गीत चर्चित तर, जो आफूलाई गायक ठान्दैनन् – कथालिका

गीत चर्चित तर, जो आफूलाई गायक ठान्दैनन्

  • संगीत सिक्न थाले पछि आफ्नै स्वर आफैलाई मन पर्दैन, खासमा म सर्जक, संगीतकार नै बन्न र भन्न रुचाउछु । ‘जाम पोखरा मिनी बसैमा’ गीत अधिक रुचाइएको छ । गायक प्रशान्त पौडेललाई यो आधा सपना, आधा विपना जस्तो लागिरहेको छ ।

गायक बन्ने सपना, चर्चित कलाकार भन्ने भोक, गीत संगीतमै केही फरक गरौं भन्ने सौख । अनि थियो लाखौ मानिसहरुको बिचमा पृथक पहिचान बनाउने प्यास । यही संगीत र सफलताको प्यासले उनले सानैदेखि गीत संगीतलाई प्यासन बनाए । त्यही प्यासनले सपना विपनामा अनुवाद गर्न परदेश सम्म पु¥यायो । उनी अर्थात् अहिलेका चल्तीका गायक, सर्जक, प्रशान्त पौडेल ।

पर्वतको विहादी गाउँपालिका ८ बर्राचौरमा जन्मिएका उनै पौडेलको गीत ‘जाम पोखरा मिनी बसैमा’ यतिबेला चर्चित छ । टेलिभिजन, एफएम, युट्युव, टिकटक लगायतका सामाजिक सञ्जालमा उनका गीतहरु छाइरहेका छन् ।
कति राम्रो सान्नानी, दिल बस्यो हिरैमा
ओठमा लाली सान्नानी, शीर फूल शिरैमा
जाम पोखरा मिनी बसैमा
सँगै जिउला सान्नानी, दुई दिनको जीवन मन नडुलाउ अरु कसैमा

साधारण जनजीवनका शब्ट टिपेर तयार गीत जुन उनले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका थिए । सुन्दा पनि निकै मिठास लाग्ने यी गीत समाचार तयार पार्दा सम्म २३ लाख ३७ हजार पटक हेरिसकिएको छ । हजारौ टिकटक बनेका छन् । गायक पौडेलको चौतर्फी चर्चा चुलिएको छ ।

एक दशकको मेहेनतको फल
धेरैका लाग्छ, प्रशान्त पौडेल अहिले एकाएक उदाएका कलाकार हुन् । भिड र भाइरलको दुनियाँमा एकाएक आउने र हराउने अनुक्रम चलिरहेको पनि छ । तर, यस्तो भिड र भाइरल भन्दा पृथक छन् पौडेल । गाउँमा कक्षा ५,६ पढ्दा देखि नै विद्यालय वार्षिकोत्सव, मेला, महोत्सवमा गाउन हिँड्ने उनी स्थानीय आम्बारी माविबाट एलएलसी उतिर्ण गरे पश्चात पोखरा आए । पोखरामा आइए पढ्दा पढ्दै विदेशको हावाले छोयो । र हानिए भारत, त्यहाँ उनले गाडी लाइनमा खलासीदेखि ड्राइभर सम्मको काम गरे । केही वर्ष पछि नेपाल फर्किएर पहिलो गीत रेकर्ड पनि गराए । तिम्रो लायक बोलको गीत पहिलो पटक गाए । लगत्तै दोस्रो गीत पाछु मेरी भन्न गाए । दुवै गीत चलेनन् । अनि फेरि हानिए विदेश दुवई । त्यहाँ १३ महिना बसेर काम गरे । १० वर्ष अघि उनी दुवईबाट नेपाल फर्केर फेरि संगीत कर्ममै निरन्तर सक्रिय र समर्पित रहे । यसबिचमा २०० जति गीतमा संगीत सिर्जना गरे भने ५० जति लोक दोहोरी र आधुनिक गीत गाएका छन् । जसमध्ये उनको ‘दैवको नजर लाए नि हुन्थ्यो’ गीतलाई पनि श्रोता दर्शकले रुचाएका थिए ।

