प्याडको कथाः रजश्वलामा राजनीति – कथालिका

प्याडको कथाः रजश्वलामा राजनीति

  • रजश्वलाको अपरिहार्यता र संवेदनशीलता बोध गर्ने राजनीति, नीति जरुर चाहिएको छ । तर, यहाँ त रजश्वलाको समयमा प्रयोग गर्ने प्याडमै कमिसन, कमाउ धन्दा गर्ने नियतबाट राजनीतिक दल, नेता, कर्मचारीतन्त्र ग्रसित देखिन्छन् ।

नवलपुरको मगरकोट स्वास्थ्य चौकीमा आएकी एक महिला सकसपूर्वक उभिरहेकी थिइन् । केही अस्वभाविक र अप्ठ्यारो झेलेर पनि उभिरहेको देखे पछि आफु बसिरहेको कुर्ची छोडेर उनलाई त्यसमा बस्न आग्रह गरे । तर, ठिकै छ भन्दै केही हिच्किचाहट सहित उनले आफु कुर्चिमा नबसेर मलाई नै बस्न इशारा गरिन् । उनी त्यसरी नै लामो समय उभिरहिन् । जुन देख्दा मात्रै पनि मलाई असहज महुशुस भइरहेको थियो ।

उनले यसै उभिरहन्छु भनेर जवाफ दिए पनि मनले मानेन र नजिकै गएर फेरि सोधे–‘बहिनी, तपाइँलाई केही गाह्रो भए जस्तो छ । कुर्चिमा बस्नु न यसरी धेरैबेर उभिदाँ खुट्टा दुख्छ ।’ उनले फेरि पनि फिस्स हाँसेर मतिर हेर्दै भनिन्–‘दिदी, आउँदा आउँदै भर्खरै मिन्स भएछु बस्दा कुर्चिमा लाग्छ कि भनेर उभिएकी हुँ ।‘ चिकित्सकको पर्खाइमा रहेकी उनी प्याड किन्न पसल टाढा रहेकाले यतिकै उभिने भन्दा विकल्प अर्को थिएन ।

नजिकै कुर्चिमा आफ्नो काममा समर्पित महिला स्वास्थ्यकर्मीलाई यहाँ प्याड पाइदैन म्याम ? भनेर सोधे । उनले स्वास्थ्य चौकीको हाता बाहिर पर पसल तिर चोर औलाले देखाउँदै भने–“ऊ त्यहाँ किन्न पाइन्छ ।” निकैबेर उभिरहेकी महिलातिर हेर्दै म किनेर ल्याइदिउँ ? भनेर सोध्दा उनले थप संकोच सहित भनिन्–“पर्दैन दिदी, पालो आइसक्यो अब घरमै जान्छु ।” त्यसको केही समयमा परीक्षणको लागी चिकित्सकको कोठा भित्र पसिन् । म भने मनमनै अनेकौं प्रश्न, संशय, अनुमान र आंशकाहरुले रन्थनिरहे ।

कमला राना

कस्तो बिडम्बना ! सरकार “कण्डम यहाँ पाइन्छ” भनेर सरकार विज्ञापन गर्छ । तर, महिलाहरुका लागि अत्यन्त संवेदनशील प्याडमा मौनता साँध्छ । यसको निशुल्क व्यवस्थापन, वितरणको साटो रजश्वलामै राजनीति गर्छ । कमिसनको चलखेल हुन्छ । अस्पताल र स्वास्थ्य चौकीमा निशुल्क कण्डम बितरणको विज्ञापन गर्ने सरकारले अस्पताल र स्वास्थ्य चौकीमै प्याडको यथोचित व्यवस्थापन गर्न सकेको छैन । महिलाले महिनावारी हुँदा संवेदनशील रुपमा प्रयोग गर्ने प्याड स्वास्थ्य चौकीहरुमा निशुल्क उपलब्ध हुँदैन । कतिपय अवस्थामा त किन्न खोज्दा समेत नपाएर निजी क्लिनिक र अस्पताल खोज्नुपर्ने अवस्था छ ।

