गत वर्ष जेठ,असारमा मस्र्याङ्दी नदीमा आएको बाढीका कारण हिमाली जिल्ला मनाङका विभिन्न क्षेत्रमा जनधनको ठुलो क्षति भयो ।
गत वर्षको ३१ जेठ र असारको पहिलो साता मस्र्याङ्दी नदीमा आएको बाढी प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकिएको छैन । बाढीबाट क्षति पुगेका बाढी प्रभावितको आवास तथा बाढीले क्षति पुगेको संरचनाको निर्माण एवं पुनर्निर्माण गर्न सकिएको छैन । विशेषगरी गत वर्ष बाढीले नासोँ गाउँपालिकाका विभिन्न गाउँमा बढी क्षति पु¥याएको थियो ।
गत वर्षको बाढीका कारण घरबारविहीन भएका मनाङ नासोँ गाउँपालिकाको सिरानताल र तालगाउँका प्रभावित पुराना आवासलाई सरसफाइ गरेर बस्न बाध्य छन् । मनसुनको सुरुआत भएपछि बाढी प्रभावित भयमा बस्न बाध्य छन् । मनाङको सदरमुकाम चामे नै मस्र्याङ्दी नदीको जोखिम रहेको छ । नदीमा आएको बाढीले चामेको विद्यालयलगायत विभिन्न सार्वजनिक संरचनामा क्षति पु¥याएको थियो । बाढीले क्षति पु¥याएका संरचनाको हालसम्म पनि मर्मत सकिएको छैन ।
वर्षामा बाढीको त्रास छ भने जाडोमा चिसोले बाढी प्रभावित सकसमा जीवन जिउन बाध्य छन् । हिउँदको चिसो कठ्याङ्गिँ्रदै कटाएका बाढी प्रभावितका लागि सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् । बाढीका कारण विस्थापित तालगाउँ र सिरानतालका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आशमा छन् ।
मौसम पूर्वानुमान महाशाखाले यस वर्ष पनि वर्षा बढी हुने जानकारी गराएको छ र वर्षा सुरु भइसकेकाले मनाङवासी तथा विशेषगरी तालगाउँवासीमा त्रास बढेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । सुरक्षित आवास अभावमा उनीहरूले भत्किएका संरचनामा बाढीले ल्याएको गिट्टी, बालुवा, ढुङ्गा हटाएर टिनको टहरा निर्माण गरी बसेको आचार्यले बताए ।
उनका अनुसार गत मङ्सिरमा गण्डकी प्रदेश सरकारले दिएको रु.दुई लाख र नासोँ गाउँपालिकाले दिएको रु.एक लाखले अस्थायी टहरा मर्मत गरी बसेका छन् । बाढीपीडितका लागि वर्षायाम अगावै स्थानान्तरण वा सुरक्षित बासको व्यवस्था गर्ने योजना तयारी गर्न नसकिएको प्रजिअ आचार्यले बताए। गत वर्ष मस्र्याङ्दी नदीको बाढीले तालगाउँ र सिरानतालको बस्ती तहसनहस पारेको थियो ।
बस्ती सार्न विज्ञको सुझाव
नासोँ गाउँपालिका–१ तालगाउँ र सिरानगाउँ मस्र्याङ्दी नदीबाट बढी जोखिममा छन् । नदीको किनारमा आएको बाढीको जोखिममा यी दुई गाउँ नै हुन् । जोखिमयुक्त स्थानमा भएको बस्तीले मानवीय क्षति पुग्ने भनेर विज्ञले सार्नुपर्ने सुझाव दिएका छन् । जोखिमयुक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित स्थानको खोजीमा स्थानीयवासी छन् । सुरक्षित स्थानको खोजी गर्दागर्दै स्थानीयवासी हिउँदभित्रै घर बनाउने भनिए पनि वर्षा सुरु हुँदासम्म पनि जोखिमयुक्त घर मर्मत गरी बसिरहेका छन् ।
