर्व केन्द्रीय सदस्यदेखि जिल्ला नेताहरु समेत विजयी ¥यालीमा सहभागी भएका छन् । उनीहरुले कांग्रेसको जित भएको भन्दै प्रत्यक्ष र सामाजिक सञ्जाल मार्फत बधाई दिइरहेका छन् । ‘पार्टीले तल्लो तहको भावना र आवश्यकता गम्भीरतापूर्वक बोध गर्न नसकेको प्रमाणित भयो,’ नवनिर्वाचित वार्ड अध्यक्ष शर्माले भने, ‘यसबाट जिल्लाका पार्टी नेतृत्वलाई पनि राम्रो सिकाई र पाठ भयो होला, यसका लागि मेरा वडाबासी जनता धन्यवादका पात्र छन् ।’

विकास र सुशासन प्राथमिकता
नवनिर्वाचित वडा अध्यक्ष शर्माले विकास र सुशासन आफ्नो प्राथमिकता रहने बताएका छन् । ‘धेरै बजेट ल्याउनका लागि पार्टी र पहुँच त चाहिएला, तर वडामा आउने बजेटको यथोचित उपयोग गर्छौ’, उनले भने, ‘ जनताको भावना अनुसारका योजना कार्यक्रम अघि सार्छौ, सेवा प्रवाहलाई पनि सजिलो र प्रभावकारी बनाउने कोशिस गर्नेछौ ।’

कांग्रेसले देशव्यापी स्वतन्त्र बागी उम्मेदवारलाई कारबाही गरे पनि बिजयी शर्मा लगायतको सबै टिम पार्टीमा फर्किनेमा जिल्लाको नेतृत्व विश्वस्त छ । जिल्ला तहबाट विशेष परिस्थितिमा गरिएको गठबन्धनका कारणले पार्टीमा वर्षौदेखि त्याग, योगदान गरिरहेका कांग्रेसजनलाई न्याय गर्न नसकिने परिस्थिति बने पनि जनताको माझबाट स्थापित हुने कुराले जिल्ला नेतृत्वलाई पनि अबका दिनमा सोच्न बाध्य बनाएको कांग्रेस जिल्ला सभापति जित शेरचन बताउछन् ।

२०७९, ३ जेष्ठ मंगलवार ११:०७
कथालिका नयाँ कथा
कथालिका