कपुचे यात्राः मृत्युको मुखमा पुगेको दिन – कथालिका

कपुचे यात्राः मृत्युको मुखमा पुगेको दिन

  • म मादी नदीको बीचमा रहेको ढुंगामा फसें । रिना पारी चिसोले काँप्दै बसिरहेकी थिइन् । दाइ मलाई तार्न आउदै हुनुहुन्थ्यो । नजिकै आउनुभएको मात्र के थियो, नदीको बहावले उहाँलाई नराम्रोसँग हान्यो । तर, हामी दुई सँग हेर्नु र चिच्याउनु बाहेक अर्को विकल्प र सामथ्र्य थिएन ।

आफ्नो पेशाको प्रकृति र दौडधुपले उति धेरै फुर्सदको समय हुँदैन । पत्रकारिता पेशा अँगालेपछि कुन बेला के हुन्छ, उतै दौडनु पर्ने र अपडेट हुनुपर्ने । यसकारण कुनै राम्रो पर्यटकीय स्थानमा प्रयाप्त समय लिएर घुम्न जाने अवसर निकै कम हुन्छ । तर, हामी साथी बिच केही योजना बनिरहेको थियो । हामी उपर्युक्त र संस्कृतिले भरिपूर्ण स्थानको खोजी थियौ । अन्ततः गुरुङ गाउँ कास्कीकै ताङतिङ जाने सबैको योजना बन्यो । धेरै जनासंग कुराकानी भएर जाने भन्ने भए पनि अन्तिममा आएर धेरैले नजाने निर्णय सुनाए । अक्सर सामूहिक यात्रा योजनाको नियति यस्तै हुन्छ । म, रिना थापा (तानी) र पञ्चसुब्बा गुरुङ दाइ मात्र जाने भयौं । तीन जनामात्रै भए पनि यात्राका क्रममा रमाइलो गर्ने हाम्रो योजना बन्यो र २०७८ पुस १० गते हामी पर्यटकीय गाउँ ताङतिङको लागि हिँड्यौं ।

२,३ दिन ताङतिङमा बसेर त्यहाँको संस्कृति बुझ्ने र फ्रेस हुने हामीले जानुभन्दा अगाडि सोचेका थियौं । ताङतिङ पुगेकै दिन हामी गाउँ डुल्यौं । ताङतिङको सबै उत्कृष्ट लाग्यो । पुगेपछि हामी दिनभरी गाउँ डुल्दा समय कसरी बित्यो पत्तै पाइएन । पुसको चिसो, त्यसैले त्यही साँझ चिया खान एउटा बेकरी हाउसमा पस्यौं । त्यो समयमा कपुचे लेक भाइरल थियो । ट्रेकिङका लागि धेरै जना कपुचे पुगिरहेका थिए । बेकरी हाउसका सञ्चालकले हामीलाई त्यहाँबाट जम्मा २,३ घण्टामा कपुचे पुग्न सकिने बताए ।

ताङतिङ जानुभन्दा केही समय अगाडि रिनाले मलाई दिदी कपुचे जाउँ भनेकी थिइन् । तर, हिँड्न नसक्ने बताउँदै त्यहाँ पुग्न आँट नगरौं भनिसकेको थिएँ । बेकरी हाउसका सञ्चालकले २,३ घण्टामा पुग्न सकिने बताएपछि रिनाले जाउँ भन्न थालिन् । त्यति टाढाको बाटो, फेरी हामीलाई कुनै रुट थाहा थिएन । त्यसैले एक जनाले भनेको मात्र विश्वास गर्नु भन्दा अन्य व्यक्तिसंग पनि सोधपुछ गर्न आवश्यक ठानेर हामीले अन्यलाई सोध्यौं । सबैले ताङतिङबाट कपुचे २,३ घण्टामा पुग्न सकिने बताए । त्यसपछि हामीलाई विश्वास भयो । ताङतिङमा २,४ दिन व्यतित गर्ने हाम्रो योजना भए पनि अन्तिम समयमा कपुचे जाने योजना बन्यो ।

