- आफ्ना उमेरका सबैजसो परदेश लाग्दा पनि त्यो लहरमा जान र उभिन उनको मनले मानेन । बरु आफ्नै जन्मघर, माटोमा लडिबुडी खेल्दै, बाँझा बारी, उजाड पाखाको उपयोग गरेर बाँच्नुको आनन्दलाई उनी सर्वश्व ठान्छन् । र तीन महिना सिजन चल्ने भुइँकटहरबाटै जीवनको भरथेग गर्छन् ।
यसपटकको स्थानीय तह निर्वाचनमा ‘भुइँकटहर’को राम्रै चर्चा भयो । गठबन्धन उम्मेदवार माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहालका विरुद्ध चितवनमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले पाएको चुनाव चिन्ह ‘भुइँकटहर’ थियो । उनको उम्मेदवारी फिर्ता गराउन प्रधानमन्त्री, मन्त्रीदेखि शक्तिशाली नेताहरु लागे पनि उनी तसमस भएनन् । जसले ‘भुइँकटहर’को चर्चा देशभर चुलियो । तर, निर्वाचनमा उल्लेख्य मत समेत नलिए पछि जगन्नाथ र ‘भुइँकटहर’को चर्चा एकाएक सेलायो । असली भुइँकटहरको चर्चा त नेपालमा खासै हुने गरेकै छैन । यतिबेला चाहीँ बन्दीपुर, नवलपुर क्षेत्रमा ‘फ्याली दाइ’को भुइँकटहरको चर्चा र माग बढ्दो छ ।
भुइँकटहर आयो, भुइँकटहर आयो….भिन्न, केही चर्को आवाजमा टोल गुञ्जयमान थियो । साउन महिनाको सिमसिमे पानीमा भिज्दै डोकोमा भुइँकटहर बोकेर कावासोती बजार डुल्नु उनको दैनिकी बनेको छ । विहान करिब साढे ९ बज्दा पिठ्युमा बोकेको डोकोमा आधा भन्दा कम भुइकटहर बाँकी छन् ।
नवलपुरको देवचुली नगरपालिका ५ बन्दीपुरका फ्याली दाइ अर्थात् छुन बहादुर फ्याली मगर । उनको असार, साउन र भदौ महिना डोकोमा बोकेर भुइँकटहर बेच्दै बित्ने गरेको छ । र यही तीन महिना भुइँकटहर बेचेर आम्दानी गरेको पैसाले फ्यालीले खुसी साथ परिवारको जीविका चलाउँदै आएका छन् ।
भुइँकटहर थोकको भाउमा किन्न घर सम्मै ठेकेदार नपुग्ने पनि होइन तर, आफैले प्रति गोटा खुद्रा बेच्दा बढी फाइदा हुने भए पछि फ्याली दाइ आफै डोकोमा बोकेर भुइँकटहर बेच्न कस्सिएका हुन् । आफुले खुद्रा बेच्दा प्रति गोटा ७० देखि ८० रुपैयाँ सम्म पार्ने गरेका उनले दिनको १५ हजार सम्म हात लाग्ने गरेको बताउँछन । असार, साउन र भदौ महिनामा डेढ लाख देखि दुई रुपैयाँ सम्म चोखो कमाई हुने उनको भनाई छ ।
कावासोती बजार मात्रै होइन, कहिलेकाही फ्याली डोकोमा भुइँकटहर बोकेर नारायणगढ बजार सम्म पनि पुग्ने गरेका छन् । विशेष गरी नवलपुरको गैडाकोट, रजहर, दलदले, प्रगतिनगर, कावासोती, डण्डासम्म भुइँकटहर बेच्दै हिँड्ने गरेका उनी कहिलेकसो चितवनको नारायणघाट सम्म पुग्ने गरेका छन् ।
बन्दीपुरको एक विघाहा पाखो बारीभरी उनले भुइँकटहरको बिरुवा लगाएका छन् । बुवाको पालादेखि लगाएको भुइँकटहरको बिरुवामा उनले थपेर एक विघाहा पु¥याएका हुन् । पहिले बुवाले घरमा खानका लागि रोपेको थोरै भुइँकटहर अरुले किन्न माग्न आउन थालेपछि भुइँकटहरबाटै राम्रो आम्दानी गर्न सक्ने देखेर फ्याली यो खेती तर्फ आकर्षित भएका हुन् । मलिलो बारीमा अरु अन्न लागउने फ्यालीले अन्न उत्पादन राम्रो नहुने रुखो पाखोबारी पुरै भुइँकटहर रोपेर राम्रो आम्दानी गर्न सफल भएको बताउँछन् ।
अघिल्लो दिन बेलुकी पाखो बारीमा काटेर राखेको भुइँकटहर विहान ट्याक्टरमा लोड गरेर नवलपुरको दलदले बजार आइपुग्दा करिब विहानको ८ बज्छ । दलदले बजार आइपुग्दा सम्म आधा भुइँकटहर बिक्री भइसक्छ । बाँकी रहेको भुइँकटहर डोकोमा राखेर चियापानी खाइवरी बजारको गल्ली गल्ली बेच्न निस्किन्छन् फ्याली दाइ।
