कमलपोखरी बिक्रीमा छैन ! – कथालिका

कमलपोखरी बिक्रीमा छैन !

यो देशका सार्वजनिक सम्पत्ति माथि के कति मनोमानी र दोहन भइरहेको छ ? आँखै अघि यसका अनगिन्ती उदाहरण भेटिन र देखिन सक्छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष पुरानो धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको कमलपोखरी अर्थात् पलिस्वाँ पुखुः ३७ वर्ष अघि स्थानीय केहीले चलखेल गरे । किनबेच गरेर आफ्नो नाममा बनाए ।

पछि यसको रहस्य खुल्दै गए पश्चात स्थानीय सामाजिक अगुवाहरु संगठित भए । यो विषयको मुद्धा भक्तपुर जिल्ला अदालत हुँदै उच्च अदालत सम्म पुग्यो । तर, उच्च अदालतले पनि जिल्ला अदालतको फैसला सदर गरे पछि २७ वर्ष पछि कमलपोखरी पुनः सार्वजनिक सम्पत्ति नै कायम भएको छ ।

अदालतको फैसलापछि मध्यरातिसम्म बोडेवासीले बाजागाजासहित खुसीयाली मनाएर बोडे परिक्रमा गरेका छन् ।

उच्च अदालत पाटनले कमलपोखरीको मुद्दाको अन्तिम किनारा लगाउँदै उक्त पोखरी सार्वजनिक नै रहेको फैसला गरेको थियो । मध्यपुरथिमि नगरपालिकाका पूर्वनगरप्रमुख मदनसुन्दर श्रेष्ठले उच्च अदालत पाटनका न्यायाधीशद्धय राजेन्द्र खरेल र रमेश ढकालको संयुक्त इजलालसले भक्तपुर जिल्ला अदालतको फैसलालाई सदर गर्दै कमलपोखरी सार्वजनिक रहेको फैसला गरेको थियो।

उनले भने, “कमलपोखरी बिक्री भएपछि बोडेका बासिन्दाले पोखरी जोगाउन संरक्षण समिति बनाएर अभियान नै चाल्नुभयो, भक्तपुर जिल्ला अदालतले विसं २०७५ असार १९ गते पोखरी सार्वजनिक भएको फैसला गर्दै संरक्षणलाई आदेश दिएपछि नगरपालिकाले तत्कालै ७५ लाखको बजेट विनियोजन गरेर संरक्षण अभियान थाल्याँै, आज फेरि जनताको पक्षमा फैसला आउँदा हामी खुसी भएका छौँ ।”

पाटन उच्च अदालतको प्रत्येक पेशीमा बोडेका युवा, महिला, ज्येष्ठ नागरिक, जनप्रतिनिधिदेखि यहाँका बासिन्दाले अदालत परिसर क्षेत्रमा पोखरी सार्वजनिकरूपमा फर्काउन माग गर्दै हातहातमा प्लेकार्ड बोकेर धर्ना दिएका थिए ।

अदालतको फैसला आउनेबित्तिकै धर्नामा बसेका स्थानीयवासीमा खुसीयाली छाएको स्थानीयवासी एवं शिक्षासेवी वीरेन्द्र जयनाले बताए । उनले भने, “अदालतको फैसलाले जनताको जित भएको छ, यो फैसलाले सिङ्गो बोडेवासी र मध्यपुरवासीमा खुसी छाएको छ, सेतै कपाल फुलेका ज्येष्ठ नागरिकदेखि महिला, युवा, नेतासमेतले घाम पानी नभनी पोखरी फर्काउन लागि पर्नुभएको थियो, यो फैसलाले सार्वजनिक सम्पत्तिमा आँखा लगाउने भूमाफियालाई सचेत गराएको छ, जनताको पक्षमा फैसला आएको छ ।”

जनताको पक्षमा फैसला आउने आशामा अदालत परिसरदेखि राति बोडेमा भएको ¥यालीमा समेत पूर्वनगरप्रमुख श्रेष्ठ, वर्तमान नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय श्रेष्ठ, ८ नं वडाध्यक्ष रमेश थापा श्रेष्ठ, कमलपोखरी संरक्षण समितिका संयोजक गणेशमान चक्रधर, अन्य जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा स्थानीयवासीको सहभागिता थियो ।

तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं १ को १५ रोपनी नौ आना सार्वजनिक पोखरी विसं २०४२ असार ३१ गते पोखरीको रेखदेख गर्ने कान्छी पोडेनीको नाममा दर्ता भई विसं २०५१ माघ २२ गते अधिकृत वारेसनामा बकसपत्र गरी मनाङ घर भई काठमाडौँ ठमेल बस्ने ग्ल्याल्पो गुरुङको नाममा पास भएको थियो । त्यसमध्ये १३ रोपनी नौ आना ग्ल्याल्पोको नाममा, एक रोपनी तेन्जी शेर्पिणीको नाममा, एक रोपनी कर्सी जद्योना गुरुङको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा जग्गा पास गरेर बिक्री गरेको पाइएको थियो ।

स्थानीयले गणेशमान चक्रधरको संयोजकत्वमा ऐतिहासिक कमलपोखरी ९पलिस्वाँ पुखुः० संरक्षण समिति नै गठन गरी पोखरीको धनीपूर्जा खारेज गरी पोखरीलाई सार्वजनिक कायम गर्न माग गर्दै मुद्धा दायर गरेका थिए । त्यसपछि जिल्ला अदालत भक्तपुरले विसं २०७५ असार १९ गते मङ्गलबार वादी कान्छा चक्रधर र प्रतिवादी सुर्जेराम श्रेष्ठसमेत भएको उक्त मुद्दामा जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले मध्यपुरथिमि–८ बोडेस्थित कमलपोखरीलाई सार्वजनिक कायम गरी संरक्षण गर्नुपर्ने फैसला सुनाउँदै पोखरीको संरक्षण गर्न आदेश जारी गरेको थियो ।

जग्गा खरिद गर्ने पक्षले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटन मुद्दा दर्ता गराएका थिए । अवैधरूपमा दर्ता तथा किनबेच गरी पोखरी पुरेर जग्गा टुक्र्याउन डोजर आएपछि मात्रै पोखरी बिक्री भएको स्थानीयवासीले चाल पाएका थिए ।

मध्यपुरथिमि नगरपालिकाले दुई वर्ष लगाएर कमलपोखरी संरक्षण अभियान चलाउँदै पोखरी सफा गर्ने, पोखरीमा पानी भर्ने वरिपरि ढुङ्गाको पर्खाल निर्माण गर्दै पोखरीको वरिपरि दाँची अप्पा, माँअप्पा इँटाको प्रयोग गरेर कलात्मक र ऐतिहासिक शैलीमा पुनःनिर्माण गरी बार लगाइएको छ । पोखरीको वरिपरि निर्माण भएको १० फिट चौडाइको ढलानसहितको फुटपाथ त्यसमाथि पोखरीको डिलमा तेलिया इँटा छापेर खाली खुट्टाले पनि हिँड्न मिल्ने बनाइएको छ ।

पोखरीमा पाँच लाखको लागतमा दुई डुङ्गा सञ्चालनमा ल्याइएको, दुई हजार माछाका भुरा छाडेको र पोखरीमा रोपिएको कमलको बिरुवाबाट अहिले फूल फुल्न थालेको छ । पोखरीमा अहिले आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । यहीँ पोखरीमा फुलेको कमलको फूल यहीँको लायकू दरबारमा दसैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानुपर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँकोे फूल चढाएर जात्रा चलाउने र जिब्रो छेड्ने जात्रा चलाउने ५० वर्ष अगाडिको परम्परालाई नगरपालिकाले यसै वर्षदेखि सुरु गर्न पाएको श्रेष्ठले बताए।

उच्च अदालतको फैसलामा खुसीयाली मनाउँदै हिजो साँझदेखि रातिसम्म बोडेमा बाजागाजासहित ¥याली प्रदर्शन गरिएको बोडे युवा क्लबका दीलकृष्ण प्रजापतिले जानकारी दिए । उनले वर्तमान र पूर्वजनप्रतिनिधि, स्थानीयवासीले धिमेबाजा बजाएर बोडे र यहाँको कमलपोखरी परिक्रमा गरी खुसीयाली मनाएको बताए।

२०७९, २ असार बिहीबार १४:०४
कथालिका नयाँ कथा
कथालिका