जिन्दगीको के छ र भर… – कथालिका

जिन्दगीको के छ र भर…

दुर्घटना भवितव्य हो र हुन्छ । यद्यपि अहिले भएको तारा एयरको दुर्घटना भवितव्य हो या कुनै लापरवाही या पूर्ववत सचेतता बिना भएको हो ? त्यो सम्बन्धित निकायको अध्ययनले देखाउला । तर, लाखौ नागरिकको अप्रिय समाचार सुन्न नपरोस् भन्ने कामना र प्रार्थनाका बाबजुद दुर्घटनाबाट स्वयम् चालक दलका सदस्य सहित २२ जनाको मृत्यु भएको छ ।

विमानमा सवार भएकाहरुको सपना, रहरहरुले अन्ततः जीवनकै इहलिला सकिएको छ । विमानमा दिवंगत भएका भिन्न भिन्न परिवार, व्यक्तिका सपना, संयोग र वियोगका विषयहरु बाहिर आउँदा मानव हृदय अझ बिथोलिएको छ र हर मानिस भन्न बाध्य भइरहेछन् जिन्दगीको के छ र भर… ?

सम्बन्ध विच्छेद अघिको यात्रा जुन अन्तिम बन्यो
विहे पछिको हनिमुन त सामान्य र धेरै सुनिएको विषय हो । तर, सम्बन्ध विच्छेद (छोडपत्र) अघि सँगै सयर गरेको घटना सायदै देखिन्छ, सुनिन्छ । यद्यपि अहिले दुखद खबर सँगै सुनियो । तारा एयरमा ज्यान गुमाएका मध्ये भारतका एकै परिवारका चार जना परे । जुन भारतीय जोडी सम्बन्धविच्छेद अघि दुई बच्चासहित नेपालमा छुट्टी मनाउन आएको खुलेको छ ।

तारा एयरलाइन्सको विमानको भग्नावशेष सोमबार बिहान फेला परे सँगै विमानमा भारतको महाराष्ट्रको ठाणेबाट आएका अशोक त्रिपाठी (५४), उनकी श्रीमती वैभवी बाँडेकर–त्रिपाठी (५१), छोरा धनुष त्रिपाठी (२२) र छोरी ऋतिक त्रिपाठी (१८) थिए ।

अशोक त्रिपाठी श्रीमती वैभवीसँग अलग्गै बस्दै आएका थिए । दुबैको सम्बन्धविच्छेद हुन लागेको थियो र मुद्दा अदालतमा थियो । अदालतले फैसला नआएसम्म परिवारलाई प्रत्येक वर्ष १० दिन सँगै बिताउन भनेको थियो । यसै क्रममा चारैजना नेपाल आएका थिए । दुबै छोराछोरी वैभवीसँग बस्थे, अशोक एक्लै बस्थे ।

वैभवीकी आमा घरमा एक्लै छिन् । विमान दुर्घटनाको जानकारी पाएपछि उनी भावबिह्वल बनेकी छिन् । वैभवीकी आमाको केही दिनअघि शल्यक्रिया भएको थियो । वैभवी मुम्बईको बान्द्रा(कुर्ला कम्प्लेक्सस्थित एक निजी कम्पनीमा सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्छिन् । छोरा धनुष इन्जिनियरिङमा उत्तीर्ण छन् भने छोरी ऋतिका स्कुलमा पढ्थिन् ।

अशोक मे २६ मा मुम्बई आएका थिए र यो परिवार यहाँबाट नेपाल आएका थिए । अशोकका केयरटेकरले भने, ‘सर मुम्बई गएको दिन उहाँले आफू कहिले फर्कने भनेर केही भन्नुभएको थिएन । उहाँले मलाई घरको हेरचाह गर्न मात्र भन्नुभएको थियो ।’

अमेरिकाबाट आएकी दुई छोरी सहित अस्ताए बाउ आमा
अमेरिकामा रहेका दुई छोरी घर आए । पारिवारिक भेटघाट पछि बुवाआमालाई पनि घुमाउने सोच र सपनाले मुस्ताङ डो¥यायो ।