भोलिपल्ट बिहान ६ बजे ताङतिङबाट कपुचेको लागि प्रस्थान गर्ने योजना भए पनि ८ बजेमात्र बाटो ततायौं । हिँड्नुभन्दा अगाडि सामान्य खाजा खाएका थियौं । बिना योजना कपुचेको यात्रा तय भएकाले अन्य सामान लिएनौं । ताङतिङबाट हिँडेको करिब २ घण्टामा हामीले पुल भेट्टायौं । पुलको विषयमा हामीलाई पहिले नै जानकारी गराइ सकिएको थियो । पुल तरे पछि केही समय हामी उकालो लाग्यौं । उकालो सकिएपछि फाँट र भेंडी गोठालालाई भेटियो । कपुचेको यात्रामा निस्कनु भन्दा अगाडि फाँट आउने र त्यसपछि जंगल हुँदै गाडीको सडक आउने बताइएको थियो । भेंडीगोठालाले जंगल हुँदै आउने सडकको विषयमा जानकारी दिए ।

सोही जंगलको बाटो हुँदै आउने सडक हामीले भेट्यौं । हाम्रो यात्राको दुःख भने यहीबाट सुरु भयो । सडक आए पछि हाइड्रोपावर आउने जानकारी गराइएको थियो । खासमा गाडीको रोड हुँदै माथि तर्फ लाग्नुपर्ने थियो । हामी भने तल झरेछौं । त्यसपछि हामीले बाटो भेटेनौं । अझै केही तल पुगिसके पछि हाइड्रोपावर देखियो । हामीलाई भनिएको हाइड्रो त्यही होला भन्ने लाग्यो तर, होइन रहेछ । वरिपरि अन्य बाटो थिएन । त्यसैले, हाइड्रोसम्म पुग्न झाडी र भिर हुँदै गयौं । त्यो भन्दा अगाडि हाइड्रोमा काम गर्ने कामदारले हामीलाई केही इशारा गरेका थिए । हामीलाई लाग्यो, उनीहरुले बाटो यतै हो भनेर बोलाइरहेका छन् । भिर र झाडी पार गर्दै तल झर्दा उनीहरुले यहाँबाट बाटो छैन । सडकै सडक हुँदै फेरी फर्किनुस् भने ।

कामदारको भनाई पश्चात् हामी फेरी त्यही भिर र झाडी हुँदै फर्कियौं । फर्किए पछि करिब २ घण्टा जंगलमा हरायौं । जंगलमा भौतारिँदा भौतारिँदै दिनको २,३ घण्टा बितिसकेको थियो । केही भेडी गोठालाले हामीलाई त्यो दिन कपुचे पुग्न सम्भव नभएकाले यतै बस्न भनेका थिए । हामीलाई आफ्नो गन्तव्यमा पुग्नु थियो र अटेर गरेर सडकको बाटो हिँड्यौ । गाडीको बाटो नछोडेर यात्रा तय गरिरहँदा केही माथि पुगेपछि घर देखियो । त्यहाँ बाटोको विषयमा सोध्दा सडक नछोडेर जानुस् पुगिन्छ भन्ने जवाफ पायौं । २,३ घण्टामा पुगिन्छ भनिएकोमा हामी दिउँसो ३ बजेसम्म बाटो कता होला भन्नेमा अलमल्ल थियौं । तैपनि यात्रालाई जारी राखियो, धेरै पछि बल्ल ‘वे टु कपुचे लेक’ भन्ने बोर्ड देखियो ।

उक्त बोर्ड देखेपछि केही राहत मिल्यो । विहान सामान्य खाजा खाएर हिंडेका हामीसंग खाने कुरा केही थिएन । जाने बेलामा केही चकलेट तथा खानेकुरा लिएर जाने भन्ने सल्लाह भए पनि भुलिएछ । झोलामा केही कपडा मात्रै थियो । बाटो बिराएपछि भोक हराउँदो रहेछ सायद । थकित थियौं तर, भोक थिएन । विहानको ८ बजे ताङतिङबाट हिँडेका हामी थकित भइसकेका थियौं । ट्रेकिङमा कहिले नगएकाले सबैभन्दा बढी मलाई गाह्रो भयो । म हिँड्न नसक्ने अवस्थामा पुगिसकेको थिएँ । सडक नछोडेर जानु भनिएकाले त्यसै ग¥यौं । सडक मादी नदीको तीरै तीर भएकाले नदीको अजंगको आवाज र घना जंगलबाहेक सुनसान थियो ।

