पोखरामा दुई सालिक बिच संवाद ! – कथालिका

पोखरामा दुई सालिक बिच संवाद !

पोखराको पृथ्वी चोकमा रहेको पृथ्वीनारायण शाहको सालिक हटाएर उक्त स्थानमा प्रथम शहिद लखन थापा मगरको राखिएको थियो । थापाको सालिक पृथ्वीचोकमा राखेसँगै पोखरा महानगरले पृथ्वीनारायण शाहको सालिक भने पोखरा शहर भन्दा माथि डाँडामा स्थान्तन्तरण गरेर राखिएको छ । सोही पृष्ठभूमिलाई आधार बनाउदै आजको परिवेशसँग जोडेर लेखक यो व्यंग्यात्मक ब्लग तयार छ।

पृथ्वी : हेल्लो लखन, तिमी सञ्चै छौ ?
लखन : सञ्चै छु महाराज, कोभिडले धन्नै मरिन ।
पृथ्वी : के भन्छन् त अचेल त्यहाँ वरिपरिकाले ?
लखन : वरिपरिकाले के भन्नु,खासै खुसी छैनन्। परपरकाले भने खुबै बहादुरी गरेको ठान्छन् महाराज ?
पृथ्वी : ल..ल.. रमाईलो मानेर बस ।

लखन : आ…मलाई त पटक्कै चैन छैन यहाँ महाराज ! उपद्रो मच्चाएर हजुरलाई फाले उपद्र्याहाहरुले । मेरो त पटक्कै चित्त बुझेको छैन महाराज । के गर्ने मर्नु भन्दा बहुलाउनु निको भन्दै चुपचाप आएर बसेको मात्र छु । यहाँ त पहिला सबैले हजुरकै नाम लिन्छन्, त्यसपछि मलाई चिन्छन् । मैलाई ल्याउनेले समेत मेरो नाम लिंदैनन् । सबैले पृथ्वी चोक, पृथ्वी चोक भन्छन् अनि बल्ल मलाई बुझ्छन् । मेरो नामै लिन्नन् महाराज । त्यसैले यो भिडभाड र कोलाहलमा बस्न पटक्कै मन छैन प्रभु ! कुनै स्वादै छैन मलाई ।
पृथ्वी : मलाई त अचेलको विकृत सहरिया वातावरणमा भन्दा यो डाँडामा प्रकृतिसंग रमाउन पाउँदा अत्यन्त हर्षित छु । आखिर म मै हुँ क्यारे ! सुनेऊ ?
लखन : सुने महाराज ! मेरो पनि त पटक्कै मन थिएन यहाँ आउने । म बबुरोको के चल्थ्यो र ? मलाई त उतै गोर्खैमा आनन्द थियो । जबरजस्ती ल्याए अनि आएँ महाराज । हजुरले नेपाल बनाएर न म नेपालको प्रथम शहीद भएको हुँ । यो देश अर्कैको देश भएको भए मलाई गन्थे यिनले ? यिनको राजनीतिक स्वार्थले मलाई हजुरको ठाउँमा ल्याएर राखे । म बोल्न सक्दिन । न त त्यतिबेला जसरी लड्न नै सक्छु । मन नहुँदा नहुँदै करकापले बसेको छु । मलाई पनि बरु हजुरको जस्तै शान्त र इज्जतिलो स्थानमा बस्न मन भयो महाराज ।

पृथ्वी : अनि माछापुच्छ्रे संग कत्तिको कुरा गर्छौ नि तिम्ले ?
लखन : आ… ,घरै घरले छेकिसके माछापुच्छ्रेलाई । कताकति देखेर बोल्न खोज्छु ,वरिपरिको कोलाहल र हल्लाले कुरै हुन पाउँदैन महाराज। यसो बुझ्छु, माछापुच्छ्रेको मन मुहार उज्यालो देख्दिन । ग्लोबल वार्मिङले भन्दा देश भित्रको पोलिटिकल वार्मिङले माछापुच्छ्रे तातेर पग्लँदै गए जस्तो लाग्छ । अनुहारमा कान्ति हराए जस्तो देख्छु,खासै बोल्न पाएको छैन महाराज ।
पृथ्वी : ए ल भैगो । त्यो मेरो चोकमा धुलो धुवाँ कत्तिको खाँदै छौ नि ?
लखन : ओ हो महाराज, यसको त कुरै नगरौं । त्यति लामो समयसम्म हजुर यहाँ बस्दा त्यति कालो हुनुभएको थिएन । म त यी यति छिट्टै झन् धैंसे कालो भएको छु । पाए त मुनि त्यतै आउँथे।

