एक्काइस वर्षीय चण्डेश्वर बैठाः जो देशमै भविष्य खोजिरहेछन् – कथालिका

एक्काइस वर्षीय चण्डेश्वर बैठाः जो देशमै भविष्य खोजिरहेछन्

  • ‘मन त मेरो पनि छ, रमाइलो गरौं, राम्रो–राम्रो लगाएर साथीसंग घुम्न जाउँ भन्ने मलाई पनि हुन्छ,’ उनी भन्छन्, ‘तर, रमाइलो र साथीसंग घुम्ने रहरका अगाडि घरको जिम्मेवारी, आमाबाबाले म प्रति देखाउने आशा र भरोसाले अरु सबै चिज फिक्का बन्छ । त्यसैले मन बाँधेर आफैंलाई सम्हाल्छु ।

‘भाइ, तपाइँको घर भारत हो ?’ पोखराकै एउटा वर्कसपमा स्कुटर बनाउने क्रममा सोधेको प्रश्नले उनी केही आक्रोशित मुद्रामा देखिए । सायद यो प्रश्नमा पहाडियाको केही रवाफ पो थियो कि ? तैपनि गर्मी मौसममा असिनपसिन भएर आफ्नै सुरले काम गरिरहेका उनले जवाफ दिँदै भने, ‘मेरो घर कहाँ इन्डिया हुनु ? म त नेपाली हो नि ।’ धेरैले यस्तै प्रश्न गरेर बिच्काइरहेका रहेछन् । यो प्रश्न सुन्दा उनलाई नराम्रो लाग्ने रहेछ । यही प्रश्नले अवाक भइसकेका उनले भने, ‘आफ्नै देशमा म नेपाली नै हुँ भनेर कति समयसम्म हामीले भनिरहनु पर्ने ?’ यतिबेला सम्म मोटरसाइकलको पाटपुर्जा, इञ्जिनमा काम गरेर उनको हात र कपडा कालै भइसक्छ ।

हरेक विहान ७ बजेदेखि सुरु हुन्छ उनको दैनिकी । ड्युटी सुरु हुना साथ ग्राहकले बनाउन दिएका मोटरसाइकलमा के बिग्रिएको छ ? पाटपुर्जा हेर्न थाल्छन् । ६ वर्ष भयो उनी पोखरा आएको । आएदेखि नै उनको दैनिकी ग्राहकको मोटरसाइकलमा के खराबी भएको छ ? के–के पाटपुर्जा परिर्वतन गर्नुपर्छ ? हेरेरै बित्छ ।

अरु विदेश जान्छन्, उनी मजबुरी खोज्दै पोखरा आए

उमेरले बल्ल २१ वर्ष पुगे चण्डेश्वर बैठा । बाराको कलैया नगरपालिका हो उनको घर । उनको आमाबाबाको ७ जना सन्तान मध्ये चण्डेश्वर एक हुन् । उनको परिवार सबै जना कलैयामा छन् । पैसा कमाउने र घरको समस्या समाधान गर्ने केही सपना र उद्देश्य लिएर चण्डेश्वर पोखरा आएका थिए । यहाँ आएदेखि नै हो चण्डेश्वरले मोटरसाइकलको वर्कसपमा काम गर्न थालेको । उनले पोखरा आगमन र संघर्षका कथा सुनाउदै भने, ‘घर तिरका एक जना दाइले पोखरामा यही सम्बन्धि काम गर्थे । उनले नै अल्लारे उमेरमा पोखरासम्म ल्याएर वर्कसपमा काम लगाइदिए । सुरुमा काम गर्न आउँदैनथ्यो ।’

अल्लारे उमेर, भर्खर–भर्खर काम सिक्दै गरेको अवस्था । घरमा खेतबारीमा काम गरेको भए पनि उनको लागि मोटरसाइकलको पार्टपुर्जा हेर्नु र मोटरसाइकल बनाउने काम नयाँ थियो । तर, चण्डेश्वरले हार खाएनन् । र त अहिले उनी यो काममा पोख्त भइसकेका छन् । बिहान ७ बजेबाट काम गर्छन् । दिउँसोको खाना खाइसकेपछि उही मोटरसाइकल मर्मतकै काममा तल्लीन हुन्छन् । जुन राति ७ देखि ८ बजेसम्म जारी रहन्छ ।