गोरखा शहीद लखन गाउँपालिका–५ तीनमानेका रोजिना श्रेष्ठ र रविना श्रेष्ठ आफ्ना बुवा गणेशनारायण श्रेष्ठ र आमा रश्मीका साथ पोखरा हुँदै जोमसोमको विमान चढेका थिए । तर, उनीहरु न गन्तव्य पुग्न पाए, न रम्न नै । बरु सदाका लागि अस्ताए ।

३० वैशाखमा मात्रै नेपाल आएका दुई छोरीको बाआमा सहित मुक्तिनाथ दर्शन गर्ने रहर र सपना थियो । परिवारिक स्रोतका अनुसार ५ वर्ष पहिला अमेरिका पुगेकी रोजिना जेनेटिक विषयबाट पीएचडी गर्दै थिइन् भने रविना इन्फर्मेसन टेक्नोलोजी (आईटी) पढ्दै थिइन् । रविना एक वर्षअघि मात्रै अमेरिका गएकी थिइन् ।

गणेशनारायणका दुई छोरीसहित एक छोरा छन् । छोरा रोशन पनि अमेरिकामै बस्दै आएका छन् । पेसाले कम्प्युटर इन्जिनियर गणेशनाराण पछिल्लो समय काठमाडौंको बागबजारमा असिफ सञ्चालन गरेर बसेका थिए । दुर्घटनाको खबरले गाउँ नै शोकमग्न छ ।

मुक्तिनाथ दर्शनको रहरले गयो परिवारको ज्यान
विमानमा धनुषाको मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका ६ जना वृद्धवृद्धासहित ७ जनाको मृत्यु भएको छ । काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका राजकुमार गोलेले केही दिनअघि परिवारका वृद्धवृद्धालाई मुक्तिनाथ दर्शन गराउन लैजाने योजना बनाएका थिए । बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरूषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ उनीसँगै मुक्तिनाथ जाने भए । गाउँमा उनीहरूको घर सँगसँगै छ ।

शुक्रबार धनुषाबाट काठमाडौं आएका उनीहरू शनिबार पोखरा पुगेका थिए । जहाज दुर्घटनाको खबरले गाउँ शोकमा डुबेको छ ।

पाइलट घिमिरेः जो आफैले चलाएको विमानमा ज्यान गुमाए
पाइलट प्रभाकर घिमिरेले आइतबार बिहान ९ः५५ बजे पोखराबाट उडान भरे । उडान भरेको १२ मिनेटपछि जहाज सम्पर्कविहीन भयो । जुन विमान सोमवार बिहान मात्रै मुस्ताङको थासाङ गाउँपालिका– २ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जहाज भिरमा ठोक्किएर टुक्राटुक्रा अवस्था छ भने त्यसमा सवार २२ जनाकै मृत्यु भएको छ ।
पोखराबाट उडान भर्नुअघि पाइलट घिमिरेले जहाजको सेफ्टी पनि जाँच गराएका थिए । त्यसअघि सोही रुटमा समिट एयरले उडान भरिसकेको थियो । उच्च हिमाली भेगमा छिनछिनमा बदलिरहने मौसमले अन्ततः पाइलट घिमिरेलाई झुक्यायो । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार दुर्घटनामा परेको तारा एयरको जहाजभन्दा अघि उडेको समिट एयरको जहाज करिब १४ हजार फिट उचाइमा उडेको देखिन्छ । तर, सो जहाजपछि उडेको तारा एयरको जहाज १२ हजार पाँच सय फिट उचाइमा मात्रै उडेको देखिन्छ । दुर्घटना भएको स्थानलाई हेर्दा जहाज १४ हजार फिटभन्दा कम उचाइमा उडेको अनुमान गरिएको छ । दुर्घटनाको कारण खराब मौसम या पुरानो विमान या अरु केही खुलिसकेको छैन ।

