उपाधिकै उपहास – कथालिका

उपाधिकै उपहास

  • ‘साहित्यिक राष्ट्रनायक’, ‘अलौकिक कवि’ को उपाधि पछि पोखरामा आयोजित एक समारोहमा देशभक्त कुवरलाई एकसाथ १२ वटा उपाधि दिइएको छ । जसबाट सम्मानित पात्र बधाई थाप्ने बेलामा चौतर्फी आलोचना र ट्रोलको सिकार भइरहेका छन् ।

ब्यानरमै लेखिएको छ ‘साहित्यिक राष्ट्रनायक’ । नाम अगाडि ‘अलौकिक कवि’को उपमा पूर्ववत छ । यस लगत्तै एकैदिन एकसाथ थपिएको छ नामसँगै दर्जन उपाधि । यो देख्दा र सुन्दा यस्तो लाग्छ कि व्यक्ति स्वयम्लाई दिएको उपाधि जस्तै कार्यक्रम, आयोजक सबै ‘अलौकिक’ छन् ।

यसको अर्थ यो होइन कि कुनै व्यक्ति उपाधिको हकदार हुँदैनन्, उपाधि सम्मान लेनदेन स्वभाविक कुरा हो । तर, एकैदिन एकसाथ दिएको बिभिन्न नामका बिभुषण, मान, पदवी कति स्वभाविक, न्यायिक छन् ? यसले सम्मान लिने दिनेको कद बढाउछ कि घटाउछ ? यो मुख्य सवाल हो । सुन्दा पनि अचम्म लाग्ने यो कार्यक्रम कला, संस्कृतिको केन्द्र सुन्दर नगरी पोखराको हो । सुन्दर, स्वच्छ, हराभरा सहर पोखरोको यही दुषित खबर र तस्बिर यतिबेला भाइरल छ । जसको सामाजिक सञ्जाल लगायतमा तीव्र आलोचना भइरहेको छ ।

एकै दिन एक व्यक्तिलाई १२ उपाधि
देशभक्तसिंह कुुँवरलाई पोखरामा शनिबार विभिन्न १२ संस्थाले १२ उपाधिसहित सम्मान गरेका छन् । उनलाई साहित्य, संगीत, कलाकारिता, संचारकर्मी लगायत विविध क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको कदरस्वरुप उनलाई १२ उपाधिसहित सम्मान गरिएको दाबी छ । हरेक संस्थाले उनलाई नगद ५० हजार (जम्मा ६ लाख रुपैयाँ), सम्मानपत्र, मायाको चिनो, दोसल्ला सहित सम्मान गरेका हुन् ।

इन्याल्क नेपाल (अंग्रेजी प्रौढ साक्षरता अभियान), इन्याल्क नेपाल काठमाडौं र पोखरा शाखा, उन्नतिशील वाङ्मय प्रतिष्ठान, बैदाम वाङ्मय प्रतिष्ठान, रुपांकन साहित्य परिवार, श्रीवृद्धि साहित्य परिवार, श्री ऐतिहासिक कुँवर तथा राणा सांस्कृतिक समाज पोखरा, सनलाइट मिडिया टे«निङ सेन्टर, कारवि फाइनान्सियल एजेन्सी काठमाडौं, काविन ग्राफिक्स डिजाइनिङ एण्ड सोलुसन र माछापुच्छे« नृत्य प्रशिक्षण तथा सांस्कृतिक परिवारको तर्फबाट उपाधि र सम्मान दिइएको हो । यो समारोहमा विद्धत व्यक्तिहरुको समेत उपस्थिति थियो । शिक्षाविद् जर्ज जोन, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, वरिष्ठ साहित्यकार माधव वियोगी, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, शिक्षाविद् बालगोपाल अमात्य, वरिष्ठ गायिका बाबा राणा, साहित्यकार डा. गेहेन्द्रमान उदास, एड्स रोग नियन्त्रण संघका अध्यक्ष विश्वमोहन गौचन र शिक्षाविद् टीकाराम कोइराला, वरिष्ठ चिकित्सकहरु डा. बुद्धिबहादुर थापा, डा. ध्रुव अधिकारी, डा. मुकुन्द आचार्यको विशेष आतिथ्यता र उपस्थिति थियो ।

यस्ता छन् देशभक्तले पाएको उपाधि
१.शब्द सम्राट उपाधि
२.वाङ्मय सम्राट उपाधि
३.साहित्य सम्राट उपाधि
४.सिर्जना सम्राट उपाधि
५. रचना सम्राट उपाधि
६..लेखक सम्राट उपाधि
७. दिव्य गायक उपाधि
८.बहुआयामिक ब्यक्तित्व उपाधि
९. सङ्गीत मणिरत्न उपाधि
१०. युग संचारमणी उपाधि
११. महासाहित्यकार उपाधि
१२. दुर्लभ महामानव उपाधि

को हुन् देशभक्त कुवर ?
मेघा एफएमका प्रबन्ध निर्देशक रहेका कुँवर सम्पदा कला मन्दिर, पोखरा वाङ्मय प्रतिष्ठान, मुमताज मल्टिमिडिया, कुँवर राणा गार्डेन सोसाइटी, सिर्जनशीनल साहित्य परिवारमा हाल अध्यक्ष छन् । २०४८ सालमा रेडियो नेपालको चौतारी कार्यक्रममा गायन प्रस्तुतसँगै सांगीतिक तथा साहित्यिक क्षेत्रमा प्रवेश गरेका कुँवरले गिनिज बुक वल्ड रेकर्डमा समेत नाम लेखाएका छन् । उनी हालै चितवनमा साहित्यिक राष्ट्रनायक उपाधिबाट सम्मानित भएका थिए । चार दशकदेखि कला, साहित्य र संगीतमा लागिरहेका उनको साहित्यका कृति समेत प्रकाशनमा छन् । थुप्रै गीतमा स्वर तथा संगीत दिएका छन् ।