घरमा आमाबाबासहित ७ जना सन्तान, आर्थिक अवस्था कमजोर । आफ्नै खेतबारी धेरै रहेनछ चण्डेश्वरका आमाबुबाको । भएको खेतबारीमा खेती गर्दा वर्षभरी खान नपुग्ने । त्यसैले, उनीहरुले अधिया गर्छन् अरुको खेतमा । घरको आर्थिक अवस्था कमजोर भएकाले मनभरी रहर भए पनि चण्डेश्वरले पढ्न पाएनन् । ‘एउटा उमेरमा आफ्नै उमेर समुहका साथीहरु विद्यालय जाँदा मलाई पनि पढ्ने रहर नभएको त कहाँ हो र ?’ उनी भन्छन्, ‘बाध्यता र परिस्थिति नै त्यस्तै थियो, रहर हुँदाहुँदै पढ्न पाइन ।’ त्यसैले गाउँको दाइले भनेकै आधारमा उनी पोखरामा कामको लागि आएका थिए । उमेरले अल्लारे भए पनि चण्डेश्वरलाई आफ्नो आमाबाबाको दुःखको विषयमा जानकारी थियो । केही आम्दानी गरेर घरको आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ कि भन्ने उनलाई लागिरहन्थ्यो । त्यसैले, उनी पोखरामा कमाउने मनसायले आइपुगे । ‘घरमा बसेर के गर्नु ? आर्थिक अवस्था कमजोर छ, त्यसैले पढ्न पाइन ।’ केही गम्भिर मुद्रामा चण्डेश्वरले भने, ‘केही कमाएर घरमा आर्थिक रुपमा सहयोग गर्न सकिन्छ कि भनेर पोखरासम्म आएँ ।’

सुरुवाती सकसः जति कमायो, उति खर्च

सुरुआतको समयमा पोखरामा उनलाई आफूलाई सम्हाल्न गाह्रो नभएको होइन । यसैपनि पोखरालाई महँगो सहरका रुपमा लिइन्छ । हरेक कुरामा भएको महँगीले उनलाई आफ्नै पेट पाल्न धौ–धौ भयो । आफैंलाई सम्हाल्न गाह्रो भएको अवस्थामा केही कमाएर बचाउँदै घरमा पठाउन चण्डेश्वरले सकेनन् । जति कमायो त्यति नै खर्च । अवस्था यस्तो सम्म थियो कि दैनिक रुपमा आवश्यक पर्ने सामानका लागि समेत चण्डेश्वरसंग पैसा हुँदैनथ्यो । कच्चा उमेर, त्यही माथि घरमा सहयोग गर्न सकिन्छ कि भन्ने मनसायले पोखरा आएका उनी राम्रो आम्दानी नभए पछि निराश समेत बने ।

पछि काम सिक्दै गए । तलब बढ्दै गयो । ‘पोखराको महँगीमा सुरुमा मलाई कति गाह्रो भयो, यसको त कुरै नगरौं,’ उनी भन्छन्, ‘अहिले पनि समस्या नभएको होइन तर, पहिलेभन्दा केही सहज अवस्था छ ।’ अहिले भने उनलाई केही सहज भएको छ । केही आफूलाई खर्च राख्छन् भने केही घरमा समेत पठाउँछन् ।

  • अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हजारौं युवा विदेशिने लाइनमा हुन्छन् । उनी त्यो भिडमा पर्न चाहन्नन् । उनी आफ्नै देश त्यो पनि आफ्नै जन्मभूमिमा केही गरेर बस्न चाहन्छन् । हाम्रो भाषा र बोल्ने लवज केही फरक भयो भन्दैमा नेपाली नै होइन कि जस्तो गर्छन्, प्रमाणपत्र नै बोकि हिँड्नुपर्ने जस्तो ।