पाइलट घिमिरेले नियमित उडानका अतिरिक्त धेरै नयाँ बनेका विमानस्थलहरुमा पनि परीक्षण उडान भरेका थिए । बागलुङको बलेवा विमानस्थलमा पनि उनले २०७४ चैत्र ९ गते परीक्षण उडान भरेका थिए । दुर्घटनामा परेर ज्यान गुमाएका पाइलट घिमिरे ‘ए’ डिभिजन लिगका पूर्वखेलाडी समेत हुन् ।

एक वर्षमै अस्ताए को–पाइलट उत्सव
२५ वर्षीय पाइलट उत्सव पोखरेल पनि दुर्घटनामै बिते । दुर्घटना पश्चात रूकुम पश्चिमको चौरजहारी नगरपालिका–३ लापुते गाउँ यतिबेला शोकमा डुबेको छ । उनी उत्सव चौरजहारीले पाएका पहिलो र एक मात्र पाइलट थिए ।

गत वर्ष वैशाखमा तारा एयरमा आवद्ध भएका उनले फिलिपिन्सबाट पाइलट कोर्स पूरा गरेर एक वर्षमात्रै नेपाली आकाशमा उडान भर्दै आएका थिए । कक्षा १० सम्मको पढाइ चौरजहारीकै भ्याली पब्लिक स्कुलबाट पूरा गरेका उनले काठमाडौंको भिएस निकेतनबाट प्लस टु गरेर पाइलट पढ्न फिलिपिन्स गए । फिलिपिन्समा पाइलट कोर्स पूरा गरेर उत्सव एक वर्षअघि स्वदेश फर्किएर तारा एयरको फर्स्ट अफिसर पाइलटका रूपमा काम सुरू गरेका थिए ।
भक्तपुर बस्दै आएका उनले बुधबार पोखरा पुगेर बिहीबार त्यहीँ बसेर शुक्रबार, शनिबार र आइतबारका उडान भरेर भक्तपुरको लोकन्थलीस्थित डेरामा फर्किने उनको योजना थियो ।

एयर होस्टेस थापाः जो परिवारको भरोसा थिइन्
आइतबार दुर्घटनाग्रस्त विमानमा एयरहोस्टेस थिइन् कृष्मी थापा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा अरु २१ इात्रुसँगै उनी पनि सदाका लागि विदा भएकी छिन् ।

सधैँ हँसिली र फुर्तिली कृष्मीले निकै संघर्ष गरेर एयरहोस्टेससम्मको यात्रा तय गरेकी थिइन् । स्याङ्जा चापाकोटकी कृष्मीका बुवा थापा मगर हुन् भने आमा दलित परिवारकी। कृष्मी जन्मिएपछि बुवाले आमालाई घरबाट निकालिदिए । कृष्मीलाई बोकेर आमा नजिकै रहेको माइत गइन्, त्यही हुर्किन्, बढिन्, पढिन् ।

कक्षा १० सम्म गाउँमै पढेकी कृष्मीले प्लस टु स्याङ्जाको वालिङमा पढिन् । त्यसपछि एयर होस्टेस बन्न पोखरा आइन् । पोखरास्थित एयरलायन्स फ्लाइट अटेन्डेन्ट एकेडेमीमा नाम निकालेर उनी २०१५ मा भर्ना भइन् । ६ महिना लामो एयर होस्टेस कोर्स पूरा गरेपछि कृष्मीले यति एयरलाइन्समा नाम निकालिन् । यद्यपि, यतिले उनलाई तारा एयरमा पठाइदियो । पछिल्लो ५ वर्ष यता उनी तारा एयरमा एयर होस्टेसका रूपमा काम गर्दै आएकी छिन् ।

परिवारको आर्थिक जिम्मा सम्हालेकी उनले मामाका छोरी शर्मिला र उनका भाइलाई पोखरा राखेर पढाएकी थिइन् भने अर्का भाइलाई काठमाडौंमा विज्ञान पढाएकी थिइन् ।