मलाई हिँड्न निकै गाह्रो भइसकेको थियो । ट्रेकिङ कहिले नगएको मान्छे म, केही पाइला हिंडेपछि रोकिन्थे, कहिलेकाहीं त नदीको तीरमा गुफा या अन्य बस्न लायक स्थान भेटिए म अगाडि बढ्न सक्दिन, यतै बसौं भन्थे । त्यस्तो अवस्थामा समेत रिना बहिनी र पञ्चसुब्बा दाइले सकिन्छ भन्दै प्रोत्साहन गर्नुभयो । हिँड्दा हिँड्दै अध्यारो हुन लागिसकेको थियो । नदीको तीरैतीर हिँडेको धेरै समयपछि भने तीन व्यक्ति भेटिए । हामीलाई देखेर उनीहरु छक्क परे । पञ्चसुब्बा दाइले उनीहरुसँग कपुचे पुग्न कति समय लाग्छ, बाटो कस्तो छ भनेर सोध्नुभयो । उनीहरुले त झन् हामीलाई यो बाटो कसले पठायो, एकदम दुःख छ, कपुचे पुग्न आज सम्भव छैन, हुगुगोठ पुगेर बस्नुस्, त्यहाँ पुग्दा रातिको त्यस्तै ९ बज्छ होला भने ।

उनीहरुले हामी ३ जनालाई बाटोमा ८ वटा काठको साँघु तर्नु पर्ने र साँघु नतरे सम्म हुगु गोठ पुग्न नसकिने बताए । अगाडि बढ्नुको अर्को विकल्प हामीसंग थिएन । अँध्यारो हुन लागिसकेकाले म आत्तिसकेको थिएँ । झन् घना जंगल तथा मादी नदीको आवाज मात्र । सुरुमा काठको साँघु नतरेर नदी तर्ने कि भन्ने सोच बनाएर नदीमा जान खोज्यौं । मादीको पानी यति चिसो भयो कि नदीको बिचमा पुगेपछि सकिन्न भनेर फर्कियौं र साँघु खोज्न तर्फ लाग्यौं, जसोतसो ७ वटा साँघु त¥यौं । साँघु तर्दा पञ्चसुब्बा दाइले हात समातेर तार्नुभयो । उहाँ पहिले आफू गएर सामान पु¥याउनु हुन्थ्यो र हामीलाई लिन फर्किनु हुन्थ्यो । त्यही माथि झन् साँघु चिप्लो थियो । काठको साँघु भएकाले निकै सानो हुन्थ्यो । मादी नदीको पानी कहिले ह्वात्तै ठूलो हुन्थ्यो त कहिले सानो ।

साँघु पनि यस्तो थियो कि खुट्टा अलिकति पनि लर्खराए ज्यान जान सक्थ्यो । झोलुंगे पुल तर्न समेत डराउने म हुगुगोठसम्म पुग्नै पर्ने बाध्यता तथा घना जंगलमा जंगली जनावरको डरले कहिले नतरेको र फोटोमा मात्र देखेको काठको साँघु तरें । ७ वटा साँघु पार गर्दा नगर्दै झिमिक्कै अँध्यारो भइसकेको थियो । साँघु खोजेर भौतारिने समय थिएन । पहिले पानी असाध्यै चिसो भयो भनेर नदीमा पस्न डराएका हामी ‘कि डर, कि मर’ को अवस्था आएपछि नदीमा पस्यौं । सबैभन्दा बढी म डराइरहेको थिएँ । पञ्चसुब्बा दाइ र रिना बहिनीले हिम्मत हारेनन् । अवस्था यहाँसम्म आइसकेको थियो कि म अब अगाडि बढ्न सक्दिन, यतै बसौं भनिसकेको थिएँ ।

