- सुस्माले आँखामा लो–भिजन समस्या हुँदा समेत आफैं जागिर गरेर पढेकी थिइन् । अहिले ४ वर्ष भयो उनको आँखाले पूर्ण रुपमा देख्न छोडेको । तर, सुस्माले हार मानिनन् । मेहनत जारी राखिन्, हरेश नखाई पढेर अघि बढेकैले उनी स्थायी शिक्षक बनिन् र अहिले आँखा देख्ने विद्यार्थीलाई पढाइहेकी छिन् ।
हाँस्ने, खेल्ने अनि विद्यालयमा अन्य साथीसंगै रमाउने बालापन । संसारलाई भर्खरै नियालिरहेको अवस्था, जिन्दगीका हरेक पाइलालाई बेप्रवाह तरिकाले बाँचिरहने एउटा समय । बस् उनी पनि हरेक क्षणमा रमाइरहेकी थिइन् । तर, जीवन र समय सोचे र चाहे जस्तो नहुने रहेछ । उनको जीवनमा पनि यही नियति आइलाग्यो । कक्षा ५/६ मा पढ्ने उमेरसम्म उनको आँखाको ज्योती राम्रो थियो । विद्यालय जान्थिन्, साथीहरुसंग अन्य बालबालिका जस्तै पढ्थिन्, खेल्थिन्, रमाउथिन् । दुर्भाग्य भन्नुपर्छ, पछि भने उनको आँखाले विस्तारै काम गर्न छोड्यो । आँखा देख्न कम हुँदै गए पछि उनको जीवन र सपनाहरुमा ठुलो हुरी हुण्डरी आयो । जसले अन्यौलता र द्धिविधाको भूमरीमा जीवनलाई फसाइदियो । देख्दा देख्दै दृष्टिविहीन भइन् ।
उनी अर्थात् सुस्मा थापा मगर । बागलुङ जिल्लाको साविक सिगाना गाविस (हालको काठेखोला गाउँपालिका वडा नं १) का दिलमाया थापा र तिलबहादुर थापाको चार सन्तान मध्ये दोस्रो सन्तानका रुपमा उनी जन्मिइन् । सुरुमा उनको आँखामा त्यस्तो जटिल समस्या थिएन । कहिलेकाहीं अलि टाढा सम्मको दृष्य हेर्नमा समस्या हुन्थ्यो । टाढा हेर्दा उनले १ जना व्यक्तिलाई २÷३ वटा र हल्लिएको जस्तो देख्थिन् । बालापनको समय, हाँस्दै र खेल्दै बितिरहेको जीवनमा उनलाई आफ्नो संवेदनशील आँखाको समस्या ठूलो लागेन । सायन उनलाई हेक्का भएन । परिवारका अभिभावकले पनि सायद सुस्माको आँखामा भएको समस्याले धेरै असर गर्छ भन्ने सोचेनन् । केही दिनमै ठीक होला भन्ने सोच र आशा राखेका परिवारका सदस्यलाई एकदिन यही समस्याले सुस्मालाई पूर्ण रुपमा दृष्टिविहीन बनाउँछ भन्ने कल्पना सम्म थिएन ।
दिउँसोमा एउटा वस्तु वा व्यक्तिलाई २,३ वटा देख्दा केही होइन या पछि ठीक हुन्छ होला कि भन्ने लागिरहेको अवस्थामा पछि भने सुस्मालाई रातिमा समस्या हुन थाल्यो । सुस्मालाई पढाईमा निकै रहर । आँखामा समस्या भए पनि निरन्तर विद्यालय गइरहन्थिन् । विद्यालयमा शिक्षकले पढाइरहेको बुझ्थिन् । लेखेको भने देख्न छोडिन् । ‘शिक्षक तथा साथीले खेलेका साना–साना अक्षर देख्न छाडें, आफूले लेख्दा समेत अक्षर बांगो हुन्थ्यो, अक्षर कि तल जान्थ्यो, कि माथि,’ सुस्माले भनिन्, ‘अक्षर पुरा गर्न सक्दिनथें, ५ कक्षासम्म किताब हेरेरै पढें, कक्षा ६ मा पुगेपछि भने मेरो आँखाको समस्या बढ्यो ।’ तर, उनको पढ्ने रहर भने पुरा भएको थिएन । सुस्मालाई जसरी भए पनि आफ्नो पढाई पुरा गर्नु थियो ।
