विष पिइरहेको माटो – कथालिका

विष पिइरहेको माटो

  • नेपालमा प्रत्येक वर्ष प्रति हेक्टर १.७ मिलिलिटर माटो बगेर जाने गरेको छ । रासायनिक मलहरुको अधिक प्रयोग लगायतका कारण माटोमा अहिले ५३ प्रतिशत अम्लियपन छ । खेतीयोग्य जमिनको प्लटिङ, माटो प्रदुषणका कारण पनि माटो र उर्वरा शक्ति ह्रासोन्मुख छ ।

‘भावी पिढीका लागि हामीले व्यक्त गर्न सक्ने साँचो करूणा र प्रेम भनेको उनीहरूलाई समृद्ध र उर्वर माटोको विरासत छोडिदिनु हो’ रुमीले आफ्नो लामो अध्ययन र अनुभवका आधारमा अभिव्यक्त गरेको यो भनाइले अहिले नेपालमा चलिरहेको ‘माटो बचाउँ’ अभियानलाई टेवा दिन्छ । माटो प्राणीजगतको साझा वासस्थान, सबैजसो वनस्पतिको मुख्य आधार, पृथ्वीको पानी भण्डारण स्थल र अरु थुप्रै कुरा हो ।

हामीले भोगचलन गरिरहेको माटोको अवस्था अहिले कस्तो छ ? हामी टेकेर अडिएको, उभिएको र दैनिक मुखमा मार लाउने खेतबारीको माटो कति स्वस्थ छ ? माटोको स्वस्थता र संरक्षणमा हामी कति सचेत र संवेदनशील छौ ? हामी अबको पुस्तालाई कस्तो माटो हस्तान्तरण गर्दैछौ ? मान्छे आफ्नै उद्धेश्य, सपना र स्वार्थहरुले तनावग्रस्त र बेफुर्सदी छ । यस्तो बेला निर्जिव माटोको वर्तमान र भविष्यबारे कसले सोचिदिने ? स्वयंम् सरकार त आफ्नै आयुको हिसाव किताव मिलानमा व्यस्त छ ।

माटोको विनाशः बढ्दो बेवास्ता
माटो केवल निर्जिव धुलो मैलो मात्र होइन । माटो प्रति नेपालीको यति अगाध सम्बन्ध र प्रेम छ कि हर व्यक्ति नेपाली माटोमै जन्मन चाहन्छ र नेपाली माटोमै मर्न चाहन्छ । हरेक मान्छेको मुखमा मार यही माटोबाट लाग्छ ।

यी यावत कारण पर्यावरण संरक्षण अभियन्ताहरु माटोलाई जीवन ठान्छन् । यो सत्य हो कि माटो विना जीवनको परिकल्पना सम्भव छैन । जन्मेर धर्तिमा पदार्पण हुँदादेखि मरेर माटोमा मिल्नु सम्म यसको अपरिहार्यता छ । तर, पछिल्लो समय नेपालको भुबनोट, माटो प्रतिको बेवास्ता, योजना विहिन विकास, बढ्दो विषादीको प्रयोगले माटोको उर्वराशक्ति मात्र होइन, समग्र माटोमा नै ह्रास आइरहेको र यसले भोलिका दिन निकै जोखिमपूर्ण हुने खतरा छ । राज्य र आम नागरिकको माटो त सधैं रहिरहन्छ भन्ने रेडिमेड धारणा र सोचले माटो प्रतिको बेवास्ता बढेको राम गुरुङ बताउछन् । माटो बचाउ अभियानमा सक्रिय गुरुङ युरिया लगायतका मल र विषादीले उत्पादन बढाए पनि त्यसले मानव मात्राको नभई समग्र प्राणी जगतकै लागि खतरा निम्ताइरहेको बताउछन् ।

‘प्रत्येक वर्ष प्रति हेक्टर १.७ मिलिलिटर माटो बगेर जान्छ’
नेपालको माटो उर्वरा शक्ति, गुणस्तर ह्रास हुँदै जानुका धेरै कारण छन् । पहिलो मुख्य कारण त नेपालको भुबनोट हो । नेपाल हिमाल, पहाड र तराइले बनेको छ । यहाँ हरेक वर्ष बर्खायाममा बाढी, पहिरो, भूक्षय आउँछ ।
University of Exeter, 2020

