अनौठो मेलाः जहाँ जिउँदै रगत झिकिन्छ… – कथालिका

अनौठो मेलाः जहाँ जिउँदै रगत झिकिन्छ…

मेला, पर्व त नेपालमा अधिक लाग्छ । सामाजिक, सांस्कृतिक, जातिय विविधता भएको देशमा यो नयाँ र नौलो विषय भएन पनि । तर, अलि गहिरिएर सोधी खोजी हेर्ने हो भने मेलाहरु पनि अनेक मात्र छैनन्, पृथक पृथक उद्धेश्य र विशेषता सहितका छन् । हिमाल पारिको जिल्ला मुस्ताङमा लाग्ने चौरीको आलो रगत पिउने मेला पनि एक अनौठो मेला हो । जहाँ विश्वास मात्र होइन, अन्धविश्वास पनि मिश्रित भएको टिप्पणी हुँदै आएको छ ।

निलगिरी हिमालको फेद, मुस्ताङको ठिनी स्थित याकखर्कमा यसै साता चौरी र याकको आलो रगत पिउने मेला लाग्यो । जिल्ला सदरमुकाम जोमसोमदेखि ठिनीहुँदै करिब एक घण्टाको पैदलयात्रा पछि बल्ल याक खर्कमा पुग्न सकिन्छ । समुन्द्र सतहदेखि करिब ४ हजार मिटरको उचाईमा प्राकृतिक सुन्दरताले भरिपूर्ण नमखुलेकको याकखर्कमा रगत पिउन सयौं सर्वसाधारणको उपस्थिति थियो ।

कोरोनाका कारण लगातार तीन वर्ष स्थगित हुँदै आएको मेलामा यसपटक भने मुस्ताङ, म्याग्दी, पर्वत र पोखराबाट समेत मानिस चौरीखर्क पुगेर रगत पिए । गत साउन ४ गते देखि लागेको मेलामा दैनिक १ सय बढी मानिस चौरी र याकको आलो रगत पिउन आउने गरेको स्थानीय चौरी पालक किसान बताउँछन् । उता, थासाङ गाउँपालिकाको मार्चे लेकमा पनि याकचौरीको आलो रगत पिउने मेला लाग्यो । कोरोनाले लाखौं रुपैयाँ घाटा बेहोर्दै आएका याकचौँरी पालक किसानलाई यसपटकको मेलाले भने ठुलो राहत दिएको छ ।

कसरी झिकिन्छ रगत ?
नमखु लेकमा ५ वटा याक/चौँरी गोठ छन् । जहाँ झन्डै करिब ५ सयको हाराहारीमा याक/चौँरी पालन गरिएको छ । चौरीको रगत पिउने मेला सुन्दा जति अनौठो र रोमाञ्चक सुुनिन्छ । पशु अधिकारका हिसाबले हेर्दा त्यत्तिकै पीडादायक पनि देखिन्छ ।
याक/चौरीको घाँटीमा चक्कुले रेटेर निकालेको ताजा रगत मानिसहरु प्रति गिलास पैसा तिरेर पिउने गर्छन् । चौरी मेलामा किसानले पालेका २५० भन्दा बढी चौरी र याकलाई ल्याइएको थियो । ती याक र चौरीलाई तालिम प्राप्त सिपालु मान्छे (स्थानीय भाषामा आम्जी) ले घाँटीमा नशा पत्ता लगाई चापो (एक किसिमको चक्कु)ले नशा काटेर रगत निकाल्ने गर्दछन् । रगत निकाली सकेपछि माटो वा गोबरले रगत निस्कने भाग टालेर चौरी छाडिन्छ ।

याक/चौरीको दुध, रगत र मासु सबै मिठो/सबै बिक्री
हिमाली लेकमा चरिचरण भएकाले याक चौरी शक्तिवद्र्धक जडीबुटी यार्सागुम्बा, जटामसी, निरमसी, कुटुकी, वन लसुन, पाँचऔँले, जिम्बुलगायत जडीबुटी खान्छ । यस हिसाबले याक चौरीको दुधदेखि मासु र रगत सबै स्वास्थ्यका लागि फाइदाजनक भएको पशुपालक किसान भुपेन्द्र शेरचनले बताए । यसबाट याकचौँरी पालक किसानले राम्रो आम्दानी समेत गर्छन् । अहिले सबै खर्च कटाएर १० लाखसम्म आम्दानी गरेको उनको भनाई छ ।
याकचौँरी पालनबाट आलो रगत, दुधबाट बिभिन्न परिकार र मासु बिक्री गरेर राम्रो आम्दानी हुने भएकाले विदेश पलायन हुन नपरेको पशु पालक किसानहरु बताउछन् । यसका लागि कडा परिश्रम र मेहनत भने आवश्यक पर्दछ ।

