चर्चित गीत, गुमनाम गायक – कथालिका

चर्चित गीत, गुमनाम गायक

सुरुमा ‘मनमा के छ वनमा कस्तुरी’ बोलको गीत पोखरामै रेकर्ड गराएका थिए । मगर कान् राहा नाकुङ माया ले माले, हि साइनो ये ए साइली, ङौं खबर (मेरो खबर) एल्बमको छुरु गान टन्च आले नि जोवन बोलको गीत लगायत मगर समुदाय माझ लोकप्रिय छ ।

झेर्मो ले कि छामो ले नाको लौ डेनी
रक्षा जाट्नी चण्डी भँयँर काट् निस लिह्ङ र सेनी
झर्मो ले कि छामो ले नाको लौ डेनी……..
मगरहरुको जनजिब्रोमा झुण्डिएको छ यो गीत । मगर भाषाको गीत ध्यान दिएर सुन्ने व्यक्तिका लागि यो गीत नौलो होइन । अधिकले सुनिरहेकै छन् । मगर भाषाका गीत संगीत यसै पनि कम छन् । यद्यपि, पहिलेको तुलनामा मगर समुदायको भाषागत गीतको संख्यामा वृद्धि आएको छ । जसमा यो गीतको छुट्टै महत्व र विशिष्ट स्थान छ ।

तर, गीत जति चर्चित छ, उति गुमनाम छन् यस गीतका गायक । अरु मेला, महोत्सवमा त टाढाको कुरा, मगर समुदायले आयोजना गर्ने कार्यक्रममा समेत त्यति धेरै सहभागी हुँदैनन् । अन्य गीतमा पनि उनले स्वर नभरेका होइनन् । यद्यपि, उनलाई चिनाउन यही एउटा गीत काफी छ । उनी हुन् तनहुँका याम सारु मगर ।

तनहुँको रिसिङ गाउँपालिका वडा नं २ मा जन्मिएका यामले संगीत प्रकृति हो भनेर बुझे । भनौं संगीत प्रकृतिबाट सिके । उनका लागि सुरताल सिकाउने गुरु कोही थिएनन् । गोठालो र घाँस–दाउरा गर्न जाँदा पात बजाउँदै न्याउली र कोइलीको सुरसंग सुर मिलाउन सिके । उनका लागि गाउँघरमा प्रचलित लोकसंस्कृति र रोधी नै गुरु भयो । भनिन्छ नि कला र संगीत जन्मसंगै लिएर आएका हुन्छन् । फरक यत्ति हो, यामले संस्कृतिलाई धनी बनाउने जमर्को गरे । कौराहमा कम्मर मर्काए, त्यसैलाई आफ्नो भविष्य बनाए ।

यामलाई सानैदेखि गीत–संगीतमा रुचि थियो । नाचेर गाएर नै उनी हुर्किए । घरको माहोल समेत संगीतमय थियो । आमालाई गीत संगीतको विषयमा कुनै ज्ञान नभए पनि उनका बाबा गाउँमा नाच्न र गाउनमा निपूर्ण थिए । सायद उनमा आफ्नै बाबाको रङ बस्यो र त्यही बाटो समाते । बिस्तारै बाबाले जस्तै गाउँघरमा हुने रोधी लगायतका कार्यक्रममा गाउन थाले । बाबा नै नाच्न र गाउने गुरु थिए उनका लागि । गाउँमा उनको बाबाले कौराह नाच्न र गाउन सिकाउँथे गाउँलेलाई । आफ्नै बाबाले जस्तो उनले पनि त्यही बाटो समाते । मगर गाउँमा जन्मिएकाले उनलाई सानैदेखि कौराह, झ्याउरे लगायत गीत गाउन र त्यसमै नाच्न रस बस्यो । रोधीमा जाँदा गाउन र नाच्न उनी आफैं अगाडि सर्थे । पढाई भन्दा यामको ध्यान नाच्न र गाउनमा हुन्थ्यो ।

गाउँघर यामले गाउँथे नै । कुनै चाडपर्व र विशेष अवसर आउन हुँदैन थियो, उनी सधैं अगाडि सर्थे । गाउँघरमा हुने कार्यक्रम यामको गीत र कौराह नाच बिना अधुरो जस्तो हुन्थ्यो । पहिलो पटक उनले विद्यालयको स्टेजमा गाएका थिए । कौराह नाचको त उनी गाउँमा गुरु नै थिए । उनले आफ्नै गाउँको सहीद गंगा माविबाट आधारभुत अध्ययन पुरा गरेका हुन् । एसएलसी भने दमौलीको निर्मल माविबाट पास गरे । उनलाई याद छ, गाउँघरमा रमाइलौ गर्दै नाचेर गाए पनि विद्यालयको स्टेजमा पहिलोपटक गीत गाएको । त्यो समयमा विद्यालयको वार्षिकोत्सव थियो । त्यही कार्यक्रममा उनले पहिलोपटक स्टेजमा गएर ‘छाता ओझेल पारिदेउ बर्खे झरीमा’ भन्ने गीत गाएका थिए यामले । त्यति बेला उनी एसएलसी दिने तयारीमा थिए ।