वर्षा लागिसक्दा पनि सुरक्षित बासको अझै ठेगान लगाउन सकिएको छैन । यसले गर्दा पुख्र्यौली थातथलो नै छोड्नुपर्ने हो कि भन्ने चिन्ताले बाढी प्रभावित शान्तरुपमा बस्न सकेका छैनन् । सुरक्षित स्थानको पहिचान नहुँदा उनीहरूले व्यक्तिगत तवरबाट घर बनाउन समेत पाएका छैनन् । स्थानीय सरकार र प्रदेश सरकारको केही राहत रकम प्रदान गरेको थियो । जग्गा अभावका कारण बाढी प्रभावितको सुरक्षित आवास निर्माण प्रक्रिया अघि बढ्न नसकेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए।
सिरानतालको सात र तालगाउँको ४३ घरधुरी अन्य सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ ।
त्रासमै बाढी प्रभावित
तालगाउँका बाढी प्रभावित त्रासमा रहेको एक वर्ष भएको छ । एक वर्ष हुँदासमेत तालगाउँवासी सुरक्षित महशुस गर्न सकेका छैनन् । स्थानीय मोहन गुरुङले बाढीले क्षतिग्रस्त बनाएको गाउँवासीले केही आरामको महशुस गरेका अवस्थामा फेरि वर्षाको भेल सुरु हुन लागेको बताउछन् ।
लामो समयको पर्खाइपछि टिनको टहरा बनाउन उहाँले बताउनुभयो । “ढिलै भए पनि ओत लाग्न पाएका छौँ । सरकार भएको अनुभूति गरेका छौँ”, उनले भने, “अझै जोखिम छ र त्रास भने कम भएको छैन । यस वर्ष पनि नदीमा बाढी नआउला भन्न सकिदैन, त्रासले निद्रा छैन ।”
नदी किनारमा रहेको तालगाउँ बाढीको उच्च जोखिमको क्षेत्र मानिन्छ । सिरानताल क्षेत्रको भौगर्भिक अध्ययनको तयारी थालेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । भौगर्भिक अध्ययनको नतिजापश्चात् यस क्षेत्रको संरक्षणका लागि थप व्यवस्थापन गर्ने तयारी गरिएको छ । अध्ययनपछि उक्त ठाउँमा बस्न मिल्ने वा नमिल्ने विषयमाथि निष्कर्ष निकालिनेछ । यहाँका आधाजति बासिन्दा तालमै बस्न इच्छुक छन् ।
विद्यालय जोखिममा हुँदा सारिँदै
बाढीपहिराको असरले हिमाली जिल्ला मनाङमा विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । बाढीपहिराको जोखिमका कारण अभिभावकले बालबालिका अन्यत्र सार्ने गरेका छन् । अभिभावकले जिल्ला बाहिर सुरक्षित स्थानका विद्यालयमा सार्ने गरेका छन् । मस्र्याङ्दी नदी किनारमा विद्यालय रहेकाले जोखिम मोल्न नचाहेर अभिभावकले बालबालिका सार्ने गरेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताए । “बाढीपहिरोको जोखिम अझै पनि छ । कतिपय निजी आवास निर्माण हुन सकेका छैनन् । अभिभावकले बाढीपहिरो आए आफू भागौँला तर बालबालिका भाग्न सक्दैनन् भनेर आफन्तकामा राखेर पढाउन जिल्ला बाहिर लाने गरेकाले विद्यार्थी घटेका छन्”, प्रअ कोइरालाले भने।
प्रकाश ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक जगराम विश्वकर्माले गतवर्षको बाढीपहिराले विद्यालयको क्षतविक्षत भएको र दुई शौचालय, एउटा हल क्षति भएपछि हालसम्म पनि त्रास रहेको बताए । प्राकृतिक विपत्तिको जोखिमका कारण अभिभावकले विद्यार्थी अन्यत्र लैजानेक्रम बढेको विश्वकर्माले बताए । “अभिभावकले बालबालिकालाई जोखिममा पढाउन नसक्ने भन्दै अन्यत्र लैजाने गर्छन् । जोखिमपूर्ण अवस्थाबाट जोगाउँदै विद्यार्थीलाई सहज बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्छ । बाढीपहिरोको जोखिमले विद्यार्थी घट्दो अवस्थाको न्यूनीकरणका लागि सम्बन्धित निकायको ध्यान पुगोस्”, उनले भने।
