एकलैनी बजारमा “साउने व्यापार” – कथालिका

एकलैनी बजारमा “साउने व्यापार”

झापाको कमल गाउँपालिका– ७ को गेउरिया बजारमा बजार भर्न आएकी साउने बर्तालु महिला हातमा चुरा लगाउँदै ।

चुरापोते लगायत सौन्दर्यका सामग्री किनमेल हुँदै आएको नेपालगञ्जको एकलैनी बजारमा साउन महिना सुरु भएसँगै व्यापारिक चहल पहल बढेको छ ।

चुरापोते र मेहन्दीको किनमेल गर्ने महिलाको भीड बढ्दै आएको छ । बिहानदेखि साँझसम्म यहाँका प्रत्येक पसलमा किनमेल गर्ने महिलाको भीड लाग्ने गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२१ फुल्टेक्रा निवासी सिर्जना थापाले आफूलाई आवश्यक पर्ने चुरापोतेलगायत सौन्दर्य सामग्री एकैठाउँमा रोजीरोजी पाइने भएकाले एकलैनी बजारमा महिला दिदीबहिनीको भीड हुने बताए । “साउन महिनामा सबैले हरियो चुरा र मेहन्दी लगाउने गर्छन्, म पनि चुरापोते र मेहन्दी किन्न सधैँ यही आउने गर्छु”, उनले भने,“चुरापोतेलगायत कस्मेटिक सामान अन्तभन्दा यहाँ सस्तो र राम्रो हुने भएकाले महिलाको धेरै भीड एकलैनी बजारमै लाग्ने गरेको छ ।”

एकलैनीभन्दा ठूला बजार र गल्ली नेपालगञ्जमा जताततै विस्तार भइसके । नेपालगञ्जमा पाइलैपिच्छे खुलेका पसलमा महिलाका सौन्दर्य सामग्री पाइने भए पनि किशोरीदेखि वृद्ध महिला हरिया चुरा, पोते र रङ्गीविरङ्गी मेहन्दी किन्नकै लागि एकलैनी पुग्ने गरेका छन् । ग्राहकलाई एकलैनीकै सामानमा विश्वास रहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले बताए।

“नेपालगञ्जको सबैभन्दा पुरानो बजार एकलैनी हो। ठूला बजार र गल्ली नेपालगञ्जमा जताततै विस्तार भइसके”, उनले भने, “एकलैनी बजारको साघुँरो गल्लीमै महिलाको सौन्दर्य सामाग्री किनमेलको परिचय जोडिएको छ । ग्राहकको पहिलो रोजाइँमा अझै पनि एकलैनी मै पर्छ ।”नेपालगञ्जको पुरानो एकलैनी बजारमा जुत्ता, चप्पल र कपडादेखि सौन्दर्यका चुरापोतेलगायत पसल सानो गल्लीभित्र लहरै छन् । यहाँ प्रत्येक दिन ग्राहकको भीड लाग्ने गर्दछ ।

सस्ता र राम्रा सामान पाइने विश्वासमा एकलैनी बजार सधैँ ग्राहकले भरिने गरेको नेपालगञ्ज अध्यक्ष मन्सुरीले बताए ।“साउन महिना लागेपछि चुरापोते र मेहन्दीको व्यापार निकै बढेको छ, किनमेलका लागि भीड लाग्ने भएकाले अहिले व्यापारीलाई फुर्सद छैन”,विगत एकदशकदेखि सौन्दर्य सामग्रीको पसल सञ्चालन गर्दै आएका बाबुलाल साहुले भने,“अरुबेला कोरोनाले बजारै बन्दै थियो तर अहिले साउन महिनामा व्यापार व्यवसाय राम्रो भइरहेको छ ।”

बजारको प्रतिस्पर्धासँगै अहिले गुणस्तरीय, टिकाउ र साडीसँग मेल खाने रङ्का चुरा खोज्ने धेरै आउन थालेको उनको भनाइ थियो । बजारमा गुणस्तरसँगै मूल्यमा पनि प्रतिस्पर्धा हुने गरेको छ । एकलैनी बजारमा अहिले प्रतिसेट ३० देखि एक हजार मूल्यसम्मको चुराको व्यापार भइरहेको छ । हरियो चुराको सांस्कृतिक महत्व थाहा नभएकाहरुले समेत हरियो चुरा र मेहन्दी लगाइरहेको व्यापारी साहुले बताए।