भेटिएकाले ८ वटा काठको साँघु तर्नुपर्छ भने पनि खासमा हामीले १० वटा तर्नुपर्ने रहेछ । अँध्यारो भइसकेकाले सबै साँघु खोज्न सकेनौं । त्यसैले ज्यानको बाजी लगाएर नदी तरेका थियौं । डरले गर्दा होला, त्यो समयमा नदीमा पस्दा चिसो लागेन । जसोतसो २ स्थानमा खोला त¥यौं । खोला तरिसकेपछि भने हाम्रो हालत खराब हुन्थ्यो । पहिले चिसो नभएको पानी खोला तरिसकेपछि भने थरथर काप्थ्यौं । कपडा सबै भिजिसकेको थियो । चिसोमा हिउँको नदीमा पसिसके पछिको अवस्था कस्तो हुन्छ ? अहिले सोच्दा समेत शरीर जिरिंग हुन्छ । दुई स्थानमा खोला तरे पछि अन्तिममा पुग्दा भने मृत्युलाई नजिकबाट नियाल्यौं ।

  • ७ वटा साँघु पार गर्दा नगर्दै झिमिक्कै अँध्यारो भइसकेको थियो । साँघु खोजेर भौतारिने समय थिएन । पहिले पानी असाध्यै चिसो भयो भनेर नदीमा पस्न डराएका हामी ‘कि डर, कि मर’ को अवस्था आएपछि नदीमा पस्यौं ।

अन्तिम पटक नदी पार गर्नु भन्दा अगाडि पञ्च सुब्बा दाइले हामीलाई पानीको बहाव ठूलो भएकाले कुनै हालतमा खुट्टा नछोड्न र एक अर्काको हात समात्न भन्नुभएको थियो । नदीको बहाव यति ठूलो थियो कि मैले खुट्टाले भुइँ छोडेछु तर हात छोडिन । नदीको छेउँमा म थिएँ, मैले खुट्टाले भुइँ छोडेपछि सबै लर्खराए, एकअर्काको हात छोडेनौं । त्यो बेला हामी नदीको बीचमा थियौं । हातखुट्टा लर्खराएपछि दाइले दिदीबहिनीलाई एकैसाथ नदी पार गराउन सक्नुभएन । पालैपालो जाने भन्ने भयो । त्यसपछि सामान र रिनालाई पारी लैजानुभयो नदी पार गरेर ।

नदीको छेउ–छेउमा अजंगको ठूला–ठूला ढुंगा थिए । दाइले तिमी यहीँ बस, म रिना र सामान पु¥याएर आउँछु भन्नुभयो । म मादी नदीको बीचमा रहेको ढुंगामा फसें । रिना पारी चिसोले काँप्दै बसिरहेकी थिइन् । दाइ मलाई तार्न आउदै हुनुहुन्थ्यो । नजिकै आउनुभएको मात्र के थियो, नदीको बहावले उहाँलाई नराम्रोसँग हान्यो । तर, हामी दुई सँग हेर्नु र चिच्याउनु बाहेक अर्को विकल्प र सामथ्र्य थिएन । म र रिनासंग अरु उपाय थिएन, ऊ नदी पारी थियो म बीचमा । दाइ भनेर चिच्याउन मात्र सक्यौं । धन्न त्यो समयमा दाइले नदीको बीचमा रहेको अर्को ढुंगा समाउन भ्याउनुभयो । मृत्यु के रहेछ र त्यसको नजिकै पुगेर फर्किदाको अनुभव मैले बल्ल थाहा पाएँ । नदी पार गर्दा रातिको झण्डै ९ बजिसकेको थियो ।

निरन्तरको हिँडाई र रित्तो पेट, खुट्टाले मलाई साथ दिन छोडिसकेको थियो । हिँड्न सक्ने अवस्थामा थिइन । केही पाइला सारेपछि फेरी आराम गर्थें । अप्ठ्यारो समयमा दाइले हात समाएर नै हिँडाउनुभयो । अनकन्टार जंगल, कर्कश लाग्दो मादीको आवाज अनि मोबाइलको लाइटको साहरा । बस्, यत्तिमै हामी हिंडिरहेका थियौं । अन्तिम पटक मादी नदी तर्नुभन्दा अगाडि मेरो हालत नाजुक भइसकेको थियो । त्यही समयमा केही पर बत्तीको जस्तो आकार देख्यौं । त्यही हामीलाई बत्ती तारा पो कि भन्ने लागिरहेको थियो । धेरै पर बलेको थियो बत्ती । बत्ती देखिसकेपछि भने हामीलाई केही हिम्मत आयो र नदी तरेका थियौं ।