एक अध्ययनका अनुसार विश्वभरमा आउने भुक्षयको ३० प्रतिशत क्षति नेपालमा हुने गरेको छ । जुन तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष प्रति हेक्टर १.७ मिलिलिटर माटो बगेर जाने गरेको छ । ‘यसरी बगेर जाने माटोले पहिले तल्लो भागमा मलको काम गथ्र्यो, अहिले त्यो अवस्था रहेन,’ राष्ट्रिय माटो अनुसन्धान केन्द्रका प्रमुख डा.श्रीप्रसाद विष्टले भने, ‘अहिले त भुक्षयका कारण माथिबाट बग्ने र तलतिर पुर्ने दुवै हिसाबले असर मात्र गरेको देखिएको छ ।’ दोस्रो भनेको माटोको अम्लियपना हो । युरिया मलहरुको अधिक प्रयोग लगायतका कारण नेपाली माटोमा अहिले ५३ प्रतिशत अम्लियपन छ । खेतीयोग्य जमिनको प्लटिङ, माटो प्रदुषण लगायतका कारण पनि माटोको उर्वरा शक्ति ह्रासोन्मुख छ ।

विश्वव्यापी रुपमा ५२ प्रतिशत खेतीयोग्य माटो विनाश
विश्वव्यापी रुपमा गरिएको एक अध्यययन अनुसार ५२% खेतीयोग्य माटो विनाश भइसकेको छ । जसका कारण अबको २० वर्षमा ९.३ अर्ब मानिसहरूको लागि ४०% कम खाना हुने अनुमानित गरिएको छ ।

UN FAO का अनुसार विश्वभरिको माटोले केवल ६० बर्षको बालीलाई पोषण गर्न सक्दछ । माटोको बढ्दो ह्रासले भोकमरी, शरणार्थी तथा युद्ध समस्या हुने खतरा छ । यसको हल भनेको माटोमा भएको जैविक विविधता कम्तिमा पनि ३ देखि ६% सम्म हुनुपर्दछ । जसका लागि हरेक राष्ट्रहरुमा सहयोगी नीतिहरुको आवश्यकता औल्याइएको छ । यसका लागि कम्तिमा पनि ३.५ अरब मानिसको साथ समर्थन चाहिने छ ।

नेपालमा माटो संरक्षण अभियान
माटो जोगाऔँ अभियान सद्गुरुद्वारा परिकल्पना गरिएको विश्वव्यापी अभियान हो । जसले विनाश भइरहेको माटोको लागि ठोस एवम् जागरूक दृष्टिकोण सहित काम गर्ने प्रयास गरिरहेको छ । विश्वभरिका सरकारलाई नीति बनाई कार्यान्वयन गर्न गराउन आह्वान गर्नको लागि सद्गुरुले आफ्नो मोटरसाइकलमा लण्डन देखि दक्षिण भारतसम्म ३० हजार किलोमिटरको कठिन यात्रा गरेका छन् ।

१०० दिवसीय कठिन यात्राको उद्देश्य हो-माटोलाई पुनर्जीवित गर्नको लागि नागरिक समाज, सरकारलाई सचेत र जिम्मेवार बनाउनु हो । नेपालमा पनि विश्वव्यापी अभियानसँगै जोडिएर अहिले नेपालभर माटो बचाउँ अभियानलाई तिव्रता दिइएको अभियन्ता सविना लिम्बुले बताइन् । अभियानलाई सफल बनाउन प्रधानमन्त्री, राष्ट्रपतिलाई अनुरोध पत्र लेखन, सडक नाटक, सामाजिक सञ्जाल, सार्वजनिक रुपमा माटो बचाउँ अभियानको सचेतनामूलक प्ले कार्ड प्रदर्शन गरिएको छ । यसका साथै अभियानको सन्देश प्रवाहका लागि नेपालमा नवीन पुन मगरले साटै प्रदेशको ३५ सय किलोमिटरको पैदल यात्रा जारी राखेको लिम्बुले जानकारी दिइन् ।