भारत सम्म उपचार प्रयास तर,असफल
त्यो समयमा अहिलेको जस्तो जताततै अस्पताल थिएन । सायद त्यसैले सुस्माको उपचारमा त्यति ध्यान पुगेन । उनलाई अहिले भने लाग्छ, उनको आँखामा समस्या देखिएको सुरुआतमा उपचार गराउन पाएको भए आफू दृष्टिविहीन हुनु पर्ने थिएन । आँखामा अलि बढी समस्या भए पछि सुस्मालाई उनको बजै विष्णुमाया थापाले उपचारका लागि भारत लैजाने निर्णय गरिन् । उनकी बजैै टाठी थिइन् त्यो समयमा । भारतमा उपचारका लागि सुस्मा र उनकी बजै ६ महिना त्यहीं बसे । डाक्टरले भने अब सुस्माको आँखाको समस्याका लागि उपचार गर्न धेरै ढिलो भइसकेको र ठीक हुने सम्भावना नभएको बताइदिए । ‘डाक्टरले उपचारका क्रममा मेरो आँखाको नशा सुक्दै गएको र समस्या देखिएको सुरुआतमा उपचार पाएको भए ठीक हुने बताइदिए,’ सुस्माले भनिन्, ‘उपचारमा ढिला भएकाले सुधार हुने सम्भावना छैन, दृष्टिविहीनको विद्यालयमा गएर भर्ना गरिदिनुस् भन्ने सुझाव दिए र पठाइदिए ।’
भारतमा लगेर उपचार गराउँदा डाक्टरले सुधार हुँदैन भनिसकेपछि उनीहरु नेपाल फर्किए । उपचारका लागि जानु भन्दा अगाडि उनले आफू जन्मिएको गाउँकै श्री बराह प्राथमिक विद्यालयमा कक्षा ५ सम्म पढेकी थिइन् । कक्षा ६ का लागि भने सुस्मा भीमसेन माविमा भर्ना भएकी थिइन् । आँखामा समस्या आइसकेपछि उनले उक्त विद्यालयमा पढ्न सकिनन् । त्यसपछि मात्र सुस्मा दृष्टिविहीनको विद्यालयमा भर्ना भएकी थिइन् आफ्नो बाँकी पढाई पुरा गर्न । उनको आँखामा समस्या आइसकेपछि परिवारमा समेत के गर्ने के नगर्ने भन्ने भइसकेको थियो । उनका मामाले सुस्मा र उनको परिवारलाई बाटो देखाइदिए । मामाले बागलुङको बलेवा नारायणस्थानमा दृष्टिविहीनका लागि विद्यालय रहेको जानकारी दिए । ‘मेरो मामा केयरसिंह थापाले भाञ्जीले आँखा नदेख्ने भए पछि त्यहाँ यस्तो–यस्तो विद्यालय छ, त्यहाँ भर्ना गरिदिनु भन्नुभयो,’ उनी भन्छिन्, ‘अनि मेरो बजैले नै मलाई अगाडिको पढाईका लागि त्यो विद्यालयमा भर्ना गरिदिनुभयो ।’
कमजोर सोँच्छ समाज
बजैले दृष्टिविहीनको विद्यालयमा भर्ना गरिसकेपछि भने उनलाई पढाई पुरा गर्न सक्छु भन्ने भयो । उनलाई लाग्थ्यो, अब सबै म जस्तै पढ्ने भइसकेपछि पढ्न सजिलो हुनेछ । ‘दृष्टिविहीनको विद्यालयमा पढ्न जाने भइसकेपछि मैले मेरो पढाई पुरा गर्न पाउँछु भनेर म खुसी भएँ, मलाई लागेको थियो, एकदम ठूला–ठूला काठको अक्षर छामेर पढ्न पाइन्छ होला,’ उनी सम्झिन्छिन्, ‘विद्यालय गइसकेपछि त सानो अक्षर छामेर पढ्नुपर्ने रहेछ, सुरुमा मलाई निकै गाह्रो भयो, म त हतोत्साहित नै भएँ ।’ सुरुआतमा उनलाई त्यहाँका साथीसंग घुलमिल हुन समय लाग्यो । राति नदेख्ने हुँदा अन्यसंग कहिलेकाहीं झुक्किएर ठोक्किन्थिन् । त्यो बेला अन्य साथी सुस्मासंग नराम्ररी रिसाउँथे । दृष्टिविहीन पढ्ने विद्यालयबाट सुस्माले २०५९ सालमा एसएलसी पास गरिन् ।