करिब एक घण्टाको हिँडाई पश्चात् हामी बत्ती बलिरहेको स्थानमा पुग्यौं । खासमा त्यो हाइड्रोमा काम गर्ने कामदार बस्ने घर रहेछ । खास त्यहाँ सोलार राखिएको रहेछ । रिनाले बोलाएपछि उनीहरु उठे । त्यहाँ त्यस्तो बिजोग अवस्थामा देखेर उनीहरु अचम्मित भए । बिहान ८ बजे ताङतिङबाट हिंडेका हामी राति १० बजे बत्ती बलिरहेको स्थानमा पुगेका थियौं । हामी मादी नदीको तीरैतीर आएको, त्यो पनि जिउँदै देखेर उनीहरुले अचम्म मान्नु स्वभाविक थियो । सुरुमा त उनीहरुको पनि बाटोमा भेटिएका तीन जनाको जस्तो प्रश्न थियो, ‘तपाईंहरुलाई यस्तो बाटो कसले पठायो ?’ जंगलको बीचमा हाइड्रोको काम गर्न ४,५ जना त्यहाँ बसेका थिए । म हिँड्ने अवस्था थिइन, आज जान्न, यहीं बसौं, भोलि हुगुगोठ जाउँला भनिरहें ।

हाइड्रोमा काम गर्नेसंग भेटिए पछि उनीहरुले हामीसंग जे कुरा गरे, त्यो सुनेर हामी भाग्यले बाँचेछौं भन्ने भयो । गाडीको लागि बनाइएको सडकलाई पछ्याउँदै त्यो भन्दा माथि गएको भए हाम्रो बिचल्ली हुने रहेछ । किनकी उनीहरु बसेको भन्दा केही माथि पुगेपछि सडक सक्किने रहेछ । हामी पुग्नुभन्दा केही दिन अगाडि एउटा टोली सोही बाटो आउँदा दुख पाएका रहेछन् । उनीहरुलाई हुगुगोठसम्म पुग्न कामदार दाजुभाइले सहयोग गरेछन् ।

हाइड्रोमा काम गर्ने कामदारले हामीले त्यहाँबाट हुगुगोठ २० मिनेटमा पुग्ने बताए । मैले यहीं बसौं भनिरहँदा पञ्च सुब्बा दाइ र रिनाले २०/२५ मिनेटमा पुगिन्छ भने जाउँ भने । हाम्रो अवस्था देखेर कामदार दाजुभाइले हामीलाई पु¥याउने भए हुगुगोठसम्म । त्यहाँबाट हामी अगाडि बढ्यौं । साँघु तर्नुपर्ने रहेछ एउटा । त्यही साँघु पनि हामी पुग्नुभन्दा अगाडि त्यस्तै हण्डर खाएकालाई पु¥याउनु परेपछि बनाइएको रहेछ । हुगुगोठका लागि हिँडेपछि साँघुसम्म पुग्न सिस्नो घारीको बाटो जानुप¥यो । साँघुसम्म पुग्दा सिस्नोले कति पोल्यो, त्यसको हेक्का राख्ने अवस्था भएन । हात खुट्टा पुरै चिसो, त्यही माथि सिस्नोले पोल्नु, पीडा कति त कति । उनीहरुले भने अनुसार आधा घण्टामा हुगुगोठमा पुग्यौं । हामीले होटल बुक गरेका थिएनौं । जसरी सहज हुन्छ त्यसरी बस्ने निर्णय ग¥यौं । हुगुगोठको होटलमा पुगेपछि केही बेर आगो ताप्यौं अनि चिसो कपडालाई आगोमा सेकाएका मात्र के थियौं, मेरो त केही कपडा आगोमा जल्यो । भोक नलागे पनि थोरै खाना खाएर म सुत्न गएँ ।

भोलिपल्ट विहान ८ बजे हामीले कपुचेका लागि यात्रा तय ग¥यौं । त्यही दिन फर्किनुपर्ने भएकाले कपुचे पुगेपछि धेरैमा १५ मिनेटको समय बिताउने र ढिलो नगर्ने सल्लाह भइसकेको थियो । करिब ३ घण्टाको हिँडाइ पछि हामी अन्ततः कपुचे पुग्यौं ।