नासोँ गाउँपालिका–१ तालगाउँस्थित भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम पन्थी भन्छन्, “सबैभन्दा बढी जोखिमको क्षेत्र भएकाले अभिभावकले बालबालिका सार्ने गरेका छन् । यसवर्ष पनि पानी पर्न सुरु भएको छ । बाढीपहिराले जोखिममा नै छौँ । त्यसकारण अभिभावकले बालबालिका अन्यत्र लगेका छन्”, पन्थीले भने।
विद्यालयबाट बालबालिका अन्यत्र लैजाँदा विद्यालयको तीन वटा कक्षा यस शैक्षिकसत्रमा पूरै कक्षा खाली भएको छ । अभिभावकले आफ्ना आफन्तको राखेर पढाउनका लागि लैजाने भएकाले विद्यालयका कक्षा शून्य हुने भएको हो । बालबालिकालाई सुरक्षित बनाउन सम्बन्धित निकायले चासो दिनुपर्छ । विद्यालय परिसरको संरक्षण र सुरक्षित बनाउनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले प्राथमिकता दिन सके विद्यालयमा विद्यार्थी फर्काउन सकिने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईले बताए।
मेरुदण्डको सडक सकस
मनाङको मेरुदण्डका रुपमा रहेको बेंसीशहर–चामे सडक खण्डको १०७ किलोमिटर छ । गत असार १ र त्यसपछि आएको बाढीपहिराले मनाङको मेरुदण्डका रुपमा रहेको बेंसीशहर–चामे सडकखण्ड पक्कीरुपमा निर्माण गर्न नसक्दा सकसमा यात्रा गर्नुपर्ने बाध्यता छ मनाङवासी तथा पर्यटकलाई ।
यस सडकखण्डको चट्टानसँगै माटोले बनेको हुँदा वर्षायाममा पानी पर्नासाथ यात्रा सकस हुन्छ । एक मात्र मनाङ प्रवेशको कच्ची सडक छ । वर्षायाममा न त हिउँदयाममा यहाँको काम गर्न सक्ने अवस्था नरहेको प्राविधिक बताउँछन् । मौसमको प्रतिकूलताले गर्दा सडक निर्माणमा समस्या हुँदै आएको छ ।
बेंसीशहर–चामे–खाङ्सार सडकखण्ड १०७ किलोमिटरमध्ये धेरै स्थानमा बाढीपहिराले क्षति पु¥याएको थियो । उक्त सडकखण्डको नेपाली सेनाको प्राविधिक टोलीलेसमेत बाढीपहिरोपछि अध्ययन गरेको थियो । माटोको अवस्था अध्ययन तथा अनुगमनपछि सेनाको प्राविधिक टोलीले बेंसीशहर–चामे सडक खण्डको नयाँ ट्र्याक खोल्ने प्रक्रियामा अगाडि बढाउने भनिए पनि हालसम्म मौसम प्रतिकूलताले काम हुन सकेको छैन ।
मनाङको वैकल्पिक मार्ग हेलिकप्टर
विकट हिमाली जिल्ला मनाङमा बाढीपहिरा गत वर्ष आएको बाढीपहिराले सडक यात्रा पूर्णरुपमा बन्द भयो । गत जेठ १४ र असार १ मा आएको बाढीपहिराले मनाङको सडक पूर्णरुपमा रोकिएको थियो । स्थलमार्ग अवरुद्ध भएको खण्डमा हेलिकप्टरको सहायताविना कुनै पनि यात्रा हुन सक्दैन । अचानक कुनै पनि दुर्घटना भएको खण्डमा मनाङमै उपचार हुनसक्ने अवस्था नहुनु र सडक मार्ग अवरुद्ध भएमा हेलिकप्टर चार्टड मात्रै विकल्प हो ।
यहाँको मौसम पनि कति बेला प्रतिकूल वा अनुकूल बन्न पत्तै पाउन मुस्किल हुन्छ । यस्तो अवस्थामा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारले मनाङको मेरुदण्डका रुपमा रहेको मार्गलाई बजेट वर्षैपिच्छे विनियोजन गर्दै आएको छ ।