माटो स्वस्थ रहे सबै जीव र जीवन स्वस्थ
प्रकृतिमा माटो भन्दा बढी महत्वपूर्ण वा माटोमा जति ध्यान दिइनुपर्ने हो, त्यो नभइरहेको माटो बचाउ अभियानका नेपाल अभियन्ता सविता लिम्बु बताउछिन् । यदि २ डिग्री तापक्रम बढ्यो भने माटोबाट २३० अर्ब टन जति कार्बन उत्सर्जन भई वायुमण्डलमा जान्छ । जसले गर्दा विश्वव्यापी तापक्रम वृद्धिको सङ्कटलाई झन् खराब बनाउँछ ।

तर यसका साथसाथै स्वस्थ माटोले विशाल मात्रामा कार्बन जम्मा गरेर राख्दछ, जसले वायुमण्डलमा रहेको कार्बनलाई धेरै हदसम्म हटाउन सक्छ । विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनलाई कम गर्नको लागि पनि माटो जोगाउनु अपरिहार्य भएको अभियन्ता सविता बताउछिन् । ‘हाम्रो शरीर मूलतः माटो र पानी हो । हाम्रो माटो र पानीको गुणले नै हाम्रो भोजन र हाम्रो शरीर अनि हाम्रो जीवनको गुण तय गर्दछ,’ अभियन्ता लिम्बु भन्छिन्, ‘माटो नीर्जिव सामग्री होइन, बरु जीवन्त पर्यावरणीय प्रणाली हो । यदि हामीले हाम्रो माटोलाई स्वस्थ राख्यौँ भने यस धरतीमा सबै जीवहरू स्वाभाविक रूपमा स्वस्थ रहनेछन् ।’

माटो जोगाउन राज्य नीतिगत रुपमै लाग्नुपर्छ

डा. श्रीप्रसाद विष्ट
वरिष्ठ माटो वैज्ञानिक
राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र NARC

माटो तबमात्र सुन्दर बन्छ, जब यसमा भरपूर जैविक पदार्थ हुन्छ । उर्वर माटो नै स्वस्थ माटो हो, अनि स्वस्थ माटो मानिसहरूको स्वास्थ्यको आधार हो । जीवन चक्र, कृषि उत्पादनको पवित्र आधार माटोको संरक्षण र उर्बरताको बारेमा समयमै सोच्न र सचेत हुन जरुरी छ । माटो जोगाउने र स्वस्थ राख्ने विषय केबल खेतिपातीसँग मात्र सम्बन्धित छैन, यसको बहुआयामिक अर्थ र महत्व छ । यो कुरा राज्यदेखि नागरिक सम्म सबैले गहिरो बोध गर्न जरुरी छ ।
माटो मलिलो बनाउने किसानलाई पुरस्कृत प्रोत्साहित गर्ने नीति आवश्यक छ । माटोको स्वस्थता जीवनको स्वस्थतासँग सम्बन्धित छ । जीवनको स्वस्थता खाद्य सुरक्षासँग सम्बन्धित छ । खाद्य सुरक्षा अन्ततः माटोकै सुरक्षा र स्वस्थतामा जोडिएर आउछ । राम्रो माटो भए राम्रो उत्पादन दिन्छ ।