तय भए अनुसार करिब १५ मिनेटको समयमा केही फोटो र भिडियो खिचेर फर्कियौं । त्यहाँबाट सिक्लेस सम्मको बाटो तय गर्नुपर्ने थियो । हामी खाना खाएर साढे २ बजे हुगुगोठबाट फर्कियौं । सिक्लेस फर्किनु भन्दा अगाडि होटल सञ्चालकले हामीलाई तीन जनामात्र देखेर गाह्रो हुन सक्ने र फोनको नेटवर्कले काम नगर्ने भन्दै कुनै होटल बुक गर्न सुझाव दिए । जुन होटलले अप्ठ्यारो परेको अवस्थामा रेस्क्यु गर्न आओस् । हामीले सिक्लेसमा होटल बुक गर्न उनीहरुलाई नै आग्रह ग¥यौं ।

धेरै हिंडिसकेपछि हामी फोनको नेटवर्क लाग्ने स्थानसम्म आयौं । होटल सञ्चालकले भने झैं हामीले सोही स्थानबाट हामीलाई गाह्रो हुन सक्छ लिन पठाउनु भन्ने सिक्लेसमा हाम्रो लागि बुक भएको होटललाई जानकारी गरायौं । सिक्लेसबाट हामीलाई लिन दुई जना आउने भए । हामी जति अगाडि बढ्थ्यौं त्यति अन्धकार हुँदै जान्थ्यो । नेटवर्कले अलिअलि काम मात्र के गरेको थियो, घरबाट फोन आयो । त्यहाँबाट अगाडि बढ्नु उचित थियो । फोनबाट रेस्क्युको लागि जानकारी गराए पछि हामी पुनः आफ्नो बाटो लाग्यौं ।

हुगुगोठमा हामी बसेको होटलको सञ्चालकले रेस्क्युका लागि वाकीटकीमार्फत् आग्रह गरिसकेका थिए । मलाई निकै गाह्रो भइसकेको थियो हिंड्न । लगातारको हिंडाई र थकाइले म जहाँ जे भेटे पनि बसौं भन्थें । पञ्चसुब्बा दाइ र रिनाले हुँदैन, बरु सुस्त जाउँ, आजै सिक्लेस पुग्नु छ भन्थे । बाटोमा बाँसको झ्याङ मात्रै भेटियो । हामी ताङतिङमा हुँदा भेटिएका अनुसन्धानकर्ताले बाँसको झ्याङ भएको ठाउँमा भालुको बिगबिगी हुन्छ भनेका थिए । अन्धकारमय थियो । जंगलमा केही खस्र्याकखुर्सुक भए पनि भालु हो कि जस्तो लाग्थ्यो ।

  • सिक्लेस आए पछि पञ्च दाइले अचानक मलाई सोध्नुभयो, ‘मलाई मादी नदीले बगाएको भए तिमी के गथ्र्यौं, तिमी त नदीको बीचमा थियौ नि है ?’ यो प्रश्न सुनेर म एकछिन झसँग भएँ । खुट्टा दुख्यो भन्दै हाँसीमजाक गरिरहेका हामीमाझ यो प्रश्नले सन्नाटा छायो ।

रातको समयमा हामीलाई रोकिनु थिएन । मलाई गाह्रो भइसकेको थियो । उकालो हिँड्न नसकिरहेको अवस्थामा रिना बहिनी र दाइले धेरै सहयोग गर्नुभयो । उकालो पार गरेपछि भने बल्ल सोलार बत्ती राखिएको स्थानमा आइयो । त्यसपछि हामीभन्दा पारी जंगलबाट बत्ती बलेको देखियो । उहाँहरु हामीलाई लिन आउनुभएको रहेछ । हामीले मोबाइलको बत्ती बालेर उहाँहरुलाई इशारा दियौं । लिन आउनु भएपछि मलाई केही राहत मिल्यो ।
लिन आउने आमाबाबासंग र उहाँहरुकै रफ्तारमा हिँड्न सक्ने हामीसंग तागत थिएन । उहाँहरु हाम्रो तालमा हिँड्नुभयो । अन्ततः उकाली ओराली गर्दै दिउँसो साढे २ बजे हुगुगोठबाट हिँडेका हामी राति करिब पौने १० बजे सिक्लेस पुग्यौं । लिन आउनुभएका आमाबाबा हामीलाई बुक गरिएको होटलमा छोडेर आफ्नै घर जानुभयो । सिक्लेस पुगिसके पछि हामीले घरमा फोन ग¥यौं । लगातारको हिँडाइले गलेको शरीर भएर खाना खान त्यति रुचि थिएन । तर लामो समय हिँडेपछि केही खानुपर्छ भन्ने सोचले हामी ३ जनाले थोरै खाना खायौं र सुत्यौं ।