पछि उनले मगर भाषाका गीतमा स्वर भर्न थाले । गीत संगीतमा लाग्ने रुचि यामलाई थियो । तर, व्यावसायिक रुपमा यही पेसामा लाग्छु भन्ने विषयमा सोचेका थिएनन् । गाउँघरमा रमाइरहेका उनलाई एक दिन आफ्नै गाउँका बैरागी नाता मगरले मगर भाषाको गीत गाउने प्रस्ताव गरे । यामलाई मगर भाषाको गीत संगीतमा ल्याउन बैरागीको महत्वपूर्ण हात छ । ‘उहाँले नै मलाई आफ्नो भाषा र संस्कृतिको संरक्षण तथा प्रोत्साहन गर्नुपर्छ भनेपछि मगर भाषाको गीत व्यावसायिक रुपमा गाउन सुरु गरेको हुँ’ यामले भने । सुरुमा उनले ‘मनमा के छ वनमा कस्तुरी’ बोलको गीत पोखरामै रेकर्ड गराएका थिए । यो गीत अहिले भने उनको साथमा छैन । ‘पहिलेको जमानामा युट्युब, गुगल जस्ता सामाजिक सञ्जाल थिएनन्, क्यासेट, सिडीको चलन थियो,’ उनले भने, ‘अहिले त यो गीतको सिडी समेत हरायो ।’
याम सारु मगर र रञ्जिता थापा मगरको स्वरमा सजिएको मगर कान् राहा नाकुङ माया ले माले, याम सारु र मुना थापाको आवाजमा रहेको हि साइनो ये ए साइली, याम सारु देवी घर्तीसँग गाएको ङौं खबर (मेरो खबर) एल्बमको छुरु गान टन्च आले नि जोवन बोलको गीत लगायत मगर समुदाय माझ लोकप्रिय छ ।

लाहुरे बन्ने रहर
घरमा बाबा नै नाच्ने गाउने भए पछि परिवारबाट उनलाई गीत–संगीतमा लाग्न अवरोध भएन । त्यसैले उनले संगीत पेसालाई निरन्तरता दिए । तर, उनलाई यो पेसामा भविष्य छैन कि भन्ने विषयले बेला–बेलामा पिरोल्थ्यो । कहिलेकाहीं विदेश गएर टन्न पैसा कमाउँ कि जस्तो यामलाई नलागेको होइन । संगीतको मोहले उनलाई त्यसो गर्न दिएन ।

नेपालमा जनजाति समुदायको कुरा गर्ने हो भने प्रायः युवाले एक पटक लाहुरे हुन कोसिस गरेकै हुन्छन् । यामले पनि कोसिस गरे । घरबाट लाहुरे हुनुपर्छ र विदेश जानुपर्छ भन्ने दबाब नभए पनि उनले आफ्नै सोंचले लाहुरे हुन प्रयास गरेको बताउछन् । तर, सफल हुन सकेनन् । ‘मगरको छोरा न परियो, लाहुरे हुन २,३ पटक त कोसिस गरेकै हुँ नि,’ यामले हाँस्दै भने, ‘उचाईले साथ दिएन, लाहुरे हुन ५ फिट २ इन्च चाहिने मेरो उचाई जम्मा ५ फिट १ इन्च मात्रै, गीतको तालसंगै मादल बजाएर खाउ भन्ने भाग्यमै लेखिएको थियो होला ।’

दुबई जान खोज्दा कालो सूचिमा
लाहुरे हुन नसकेपछि उनले दुबई जान कोसिस गरे । दुबईको लागि उनले सेक्युरेटी गार्डमा जान अन्तरवार्ता दिएर नाम समेत निकालिसकेका थिए । त्यहाँ पनि उनलाई भाग्यले साथ दिएन । उनको नागरिकतामा यामबहादुर थापा छ । खासमा भएको के रहेछ भने याम जान खोजिरहेको कम्पनीमा उनकै नामका एक जना व्यक्तिले धोका दिएका रहेछन् । जाने भनेर सबै तयारी भए पनि उनी गएका रहेनछन् । यसमा अर्का याम अर्थात् उनी फसे । ‘मेरै नामको व्यक्ति सबै कागजपत्र मिल्दा समेत गएको रैनछन् ।’ उनले हाँस्दै भने, ‘त्यसपछि त यामबहादुर थापा नामका सबैलाई उक्त कम्पनीले ब्ल्याक लिस्टमा राखेछ, त्यसमा म पनि परें, अनि जान पाइन ।’