चण्डेश्वरको ठूला–ठूला सपना छैनन् । उनलाई आउने काम नै मोटरसाइकल बनाउने हो । वर्कसपमा जबदेखि काम गर्न थाले यही काम सिकेकाले होला, अन्य काम सिकौं कि भन्ने कहिल्यै लागेन उनलाई । अब त यही पेसामा आफ्नो भविष्य देख्छन् । ‘पढ्न नपाएपछि यहाँ काम गर्न आइपुगें, पोखरा आएदेखि नै यही काम गरें, अन्य काम गर्न आउँदैन ।’ उनी भन्छन्, ‘अब यसैमा आफ्नो भविष्य देख्ने हो, यही पेसालाई निरन्तरता दिने हो ।’ हुन त भोलि के हुन्छ ? कसैले देखेको छैन । चण्डेश्वरको उमेर बल्ल २१ पुग्यो । भोलि उनको जीवनले अन्तै बाटो मोड्ला या नमोड्ला, भन्न सकिन्न । तर, उनलाई अहिलेसम्म आइपुग्दा यो पेसा बाहेक अन्य पेसा अपनाउन सकिन्छ भन्ने लाग्दैन । अहिले अन्यको वर्कसपमा काम गर्छन् चण्डेश्वर । उनको एउटै सपना छ, कुनै दिन आफूले पनि आफ्नै वर्कसप सञ्चालन गर्न सकौं । अनि आफू जस्तै सपना बोकेर पोखरा सहरमा आएकालाई रोजगारी दिएर सहयोग गर्न सकौं । ‘सपना एउटै हो, आफ्नै वर्कसप सञ्चालन गर्नु । कुनै दिन त यो सपना पुरा होला नि,’ आशावादी हुँदै चण्डेश्वर भन्छन् ।

परिवारको आशा भरोसाले सानैमा जिम्मेवारीबोध

चण्डेश्वरका आमाबाबा र दिदीभाइ बाराको कलैयामा नै छन् । यहाँ काम गर्ने वर्कसप सञ्चालकले खान र बस्न दिएका छन् । त्यसैले आफ्नो आम्दानी केही आफूले खर्च राखेर धेरै जस्तो घरमा नै पठाइदिन्छन् चण्डेश्वरले । यसबाट उनको घरमा खर्चको जोहो हुन्छ । घरको जिम्मेवारी चण्डेश्वरलाई राम्रोसंग थाहा छ । पोखरामा बसेर उनलाई रमाइलो गर्न मन नलाग्ने होइन । तर, उता कलैयामा आफ्नै कमाइले घर चल्न सहयोग हुने भएकाले उनले आफूले आफैंलाई धेरै खर्च हुने गरेर रमाइलो गर्न रोक्छन् । केही सीमित मात्रामा आफ्नो खर्च टार्छन् । ‘मन त मेरो पनि छ, रमाइलो गरौं, राम्रो–राम्रो लगाएर साथीसंग घुम्न जाउँ भने मलाई पनि हुन्छ,’ उनी भन्छन्, ‘तर, आफ्नो रमाइलो र साथीसंग घुम्ने रहरका अगाडि घरको जिम्मेवारी आमाबाबाले म प्रति देखाउने आशा र भरोसाले अरु सबै चिज फिक्का बन्छ । त्यसैले मन बाँधेर आफैंलाई सम्हाल्छु ।’ यसमा चण्डेश्वरलाई गुनासो भने छैन । परिवारको खुसीमा आफूलाई खुसी बनाउँछन् र लाग्छन् आफ्नो काममा दत्तचित्त भएर ।

चाडपर्व र केही अत्यावश्यक काम परेको समयमा मात्रै उनी कलैया पुग्छन् । नत्र उनको दैनिकी न्युरोडमा रहेको वर्कसपमा काम गर्नु हो । २१ वर्षको उमेरमा उनले घरको जिम्मेवारी सम्हालेका छन् । आम्दानी गरेर घरपरिवारको समस्या केही हदसम्म भए पनि समाधान गरेका छन् । चण्डेश्वरलाई आजभोलि लाग्छ, आफूसंग सीप भए पछि काम गर्न सजिलो हुने रहेछ र कमाई हुने रहेछ । आजभोलि हरेकजसो नेपाली युवाको एउटै चाहना हुन्छ विदेश गएर आफ्नो र परिवारको भविष्य बनाउनु । यही सपना बोकेर मन नलाग्दा नलाग्दै पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हजारौं युवाले विभिन्न देशका लागि जहाज चढ्छन् । उनी त्यसमा कहिले पर्न चाहेनन् । चण्डेश्वरलाई विदेश जाने रहर कहिले आएन । केहीले विदेश जाने सुझाव दिए पनि उनलाई यो काम छाडेर विदेशिन मन लागेन । त्यसैले त पोखरा नै उनको कर्मथलो बन्यो । ‘विदेश जाने इच्छा त मलाई कहिले भएन, मलाई यो काम नजान्दा समेत जान मन लागेन, अब त झन् किन जानु, जे छ यही पेसामा छ, नेपालमा छ ।’ उनी भन्छन्, ‘अब त सकेसम्म या त पोखरा, या आफ्नै जन्मथलोमा वर्कसप सञ्चालन गरेर आफूले जानेको सीपलाई प्रयोग गर्ने हो, कमाई यहीं हुन्छ, रमाउन यहीं सकिन्छ ।’