महिलाले महिनावारी हँुदा प्रयोग गर्ने प्याड र पुरुषले प्रयोग गर्ने परिवार नियोजनका अस्थायी साधन कण्डमको उपयोगिताको उद्देश्य र महत्वमा फरक पक्कै छ । तर, आवश्यकताको आधारमा कण्डम भन्दा महिलाले महिनावारी हँुदा प्रयोग गर्ने प्याडको महत्व र संवेदनशीलता अझ बढी छ । तैपनि यो हरेक स्वास्थ्य चौकीमा कण्डम जस्तै निशुल्क प्रदान गर्ने व्यवस्था किन हुन सक्दैन ? रजश्वलामा असली राजनीति आवश्यक छ । रजश्वलाको अपरिहार्यता र संवेदनशीलता बोध गर्ने राजनीति, नीति जरुर चाहिएको छ । तर, यहाँ त रजश्वलामै कमिसन, कमाउ धन्दा गर्ने नियतबाट राजनीतिक दल, नेता, कर्मचारीतन्त्र ग्रसित देखिन्छन् । यो नेपालको सबै भन्दा खतरानक पक्ष हो ।

महिनावारी प्रतिको गलत बुझाइ
उमेर पुगेकी किशोरी रजस्वला हुनु एक जैविक प्रकृया हो । र एउटी महिलाको रजस्वलाको कारण नै आज मानवीय अस्तित्व यस संसारमा छ । फेरि पनि यो तथ्यलाई सहज स्विकार नगर्ने परिपाटी अझै कायम छ ।

अझै पनि हाम्रो समाजमा अन्धविश्वास र रुढिबादी सोंच कायमै छ । महिनावारी प्रतिको गलत बुझाईले धेरै महिला र किशोरीहरुले भवितव्य तथा क्यान्सर जस्तो अवुर्द रोगबाट अकालमा ज्यान गुमाउन बाध्य छन् ।

महिनावारी हुँदा दुग्धजन्य पदार्थ खानु हुँदैन । भान्सामा पस्नु हुँदैन । नयाँ लुगा लगाउनु हुँदैन । अलग्गै सुत्ने, अरुले दिएको खाने, अध्यारो कोठामा बस्ने छाउपडी प्रथा जस्तो बिकृत संस्कार कायमै छ । जसले गर्दा महिलाहरुलाई मृत्युको मुख सम्म पु¥याउने कारक तत्व बनिरहेको छ ।

महिनावारीको समयमा छाउपडी गोठमा बस्दा बलात्कार हुने, सर्पले टोक्ने, निसास्सिएर मर्ने त छँदैछ । खाने, बस्ने धेरै कुरामा बन्देज लगाइदा महिलाहरु पोषणयुतm खानेकुरा तथा सरसफाइबाट बञ्चित हुने गर्दछन् । जसले गर्दा उनीहरुको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ र विभिन्न रोग लाग्ने सम्भावना रहन्छ । महिनावारीको समयमा सरसफाइको कमीले गर्दा विशेष गरी महिलाहरुको पाठेघरको क्यान्सर हुन सक्ने जोखिम धेरै रहन्छ । त्यसकारण पनि यस्तो समयमा महिलाहरुले सफा सुतिको टालो अथवा गुणस्तरिय प्याड प्रयोग गर्न नितान्त आवश्यक छ ।

‘प्याडको साटो फोहोर टालो प्रयोग गर्न बाध्य’
नेपाल एउटा विकासोन्मुख देश हो । यहाँका धेरैजसो नागरिकहरु कृषि पेशामा आधारित छन् र धेरैजसो नागरिकलाई आफ्नो आधारभुत आवश्यकता परिपुर्ति गर्न समेत मुश्किल पर्ने गरेको छ । दैनिक जीविकोपार्जन गर्न समेत मुश्किल परिरहेको परिवेशमा महिनावारी हुँदा प्याड प्रयोग गर्नु भनेको असम्भव जस्तै छ ।

कति महिलालाई महिनावारी हुँदा प्याड लगाउनुपर्छ भन्ने चेतना नै भएको पाइदैन भने धेरैजसो महिलाहरुलाई चेतना हुँदाहुँदै पनि आर्थिक समस्याले फोहोर टालो प्रयोग गर्न बाध्य छन् । जसले गर्दा उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको छ ।