दोहोरी साँझ र मगर भाषाको गीत गायन
विदेश जान उनको भाग्यमा रहेन छ सायद । गएर केही पैसा कमाउने उनले कोसिस गरेकै हुन् । सफल हुन भने सकेनन् । विदेश जान नमिलेपछि उनी काठमाडौंमा बसे आफ्नो दाइहरुसंग । त्यही समयमा उनले दोहोरी साँझमा काम गरे । दोहोरी साँझमा गाउँदा उनको तलब थोरै हुन्थ्यो । यसमा समस्या थिएन उनलाई किनकि तलबभन्दा दोब्बर, तेब्बर बढी टिप्स नै आउँथ्यो । त्यसैले काठमाडौंमा बस्न यामको लागि त्यति दुःख भएन । गाउने र नाच्ने मात्रै होइन, उनले खैंजरी, मादल जस्ता बाद्यवादन पनि राम्रोसंग बजाउन सक्थे । यही प्रतिभा यामको लागि अवसर बन्यो । दोहोरी साँझमा काम गर्दा गर्दै हो उनलाई मगर भाषाको गीत गाउने अफर आएको बैरागीबाट । उनी यही समयलाई आफ्नो सांगीतिक यात्रा सुरु भएको दिन मान्छन् । करिब १७ वर्ष भयो उनले भाषागत गीत गाउन थालेको । यो अवधीमा यामले मगर भाषाका १७ वटा गीत रेकर्ड गराएका छन् ।

हुन त याम आफैं खासै कार्यक्रम तथा मिडियामा त्यति सार्वजनिक हुँदैनन् । आजभोलि आफैं गीत गाएर भिडियोमा आफैं देखिने लहर छ । मिडियामा आउन नरुचाउने भएकाले स्वर दिए पनि उनी भिडियोमा देखिदैंनन् । भिडियोमा खेल्न आउनुस् भन्ने धेरै छन् । याम आफैं भने भिडियोमा देखिन त्यति रुचाउँदैनन् । तर, उनलाई केही गुनासो भने आफ्नै समुदाय प्रति छ । मगर समुदायले प्रायः आयोजना गरिरहने विभिन्न कार्यक्रममा उनलाई बोलाइँदैन । केहीमा उनी आफैं जाँदैनन् । थोरैले मात्र यामलाई सम्झिन्छन् । ‘कतिपयलाई म पोखरामा छु भन्ने समेत थाहा छैन होला, मगर भाषाको गीत संगीतमा धेरै नभए पनि केही गरेको छु जस्तो त लाग्छ ।’ याम भन्छन्, ‘तर, खै किन हो ? कहिलेकाही केहीले मात्रै मलाई सम्झिनुहुन्छ । त्यसैले म धेरै देखिन्न ।’ अहिले याम गीत संगीतबाट केही टाढा छन् । धेरै समयको अन्तरालमा उनले एउटा गीत गाउने योजनामा छन् मगर भाषाकै । यो गीत सार्वजनिक हुन कति समय लाग्छ, थाहा छैन । सके सम्म छिट्टै उक्त गीत सार्वजनिक गर्ने उनको योजना छ ।

उनले यसै त संख्यात्मक हिसाबले थोरै गीत गाउँछन् । त्यो पनि भाषागत गीतलाई प्राथमिकतामा राखेर । अन्य कलाकारले जस्तो प्रशस्तै गीत गाएको भए सायद आर्थिक रुपमा सम्पन्न हुने थिए । उनको हकमा त्यो भएन । त्यसैले उनलाई अन्यलाई जस्तै कोरोना महामारीको समयमा निकै अफ्ठ्यारो प¥यो । पेसा संगीत मात्रै । आम्दानी सुख्खा भयो । श्रीमतीले सानोतिनो काम गर्छिन् । तर,श्रीमतीको आम्दानीबाट मात्रै घर चलाउन सकस भयो । ‘त्यो बेलामा म त श्रीमतीको कमाईले बाँचेको हो,’ उनले भने । यस्तै–यस्तै बाध्यताले याम केही समयका लागि घर बनाउने काम गर्न सिन्धुपाल्चोक पुगेका छन् । काम गर्न गएका उनलाई त्यहाँ पनि स्वास्थ्यले साथ दिएन । त्यसैले केही महिना काम गरेर फर्किए । ‘कोरोनाले बित्यास पा¥यो, घर धान्न समस्या भए पछि केही आम्दानी हुन्छ कि भन्ने सोचेर सिन्धुपाल्चोक मिस्त्रीको काम गर्न गएँ ।’ यामले भने, ‘केही कमाई त भयो, तर स्वास्थ्यले साथ दिन छोडेपछि बीचैमा फर्किएँ, अहिले पनि पूर्ण रुपमा ठीक भएको छैन ।’