मौसमको अनुकूलता र ठेकेदारले समयमा काम गर्न नसक्दा मनाङको यात्रा सकस नै रहेको छ । आगामी आर्थिक वर्षका लागि सङ्घ सरकारले रु ६१ करोड मनाङको मेरुदण्डको मार्ग चामे–बेसीशहर सडक मार्ग निर्माणका लागि बजेट विनीयोजन गरेको छ । तथापि यो मार्ग पक्की रुपमा निर्माण हुन सकिरहेको छैन ।
डुम्रे–बेंसीशहर–चामे सडक कार्यालयले लमजुङले मौसमको प्रतिकूलताले गर्दा यहाँको सडक निर्माणमा सकस भएको जनाएको छ ।
साना लघुविद्युत्का भरमा मनाङ
हिमाली जिल्ला मनाङ विद्युत् प्राधिकरणबाट प्रवाह हुने विद्युत् उपभोग गर्न गर्दैन । यहाँ साना लघु जलविद्युत्को प्रसारण लाइनमार्फत चलेका विद्युत्ले मात्रै धानेको छ । चामे लघु जलविद्युत् आयोजना लगायतका साना जलविद्युत्बाट उत्पादन भएको र सोलार प्रयोग गरेर बिजुलीको उपभोग भइरहेको छ । गत वर्ष राष्ट्रिय प्रशारण लाइनसँग जोडिएको केही महिनामा नै बाढीपहिराको प्रकोपमा प¥यो र उक्त विद्युत् उपभोग हुन सकेन ।
यहाँ राष्ट्रिय प्रशारण लाइनको विद्युत सरकार तथा गैरसरकारी सङ्घसंस्थामा जडान गरिएको छ । यहाँ सर्वसाधारणले राष्ट्रिय प्रशारण लाइनको विद्युत् उपभोग गरेका छैनन् । सर्वसाधारणलाई विद्युत् प्रवाह गर्ने गरी छाडिएको छैन । सर्वसाधारणले लघु जलविद्युत् र सोलारको विद्युत् उपयोग गरिरहेका छन् ।
गत वर्ष बाढीपहिराले क्षति पु¥याएको सरकारी सङ्घसंस्थालाई कार्यसम्पादनका लागि सहज बनाउने उद्देश्यले गण्डकी प्रदेश सरकारले सौर्य ऊर्जा जडान गरिदिएको थियो । प्रदेशबाट सरकारी कार्यालयको सेवा प्रवाहको सहजताका लागि सौर्य ऊर्जा जडान हो ।
सदरमुकाम चामेदेखि भ्राताङसम्म २०७७ माघमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् आपूर्ति भएको थियो । मनाङमा लमजुङको मस्र्याङ्दी–५ घेर्मुस्थित राधी साना जलविद्युत् आयोजनामा निर्मित सबस्टेसनबाट २९ किलोमिटर तार टाँगेर ३३ केभी विद्युत् प्रसारण लाइन चामे–१ स्यार्कुस्थित सबस्टेसनमा जडान गरिएको थियो । बाढीपहिराले प्रसारणमा एक करोड ७० लाखबराबरको क्षति पुगेको छ । बाढीपहिराले ३३ केभी लाइनको ८।४ किलोमिटरको ११६ वटा खम्ब, ५।६ किलोमिटरको ११ केभी लाइनको ८८ वटा पोलमा क्षति पु¥याएकोे छ । ४०० भोल्टको ५१ खम्बामा क्षति पुगेको थियो ।
भौतिक पूर्वाधारको निर्माणमा चासो
राष्ट्रिय योजना आयोगले विगतमा बाढीपहिराले भौतिक संरचनाको पुनर्निर्माणका लागि अगाडि बढ्ने मेसो देखायो तर, पूरा गर्न भने सकेको छैन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल र गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेसहितको टोलीले हिमाली जिल्ला मनाङको विकासको अवस्था, चुनौती र सम्भावनाका सम्बन्धमा अध्ययन गरेका थिए ।
विभिन्न गाउँबस्तीमा विपद्का बेला भएको क्षति अवलोकन एवं निजी घर, पुल, सडक, विद्युत् पुनर्निर्माण गरी आगामी कदमका सम्बन्धमा स्थलगत अनुगमन तयारी थाल्ने प्रयास गरे पनि अहिलेसम्म पुरा हुन सकेको छैन । विकट क्षेत्रको विकासमाथि खेलबाड गर्न नहुने भन्दै वर्षायाममा पनि सहज बनाउने उद्देश्यले यहाँको विकास हुन आवश्यक रहेकाले समयमा कार्य गर्न अनुरोध गरिएको थियो ।