एउटी महिला अथवा किशोरी राजश्वला भएको समयमा हरेक दुई दुई घण्टामा प्रयोग गरेको प्याड फेर्नुपर्ने चिकित्सकहरु सुझाव दिन्छन् । तर, कम भन्दा कम मूल्यमा सामान्य प्याड समेत खरिद गरेर प्रयोग गर्ने अधिकांश नेपाली महिलाको आर्थिक क्षमता नभएको अवस्थामा सरकारले विदेशी प्याडलाई ९० प्रतिशत भन्सार महशुल मिनाहा गरिदिएर उल्टै प्याड माथि समेत नयाँ राजनीति सुरु भएको छ । जसबाट नेपालमै प्याड उत्पादन गरिरहेका कम्पनीहरु प्रभावित र संशकित देखिएका छन् ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नुअघि बजारमा अभाव देखिएको प्याडमा बजेट प्रस्तुत भएपछि एकाएक मुल्य बृद्धि भएको छ । एउटा प्याडमा ५ रुपैया देखि १२ रुपैयाँ सम्म मूल्य बढेको छ । ७० रुपैयाँमा पाइने समान्य प्याड ७८ रुपैयाँ र १४० रुपैयाँ पर्ने प्याडको मुल्य १५२ रुपैया सम्म पुगेको छ । जसले गर्दा आर्थिक अवस्था कमजोर हुने महिलाहरुको लागि अति आवश्यक प्याड पहँुच भन्दा बाहिर छ ।

  • सरकार “कण्डम यहाँ पाइन्छ” भनेर सरकार विज्ञापन गर्छ । तर, महिलाहरुका लागि अत्यन्त संवेदनशील प्याडमा मौनता साँध्छ । यसको निशुल्क व्यवस्थापन, वितरणको साटो रजश्वलामै राजनीति गर्छ । कमिसनको चलखेल हुन्छ ।

प्याडमा चलखेल
सरकारले भर्खरै मुलुकको बजेट सार्वजनिक गरेको छ । जसमा बाहिरबाट ल्याइने प्याडको भन्सार शुल्क कम गरेको छ । तर, बाहिरबाट स्वदेशी उद्योगीहरुले ल्याउने कच्चा पदार्थको शुल्क यथावत राखिएको छ । नेपालको प्याड उत्पादन वार्षिक ३० करोड थान छ भने स्वदेशी उद्योगको उत्पादन क्षमता ९० करोड थान रहेको छ ।

मुलुकमा साना ठूला गरी ४० वटा उद्योगहरुले प्याड उत्पादन गर्दै आएको छ । प्रत्यक्ष र अप्रत्यक्ष १५ हजार जनाले रोजगारी पाएका छन् । नेपाल सरकारले तयारी विदेशी प्याडको भन्सार १५ प्रतिशतबाट घटाएर १.५ प्रतिशत पुराएको छ भने स्वदेशि उद्योगलाइ आवश्यक कच्चा पदार्थको आयातमा ३० प्रतिशतसम्म भन्सार शुल्क तिर्नुपर्ने भएको छ ।

यसरी आयातित तयारी प्याडको भन्सार महशुल घटाउनु र स्वदेशि उद्योगलाइ आवश्यक कच्चा पदार्थको भन्सार शुल्क यथावत राख्ने नितिले तयारी प्याडको आयात बढ्ने र स्वदेशि उद्योग धरासयी हुने उद्यमीहरु बताउछन् । मुलुक प्याडमा आत्मनिर्भर हुने सक्ने अवस्था रहेकाले आयातितलाई निरुत्साहित गर्दै स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुपर्ने स्थीतिमा आयातित प्याडको भन्सार महशुल कम गरेर सरकारले प्याड जस्तो संवेदनशील विषयमा अघोषित तर डरलाग्दो राजनीति गरेको उद्योगीहरु बताइरहेका छन् ।

विद्यालयमा भने निशुल्क प्याड वितरण
एउटी किशोरी अथवा महिला जुनसुकै बेला चाहे बाटोमा हिँड्दै गर्दा, स्कुलमा पढ्दै गर्दा, खेतबारीमा काम गर्दै गर्दा, वनजंगलमा घाँस दाउरा काट्दै गर्दा रजस्वला हुने गर्छ । त्यतिवेला महिलालाई निकै अप्ठ्यारो स्थिति आइपर्न सक्छ र आफनो स्वास्थ्यलाई सुरक्षित राख्नका लागि सफा प्याड अथवा टालोको आवश्यकता पर्दछ । विशेष गरी स्कुल कलेज पढ्दै गर्ने किशोरीहरुलाई यस्ता समस्याले निकै सताउने गरेको पाइन्छ । जसले गर्दा उनीहरुको पढाइमा समेत नकारात्मक असर पर्ने गरेको छ ।