पृथ्वी : भो..भो.. यता आउन पर्दैन, त्यतै बस । अनि अचेल त्याहाँ आएर के के सुनाउँछन नि तिम्लाई ? कर्णप्रिय सुन्छौ कि दूर्वाच्य ?
लखन : ओहो महाराज, कस्ता कुरा सोध्नु भयो नि । छ्या..छ्या..छ्या लाजै मर्नु छ नि महाराज । एकबर्षमा बढी भो यिनको गाईजात्रा सुनेर वाक्क दिक्क छु । आँफआँफै गाँड कोराकोर गरेको सुनेर म त यति अपवित्र भैसकें कि के भनौं ? कसलाई सुनाऊँ भैरहेको थियो । हजुरलाई पाएँ । सुनाऊँ त महाराज ?
पृथ्वी : ल ल सुनाऊ त, सुन्छु के-के हुँदै रछ अचेल ?
लखन : आज काठमाण्डुबाट एउटा आउँछ । आफ्नैलाई तथानाम भनेर आजै फर्कन्छ । भोली अर्को आउँछ, त्यस्तै भनेर फर्कन्छ । तिनका आउरेबाउरे मेरो वरिपरि झुम्मिएर उनैका जयजय गर्छन् । कोही धरधरी रोएको ठिक भन्छन्, कोही खान नपाएर रोएको भन्छन् । कोही यो व्यवस्थाले देशै बृद्धाश्रम बनायो भन्छन् । मलाई कालो धुवाँ छर्कनी तेलको महंगीको चाकाचुली खेल देखेर उत्तिखेर रुने, उत्तिखेर हाँस्ने गर्छन् । सध्ये हुन् कि बौलाहा हुन् ठम्म्याउनै सक्दिन । अझ अचम्म त दिनदिनै नयाँ पार्टी खुलेको देखेर दुध किन्न हिंडेको मान्छे दुधको पोको अर्कैलाई भिराएर केन्द्रीय सदस्य हुन्छु भन्दै अर्कोतिर दौडिन्छ । जे नदेखे हुन्थ्यो भन्यो त्यही देखिन्छ । जे नसुने हुन्थ्यो भन्यो,त्यही सुनिन्छ । जताततैको फोहोरको डँगुरमा उभिएर के-के सुन्छु के-के देख्छु । भो अरु सबै नसुनाऊँ महाराज । माथी डाँडाबाट सबै अवगत नै हुनुहुन्छ नि महाराज ।

पृथ्वी : मेरा प्रजा तिम्रा जनताको के छ नि कुरा ?
लखन : यिनका के कुरा गर्नु महाराज ? विवेकशुन्य भएकाहरुको के कुरा भन्नु महाराज ? गाली गर्न सम्म गाली गर्छन्। सराप्नु सम्म सराप्छन् । उत्तिखेर उसैलाई पूजा गर्छन् । उसैको पछि लाग्छन् । एमसीसीमा देख्नु भएन हजुर महाराजले, यी कस्ता छन् ?
पृथ्वी : यो गणतन्त्रमा जनता त जान्ने बुझ्ने हुन्छन् । हुर्लुक्कै माथी पुग्छन् । विवेकी हुन्छन, होईन र ?
लखन : के मर्जी भो महाराज ? मैले त सुनिन नि ।
पृथ्वी : लखन…लखन….हेलो…..
गणतन्त्रको कुरा गर्दागर्दै फोन काटियो ।
०००

२०७९, १६ असार बिहीबार ०५:४३
कथालिका नयाँ कथा
कथालिका