उनले सिर्जना गरेका ‘सराङकोटको डाँडैमा’ ‘लाहुर जाने रेल’, ‘माया बस्ला बेसरी’, ‘बैनीको भिनाजु’, ‘छुरा’ जस्ता गीतलाई श्रोता दर्शकले रुचाइएका छन् ।

यसरी जन्मियो सान्नानी पोखरा
आफैले गाउने गीत गर्नुप¥यो भनेर लाइराखेको थिए । कोठामा बस्दा बस्दै दुई दिन लगाएर पहिले मेलोडी बनाए । अनि यो मेलोडीमा मिल्ने शब्दबारे घोत्लिए । आफैले आफैलाई शब्दमा चित्त बुझाउनै नसकेर धेरै प्रयास पछि अहिलेको शब्द सिर्जना गरेर गीत तयार गरेको प्रशान्त बताउछन् । ‘शब्द मन छुने होस् भन्ने थियो, यसमा १५,२० वटा शब्द मेलोडीमा हालेर गाउने, सुन्ने सुनाउने कोशिस गरे,’ गायक तथा सर्जक पौडेलले भने, ‘अन्ततः २० दिन पछि यो शब्द लेखे, दुई महिनामा अडियो तयार गरे । नजिकका सबैले राम्रो छ भने पछि फाइनल गरेको हुँ ।’

यो गीतको शब्द समय, परिवेश, अहिलेको सांगीतिक बजार, मानिसको परिवर्तित सोच, चाहना सबैलाई ध्यानमा राखेर बनाइएको उनी बताउछन् । गीतमा प्रेम सम्बन्धदेखि बर्खायामको विपत, यात्रा लगायतका बारेमा बर्णन छ ।

आफैले आफैलार्ई गायक ठान्दैनन्

प्रशान्तले गीत गाएर अहिले लोकप्रियता हासिल गरिरहेका छन् । उनको चौतर्फी चर्चा चुलिएको छ । यद्यपि, प्रशान्त अझै पनि आफूलाई गायकको रुपमा परिचय गराउन अप्ठ्यारो मान्छन् । ‘यो मेरो अहम् या आडम्बर होइन, पहिले म एउटा गीत गाउँदा पनि गायक नै हुँ भन्ने लाग्थ्यो, स्वर पनि राम्रै लाग्थ्यो, जब संगीत सिक्न थाले, त्यसपछि आफूलाई गायक जस्तै लाग्न छाड्यो’, उनले भने, ‘आफ्नै स्वर आफैलाई मन पर्दैन, खासमा म सर्जक, संगीतकार नै बन्न र भन्न रुचाउछु, वर्षमा एक, दुई गीत भने गाउछु ।’ अहिले आफ्नै स्वरमा रेकर्ड गरेको गीत निकै चले पछि उनी दंग छन् । ‘अहिले टिकटक, टेलिभिजन, एफएम, गाडी, युट्युवमा धेरैले गीत सुनिरहेको र अधिक मन पराएको देख्दा अचम्मित छु’, पौडेल हाँस्दै थप्छन्, ‘मलाई त अहिले यी सबै कुरा आधा सपना, आधा विपना जस्तो लागिरहेको छ ।’
सुरुमा संगीत प्रशिक्षक चण्डिप्रसाद काफ्लेसँग संगीत सिकेका उनी पछिल्लो केही वर्ष यता भने गुरुदेव कामदसँग संगीत सिकिरहेका छन् ।