यही समस्यालाई मध्यनजर गर्दै आर्थिक वर्ष २०७८/०७९ साल देखि स्वास्थ्य मन्त्रालयको समन्वयमा हरेक स्थानीय तहले आफनो मातहतका शैक्षिक संस्थाहरुमा निशुल्क प्याड वितरण गर्न शुरु गरेको छ ।

शैक्षिक संस्थाहरुमा अध्ययनरत छात्राहरुको संख्याको आधारमा स्थानीय तहले प्याड वितरण गर्दै आएको छ भने सोही प्याड शैक्षिक संस्थाहरुले छात्राहरुको आवश्यकता अनुसार सहज रुपले उपलव्ध गराउदै आएको छ । जसले गर्दा विद्यलायमा अध्ययनरत किशोरीहरुलाइ धेरै सहजता मिलेको छ । तर, यसरी स्थानीय तहले निशुल्क रुपमा शैक्षिक संस्थाहरुलाई उपलव्ध गराउदै आएको प्याडको गुणस्तरियता भने कम भएको किशोरी विद्यार्थीहरुको गुनासो छ । विद्यालयले उपलव्ध गराउने गरेको प्याड छोटो र सानो भएका कारण लगाउन समस्या हुने गरेको किशोरीहरुले दुखेसो पोख्छन् ।

स्थानीय तहबाट शैक्षिक संस्थाहरुमा निशुल्क रुपमा वितरण हुँदै आएको प्याडमा गुणस्तरियता कम भएको सरोकारवाला स्वीकार पनि गर्छन् । अबको नयाँ शैक्षिक सत्रमा यसको सुधार र समाधान हुन्छ कि हुँदैन ? हेर्न बाँकी छ ।

कण्डम जस्तै प्याड निशुल्क बनाउँ
प्याड स्वास्थ्यसँग जोडिएको अति आवश्यकीय सामाग्री भए पनि सरकारले शैक्षिक संस्थामा बाहेक निशुल्क गर्न सकेको छ्र्रैन । तर, कण्डम विलासिताको बस्तु भित्र पर्ने भए पनि हरेक स्वास्थ्य संस्थाबाट सबैले निशुल्क प्राप्त गर्ने गरेको छ । विशेष गरी सरकारी स्वास्थ्य संस्थाहरुमा कण्डम निशुल्क रुपमा उपलव्ध हुने गरेको छ जो सुकै पुरुष व्यतिmले आवश्यक मात्रामा निशुल्क रुपमा आवश्यक कण्डम झिकेर लान सक्छन तर, महिलाहरुले प्रयोग गर्ने प्याड सशुल्क समेत सरकारी स्वास्थ्य संस्थामा उपलव्ध हुन नसकेको अवस्था पनि बिद्यमान छ ।

सरकारी स्वास्थ्य संस्थामा पुग्ने महिला सेवाग्राहीहरुले मात्र होइन, काम गर्ने महिला कर्मचारीहरुले समेत कामको समयमा अकस्मात रजश्वला भएको आपतकालीन अवस्थामा बाहिर पसल अथवा मेडिकलमा खरिद गरेर प्याड प्रयोग गर्नुपर्ने अवस्था छ । जसले गर्दा उनीहरुले एकातिर शारीरिक समस्या भोग्नु पर्ने त छँदैछ, अर्कोतिर मानसिक तनावको समेत सामना गर्नुपर्ने हुन्छ । यसको प्रत्यक्ष असर स्वास्थ्य सँगै काममा समेत पर्ने गरेको महिला स्वास्थ्य कर्मचारीहरु गुनासो गर्छन् ।

यदि सरकारले पुरुषले प्रयोग गर्ने कण्डम जस्तै महिलाले महिनावारी हँुदा प्रयोग गर्ने प्याड हरेक सरकारी स्वास्थ्य संस्थाहरुमा निशुल्क र सहज रुपमा उपलव्ध गराउने नीति अबलम्बन गरिदिए महिला सेवाग्राही संगै स्वास्थ्यकर्मी महिलाहरुलाई समेत काम गर्न सहज त हुने थियो नै, अर्वुद रोग लगायतका बिभिन्न रोगको जोखिम समेत कम हुने थियो कि ?

 

२०७९, २ श्रावण सोमबार ०४:५३
कथालिका नयाँ कथा
कथालिका