सरकारका तर्फबाट माटोको बढ्दो बिनाश र संरक्षणका बारेमा हामीले पनि राष्ट्रिय माटो अनुसन्धान केन्द्रका तर्फबाट प्रयास गरिरहेका छौ । नीतिगत रुपमै यो समस्यालाई सम्बोधन गर्ने गराउने कार्यका लागि पहल जारी छ । यसैको फलस्वरुप भकारो सुधार लगायतका कार्यक्रम सुझाएका थियौ । अहिले त्यो १४ हजार सम्म पुगेको छ । १ लाख जना सम्म पु¥याउने लक्ष्य छ । माटोको अम्लियपन घटाउन गोठे मल प्रयोगलाई बढावा दिनुपर्छ । अहिले गोरु, राँगाको साटो ट्याक्टरले जोत्ने जमाना आयो । यसलाई विकासको रुपमा हेर्नुपर्छ । तर, माटोको संरक्षणका हिसाबले हेर्दा प्राङ्गारिक पदार्थको स्रोत घट्यो । पहिले २ वटा गाई पाल्नेले अहिले एउटा मात्र पाल्छन्, पहिले एउटा मात्र गाई पाल्नेले अहिले पोकाको दुध खान्छन् । पछिल्लो १५,२० वर्ष यता माटोमा कडा अम्लियपन बढेको छ । अब उर्बर खेतियोग्य जमिनमा जग्गा प्लटिङ गरेर घर खडा गरिएको छ, किनबेच जारी छ । यसमा भुउपयोग नीति बनेको छ, यसको प्रभावकारी कार्यान्वयनमा हामी चुकिरहेका छौ । कृषिको पकेट क्षेत्र बनाएर व्यावसायिक रुपमा खेती गरिएका स्थानमा रासायनियक विषादीको प्रयोग अधिक छ । माटो अनुसन्धान केन्द्रका अनुसार प्रति वर्ष प्रति हेक्टर ७६ प्रतिशत विषादीको प्रयोग गर्ने गरिएको छ । यसले माटोमा हुने जीवाणु मरिरहेको छ । साझा बासस्थान र जीवन चक्रको मुख्य आधार रहेको माटोमा मिश्रित विषादीले जैविक विविधतामा ह्रास आइरहेको छ ।

सरकारको कृषि विकास रणनीतिले सन् २०३५ सम्ममा नेपालको प्राङ्गारिक क्षमता ४ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । यो महत्वकांक्षी लक्ष्यमा अहिलेकै हिसाबले पुग्न असम्भव छ । यद्यपि, माटो संरक्षणका लागि प्राङ्गारिक मलको मूल्य सस्तो बनाउनुपर्छ । यसका लागि अनुदान या उत्पादक कम्पनीलाई कच्चा पदार्थ लगायतमा सहुलियत दिएर उपयोगलाई बढावा दिनुपर्छ । अर्को तराई क्षेत्रमा माटोको संरक्षणका लागि केन्द्रित हुनुपर्छ । यस क्षेत्रमा तापक्रम अधिक –गर्मी) हुने भएकाले एक पटक प्राङ्गारिक मल प्रयोग गरे तीन बाली भन्छौ । तराईमा त्यो पुरा बस्दैन । तराईको माटो सुधारका लागि हरियो मल लगाउने नीति अख्तियार गर्नुपर्छ । जस्तो गहुँ, धान, मकै लगाउने बाली चक्र छ भने बीचको केही खाली अवधिमा अरु केही कोसे बाली लगाउने । त्यसकै मल बन्ने गरी जोत्नु पर्छ । यसरी जीवाणु मल जति बढायो, त्यति माटोको गुणस्तर सुधार हुन्छ, उत्पादन बढ्छ । उपलब्धिमा आधारित अनुदान, यसका लागि स्थानीय सरकारको भूमिका अझ प्रभावकारी हुन सक्छ ।

माटोको दीगो स्वास्थ्य र संरक्षणका लागि जलवायुमैत्री खेती प्रणाली, संरक्षण कृषि प्रणाली, रासायनिक र प्राङ्गारिक मलको समुचित प्रयोग, माटोका जैविक प्राणीको संरक्षण, उपयुक्त भू–उपयोग र वर्गीकरण नीति आवश्यक छ । यसले नागरिकको उत्पादन र आम्दानी बढ्छ । माटोमा पनि सुधार आउँछ । स्वास्थ्य पनि राम्रो हुन्छ । जुन ठाउँमा माटो राम्रो छैन, त्यहाँ खाद्य सुरक्षा छैन । यसमा सरकार, सरोकारवाला, नागरिक सबै सचेत र जिम्मेवार बनौ ।

२०७९, ९ असार बिहीबार ०५:४५
कथालिका नयाँ कथा
कथालिका