भोलिपल्ट बिहान खाना खानु भन्दा अगाडि हामीले सिक्लेसबाट देखिने मनोरम दृश्य हेरिरहेका थियौं । त्यही बेला पञ्चसुब्बा दाइले अचानक मलाई सोध्नुभयो, ‘मलाई मादी नदीले बगाएको भए तिमी के गथ्र्यौं, तिमी त नदीको बीचमा थियौ नि है ?’ यो प्रश्न सुनेर म एकछिन झसँग भएँ । खुट्टा दुख्यो भन्दै हाँसीमजाक गरिरहेका हामीमाझ यो प्रश्नले सन्नाटा छायो । त्यो प्रश्न पछि भने मलाई लाग्यो, ‘साँच्चै म त मृत्युको मुखमा पुगेर फर्किएको रहेछु त ।’ हुन पनि कपुचेको यात्रा तय गर्नु भन्दा अगाडि हामीले परिवारलाई उक्त स्थानमा नेटवर्क नलाग्ने भएकाले सम्पर्कबिहिन हुन्छौैं भन्ने जानकारी गराइसकेका थियौं । पछि सोचें, ‘हामीलाई केही भइदिएको भए कति दिनमा परिवारले खोज्थ्यो होला ?’

सिक्लेस घुम्ने मन थियो । तर, धेरै हिंडाईंले खुट्टाले साथ दिएन । पोखरा फर्किनु भन्दा अगाडि हामीलाई लिन आउने आमाबुबासंग भेट्ने इच्छा नभएको होइन । यद्यपि, हामीलाई छिट्टै पोखरा आउनुप¥यो । एकदिन अवश्य म उहाँहरुलाई भेट्ने छु फेरी सिक्लेस गएर । उहाँहरुका लागि धन्यवाद शब्द मात्रै काफी छैन । हल न चलको अवस्थामा हुँदा हाम्रो हालत देखेर हुगुगोठसम्म पु¥याइदिने हाइड्रो कम्पनीमा काम गर्ने दाजुभाईलाई समेत भुल्न सक्दिन । थाहा छैन, उहाँहरुसंग आगामी दिनमा भेट हुन्छ या हुन्न ? कता र कुन स्थानमा हुनुहुन्छ ? तर उहाँहरु सधैं मनमा याद बनेर बसिरहनुहुने छ । तराईतिरका हौं भनेका थिए । उहाँहरुले जति सहयोग गर्नुभयो, निकै ठूलो गुण थियो हाम्रा लागि ।

जीवनका हरेक क्षण र पलमा केही सिकिन्छ भन्छु म । यो यात्राले जीवनमा धेरै कुरा सिकायो अन्य यात्रामा भन्दा । महत्वपूर्ण कुरा मृत्युलाई नजिकबाट अनुभव गरियो । जब मानिस मृत्युको मुखमा पुगेर फर्किन्छ, अनि उसलाई जीवनको महत्व थाहा हुने रहेछ । अर्को भनेको कुनै लामो यात्रा, ट्रेकिङ या अञ्जान स्थानको यात्रा तय गर्नु छ भने त्यो स्थानको विषयमा प्रयाप्त जानकारी नलिए सम्म जानु हुँदैन रहेछ । कपुचेको यात्राले यही शिक्षा दियो । हामीले बिना तयारी यात्रा गरेकाले सोचेभन्दा बढी दुःख पाइयो । यो यात्रा मेरो लागि सबैभन्दा अविष्मरणीय यात्रा बन्यो, जसलाई भुल्न सक्दिन । कपुचे यात्राका हरेक मिनेट मनभरी छन् । धेरै सिकियो यो यात्राबाट, जसलाई जीवनभरी मनन गर्ने प्रण गरेको छु ।

२०७९, २१ जेष्ठ शनिबार ०६:३५
कथालिका नयाँ कथा
कथालिका