विहान आठ बजेदेखि बेच्न शुरु गरेको भुइँकटहर दिनको एक नबज्दै पिठ्युको डोको रित्तिसक्छ । अनि घरतिर उकालो लाग्छन् र फेरी भोलिपल्ट बेच्नको लागी भुइँकटहर काट्न बारीमा पस्छन् फ्याली दाइ।
बर्षायाममा कच्ची पहाडीबाटो अवरुद्ध हुने गरेकाले यातायातमा भने सास्ती हुने गरेको दुखेसो पोख्छन् उनी । घरसम्मै पुग्ने ट्याक्टरलाइ बेला बेलामा बिग्रिने बाटोले दुःख दिने गरेको छ ।
एकपटक रोपेपछी फेरी रोप्न नपर्ने भुइँकटहरको बिरुवामा वर्षमा दुई पटक सम्म फल लाग्ने गर्दछ । पहिलो पटक लागेको फल असार, साउन र भदौमा, दोस्रो पटक मंसिरमा टिपेर बेच्ने गरिन्छ । विशेष गरी यसको सिजन असार, साउन र भदौ महिना भएकाले प्रतिगोटा ७० देखि ८० रुपैया पर्नेे भुइँकटहरको मुल्य मंसिरमा भने २५ देखि ३० रुपैयाँ पर्ने फ्याली बताउँछन् ।
एक पटक रोपे पछि मल पानी हाल्न नपर्ने यो फललाई समय समयमा गोड्नु भने पर्छ । फ्याली मात्रै होइन, नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ५ बन्दीपुरका अधिकांश कृषकहरुले पाखोबारीभरी भुइँकटहर लगाएका छन् ।
भुइँकटहरको बिरुवा बनाउन र बिरुवा रोप्न पनि सहज हुने बताउँछन् फ्याली । पाकेको फल काटेको समयमा फलको टुप्पोमा लाग्ने बिरुवा काटेर सहजै भुइँमा सार्न सकिने भएकाले पनि जस्तोसुकै ठाउँमा रोप्न र फलाउन सकिन्छ । भुइँकटहर पछिल्लो समय बन्दीपुरबासीको नगदे बालीको रुपमा स्थापित भएको छ । पहाडि बासिन्दाको नगदे बालीको रुपमा रहेको अदुवालाई सुठो बनाएर बेच्न धेरै परिश्रम लाग्ने र श्रम अनुसारको बजार नपाइने दुखेसो गर्दै आएकोमा फ्यालीले भुइँकटहरबाट स्वदेशमै स्वरोजगारको राम्रो विकल्प प्रदान गर्न सक्ने बताउँछन् ।
असारको पहिलो हप्तामै खेतिपातीको काम सकाएर भुइँकटहर बेच्न निस्कने फ्यालीले परिश्रम गर्न सके आफ्नै देशमा सुन फल्ने बताउँछन् । एकातिर आफ्नो परिवारको साथ पनि हुने, अर्कोतर्फ पाखो बाँझो जमिन सदुपयोग पनि हुने भएकाले युवाहरुलाई स्वदेशमै बसेर आफ्नै जग्गा जमिनमा परिश्रम गर्न उनी सुझाउँछन् । दुई छोरीको विवाह भैसकेको र एउटा छोरोलाई भुइँकटहर बेचेरै क्याम्पस पढाउदै गरेका फ्यालीको जीवन सन्तोषमा बितिरहेको बताउँछन् । आफनो जन्मघर र माटोमा खेल्नुको आनन्द बेग्लै हुने उनको अनुभव छ ।
दुःख सुखमा परिवार र आफन्तको सधै साथ रहने भएकाले काममा धपेडी भए पनि गाह्रो कहिल्यै नलाग्ने गरेको उनी बताउछन् । गाउँका अधिकांश तन्नेरी दाजुभाइ वर्षेनी लर्को लागेर विदेश पलायन हुन्छन् तर, कहिल्यै उनलाई उनीहरुको पछि लागेर मुग्लान भासिन मन लागेन । कहिल्यै पनि सुखद भविष्यका लागि भनेर पराइ देशको माटो टेक्न मन लागेन उनलाई । र त उकाली, ओराली, हलो, कुटो कोदालो सँगै स्वदेशकै प्रकृतिसँग साइनो गास्ने रहर लिएर आफनो जन्मथलो नवलपुर बन्दीपुरको पाखो बन्जड जमिनलाई भुइँकटहरले सुसज्जित बनाउन सफल भएका छन् फ्याली दाइ।
शहरको क्षणिक कृत्रिम झिलिमिली भन्दा आफ्नै गाउँघरको हरिया डाँडाकाडा र अर्गानिक खानेकुरामा मन भुल्ने फ्यालीले अहिले एक विघामा भएको भुइँकटहर खेती विस्तारै थप्दै जाने योजनामा छन् । बुवा पछि आफु यो खेतीमा रमाए जस्तै आफु पछि छोरोलाइ पनि यही खेतीमा लागोस् भन्ने चाहन्छन् उनी ।
एकातिर बर्षेनि हजारौ नेपाली युवाहरु विदेश पलायन हुने र अर्कोतिर खेतियोग्य जमिन बाँझो हुने क्रम बढेको बेला फ्यालीको कर्म धेरैका लागि प्रेरणादायी हुन सक्छ ।