गीत चोरी तर, चुपचाप छन् गायक
यामको केही गीत चोरी भएका छन् । झेर्मो ले कि छामो ले नाको लौ डेनी….बोलको गीत त चलचित्र टलकजगं भर्सेस टुल्केमा आफूलाई जानकारी नदिएर राखिएको उनको दाबी छ । यद्यपि, यसबाट आफूले केही नपाएको र कतै उजुरी भने नगरेको उनी बताउछन् । ‘गीत राखे पनि यसको क्रेडिट र धेरथोर पारिश्रमिक केही दिइएन, मलाई यो विषयमा जानकारी नभएको पनि होइन । तर, के गर्नु भनेर चुपचाप नै बसिरहेको छु । त्यसबेलाका क्यासेट, सिडीहरु पनि कता कता गए’ उनी भन्छन् । हि साइनो ये ए साइली गीतमा उनी र मुना थापा मगरको स्वर छ । तर, यो गीतमा रामजी खाँडको फोटो प्रयोग गरिएको उहाँको गुनासो छ ।

गीत संगीत बाहेक उनको अर्को पेसा छैन । आफूले जानेको कलाको माध्यमबाट यामलाई गाउँका लोकभाका र मगरका संस्कृतिलाई जोगाउनु छ । उनको केही चाहना मध्ये सबैभन्दा महत्वपूर्ण चाहना भनेको आफ्नै संस्कृति र लोकभाकालाई संरक्षण गर्नु हो । त्यसैले होला उनलाई आजकाल भाषागत बाहेक अन्य गीतमा स्वर भर्न त्यति मन लाग्दैन । अहिलेका पुस्ताले आफ्नो भाषा भुल्दै जान थालेकोमा भने याम दुखेसो पोख्छन् । भाषा र संस्कृति जोगाउनु छ भने सबै समुदायमा एकरुपता आउनुपर्नेमा जोड दिन्छन् उनी । उनलाई लाग्छ, मगर समुदायबीच एकरुपता बिस्तारै हराउँदै गएको छ । ‘हामी–हामी बीच समेत एकरुपता छैन, अनि कसरी भाषा र संस्कृतिलाई संरक्षण गर्ने ?’ उनी प्रश्न गर्छन् । याम केही मगर कार्यक्रममा सहभागी भएका छन् । त्यस्ता कार्यक्रममा समेत अन्य भाषा र नेपाली गीत बजिरहेका हुन्छन्, या हिन्दी गीत मज्जाले बजाइरहेको भेट्छन् । उनको प्रश्न छ, ‘आफ्नै समुदायको कार्यक्रममा समेत आफ्नै भाषाको गीत बजाउन सकिन्न र ?’

अन्तिम श्वास रहे सम्म संगीतमै समर्पित हुने धोको
जति सजिलो हुन्छ संगीतका शब्द र लय, त्यति नै गाह्रो हुन्छ जीवनको लय समाउन । यामलाई संगीत र जीवनका लयलाई गतिशील बनाउनु छ, आफ्नो भाषा र संस्कृति जोगाउनु छ । उनको चाहना छ, आफ्नो भाषा र संस्कृतिलाई अहिलेका पुस्ताले जसरी बिर्सिदै गइरहेका छन्, त्यसलाई जोगाउन सकौं । अझै पनि धेरै संख्यामा मगर भाषाको गीत गाउने उनको रहर छ । अब यामलाई भाषागत गीत उत्थानमा योगदान गर्नु छ, संगीतमा धेरै गर्नु छ । ‘संगीत मेरो जिउने आधार हो, सास हो भने भाषा र संस्कृति मेरो पहिचान,’ उनी भन्छन्, ‘जीवन र संगीतको लयलाई मिसाएर बाँच्नु छ, अन्तिम श्वास रहे सम्म संगीतमा समर्पित हुनु छ ।’

२०७९, ७ असार मंगलवार ०८:१२
कथालिका नयाँ कथा
कथालिका