अब आफ्नै वर्क सप खोल्ने सपना

चण्डेश्वर पोखरा बसेको ६ वर्ष भइसक्यो । यहाँको वातावरणसंग उनी भिजिसकेका छन् । जन्मघर बारा भए पनि उनको कर्म गर्ने स्थान पोखरा हो । यहाँको प्राकृतिक सुन्दरता, सफा र सुन्दर वातावरणले चण्डेश्वरलाई पनि लोभ्याउँछ । यहाँको केही कुराले भने उनलाई नराम्ररी बिझिरहन्छ । उनलाई सबैभन्दा दुःख लाग्ने कुरा के हो भने, धेरैले एउटै प्रश्न गर्छन्, नेपाली कि भारतीय हो भनेर । यो प्रश्नले सुरुआतको समयमा उनलाई निकै रिस उठ्थ्यो । अहिले पनि उनलाई बारम्बार यही प्रश्न सोधिदा चित्त दुख्छ । नेपाली हुँ भनेर धेरैलाई भनिरहँदा उनलाई झिजो लाग्छ कहिलेकाहीं । ‘पढेको छैन तर, आफ्नो राष्ट्रको माया लाग्छ, अब यो प्रश्न कसैले नगरिदिए हुने भन्ने लाग्छ ।’ उनी भन्छन्, ‘हाम्रो भाषा र बोल्ने लवज केही फरक भयो भन्दैमा नेपाली नै होइन कि जस्तो गर्नु पनि त राम्रो होइन नि ।’ भाषा र मैथिली भाषाको लवजलाई समेत भारतीय हो कि भनेर शंका गर्दा उनलाई चित्त बुझ्दैन । कहिलेकाहीं चण्डेश्वरलाई लाग्छ, अब नेपाली हुँ भन्ने प्रमाण लिएर हिँड्नुपर्ने हो कि ?

परिवारसंग बसेर रमाइलो गर्ने, संगै हाँस्ने र संगै खाना खाएर खेतमा किसानी काम गर्ने चाहना चण्डेश्वरको मनभरी छ । तर, बाध्यता र परिस्थितिले उनको यो सपना पुरा हुन पाएका छैनन् । घरमा गएर दिदी, भाइ र आमाबाबासंग बस्ने रहर हुँदा हुँदै उनलाई पोखरामा बसेर कर्म गरिरहनुपरेको छ । मान्छेको हरेक सपना पुरा हुने भए सायद जीवनको रमाइलो नै के हुन्थ्यो र ? चण्डेश्वरलाई पनि यस्तै लाग्छ । चाहनालाई दबाएर पोखरामा बसेर परिवारको जिम्मेवारी सम्हाल्ने र आफ्नै वर्कसप सञ्चालन गर्ने सपना पुरा गर्नु छ चण्डेश्वरलाई । त्यसैले, त परिवारबाट कोषौं टाढा बसिरहेका छन् हरेक दिन वर्कसपमा मोटरसाइकलको डाक्टर बनेर पार्टपुर्जा र इन्जिनको अवस्थालाई नियालेर । उनलाई लाग्छ, एकदिन आफ्नो सपना अवश्य पुरा हुनेछ र आफूलाई नेपाली कि भारतीय भन्ने प्रश्न पनि सोध्न बन्द गर्नेछन् । ‘तिमी नेपाली कि भारतीय भन्ने प्रश्न सोध्ने अवस्थाको एकदिन अश्व अन्त्य हुनेछ,’ उनी आशावादी हुँदै भन्छन् । 

२०७९, ४ श्रावण बुधबार ०६:२७
कथालिका नयाँ कथा
कथालिका