विद्यालय तहसम्म त सुस्माले जसोतसो आफ्नो पढाई पुरा गरिन् । क्याम्पसमा उनलाई केही समस्या भयो । किताब हुँदैनथ्यो, रेकर्ड समयमा नहुने र भएको समेत केही पब्लिकेसनको मात्र हुने भएकाले सुस्मालाई क्याम्पसको पढाई पुरा गर्न गाह्रो भयो । यद्यपि, पास भने भइन् उनी । क्याम्पस जाँदा सुस्मालाई केहीले हतोत्साहित गर्थे । सुस्माले भने हार खाइनन् । अहिले पनि सुस्माले अनेक कुरा सुनिरहेकी छिन्, भोगिरहेकी छिन् । ‘हतोत्साहित त अहिले पछि हुन्छु, धेरैले हामी जस्ता फरक शारीरिक क्षमता भएकालाई केही गर्न सक्दैनन् कि जस्तो गर्छन्,’ उनी भन्छिन्, ‘समाज परिर्वतन भएको छैन हाम्रो लागि ।’
हरेश नखाई बने स्थायी शिक्षक: देख्ने विद्यार्थीलाई पढाउछन् सुश्मा
सुस्माले आँखामा लो–भिजन समस्या हुँदा समेत आफैं जागिर गरेर पढेकी थिइन् । अहिले ४ वर्ष भयो उनको आँखाले पूर्ण रुपमा देख्न छोडेको । तर, सुस्माले हार मानिनन् । मेहनत जारी थियो, त्यसैले सफलता प्राप्त गरिन् । उनले २०७५ सालमा शिक्षक सेवा आयोगबाट नाम निकालिन् र सुरु गरिन् पोखराको दीपमा रहेको दिव्याज्योती आधारभुत विद्यालयमा पढाउन । उनलाई सुरुमा गाह्रो भएको थियो विद्यालयमा पढाउन । सुस्माले दृष्टिविहीनलाई होइन, आँखा देख्ने विद्यार्थीलाई पढाउनुपर्छ । पढाउन सहज होस् भन्ने हेतुले कम्प्युटर सिकिन् । ‘बच्चाको होमवर्क चेक गर्न सक्दिन, साथीलाई भन्छु, ल्यापटपमा टाइप गरेर पढाउँछु ।’ उनले भनिन्, ‘शैक्षिक सामाग्री प्रयोग गर्ने ठाउँमा विषय सम्बन्धित भिडियो देखाएर सिकाउँछु ।’
दम्पति नै दृष्टिविहीन तर, बने उदाहरणीय जोडी
सुस्माले म्याग्दीका खोमराज सुवेदीसंग १५ वर्ष अगाडि विवाह गरिन् । खोमराजको पनि आँखामा सुस्माको जस्तै समस्या थियो लो–भिजनको । उनले पनि अहिले पूर्ण रुपमा देख्न सक्दैनन् । दुवै जना एउटै विद्यालयमा पढेका थिए । आँखामा समस्या भएपछि अब के गरेर जीवन जिउँछ होला सुस्माले भन्ने उनको परिवारलाई चिन्ता थियो । त्यो पनि सबैभन्दा धेरै बजै (हजुरआमा)ले सुस्माको विषयमा चिन्ता लिन्थिन् । विवाह गरिस् भने दुःख पाउँछस्, भनिरहन्थिन् । सुरुमा त सुस्मा र खोमराज दुवैले आफूहरुले विवाह गरेको विषयमा घरमा जानकारी दिएनन् । १ वर्ष सम्म विवाहको विषयमा जानकारी नदिएका उनीहरुको सम्बन्धका विषयमा साथीले सुस्माको घरपरिवारलाई सुनाइदिएछन् । त्यो समयमा उनीहरुको छोरा जन्मिएर २ महिनाका भइसकेका थिए । खोमराजको परिवारले भने उनीहरुको सम्बन्धको विषयमा जानकारी पाएर विधिवत् रुपमा उनीहरुलाई भित्राइसकेका थिए ।