विमानमा आगो लागेन ! तर, उद्धारमा ढिलाई

दुर्घटना भवितव्य हो । तर, दुर्घटना पूर्वका सजगता, तयारी र यस पश्चातको खोजी, उद्धारमा नेपाल कुन अवस्थामा रहेछ ? दुर्घटना र यस पश्चातका अनेकन परिदृश्यले प्रष्ट झल्काइरहेको छ ।

विमान दुर्घटनास्थलमा पुगेका स्थानीय बासिन्दाले शवहरू यत्रतत्र छरिएको अवस्थामा भेटिएको प्रत्यक्षदर्शी विशाल थापाले बताए । शव पहिचान गर्ने अवस्थामा भएको र विमानमा आगो नलागेको देखिएको उनको भनाई छ । आगलागी नभएको हुनाले तत्काल यथोचित खोजी र उद्धार हुन सकेको भए सम्भवतः यति ठुलो क्षति बेहोनु पर्ने थिएन कि ?

दुर्घटनाबारे अनुसन्धानः नागरिक उड्डयन प्राधिकरण

नेपाल नागरिक उडड्यन प्राधिकरणले दुर्घटनाका बारेमा छानविन समिति गठन गरेर अध्ययन गरिने बताएको छ ।

पछिल्लो दशकको दुर्घटना केलाउँदा एक तिहाई दुर्घटना जहाज नियन्त्रणमा हुँदाहुँदै पनि डाँडामा ठोक्किएर भएको देखिएको छ। अर्को मुख्य कारणका रूपमा विमान चालकले उडानका बखत सामना गर्ने प्राविधिक वा अन्य परिस्थितिजन्य अवस्थाले जहाजलाई नियन्त्रणमा राख्न नसक्नु भएको दुर्घटना अध्ययन प्रतिवेदनमा औल्याइएको छ ।

प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले दुर्घटना भएको जहाजबारे व्यवस्थित अध्ययन हुने बताए । विमान दुर्घटना हुनुको कारण खोज ीगर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले छानबिन समिति गठन गर्ने तयारी गरेको छ । ‘दुर्घटनाको कारण मौसम खराबी भन्ने प्रारम्भिक रुपमा देखिएको छ,’ कर्णले भने, ‘यसबाहेक विमानको चालक या बडी, इन्जिन पनि दुर्घटनाको कारण हुन सक्छ, यसबारेमा हामी गम्भिरतापूर्वक अध्ययन गरेर यथार्थ बाहिर ल्याउछौ ।’

यस्ता छन् विमान दुर्घटनाका दुःखदायी अतित

एप्रिल २०१९ : सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु
फेब्रुअरी २०१९ : एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु
सेप्टेम्बर २०१८ : गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु
मार्च २०१८ : बाङ्ग्लादेशबाट नेपाल आएको यूएस(बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु
फेब्रुअरी २०१६ : पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु
मे २०१५ : भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्तस छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु
जुन २०१५ : सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
मार्च २०१५ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किश एअरको विमान धावन मार्गबाट चिप्लिँदा चार दिन विमानस्थल बन्द
फेब्रुअरी २०१४ : पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु
सेप्टेम्बर २०१२ : काठमाण्डूबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त, विमानमा रहेका सबै १९ जनाको मृत्यु
मे २०१२ : भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु
सेप्टेम्बर २०११ : हिमालको दृश्यावलोकनक अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाण्डूनजिकै कोतडाँडामा दुर्घटनाग्रस्तस नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु
डिसेम्बर २०१० : लामीडाँडाबाट काठमाण्डू उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यको मृत्यु
अगस्ट २०१० : काठमाण्डूबाट लुक्लातर्फ उडेको विमान दुर्घटनामा पर्दा १४ जनाको मृत्यु
अक्टोबर २००८ : लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला दुर्घटनामा १८ जनाको मृत्यु, एक जना घाइते
सेप्टेम्बर २००६ : सङ्खुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु, मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा। हर्क गुरुङ, डा। सीबी गुरुङ, तीर्थमान मास्के

२०७९, १६ जेष्ठ सोमबार ११:०३
कथालिका नयाँ कथा
कथालिका