रोग निको पार्ने विश्वास
मुस्ताङमा हरेक बैशाख महिनामा थासाङको बोक्सी खोलामा याकचौँरीको रगत पिउने मेला लाग्छ भने साउनमा थासाङको मार्चे लेक र घरपझोङ गाउँपालिकाको नमखुलेंकमा याकचारीको आलो रगत खाने मेला सञ्चालन हुने गर्छ ।
रगत खाने मेलामा विहान र बेलुका गरी दिनको दुई पटक याकचौँरीको आलो रगत निकालिन्छ । याक चौरीको रगत प्रति गिलास २ सय रुपैयाँका दरले बिक्री गरियो । सामान्यतयाः एउटै चौरीबाट १५ देखि ३५ गिलास सम्म निकाल्ने गरिन्छ । याकचौँरीको आलो रगत पिउनाले ग्याष्टिक, गानोगोला, कमजोरीपना, सुगर र प्रेसर लगायतका रोगहरू निको पार्ने जनविश्वास छ । चौरीको आलो रगत पिए स्वास्थ्यमा देखिने समस्या निको हुने सुनेकाले बर्खामासको निकै सकसपूर्ण यात्रा गरेर मेलामा आएको म्याग्दीकी चिजा फगामीले बताइन् । ‘शरीर ठिक नभइरहने समस्याले धेरै दुःख पाइरहेको छु, यहाँ आएर आलो रगत खाए निको हुन्छ भनेर धेरैले सुझाब पनि दिएका थिए’, उनले भनिन्, ‘त्यही भएर बर्खाको जोखिमपूर्ण बाटोमा कतै गाडी र कतै पैदल हिँडेर लेक सम्म आएको हुँ,सँगै अरु तीन जना साथी पनि छन्, अब केही होला भन्ने आशा छ ।’

याक/चौरीमै निर्भर जीवन
हिमाली उच्चलेकमा पालन गरिएका एउटै वयस्क याकचौँरीको मूल्य १ लाखदेखि १ लाख ३० हजारसम्म पर्छ । चिसो भूगोलमा हुर्काइएका याकचोरीको मासु स्वादिलो र पोसिलो हुने गर्छ । चौँरीको दुधबाट दही, घ्यु, चिज र छुर्पी लगायतका परिकारहरू बनाएर बिक्री गर्ने गरिन्छ । याकचौँरीको पुच्छर धार्मिक पूजाआजामा प्रयोग हुने भएकाले याकचौँरीको पुच्छर समेत सहजै बिक्री हुने गरेको याकचौँरी पालक किसान बताउँछन् । ‘याक चौरी पालन हाम्रो परम्परागत पुख्यौली व्यवसाय हो, यो उच्च लेकमा पाल्नु पर्ने भएकाले धेरै जोखिम र कठिन पनि छ,’ पशुपालक किसान शेरचनले भने, ‘हामीले यहीबाट परिवारको जीविका चलाउँदै आएका छौ, अरु केही सोच्नु, खोज्नु परेको छैन ।’

‘मानव र पशु स्वास्थ्य दुवै हिसाबले जोखिम’
जिउँदै चक्कुले रेटेर रगत निकाल्ने कार्य पशु अधिकार बिरुद्ध भएको पशु अधिकारकर्मी बताउछन् ।
स्वाद, उपचार, मनोरञ्जन र व्यापारको दृष्टिकोणले जतिसुकै राम्रो मानिए पनि कुनै पनि जीवित पशुको घाँटी चक्कुले रेटेर रगतको धारा बगाउने कार्य अवोध पशुमाथि मानिसले गरेको निमर्म शोषण भएको उनीहरु टिप्पणी गर्छन् ।

भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङमा कार्यरत पशु विकास अधिकृत डण्डपाणी शर्मा पशु स्वास्थ्य र मानव स्वास्थ्य दुवै हिसाबले जोखिमयुक्त कार्य भएको बताउछन् । ‘मानव स्वास्थ्यको हिसाबले हेर्दा बिरामी पशुको रगत प¥यो भने मानव स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ, पशु स्वास्थ्य र अधिकारका हिसाबले हेर्दा पनि जिउँदै रगत निकालेर पशुलाई दुुःख पीडा दिने कार्य पनि राम्रो होइन’, पशु विकास अधिकृत शर्माले भने, ‘अहिले सम्म हामीले बुझ्दा यो पहिलेदेखिको परम्पराको रुपमा अघि बढेको छ । यसलाई तत्काल रोक्न सकिने अवस्था स्थानीय स्तरबाट सम्भावना देख्दिन, माथिल्लो निकायबाट केही भयो भने यसमा केही सुधार प्रगति हुन सक्छ ।’

ताजा रगत पिउने नाममा याक चोरीको रगतमा यदि हानिकारक विषाक्त तत्व भए त्यसले रोग निको हुनुको बदला मानव स्वास्थ्यमा थप समस्या निम्तिने उनको भनाई छ । यसले पशुबाट मानवमा संक्रामक रोग सर्ने मात्र नभइ वातावरणबाट पशुमा पनि संक्रात्मक रोग फैलिने खतरा हुने उनको भनाई छ ।

२०७९, १० श्रावण मंगलवार ०९:४८
कथालिका नयाँ कथा
कथालिका