विवाह भन्दा अगाडि खोमराजले इलामको एउटा बालमन्दिर विद्यालयमा पढाउँथे । पछि खोमराज पोखरा आए । पोखरामा आइसकेपछि खोमराजले पृथ्वीनारायण क्याम्पसमा दृष्टिविहीनका लागि लाइब्रेरी सञ्चालनमा ल्याएका थिए । उनले अहिले पनि त्यहीं काम गर्छन् । आत्मनिर्भर भएपछि विवाह गरेको भए पनि परिवारका सदस्यले केही भन्छन् कि भन्ने डर उनीहरुलाई लागिरहन्थ्यो । सुस्मा भन्छिन्, ‘विवाहको विषयमा अरुको मुखबाट सुने पनि परिवारका सदस्यले खासै केही भनेनन् ।’ सुस्मा र खोमराजको विवाहको विषयमा जानकारी पाए पछि सुस्माको बजैले भने चित्त दुखाइन् । ‘बजैले तैंले विवाह गरिस् भने दुख पाउँछस् भनिरहनुहुन्थ्यो,’ उनले भनिन्, ‘मैले विवाह गरें भन्ने थाहा पाए पछि त २,४ वर्ष मसंग बोल्नु भएन ।’ सुस्माको बजै अहिले ९८ वर्षको पुगिन् । उनलाई लाग्छ, मेरै चिन्ताले गर्दा त्यो बेला मसंग रिसाउनु भएको थियो । अहिले यो जोडीको एक छोरा र एक छोरी छिन् । उनीहरु दुवैले देख्न सक्छन् ।
संसार देख्ने दुई सन्तान
पहिलो सन्तानका रुपमा छोरा जन्मिदा सुस्मा जति खुसी थिइन्, त्यो भन्दा बढी उनलाई समस्या भयो । त्यो बेलासम्म उनको आँखाको ज्योती लो–भिजन थियो । जान्ने–बुझ्ने र सिकाउने कोही थिएनन् । त्यसैले उनलाई स्तनपान गराउन समस्या भयो । ‘छोरा जन्मिदा १ महिनासम्म स्तनपान गराउन सकिन,’ उनी भन्छिन् । तर जीवन हो, विस्तारै हरेक कुरा सिकिन्छ भन्ने सुस्मालाई लाग्छ । सन्तान हुर्काउन उनलाई जीवनका कठिनाइहरुले सिकाउदै गयो । अहिले यो जोडीको छोरा १४ वर्ष र छोरी ६ वर्षकी पुगिन् । आमाबाबा देखेर उनीहरुलाई आत्मग्लानी भएको सुस्मालाई याद छैन । ‘मेरा कतिपय दृृष्टिविहीन साथीका छोराछोरीले आफ्नो आमाबाबा विद्यालय जाँदा नआउनुस्, हामीलाई जिस्काउँछन् भन्छन् रे ।’ खुसी हुँदै सुस्मा भन्छिन्, ‘तर म मेरो बच्चाको विद्यालयमा गइरहेको हुन्छु, मलाई कहिले पनि त्यस्तो व्यवहार गरेनन् ।’
नेपालमा शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई समाज त कुरै छाडौं, परिवारले समेत साथ छोडिदिएको उदाहरण देख्न पाइन्छ । सुस्माको हकमा त्यो भएन । परिवारले राम्रै साथ दिए । सबैभन्दा बढी सुस्मालाई बजै विष्णुमायाले दिइन् । बालापनमा कहिलेकाही दिदी भाइले उनलाई नराम्रो भनिदिँदा चित्त दुख्थ्यो । ‘आँखा नदेख्ने भएकाले मलाई नराम्रो शब्द प्रयोग गरे भन्ने लाग्थ्यो, तर त्यो बालापनको उमेर थियो, मलाई कुनै गुनासो छैन,’ सुस्मा गर्वका साथ भन्छिन्, ‘आमाबाबा र बजैले कहिले पनि मलाई नराम्रो गर्नुभएन ।’