चर्चित हुँदै गरेको गीतको दोस्रो पटक रेकर्ड कथा
जाम पोखरा मिनी बसैमा गीत संगीतका सबै पल्याट फर्ममा गुञ्जिरहेको थियो । उनले यस गीतलाई लोक गीतको रुपमा गाए । स्टुडियोभित्र आफ्नो ‘लिप्सिङ’ को भिडियो खिचेर युट्युवमा हाले । यो गीतबाट भारी अपेक्षा पनि थिएन उनको । यद्यपि, केही फरक स्वाद दिने प्रयास गरेकाले मन पर्ने विश्वास भने थियो । गीत सार्वजनिकको २ दिन सम्म ८,१० हजार पनि गएन र पनि आफू खुसी भएको प्रशान्त बताउछन् । यही क्रममा लोकप्रियताको शिखरमा उक्लिदै गर्दा यही गीतलाई दोहोरीको रुपमा रेकर्ड गरेर नयाँ भिडियो बनाउने प्रस्ताव आयो । सांगीतिक क्षेत्रकै अग्रज कलाकारहरुबाट आएको प्रस्ताव नकार्न केही अप्ठ्यारो भएको र केही फरक रुपमा पुनः रेकर्ड गरेर लैजाँदा राम्रै हुने ठानेर गीतको शब्द, संगीत दिएको पौडेलको भनाई छ । पुनः रेकर्ड गरिएको गीतमा सन्दिप न्यौपाने र गायिका सरिता कार्कीको आवाज छ । ‘दोहोरी भर्सन’को गीतक म्युजिक भिडियोमा प्रकाश भट्टको निर्देशन, अभिनेत्री लक्ष्मी बर्देवा र मोडल महेन्द्र गौतमको अभिनय छ । यसलाई पनि श्रोता दर्शकले रुचाइरहेका छन् । सार्वजनिक भएको केही घण्टाबाट युट्युब ट्रेन्डिङमै छ ।

के यो व्यावसायिक सोचले आफैले रेकर्ड गरेर युट्युवमा सार्वजनिक गरेको गीत अरुलाई दिनुभएको हो ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘त्यस्तो व्यावसायिक सोच राखेको होइन, दाइहरु आएर नयाँ ढंगले यस गीतमै सहकार्य गरौ भन्नुभयो, मैले नाइ भन्न सकिन ।’ गीतको पारिश्रमिक त राम्रै लिनुभयो होला नि ? प्रश्न खस्न नपाउदै उनको स्पष्टोत्ति थियो, ‘शब्द, संगीतको राम्रै पारिश्रमिक पनि लिए र युट्युव लगायतको रोयल्टीमा पनि ५०/५० प्रतिशत गर्ने सम्झौता गरेर गीत दिएको हुँ ।’

‘अब अझ उत्कृष्ट सिर्जना गर्न दबाब’
व्यावसायिक संगीत यात्रा दशक पुग्न थाल्यो । उनले ३ हजार रुपैयाँ लिएर संगीत गर्न सुरु गरेका प्रशान्त यतिबेला शब्द, संगीतको मनग्गे पारिश्रमिक लिएर काम गर्छन् । शब्द, संगीतको डेढ लाखदेखि ३ लाख सम्म एकमुष्ठ पारिश्रमिक लिएको उनी बताउछन् । लगानी गरेर रोयल्टी दिने हकमा भने पारिश्रमिकमा कम्प्रमाइज गर्ने गरेको उनको भनाई छ ।

‘अहिलेको गीतले म स्वयंमलाई गाउन हौसला मिलेको छ । म उत्साहित भएको छु, मुख्य कर्म सिर्जना र संगीत त गर्छु नै, त्यसका अतिरिक्त वर्षमा एक, दुई गीत चाही अब म गाउने छ’ु, उनले भने, ‘अब दुई महिना भित्रैमा नयाँ गीत ल्याउछु, अहिले त्यसको तयारीमा लागिरहेको छु ।’ चर्चित बन्नु या धेरै सुनिनु, हेरिनुको अब त गीत, संगीत सिर्जनामा दबाब होला नि ? प्रशान्त केही गम्भीर मुद्रामा भन्छन्, ‘निश्चय पनि अझ राम्रो सिर्जना गर्नुपर्छ भन्ने दबाब बढेको छ, मनमा डर पनि छ, तर मैले यो डरलाई अनुशासनको रुपमा लिएको छु कि यो डरले आफ्नो दायरामै रहेर राम्रा सिर्जना गर्न मद्धत मिल्नेछ ।’ अहिलेको संगीत बजार युट्युव (डिजिटल) मा निर्भर भए पनि फरक स्वाद र जिवन्त सिर्जना गर्नेमै आफ्नो ध्यान केन्द्रित रहने उनले बताए । अहिलेको समय, बजारलाई बेवास्ता गर्न नसके पनि सिर्जनामा केही भिन्न स्वाद र जिवन्तता दिन निरन्तर कोशिस गर्ने उनको योजना छ ।

 

२०७९, १३ असार सोमबार ०९:२९
कथालिका नयाँ कथा
कथालिका