डेढ घन्टाभित्र लेखेर सकेको दाबी गरिएको ‘सेतो संसार’ नामक मुक्तक संग्रह प्रकाशन गरे पछि २०७५ सालमा एक संस्थाले ‘अलौकिक कवि’को उपाधि दिएको थियो ।

साहित्यकारको साझा स्वरः ‘सम्मानको मजाक’

सम्मान समारोह पछि अहिले सामाजिक सञ्जालमा सम्मानित पात्र र आयोजकको चर्को आलोचना भइरहेको छ । सम्मानित भएर बधाई थाप्ने बेला कुवर ट्रोलको सिकार भइरहेका छन् । पोखरेली साहित्यकारहरु नै यसको कडा आलोचनामा उत्रिएका छन् । कैयन सार्वजनिक विषयमा मौन बस्न रुचाउने साहित्यकार सरस्वति प्रतिक्षाले यस प्रकरणमा बोलेकी मात्र छैनन्, कडा शब्दमा स्वघोषित उपाधि र सम्मान आदान प्रदान गर्ने पात्र र प्रवृत्तिको निन्दा गर्दै फेसबुकमा लेखेकी छिन्,–‘उपाधिहरुकै हुर्मत काट्ने गरेर यसरी प्रायोजित रुपमा आफैलाई/अरुलाई सम्मान गरेर वाङमयको सम्मान हुन्छ कि अपमान ? साधना र सृजना कठिन बाटोको अर्को नाम हो । त्यसलाई यो हदको सस्तो मजाक कदाचित बनाइनु हुँदैन ।’

हेटौडाका कवि निमेष निखिलले लाज पनि लजाएको प्रतिक्रिया दिएका छन् । उनले पोखरेली हस्ती सरुभक्त, तिर्थ श्रेष्ठ लगायतका धुरन्धर साहित्यकार भएको स्थानमा सम्मानको भोकले मजाक उडाएकोमा प्रश्न र चिन्ता व्यक्त गरेका छन् ।

चर्चित कवि श्यामलले पनि व्यंग्यात्मक प्रतिक्रया दिएका छन् । ‘यति विराट अनि अलौकिक प्रतिभाका बारे सुइँकोसम्म नपाउने हामी लौकिक लण्ठूहरुलाई जिस्काउनु कुन ठूलो कुरा भो र रु’ उनी भन्छन्, ‘सम्मान गर्ने संस्थाहरुलाई यस अलौकिक कार्यका लागि कस्तो धन्यवाद दिन सकिएला रु’

नागरिक समाज कास्कीका रामबहादुर पौडेलले यसलाई चाकडीबाजको पराकाष्ठा भनेका छन् । ‘संघसंस्थाहरु गलत प्रवृत्तिको मतियार बन्दै गएको संकेत हो यो । इमान्दार एवम् यथार्थवादी सर्जक लगायत सामाजिक रुपान्तरणका पक्षधरहरुलाई यस्ता गतिविधिले पोल्नु स्वभाविकै हो,’ उने भनेका छन्, ‘सच्चा र इमानदार सर्जकले यस्तो उपाधिको भारी बोकाउने संस्थालाई मञ्चबाटै भत्र्सना गर्नुपर्ने हो ।’

गीतकार राजेन्द्र थापाले सम्राट साम्राज्ञी दिने लिनेहरु फुटपाथभरी जताततै पाइन थालेको भन्दै व्यंग्य गर्छन् । ‘न दिनेलाई लाज न लिनेलाई लाज । साढेलाई हिँड्दा के लाज ? न कात्तिकमा सडकमा दोहरी खेल्दा भैरव भैरवीहरुलाई लाज । नारायण गोपाललाई स्वरसम्राट भन्न रुचाउंछु भनेर देशान्तरमा छाप्ने शिव अधिकारीलाई मार गाली गर्दे नारायण गोपालले सरस्वती भक्तहरु उपाधिबाट दूर बस्नुपर्छ भने । तर, आज आफूलाई सरस्वति साधक मान्नेहरु नै ।

चौतर्फी आलोचना पछि यसो भन्छन् देशभक्त

एकैदिन दर्जनौ उपाधि र सम्मान ग्रहण गरेका कुँवर बधाई पाउने बेलामा चौतर्फी आलोचना पछि रक्षात्मक जवाफ दिइरहेका छन् । उनले सम्मान थाप्ने आफ्नो रहर नभएको तर ज्येष्ठ, अग्रजहरुको आग्रह अस्वीकार नगरेको बताउछन् । जीवनकालमै छोराको प्रगति देख्ने बाबुको इच्छा पूरा गर्न आफूले पुरस्कार थापेको कुवरको दाबी छ ।

चितवनमा अलौकिक कविको उपाधि पाएको केही महिनापछि नै इन्ल्याल्क नामक संस्थाले अन्य उपाधिका लागि आग्रह गरेको कुँवरको दाबी छ । पछि अन्य संघसंस्थाले पनि आफूलाई उपाधि दिन प्रस्ताव राखेकाले सगोलमै कार्यक्रम गर्न भनेको उनको स्पष्टोक्ति छ । आफ्नो आवद्धता नभएको संस्थाहरुबाट दिलबाटै सम्मान गर्ने कुरा आएकाले सम्मान ग्रहण गरेको उनले बताए ।

२०७९, २० असार सोमबार ०८:३८
कथालिका नयाँ कथा
कथालिका