समाजले भन्ने काम हो भनिरहन्छन् आफू अगाडि बढिरहने हो भन्ने उनलाई आज आएर लाग्छ । त्यो समयमा उनको लो–भिजन भएको मात्र थियो । अलिअलि भने सुस्माले देख्थिन् । पूर्ण रुपमा दृष्टिविहीन भएको भने ४ वर्ष जति भयो । लो–भिजनको समस्या र डाक्टरले समेत उपचार सम्भव छैन भनिसकेकाले उनलाई अन्य आशा थिएन । गाउँमा कुनै काम परेको खण्डमा आफू एक्लै हिंड्थिन् । सधैं हिंडिरहेको बाटो भएकाले समस्या हुँदैनथ्यो । ‘केहीले भेदभाव गर्ने भन्दा यसले आँखा देख्न सक्छ, यत्तिकै झुठ बोलेको हो भन्थे,’ उनी भन्छिन् । सुस्मा दृष्टिविहीन छिन्, तर उनले महसुस त गर्न सक्छिन् । समाजबाट त्यस्तो भेदभाव भएको उनले महसुस गरेकी छैनन् अहिलेसम्म । ‘कहिलेकाहीें गाउँमा जाँदा यसले देख्दैन, किन बोलाउनु भन्ने सोचेर होला, धेरैले मलाई बोलाउनु हुन्न ।’ उनी भन्छिन्, ‘तर म महसुस त गर्न सक्छु नि, नबोलाउँदा भने अलि चित्त दुख्छ ।’
‘सरकारले क्षमता अनुसारको काम दियोस्’
हामी सहरमा देख्न सक्छौं, धेरै जना दृष्टिविहीन व्यक्ति बाटोमा गीत गाएर आफ्नो जीवन निर्वाह गर्न बाध्य छन् । यो विषयमा सुस्मालाई लाग्छ, सरकारले उनीहरुको क्षमता अनुसारको रोजगार उपलब्ध गराउनु आवश्यक छ । सडकमा गीत गाएर आफ्नो जीविकोपार्जन गर्नु कसैको रहर हुँदैन । ‘सरकारले हामी जस्ता शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिको लागि केही व्यवस्था गरिदिए हुन्थ्यो, कोही शारीरिक रुपमा फरक क्षमता भएका शिक्षित व्यक्ति पनि सडकमा गीत गाएर जीविकोपार्जन गर्ने हुनुहुन्छ,’ उनी भन्छिन् ।
सुस्मा र खोमराजको जीवनमा संघर्षको पल नआएका होइनन् । तर, उनीहरु दुवैले त्यस्ता क्षणलाई एकअर्काको साथ मिलेर सजिलै पार गरे । दुवै जना आत्मनिर्भर छन् । एकअर्काको परिपुरक हुन् उनीहरु । दुई सन्तान र उनीहरु नै एकअर्काका लागि संसार हुन् । शारीरिक रुपमा फरक क्षमता भएकालाई सरकार, उनीहरुको परिवार र समाज, सबैले हेयको दृष्टिले हेर्ने चलन अझै हराइसकेको छैन ।
उनीहरुको जीवनमा चुनौतीको चाङ हुन्छ । सुस्मालाई आशा छ, एकदिन अवश्य परिर्वतन हुने छ । ‘हामी जस्ता फरक क्षमता भएका व्यक्तिलाई हरेक क्षण चुनौति हुन्छ परिवार र समाजबाट ।’ उनी भन्छिन्, ‘तर चुनौति छ भन्दैमा आफूलाई कम सोचेर नबसौं, हामी जस्ता शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिले पनि आफ्नो लागि आफैं गर्ने हरसम्भव कोसिस गरौं ।’