हट्दै गर्भपतनको डर र भ्रम – कथालिका

हट्दै गर्भपतनको डर र भ्रम

मुलसरी रोकामगर रोल्पा थवाङकी सामुदायिक अगुवा हुन् । सामुदायिक अगुवा हुनुअघि उहाँमा प्रजनन स्वास्थ्यबारे धेरै भ्रम भएकाले यस विषयमा खुलेर बोल्न लजाउने गर्थिन् । सुरक्षित गर्भपतनको विषय मुलसरीका लागि लाजको विषय थियो । प्रजनन स्वास्थ्यबारे समुदायका दिदीबहिनीसँग कुराकानी गर्ने जिम्मेवारीसहित उनी सामुदायिक अगुवा छानिए पछि तालिमको अवसर जु¥यो । तालिमपछि अगुवा रोकामा रहेको भ्रम हट्दै गयो । अहिले दिदीबहिनीसँग प्रजनन स्वास्थ्यकोबारेमा खुलेर कुराकानी गर्ने र सम्झाई बुझाई समेत गर्ने गर्छिन् ।

यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षित गर्भपतनको कानुन र अधिकारबारे आमा समूह, टोल समूह र थाक्लवमा आवद्ध दिदीबहिनीलाई सचेत गराउने तथा यसबारे सरकारले दिने सेवाबारे जानकारी गराउने काम मुलसरीको थियो। सुरु सुरुमा दिदीबहिनी अलि निस्क्रिय हुनुहुन्थ्यो, मेरो कुरा खासै चासो दिनुहुँदैनथ्यो विगत सम्झँदै उनी भन्छिन् । निरन्तर लगावले उहाँहरुको मन जिते पछि ध्यानापूर्वक सुन्न थालेको उनको भनाई छ । बैठकमा नियमित उपस्थिति र छलफलमा सक्रिय सहभागी हुन थालेसँगै उहाँहरुमा पनि प्रजनन स्वास्थ्यवारे चेतना बढेको छ, मुलसरीले भनिन् । सबै दिदीबहिनीमा यसरी परिवर्तन आयो त भन्दिन् तर अधिकांशमा परिवर्तन आएको जानकारी दिँदै उनी भन्छिन्, “सामुदायिक अगुवा भएर काम गर्नु अघि प्रायः महिलाले असुरक्षित गर्भपतन गराउने गरेकाले यौन सम्वन्ध राख्दा नै अस्थायी साधन प्रयोग गर्ने सल्लाह दिँदै आएका छौँ। गर्भपतन गराउनै परे नजिकका सूचीकृत स्वास्थ्य संस्थामा गएर गर्भपतन गराउन सल्लाह दिने गरेका छाँै।’’

नेपाल सरकारले मुलसरीको गाउँमै रहेको थवाङ स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराएको छ । त्यहाँबाट आर्थिक वर्ष २०७६/०७७मा २० वर्षमुनिमा ४ र २० वर्ष माथिका २६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । सोही स्वास्थ्यचौकीबाट आर्थिक वर्ष २०७७/०७८ मा २० वर्षमुनिका ११ र २० वर्षमाथिका ४१ गरी ५२ जनाले यो सेवा लिएका थिए । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा २० वर्षमुनिका ४ र २० वर्षमाथिका १४ गरी १८ जनाले यो सेवा लिएको देखिएको छ । उनीहरुमध्ये सबैले औषधि खाएर गर्भपतन गराएका हुन् ।

मनिषा घर्तीमगर माडी–२ घर्तीगाउँकी सामुदायिक अगुवा हुन् । उनले पनि महिला दिदीबहिनीसँग यौन तथा प्रजनन स्वास्थ्यबारे कुरा गर्दै आएकी छिन् । आफूले जानेका कुरा निर्धक्क भन्ने मनिषाको बानीका कारण दिदीबहिनी पनि उनी सँग खुल्न लजाउँदैनन् । सामुदायिक अगुवा जति खुल्न सक्यो त्यसको प्रभाव दिदीबहिनीमा पनि पर्ने मनिषाले आफ्नो अनुभव सुनाए। आमा समूहको बैठकमा मनिषाले यौन तथा प्रजनन स्वास्थ्यकाबारे कुरा गर्ने उनले त्यस्तो समस्या परेका दिदीबहिनीलाई नजिकको स्वास्थ्य संस्थामा जान सुझाव दिने मात्र हैन हिंसामा परेका दिदीबहिनीलाई न्याय दिन सम्बन्धित निकायको ढोका ढक्ढक्याउने पनि गर्दै आएकी छिन् ।