अरू समयमा हरियो चुरा र कपडाको महत्व नभए पनि साउन महिनामा भने नारी प्रायः त्यही चिजमा झुम्मिएका हुन्छन् । कतिपय ग्राहकले वास्तुशास्त्रअसार चुराको रङ छनोट गर्ने गरेका छन् । रातोले शुभलाभ र ऋिद्धिसिद्धि, पहेँलोले ज्ञानवृद्धि र शिक्षा, नीलोले सु–स्वास्थ्य तथा हरियोले प्राकृतिक र बौद्धिक उन्नतिको प्रतिनिधित्व गर्ने भएकाले कतिपय ग्राहकले त्यही अनुरूप चुरा छनोट गर्ने गरेको चुरा व्यवसायी अजमत सिद्धिकीले बताए ।
“साउन महिना चुरा व्यापारीलाई तिहारजस्तै हुन्छ, यहाँ महिलाको भीड नै लाग्छ । आज सामान ल्यायो भोलि सकिन्छ । दिनमै सयौँ दर्जनभन्दा बढी चुरा बिक्री भइरहेको छ”, उनले भने,“साउनमा हरियो चुराका साथै रातो, हरियो तथा पहेँलो रङग समिश्रण गरिएको पोते किन्न आउनेको सङ्ख्या पनि धेरै छ ।”

साउन महिना महिलाले भगवान् शिवको व्रत र पूजा गर्ने गर्दछन् । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले पनि साउनको छुट्टै महत्व छ । यो महिनामा भगवान् शिवको विशेष पूजार्चना गरिने भएकाले साउनलाई शिवजीको महिना पनि भन्ने गरिन्छ । साउनमा विवाहित तथा अविवाहित महिलाले विभिन्न मनोकाङ्क्षा राखेर व्रत बस्ने गरेको नेपालगञ्जकी महिला उद्यमी रचना श्रेष्ठले बताए।

हिजोआज अविवाहित किशोरीमा पनि साउन महिनामा हरियो र पहेँलो चुरा तथा हातमा मेहन्दी लगाउने चलन बढ्दै गएकोले चुरा र मेहन्दीको माग उच्च हुने नेपालगञ्जका चुरा व्यवसायीहरू बताउँछन् । “ पहिला पहिला साउनमा पहिले यस्तो तामझाम हुँदैनथ्यो, हिन्दू धर्मअनुसार विवाहिताले मात्र चुरा लगाउँदथे तर अहिले नयाँ पुस्ता पनि यसप्रति बढी आकर्षित भएका छन् , अहिले दैनिक कम्तीमा रु १० हजारको चुरा बिक्री हुने गरेको छ”, चुरा व्यवसायी अब्दुल लतिफले भने, “साउनमा सबैले हरियो चुरा र मेहन्दी खोज्ने हुनाले सबैभन्दा बढी यसकोे व्यापार यही बेला हुन्छ । दुई÷तीन वर्षयतादेखि साउनमा हरियो चुरा र मेहन्दी लगाउने चलन ह्वात्तै बढेको छ ।”

साउन लागेपछि एकलैनी बजारमा ग्राहकको थेगिनसक्नु भीड हुन्छ । खासगरी महिला ग्राहकले भरिने एकलैनी बजारको साँघुरो गल्ली पूरै हरियो देखिन्छ जहाँ हरेक पसलमा हरिया चुरापोते झुण्डिरहेका हुन्छन् । ग्राहकले मनपर्ने चुरापोते र रङ्गीबिरङ्गी मेहेन्दी छानिरहेका हुन्छन् । पसलेलाई बिक्री गर्न भ्याइनभ्याइ हुन्छ । एकलैनी बजार बढ्दै गएपछि पसल पनि उत्तिकै बढेका छन् । त्यहाँ अहिले २०० भन्दा बढी पसल सञ्चालनमा छन् ।

२०७९, १ श्रावण आईतवार ०९:४७
कथालिका नयाँ कथा
कथालिका