आमा समूहको बैठकमा गर्भनिरोधका साधन प्रयोग गर्न सल्लाह दिनुहुने मनिषाले गर्भपतन गराउनै पर्ने भए यसको सेवा निःशुल्क रहेकाले दिदीबहिनीलाई सुचीकृत स्वास्थ्य संस्थाभन्दा बाहिर गर्भपतन गराउँदा हुने नोक्सानीको बारे पनि सचेत गराउँदै आएकी छिन् । उनले काम गर्ने माडी गाउँपालिकामा पनि सरकारले सुरक्षित गर्भपतनका लागि स्वास्थ्य संस्था सूचीकृत गरेको छ । जहाँ महिलाको मंजुरीले १२ हप्तासम्मको सुरक्षित गर्भपतन गराइन्छ । त्यहाँ औषधि खाएर गर्भपतन गराउनेको सङ्ख्या पनि वढ्दै जान थालेको छ । “विगतमा लुकेर असुरक्षित ढङ्गले गर्भपतन गराउँदा जटिल समस्यासमेत भोगेको म आफैले देखेको छु,” मनिषाले भनिन्, “अहिले भने यस्तो समस्या निकै कम भएको छ।”

माडी गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या ३९ थियो । ती मध्ये २० वर्षमुनिका ३ र २० वर्ष माथिका ३६ जनाले यो सेवा लिएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा यो सेवा लिनेको सङ्ख्या ३५ जना थिए । तीमध्ये एक २० वर्षमुनिको र ३४ जना २० वर्ष माथिका थिए । चालु आर्थिक वर्षको माघ मसान्तसम्म यो सङ्ख्या १७ पुगेको छ । तीमध्ये २० वर्ष मुनिका २ र २० वर्षमुनिका १५ छन् ।

झरना पुन रुन्टीगढी गाउँपालिका–४ उवाकी अर्की सामाजिक अगुवा हुन् । थवाङकी मुलसरी र माडीकी मनिषा जस्तै उनले पनि उक्त गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्यबारे कुराकानी गर्ने गरी तालिम लिएकी छिन् । दाङ जिल्लासँग सिमाना जोडिएको हुँदा यहाँ प्रजनन स्वास्थ्यबारे जनचेतनाको स्तर अलिमाथि रहेकोजस्तो लाग्थ्यो झरनालाई । जब दिदीबहिनीसँग यस विषयमा कुराकानी गर्न थाल्दा बल्ल उनलाई थाहा भयो कि यस विषयमा महिला दिदीबहिनीको बुझाई कमजोर रहेछ । सुरुमा त यस विषयमा कुरा गर्दा पनि दिदीबहिनी रिसाउँथे विगत सम्झँदै झरनाले भनिन्। “कुरा सुन्न नमान्ने, जलाउने समस्या अहिले यो धेरै परिवर्तन आएको छ,” उनले भनिन्, “अहिले त मेरो घरमै आएर सोध्नुहुन्छ। आमा समूहको बैठकमा पनि यो विषयले प्रवेश पाउने गरेको छ।”

यातायातको सुविधा, स्वास्थ्य संस्थाको पहुँच तथा शैक्षिक जागरणमा समेत रुन्टीगढी अलि अगाडि रहँदा झरनालाई पछिल्ला दिनमा काम गर्न त्यति सकस छैन । बितेका दुई वर्ष र चालु आर्थिक वर्षको माघ मसान्तसम्म यहाँका उल्लेख्य दिदीबहिनीले सुरक्षित गर्भपतन सेवा लिएका छन् । आर्थिक वर्ष २०७६/७७ मा २० वर्षमुनिका २३ र २० वर्षमाथिका १३८ गरी १६१ जनाले यो सेवा लिएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा २० वर्षमुनिका ९ र २० वर्षमाथिका १२९ गरी कूल १३८ जनाले यो सेवा लिएको तथ्याङ्क देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म २० वर्षमुनिका ६ र २० वर्षमाथिका ६३ गरी ६९ जनासम्म यो सेवा पुगेको देखिन्छ ।

सुरक्षित गर्भपतनबारे कुरै सुन्न नचाहाने रोल्पाका ग्रामीण बस्तीमा यस विषयमा आएको परिवर्तनका उदाहारण हुन् यी । लुकेर असुरक्षित गर्भपतन गराउँदा बर्सेनि धेरै दिदीबहिनीको अकालैमा मृत्यु हुने गरेको रोल्पामा पछिल्ला दिनमा यो समस्या टर्दै जान थालेको छ । प्रजनन स्वास्थ्य सेवा बस्ती बस्तीमा प्रचारप्रसार गर्न, सचेत गर्न तथा स्वास्थ्य संस्थाको पहुँचसम्म त्यस्ता महिलालाई पु¥याउन आठ सामुदायिक अगुवा क्रियाशील छन् । रुन्टीगढी, थवाङ, माडी र लुङ्ग्री गाउँपालिकामा यस्ता सामुदायिक अगुवा रहेको पास नेपालका जिल्लास्तरीय कार्यक्रम संयोजक ममता खत्रीले जानकारी दिइन् । समुदायले छनोट गरी पठाएका उनीहरुलाई पास नेपालले आधारभूत तहको तालिम दिने गरेको उनको भनाइ थियो ।

२०७९, ३ असार शुक्रबार ११:४४
कथालिका नयाँ कथा
कथालिका